site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्रकमा भेटिएको २५ करोडका मालिकको यस्तो छ विगत, प्रहरी भन्छ– पक्राउपछि नयाँ तथ्य खुल्छ 

काठमाडौं । विदेशी मुद्रा २५ करोड बराबरसहित प्रहरी नियन्त्रणमा परेका ट्रक र चालकमाथि अनुसन्धान गर्दै जाँदा उक्त रकमका धनी सिन्धुपाल्चोकका नारायण पौडेल भएको खुलेको छ । प्रहरीले चैत ५ गते काठमाडौैंको टोखाबाट ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको थियो । 

प्रहरीले ट्रक र चालकलाई राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।  विभागले अनुसन्धान गर्दै जाँदा त्यसको मालिक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेल भएको खुलेको हो । यति ठूलो रकमका मालिक पौडेल रहेको खुलेपछि उनको पृष्ठभूमिबारे खोजी हुँदैछ । तर, पौडेल भने फरार छन् । पछिल्लो समय उनी टोखा नगरपालिका–१० महादेवटार बस्दै आएका थिए ।

कपडा लिन रसुवाको केरुङ नाका हुँदै ना ७ ख १६५२ नम्बरको ट्रक चीन जाँदै थियो । त्यसभित्र फल्स बटम बनाएर डलर र युरोसहित २५ करोड रुपैयाँबराबरका मुद्रा फेला परेको हो ।  उक्त ट्रकलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।

पक्राउलगत्तै चालक र ट्रकलाई प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।  विभागले ट्रक चालक कुङसाङ लामाबाट बरामद भएको मोबाइल, ट्रकको लोकेसन र अन्य सूचनाका आधारमा उक्त रकमका मालिक नारायण पौडेल भएको पुष्टि गरेको हो ।

तर, नारायण पौडेल कहाँ भागे ? भन्नेबारे विभागसँग कुनै सूचना छैन । 

विभागले पौडेललाई पक्राउ गर्न अनुमति लिइसकेको छ । प्रहरी अधिकारीले भने पौडेल भारत भागेको आशंका गरेको छ । पौडेल पक्राउ परेपछि थप नयाँ तथ्य खुल्ने अपेक्षा विभागको छ ।

प्रहरी अधिकारीका अनुसार, पौडेल यसअघिसमेत रक्तचन्दन, सुन, विदेशी मुद्रा अपचलन (हुन्डी) कारोबारमा संलग्न कारोबारी हुन् । उनी प्रहरीकै ‘राडारभित्र’कै आरोपी भएको एक प्रहरी अधिकारी बताउँछन् ।

उनी पटक–पटक पक्राउ पर्दै छुट्दै आएको खुलेको छ । केही समयअघि उनी जुवा मुद्दामासमेत प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको थियो । चार दाजुभाइमध्ये नारायण माहिलो हुन् । उनका दाजुभाइ पनि व्यवसाय र राजनीतिमा सक्रिय छन् ।

नाराणय पौडेलको २५ करोड खुलेपछि विभागले त्यो रकम पौडेलको मात्रै नभएर अन्य व्यक्तिहरूको समेत हुनसक्ने आशंका गरेको छ । सुरुवातमा अनुसन्धान गर्ने प्रहरी अधिकारीलेसमेत २५ करोड विदेशी मुद्रा नारायण पौडेलबाहेक अन्य व्यक्तिको समेत हुनसक्ने दाबी गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले भने, ‘‘२५ करोड विदेशी मुद्रा पौडेल एक्लैको होला भन्ने लाग्दैन । यसका पछाडि अन्य व्यक्तिसमेत होलान् । यो संगठित अपराध हो । उनी पक्राउ परेपछि थप नयाँ तथ्य खुल्लै जाला ।’’

पक्राउ परेकै राति पौडेलको फोनको अन्तिम लोकेसन टोखा देखाएको थियो ।  भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले पनि नारायण पौडेल एक्लैको २५ करोड रकम रहेको खुलेको सुन्दा अचम्ममा परेको बताए । 

उनी भन्छन्, ‘‘नारायण पौडेल एक्लैको यति धेरै रकम कसरी होला भन्ने त लागेको छ । उनीहरूको पृष्ठभूमि त्यति धेरै पैसा हुने व्यापारी होइनन् ।’’ हाल फरार नारायण पौडेलका एक छोरा र एक छोरी छन् । 

श्रीमतीको गएको वर्ष निधन भइसकेको पालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।  प्रहरीले नारायण समयमै पक्राउ परे उनीबाट नयाँ तथ्य फेला पर्न सक्ने दाबी गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro