
काठमाडौं । ‘करेन्ट चाउचाउ’ र विभिन्न प्रकारका ‘स्न्याक्स’ उत्पादन गर्दै आएको यशोदा फुड्सले आफ्नो क्षमता विस्तार गरेको छ । उद्योगले चाउचाउ र स्न्याक्स दुवै सेग्मेन्टको उत्पादन क्षमता बढाएको हो । उद्योगले करेन्ट चाउचाउ उत्पादन क्षमता बढाएर वार्षिक ४० हजार टन पुर्याएको जनाएको छ ।
अहिले चाउचाउ उत्पादन वार्षिक ३० हजार टन छ । संभवतः एक वर्षपछि उद्योगको करेन्ट चाउचाउ उत्पादन क्षमता १० हजार टन बढ्ने भएको छ ।
यस्तै फुड्सले स्न्याक्स सेग्मेन्टको उत्पादन क्षमता पाँच गुणा बढाएर वार्षिक चार हजार ५ सय टन पुर्याएको छ । अहिले उद्योगको ‘स्न्याक्स सेग्मेन्ट’ क्षमता वार्षिक ९ सय टन रहेको छ ।
उद्योगले आफ्नो स्वामित्वमा रहेको यशोदा नुडल्स एन्ड स्न्याक्स प्रालिलाई गाभेर चाउचाउ र स्न्याक्स उत्पादन क्षमता बढाएको हो । उद्योगको क्षमता विस्तार भइ आंशिक सञ्चालनमा आएको छ । सन् २०२६ मा प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी उद्योगको छ ।
उद्योग मर्जमा जाने बेला प्लान्ट पूर्वाधार निर्माणको काम जारी थियो । फुडमा समाहित भएको यशोदा नुडल्सले सुरु गरेको पूर्वाधारलाई पूर्ण रुप दिन लागेको हो ।
उद्योगको मर्जपछि पूर्वाधार विस्तार लगानी बढाउँदा ऋण पनि बढेको छ । अहिले उद्योगको दुई अर्ब रुपैयाँ ऋण रहेको छ ।
मर्जपछि उद्योगको खातामा ४८ करोड ३० लाख रुपैयाँ थियो । जसले गर्दा कुल स्थिर सम्पत्तिमा वृद्धि भएको छ । यसबीचमा अन्य दायित्वहरू अन्तर्गत ३८ करोड रुपैयाँ ऋण हस्तान्तरण भएको छ । जसले यशोदा फूड्सको ऋण वृद्धिमा योगदान पुर्याएको छ ।
मर्जर पछिको बढेको क्षमताले मध्यम अवधिमा कम्पनीको स्केल र नगद प्रवाहलाई बढावा दिने अपेक्षा गरिएको छ । मर्जरको कारण ऋणको स्तरमा वृद्धि भए पनि कम्पनीले सञ्चालनबाट सुधारिएको नगद उत्पादनद्वारा समर्थित सुधारिएको ऋण सेवा कभरेज सूचकहरूको साथ कम गियरिङ प्रोफाइल कायम राखेको छ ।
उद्योगसँग देशभर ३०० अधिकृत वितरकहरू छन भने यशोदाले सिधै डिपार्टमेन्ट स्टोरहरू र सुपर मार्केटहरूमा पनि बिक्री गर्दछ । यसबाहेक, कम्पनीले आफ्ना उत्पादनहरू विभिन्न ब्रान्ड नामहरूमा बिक्री गर्दै आएको छ ।