site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुध्रिएको छैन ओली–मोदी सम्बन्ध ! कस्तो छ भारतमा चर्चा ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि विश्वमञ्चमा देखा परेको तरंगको असर नेपालसम्मै परेको छ । नेपाल दुई ठूला महाशक्ति राष्ट्र भारत र चीनको बीचमा अवस्थित छ । दुवै छिमेकीसँग नेपालको सम्बन्ध उस्तै विशिष्ट खालको छ । तर भारतसँगको सम्बन्धमा भने पछिल्लो समय चिसोपना आएको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ ।

प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओली निर्वाचित भएपछि भारतसँगको सम्बन्ध सुमधुर हुन नसकेको टिप्पणी भइरहेको छ । राजनीतिक घटनाक्रमले पनि त्यस्तै संकेत गरिरहेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने प्रचलनजस्तै भइसकेको थियो ।

तर सरकार गठन भएको नौ महिनासम्म ओलीलाई भारतले औपचारिक निमन्त्रणा दिएको छैन । कूटनीतिज्ञहरू भन्छन्– वर्तमान सत्ता गठबन्धन र ओलीसँग भारत खुसी छैन ।

किन ?

यसबारेमा सबैका आ–आफ्नै खाले अड्कल छन् । कतिपय विश्लेषकले ओलीको अघिल्लो कार्यकालमा ल्याइएको चुच्चे नक्सा, ओलीले ‘सत्यमेव जयते’ सम्बन्धमा भारतप्रति लक्षित गरी दिएको टिप्पणी त कतिले २०७२ सालमा भारतले लगाएको नाकाबन्दीपछि ओलीले लिएको अडान, ईपीजीको प्रतिवेदन र सीमा विवादलगायतका कारण देखाउँछन् ।

तर भारतीय पछिल्ला गतिविधिले नेपालप्रति अप्रसन्न रहेको प्रस्टसँग देखाउँछ ।

२०८१ सालमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पटक भेटवार्ता भयो । तर पनि सम्बन्धमा सुधार हुन नसकेको नेपाल–भारत सम्बन्धका बारेमा जानकारहरूको टिप्पणी छ । पहिलो असोज महिनामा अमेरिकाको न्यूयोर्कमा र दोस्रो, थाइल्यान्डको बैंककमा । 

संयुक्त राष्ट्रसंघको महासभाको बैठकका बेला न्यूयोर्कमा उनीहरुबीच पहिलो भेटवार्ता भएको थियो । चैतमा बिमस्टेक शिखर सम्मेलनको साइडलाइनमा उनीहरुबीच बैंककमा भेटवार्ता भएको थियो, चैत २२ गते । भेटपछि सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीले भेटवार्ता फलदायी भएको बताए । 

उनले नेपालसँगको सम्बन्धलाई भारतले प्राथमिकता दिएको पनि दाबी गरे ।

“बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ । हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्‍यौं,” मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए ।

भेटवार्ता सकिएपछि प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समा भारतीय समकक्षीलाई ‘प्रिय मित्र’ भनेर सम्बोधन गरे । भेटवार्ताबाट आफु खुसी भएको उनले जनाए ।

प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल एक्समा लेखेका थिए, “मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो । हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो । यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु ।”

कूटनीतिमा स–साना व्यवहार र शब्दले विशेष अर्थ राख्ने पूर्वराजदूत दिनेश भट्टराईको बुझाइ छ । 

“हाम्रो प्रधानमन्त्रीले मोदीलाई सम्बोधन गर्दा ‘जी’ र ‘श्री’ लगाउनु भएको छ । तर मोदीले सामाजिक सञ्जालमा हाम्रो प्रधानमन्त्रीलाई सम्बोधन गर्दा ‘जी’ र ‘श्री’ नलगाइ सिधै प्रधानमन्त्री केपी शर्मा ओली भनेका छन्,” सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दुवैको विदेश मामिला सल्लाहकारसमेत रहेका भट्टराईले बाह्रखरीसँग भने,  “यसले भेटवार्ता सकारात्मक भएजस्तो देखिँदैन ।” 

यसले पनि दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण नदेखिएको उनको टिप्पणी छ ।

“नेपाल र भारत घनिष्ट मित्र र महत्वपूर्ण छिमेकी हुन् । तर पछिल्ला दिनहरूमा दुई देशबीचको सम्बन्धमा जुन न्यानोपना र आत्मियता हुनुपर्थ्यो त्यो देखिँदैन,” उनले भने । मोदीले ओलीलाई नरुचाएको अहिले होइन । यसको सुरुवात २०७२ सालबाट भएको हो । 

नेपालले नयाँ संविधान जारी गरेकोमा असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री (हालका पनि) ओलीले त्यसको सामना गरेका थिए । नाकाबन्दी नहटाएसम्म भारतको भ्रमण नगर्ने अडान ओलीले लिएका थिए । भनेजसरी नै ओली भारतले नाकाबन्दी हटाएपछि मात्र भारत भ्रमणमा गएका थिए । 

त्यसपछि कालापानी, लिपुलेक र लिम्पियाधुरामा रहेको सीमा विवादलाई ओलीले उठाए । 

उनले भारतले नियन्त्रणमा राखेका ती भूमिलाई समेटेर चुच्चे नक्सा समेत जारी गरे । संविधान संशोधन गरी चुच्चे नक्सालाई संविधानमा समावेश गरे । चुच्चे नक्सा समेटेर नयाँ नोट छाप्ने प्रक्रिया अघि बढाए । ओलीका यी सबै कार्यलाई भारतले रुचाएको थिएन ।

“पछिल्लो चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) यसमा थपिएको छ,” पूर्वराजदूत भट्टराईले भने ।

नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर नगरोस् भन्ने भारतको चाहना थियो ।  पछिल्ला वर्षहरूमा नेपालमा चिनियाँ प्रभाव ह्वात्तै बढेको बुझाई भारतको छ ।  बीआरआई त्यसैको विस्तारित रुप भएको ठम्याइ भारतको छ । 

२०८१ मंसिरमा प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्दा ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’ सम्झौतामा नेपाल र चीनबीच हस्ताक्षर भयो । 

यसले झन् ओलीप्रति हेर्ने भारतीय दृष्टिकोण नकारात्मक बनाइदिएको बुझाई पूर्वराजदूत भट्टराईको छ । तर कतिपय विश्लेषक भारतसँगको सम्बन्धमा केही व्यक्तिले अनावश्यक चर्काउने प्रयास गरेको बताउँछन् ।
कुनै पनि छलफलका एजेन्डा नहुने हो भने प्रधानमन्त्री तहको भ्रमण आवश्यक नहुने उनीहरुको तर्क रहँदै आएको छ ।

भारतमा पनि चर्चा छ ओली–मोदी सम्बन्धको !

नेपाल र भारत दक्षिण एशिया क्षेत्रका त्यस्ता क्षिमेकी देशहरु हुन जो सामाजिक, धार्मिक तथा साँस्कृतिक हिसाबले समान छन् ।  एक अर्काका लागि दुवै देशका सिमाहरू खुला छन् । दुवै देशका नागरिकहरु एक अर्को देशमा सजिलै आवत जावत गर्न सक्छन् । एक अर्को देशका नागरिकहरूबीचको सम्बन्ध झन् घनिष्ठ छ ।

तर, राजनीतिक र कुटनीतिक स्तरमा भने एक अर्को देश बीच बेला बेलामा उतारचढाव आइरहन्छ ।  मोदी र ओलीबीच बैंककमा भएको वार्तापछि पनि सम्बन्धमा सुधार नभएको भारतीय मिडियामा चर्चा छ । प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच ४५ मिनेट लामो ‘वान टु वान’ वार्ता भयो । 

योे वार्तापछि भारतीय सञ्चारमाध्यमहरूले उच्च महत्वका साथ स्थान दिएका छन् ।  मोदी र ओलीबीचको भेटघाटको बिषयमा समाचार, विश्लेषण तथा लेखहरु प्रकाशित भए । भारतका मूलधारका प्रायः सबै संचारमाध्यमहरूले उक्त भेटका बारेमा फरक फरक तरिकाले टिप्पणी गरेका छन् ।

भारतको एशियन न्युज इन्टरनेशनल (एएनआई), प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई), द हिन्दुस्तान टाइम्स, समाचार संस्था आईएएनएस र द प्रिन्ट अनलाइन, द इन्डियन एक्सप्रेसलगायतका सञ्चारमाध्यमहरुले भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा दुवै देशका प्रधानमन्त्रीहरुका सामाजिक संजालमा लेखिएका स्टाटसलाई उद्धृत गर्दै समाचार तयार पारेका छन् ।

हिन्दुस्तान दैनिकको अप्रिल ४ मा प्रकाशित समाचारमा दुई प्रधानमन्त्रीबीचको ‘वान टु वान’ वार्तामा खुला छलफल भएको उल्लेख गरेको छ । 

भारतीय परराष्ट्र मन्त्रालयको विज्ञप्तिलाई उद्धृत गर्दै भारतको छिमेकी प्रथम नीतिको अन्तर्गत नेपाल एक प्राथमिक साझेदार भएको र दुई देशका नेताहरूबीच भएको भेटले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई कायम राखेको पत्रिकाले उल्लेख गरेको छ । 

साथै काठमाडौंसहित देशका विभिन्न स्थानमा राजावादी समूहले देखाएको हिंसात्मक प्रदर्शनमा भारतको संलग्नताको सम्भावनाबारे चिन्ता व्यक्त गरेको खबरको पृष्ठभूमिमा मोदीले नेपालको लोकतन्त्रप्रति भारतको प्रतिवद्धता स्पष्ट पारेको भनेर पनि उल्लेख गरिएको छ । 

यसैगरी अप्रिल ४ मा प्रकाशित समाचार संस्था आइएएनएस, द प्रिन्ट, बाबुशाही अनलाइन, द पायोनियर, डेक्कन हेराल्ड, हिमालयन हेराल्ड, द इकोनोमिक टाइम्स, एएनआई, पीटीआई आदिमा प्रकाशित समाचारमा पनि दुई देशका शीर्ष नेताबीचको भेटघाटलाई सकारात्मक कदम भनेर समाचार बनाएको छ  । 

भारतको एएनआईले अप्रिल ५ को काठमान्डु डेटलाइनमा लेखिएको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदी बीच ‘वान टु वान’ वार्तालाई ‘फलदायी र मित्रतापूर्ण’ भनेर उल्लेख गरेको छ । 
वार्ताका क्रममा द्विपक्षीय हितका विभिन्न विषयहरू जस्तैः लगानीका क्षेत्र, व्यापार र पञ्चेश्वर परियोजना, दोधारा चाँदनीमा महाकाली नदीको पानीको सिंचाइ र द्विपक्षीय हितका विभिन्न विषयहरूमा कुराकानी भएको उल्लेख छ । 
भारतका स्वराज्यमाग र एसिया न्युज नेटवर्कजस्ता सञ्चार माध्यमहरुले भने प्रधानमन्त्री ओली र मोदीबीचको  छलफल सकारात्मक हुन नसकेको उल्लेख गरेका छन् । 

एसिया न्युज नेटवर्कले प्रधानमन्त्री ओली बिमस्टेक सम्मेलनबाट स्वदेश फर्केको भोलिपल्ट हिमालयन संवादको उद्घाटनका बखत सम्बोधनका क्रमका बोलेको भनाइलाई उद्धृत गर्दै प्रधानमन्त्री ओली र मोदीबीचको छलफल राम्रो हुन नसकोको उल्लेख गरेको छ । 

हिमालयन संवादको उद्घाटनको अवसरमा प्रम ओलीले ‘विदेश सम्बन्ध युक्तिसंगत राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने’ भन्दै ‘एउटा छिमेकीले अर्को छिमेकीको खेतमा लगाएको धान लुट्ने उद्देश्य राख्नु नहुने र त्यस्तो उद्देश्य राख्नेलाई छिमेकी भन्न नमिल्ने’ बताएका थिए ।

हिमालयन संवादको सो कार्यक्रममा उपस्थित धेरै सहभागीहरूले प्रधानमन्त्रीको भाषणमा छिमेकीसँगको असन्तुष्टि समावेश भएको अभिव्यक्ति सुनिसकेपछि ओली र मोदीको बैंककमा भएको भेट सफल नभएको अनुमान लगाएको भनी बताएको समाचारमा उल्लेख छ । 

नेपालका एक विदेश नीति विज्ञले एसिया न्युज नेटवर्कलाई बताएअनुसार मोदीसँगको भेट राम्रो भएको भए केपी ओलीले निश्चित नै मोदीको प्रशंसा गर्दै भेटका बारेमा टिप्पणी गर्ने थिए भनी उल्लेख छ ।

यसैगरी भारतको स्वराज्यमाग अनलाइनले भारतको विदेश मन्त्रालयका एक उच्च अधिकारीलाई उद्धृत गर्दै प्रधानमन्त्री ओली र मोदीको भेटघाटको पूर्वसन्ध्यामा एउटा समाचार लेख्दै प्रधानमन्त्री ओलीसँगको भेटमा ‘नेपाल र भारतबीचको काल्पनिक सीमा विवादको बहस बन्द गर्न मोदीले ओलीलाई आग्रह गर्ने तयारी गरेको’ उल्लेख गरेको थियो ।

यसबाहेक भारत भन्दा बाहिरको तर एसिया तथा प्रशान्त क्षेत्र केन्द्रित एक अनलाइन पत्रिका द डिप्लोम्याटले अप्रिल ७ मा एक लेख प्रकाशित गर्दै प्रम ओलीको भारतीय समकक्षी मोदीसँगको भेट सकारात्मक भन्न नसकिने आसय व्यक्त गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro