site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
प्रदेश-२ मा बाढीको जोखिमः हाइ–अलर्टमा स्थानीय र प्रदेश सरकार

जनकपुर । वर्षैभरि कुनै न कुनै विपद्को जोखिममा परिरहने प्रदेश-२ यतिबेला बाढीको चपेटमा पर्ने खतरामा छ । कहिले हावाहुरी, कहिले शीतलहर, कहिले खडेरी, कहिले आगलागी त कहिले बाढी जस्ता विपद्को जोखिममा पर्ने यस प्रदेशमा अहिले बाढीको समस्याबाट जोगिन के छ त पूर्व तयारी ?

नेपाल रेडक्रस सोइसाइटीका प्रदेश अध्यक्ष फुलमहमद मियाँले विशेषगरी बाढीको चपेटमा पर्न सक्ने समुदायको रक्षाका लागि तत्काल ८५० परिवारलाई पुग्नेगरी राहतका प्याकेज तयारी अवस्थामा राखेको बताउँछन् । त्यस्तै, बाढीले घेरिहाले वा गाउँमै बाढी पसिहाले जनताको उद्दारका लागि ८० जना तालिमप्राप्त स्वयंसेवक तैनाथ छन् ।
 
प्रदेश-२ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसार तीनवटा सुरक्षा निकायका गरी करिब साढे सातसय जना स्वास्थ्यकर्मीलाई बाढीको जोखिममा परेकालाई उद्दार गर्न एड्भान्स तालिम दिएर तैनाथ गरिएको छ । उनका अनुसार नेपाल प्रहरीका तीनसय जना, सशस्त्र प्रहरीका डेढ सय जना र नेपाली सेनाका करिब तीन सय जनालाई सम्बन्धित सुरक्षा निकायले नै प्रशिक्षण दिएको छ । बाढीको चपेटमा परी हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न उद्दारको कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारले विशेष जोड दिएको मन्त्री यादवले जानकारी दिए ।
 
“अत्यधिक वर्षा भएर बाढी आए बढी डुबान र कटानमा पर्न सक्ने सम्भावित नदी र बस्ती क्षेत्रको नक्शांकन गरेका छौं र अविरल वर्षाको संकेत आउनासाथ सम्बन्धित क्षेत्रका बासिन्दालाई अलर्ट गराइएको छ” आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले बाह्रखरीसँग भने, “बाढीको कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न करिब साढे सातसय संख्यामा तालिमप्राप्त जनशक्तिलाई उद्दारकर्ताको रुपमा तैनाथ गरिएको छ नै । साथै त्यस्तै परिहाले तत्कालै बाढीको घेरामा परेका व्यक्तिलाई उद्दार गर्न दुइवटा हेलिकोप्टर पनि स्टेन्डवाइ छ ।” संघीय सरकारसँग समन्वय गरी एउटा हेलिकोप्टर काठमाडौंमा र अर्को विराटनगरमा प्रदेश २ को लागि तयारी अवस्थामा राखिएको उनले बताए । 

यस बाहेक उद्दारपछि आवश्यक पर्ने राहतका सामग्री समयमै प्रभावकारी ढंगले पीडित परिवारसम्म पुर्याउन स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको छ । शुक्रबार पनि मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बैठक बसेर गाउँ तथा नगरका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुले पूर्व तयारीको सन्दर्भमा आकस्मिक छलफल गरेको छ । यस क्रममा बाढीको समयमा वितरण गर्न भनेर राहत सामग्री भण्डारण गरेका सरकारी वा गैरसरकारी निकायहरुको नक्शांकन गरिएको पनि मन्त्री यादवले जनाए । 

“विपद्को घरीमा राहतका सामग्री खरिद गर्ने काम गर्दा समयमा उपलब्ध नहुने, ढुवानीमा समस्या हुने र भ्रष्टाचारीको सम्भावना पनि उतिकै हुने हुँदा हामीले पूर्व तयारीमा विशेष ध्यान दिएका छौं” मन्त्री यादवले भने । 

प्रदेश २ मा सर्लाही र रौतहट जिल्लाको सीमा नदीको रुपमा रहेको बागमती, रौतहट र बाराको बीचमा रहेको बकैया, धनुषा र सिरहाको बीचमा रहेको कमला तथा सप्तरी र सुनसरीको बीचमा पर्ने कोशी नदीमा आउने बाढीले बढी जसो डुबान र कटानको समस्या निम्त्याइरहेका हुन्छन् । त्यस्तै, बलान, रातु, घुर्मी, जलाद लगायत खोलाले पनि बस्ती डुबानमा पर्ने र खेतियोग्य जग्गा कटानमा पर्ने जोखिम निम्त्याउँछन् । 
 

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  ०८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro