बितेको २०८१ साल नेपालीका लागि खासै सुखद वा दुःखद रहेन । यसैल दृष्टिकोण अनुसार ‘आधा भरी’ वा ‘आधा खाली’ भन्न सकिन्छ । सत्तामा बस्नेहरूले दाबी गरेजस्तो ‘स्थिरता, उन्नति, प्रगति’ भएको पनि देखिँदैन भने विपक्षीले आरोप लगाएजस्तो ‘ सबै खत्तम’ पनि भएको छैन ।
गत वर्ष सत्तारुढ गठबन्धन फेरि बदलियो । संसद्का ठूला दुई मिलेर सामान्यत संसदीय अभ्यासविपरीत देखिने गठबन्धन बनाए । प्रतिनिधि सभामा ढुक्कको बहुमत भएको सरकारले विशेषगरी अर्थतन्त्रको सुधारमा केही नयाँ कदम चाल्ने अपेक्षा भने आंशिकरूपमा मात्र चरितार्थ भयो ।
गत वर्ष नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिको निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ पुनः ‘ग्रे लिस्ट’मा राख्यो । यसभन्दा पहिले सन् २०११ मा पनि नेपाल ‘ग्रे लिस्ट’मा राखिएको थियो ।
त्यतिबेला सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि नियन्त्रण गर्न सहयोग पुग्नेगरी ‘कानुन निर्माण’ र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि सन् २०१४ मा ‘ग्रे लिस्ट’ बाट हटाइएको थियो । यसपटक पनि सरकारले कानुन निर्माणका साथै ‘सम्पत्ति शुद्धीकरणमा अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउने’ प्रतिबद्धता प्रकट गरेको छ ।
अर्कातिर, सरकारले विभिन्न मितिमा गरेका सामान्य सुधारले अर्थतन्त्रमा आंशिकरूपमा सकारात्मक सङ्केत देखिएको भने निजी क्षेत्र पनि केही उत्साहित भएको छ । नीतिगत स्थिरता तथा सुधारमा निरन्तर रहने एवं कार्यान्वयनमा अवरोध नहुने हो भने आउने वर्ष सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ ।
राजनीति भने खासै उत्साहप्रद नभए पनि चैत १५ को ‘तीन कुने ताण्डव’पछि ठूला राजनीतिक दलका नेताहरू गणतन्त्रका पक्षमा एकै स्वरमा मुखरित भए । यसले गणतन्त्रप्रति जनविश्वास बढाएको हुनुपर्छ । सत्तारुढ गठबन्धनमा खासै खटपटको सङ्केत नदेखिएकाले स्थिरताको पनि सन्देश दिएको छ ।
यसैले यो वर्ष २०८२ मा देशले कुनै पनि क्षेतेरमा ठूलै फड्को मार्ने आशा राख्नु सायद सही हुँदैन । यस्तै, निराशाको खेती गरेर जनमानसलाई दिग्भ्रमित बनाउन खोज्नेहरूको पनि चाहना पूरा हुने देखिँदैन । यद्यपि, सबै क्षेत्रमा क्रमिक सुधारको सम्भावना भने बलियै देखिन्छ ।
आशा गरौँ, यो वर्ष प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू जनभावनाको सम्मान गर्न अग्रसर हुनेछन् । यस्तै, अर्थतन्त्रमा सकारात्मक सुधार देखिनेछ र जनआक्रोश केही मत्थर हुनेछ । नेपाली समाज थप सहिष्णु, उदार र लोकतान्त्रिक हुनेछ । नेपाल शान्ति, समृद्धि र प्रगतिको मार्गमा अग्रसर हुनेछ ।
हाम्रा पाठकहरू, सहकर्मीहरू, विज्ञापनदाताहरूलगायत सबै शुभेच्छुकहरूका लागि विक्रम संवत् २०८२ मङ्गलमय बनोस् । सुख, शान्ति र प्रगतिको हार्दिक शुभकामना !