
काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते उत्पात मच्चाएर भागेका विवादित व्यवसायी दुर्गा प्रसाईं शुक्रबार बिहानदेखि नेपाल प्रहरीको हिरासतमा छन् । वितन्डा मच्चाएर भागेका प्रसाईंलाई प्रहरीले नेपाल–भारतको सीमाक्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
तीनकुनेमा वितन्डा मच्चाएर भागेका प्रसाईं खोज्न प्रहरीलाई १४ दिन लाग्यो । नेपाल प्रहरीले भारतीय प्रहरीको इन्टेलिजेन्स ब्युरो (आईबी) को सहयोगमा नियन्त्रणमा लिइएको बताइए पनि प्रहरीले भने त्यसलाई अस्वीकार गरेको छ ।
प्रसाईं असामको बास्कोस्थित एक नेपाली मूलका नागरिकको घरमा लुकेर बसेको जनाइएको छ । प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले प्रसाईंलाई झापाको भद्रपुरबाट शुक्रबार बिहान पक्राउ गरेको दाबी गरेका छन् ।
उनी शुक्रबारदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । सोही दिनमा जिल्ला अदालतमा उपस्थित गराएर प्रसाईंलाई अनुसन्धानका लागि प्रहरीले १२ दिनको समय लिएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार उनीमाथि राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ ।
यी दुई कसुरबाहेक प्रहरीले ज्यान मार्ने उद्योग, सामाजिक उपद्र र ज्यान मुद्दासमेत लगाउने तयारी गरेको छ ।
तीनकुनेको प्रदर्र्शनमा उत्रिएका अराजक समूहले एक निजी घरमा आगजनी गर्दा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । अर्का एकजना सविन महर्जनलाई भने प्रहरीको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ ।
रजक मृत्यु भएको घरमा प्रसाईं समूहकै कार्यकर्ताले आगजनी गर्दै गरेको भिडियो पनि सार्वजनिक भएको छ । यसअघि सो समूहले उक्त घरमा आफूहरुले आगजनी नगरेको दाबी गर्दै आएको थियो ।
तर आइतबार सार्वजनिक भएको भिडियोमा आगजनी गर्दै गरेका प्रसाईंका कार्यकर्ता रहेको पुष्टि भएको छ । त्यसकारण प्रहरीले पत्रकार रजकको मृत्यु तीनकुनेमा प्रदर्शन गराउने कमान्डर दुर्गा प्रसाईंलाई प्रतिवादी बनाउने तयारी गरेको स्रोत बताउँछ ।
तीनकुने प्रदर्शन अराजक बनाउने भूमिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासमेत देखिएको भन्दै त्यही राति पक्राउ गरेको थियो । मिश्र र राणा भने १५ गतेदेखि नै प्रहरी थुनामा छन् ।
उनीहरुविरुद्द समेत राज्य विरुद्दको कसुर र संगठित अपराध मुद्दा चलाइएको छ । मिश्र, राणा र प्रसाईंबाहेक पनि प्रहरीले प्रदर्शन अराजक गराउने विभिन्न ठाउँमा आगजनी गर्ने राजावादी प्रदर्शनमा उत्रिएका ८२ जनामाथि मुद्दा चलाएको छ ।
त्यसमध्ये प्रहरीले केही नाबालिग र केहीको भूमिका सामान्य देखिएपछि हाजिरी जमानीमा छाडिएको जनाएको छ ।
तेस्रोपटक प्रहरीको हिरासतमा
दुर्गा प्रसाईंको प्रहरीको हिरासतको यात्रा भने नौलो होइन । उनी यसअघि नै प्रहरीको महत्वपूर्ण दुईवटा ब्युरोले पक्राउ गरेर थुनामा राखेको थियो । प्रहरीको साइबर ब्युरोको टोलीले पहिलोपटक दुर्गालाई गएको आसोज ६ गते भक्तपुर उनकै निवासबाट पक्रेको थियो ।
विभिन्न व्यक्तिको चरित्र हत्या हुने खालका अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका प्रसाईं त्यो बेला नौ दिन थुनामा बसेपछि जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएपछि छुटेका थिए । साइबर मुद्दामा उनी फरक–फरक दुई कसुरमा ५०/५० हजार धरौटी बुझाएर निस्किएका थिए ।
त्यसपछि भने प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै पक्राउ गर्यो । मंसिर ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै युट्युबमार्फत् भिडिओमार्फत् अभिव्यक्ति दिएपछि पक्राउ परेका हुन् ।
त्यो बेला प्रसाईंविरुद्ध अर्को मुद्दा पनि चलेको थियो । व्यवसायीलाई आफू भारतीय कुख्यात ‘ग्याङस्टर’ लरेन्स विश्नोइ समूहको भन्दै फिरौती माग्ने झापा मेचीनगरका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएको थियो ।
सोही कसुरमा उनलाई संगठित मुद्दा चलाइएको थियो । उक्त मुद्दामा पनि उनी पुस २५ मा तीन लाख धरौटी बुझाएर छुटेका थिए । दुवै मुद्दा अन्तिम किनारा लाग्न भने बाँकी नै छ । शुक्रबारदेखि प्रसाईं तेस्रोपटक प्रहरी थुनामा छन् । तर, यो पटक भने प्रहरीले घटनाको मूख्य नाइकेको रुपमा अनुसन्धान गरिरहेको छ ।
ज्ञानेन्द्र शाहसँगको त्यो डेढ घण्टा
दुर्गा प्रसाईंको तेस्रो पटकको हिरासतसँग भने पूर्वराजा ज्ञानेन्द्र शाह पनि जोडिए । सुरुवाती चरणमा लघुवित्त पीडित र मिटरब्याज पीडित नागरिकलाई ऋण मिनाहा गराउने भन्दै सडकमा उत्रिएका प्रसाईं पछिल्लो समय भने राजसंस्था पुनःस्थापनाका लागि सडकमा अराजक शैलीमा उत्रिएका थिए ।
चैत १२ मा राजसंस्था पुनःस्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन समिति बन्यो । समितिका संयोजक पूर्वपञ्च नवराज सुवेदी तोकिएका थिए । सोही जनआन्दोलन समितिले चैत १५ का लागि तीनकुनेमा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
समितिमा राजसंस्थाको माग गर्दै आएका दर्जनौँ साना–साना समूह थिए । तर, सुवेदी संयोजक रहेको समितिले भने जनआन्दोलन नै गर्ने घोषणा गर्यो । त्यसका लागि उपयुक्त पात्र दुर्गा प्रसाईं ठाने । आफू संयोजक रहेको जनआन्दोलन समितिले प्रदर्शन गर्नेबारे जानकारी दिन सुवेदी चैत १३ मा राजा ज्ञानेन्द्र बस्दै आएको निर्मल निवास पुगे ।
राजा र सुवेदीबीचको छलफल भएको दोस्रोदिन चैत १४ मा दुर्गा प्रसाईंसमेत निर्मल निवास पुगे । झापादेखि विभिन्न अन्य जिल्लाको भ्रमणका क्रममा ज्ञानेन्द्र र दुर्गा प्रसार्ईंबीचको भेटघाट साामान्य थिए । तर, राजसंस्था पुनःस्थापनाका लागि प्रदर्शनको पूर्वसन्ध्याको भेट विशेष मानिएको थियो ।
त्यो दिन दुर्गा प्रसाईं बिहान ११ बजेर ५ मिनेट जाँदा निर्मल निवास छिरे । दैनिक समयअनुसार चल्ने ज्ञानेन्द्र शाहले प्रसाईंलाई सो समयमा बोलाएका थिए । ११ बजेर ५ मिनेटमा छिरेका प्रसाईं ठिक डेढ घण्टापछि १२ बजेर ३५ मिनेटमा बाहिरिएका थिए ।
निर्मलनिवास स्रोतका अनुसार डेढ घण्टा नै ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंमात्रै वार्तामा थिए । आफ्नो कुरा राख्नेभन्दा अरुको कुरा बढी सुन्न रुचाउने ज्ञानेन्द्र र दुर्गाबीचको त्यही भेट दुर्गाका लागि तेस्रोपटक प्रहरीको थुनामा पुग्ने बलियो आधार बन्यो ।
चैत १२ मा राजसंस्था पुनःस्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन घोषणा गरेका नवराज सुवेदीले दुर्गालाई १५ गते हुने प्रदर्शनको जनकमान्डर तोक्यो । दुर्गा प्रसाईंकै कमान्डमा तीनकुनेमा भएको प्रदर्शन अराजक बनेपछि ज्ञानेन्द्र शाहसमेत विवादित बनेका छन् ।
तीनकुने घटनाका सम्बन्धमा पूर्वराजाको प्रतिक्रिया आउनुपर्ने चौतर्फी आवाज उठेको भए पनि नववर्षको अवसर पारेर दिएको शुभकामना सन्देशमामात्रै तीनकुने घटनालाई संकेत गर्दै दुखद् भनेका छन् । ज्ञानेन्द्र शाहमाथिसमेत छानविन हुनुपर्ने माग सरकारमै रहेका पार्टीका नेताहरुले उठाउँदै आएका छन् ।
यसरी परे पक्राउ प्रसाईं
तीनकुनेमा प्रदर्शन अराजक बनाएर भागेका दुर्गा प्रसाईं त्यही राति काठमाडौं छाडेर भारत हानिए । अनुसन्धानमा खटिएका प्रहरीको दाबी के छ भने प्रसाईं त्यही दिन उत्पात मच्चाउने रणनीतिमा थिए । त्यसका लागि उनले आफ्नो निवासमा अघिल्लो दिनमा केही युवालाई प्रशिक्षणसमेत दिएका थिए ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार प्रसाईं भारतको उत्तर प्रदेशस्थित प्रयागराज, लखनऊ, नयाँ दिल्ली, राजस्थान हुँदै असाम पुगेको अनुमान छ । भारतमा रहँदा प्रसाईंले हिन्दु संगठनका केही प्रतिनिधिलाई भेट गरेका थिए ।
प्रसाईंको अहिले प्रारम्भिक बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।