site stats
बाह्रखरी :: Baahrakhari
देश
दिल्लीबाट आएको प्रणालीले काठमाडौंमा अचानक हावाहुरीसहित वर्षा, मधेस र कोसीतर्फ सर्दै 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । बिहान करिब साढे ८ बजेबाट मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा सुरु भएको हो । 

मौसमविद् धर्मराज उप्रेतीका अनुसार दिल्लीबाट आएको मौसमी प्रणालीले हावाहुरीसहित वर्षा गराएको हो । हिजो साँझ ४ बजे दिल्लीबाट नेपालतर्फ लागेको प्रणाली आज बिहान काठमाडौं आइपुगेको हो । 

Argakhachi Cement Island Ad

“दिल्लीबाट यो प्रणाली नेपाल आइपुग्दा यति स्ट्रङ हुन्छ भन्ने थिएन । यहाँ आइपुग्दा कमजोर हुन्छ भन्ने थियो,” मौसमविद् उप्रेतीले बाह्रखरीसँग भने, “तर, पूर्वानुमान गरेभन्दा फरक एकतृत हुँदै स्ट्रङ भएर आउँदा यसको ठूलो असर देखियो ।” 

पश्चिम नेपाल हुँदै आएको यो प्रणालीले गण्डकी र वाग्मती प्रदेशका धेरै स्थान ढाकिसकेको छ । काठमाडौंका केही स्थानमा फैलिन बाँकी रहेको उनले बताए । 

“अहिले यो प्रणाली मधेस हुँदै कोसी प्रदेशतर्फ लागेको छ,” उनले भने । काठमाडौंमा करिब दुई/तीन घण्टा यसको प्रभाव रहने उनको भनाइ छ । 

“यस्तो प्रणाली धेरै समय रहँदैन,” उनले भने, “तर काठमाडौंमा अबको केसी समयमा कम भएर २ बजेपछि पुनः वर्षा हुने र केही समय रोकिएर राति ८ बजेपछि पुनः पानी पर्ने सम्भावना छ ।”     

जल तथा मौसम विज्ञान विभागले पनि काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको बताएको छ । मौसमविद् हरिप्रसाद दाहालले दिउँसो पनि काठमाडौंमा वर्षा हुने बताए । 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्