
काठमाडौं । भारत र चीनले प्रत्यक्ष यात्रु विमान संचालन पुनः सुरु गर्ने विषयमा पहिलो चरणको वार्ता गरेका छन् । वार्ता भए पनि सुरु गर्ने मिति भने अहिलेसम्म तय नभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यो वार्ता सन् २०२० मा भएको सीमा झडपपछि दुई देशबीचको सम्बन्ध विस्तारै सुधार हुँदै गएको पृष्ठभूमिमा भएको हो ।
यी दुई छिमेकी देशले गत जनवरीमा व्यापार र आर्थिक मतभेद अन्त्य गर्ने सहमति जनाएका थिए । जसमा दुवै देशको नागरिक उड्डयन क्षेत्रमा सहकार्य एक रहेको छ । विशेषगरी कोभिड महामारीपछि समस्या भोगिरहेको चीनको उड्डयन क्षेत्रलाई फाइदा पुग्ने अपेक्षा गरिएको समाचारमा बताइएको छ ।
“नागरिक उड्डयन मन्त्रालय र चीनस्थित हाम्रो समकक्षी संस्थाबीच एक चरणको बैठक भइसकेको छ,” भारतका नागरिक उड्डयन सचिव वुम्लुनमाङ वुलनमले नयाँ दिल्लीमा भारतीय वाणिज्य महासंघद्वारा आयोजित सम्मेलनमा भने ।
अझै पनि केही समस्याहरू समाधान गर्न बाँकी रहेको उनले बताएका छन् । उनले विस्तृत विवरण भने दिएनन् ।
भारतको गलवान हिमालय क्षेत्रमा सन् २०२० मा भएको दुवै देशबीचको सीमा झडपमा कम्तीमा २० जना भारतीय सैनिक र चारजना चिनियाँ सैनिकको ज्यान गएको थियो । उक्त घटनापछि भारत र चीनबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यसपछि भारतले चिनियाँ कम्पनीहरूको लगानीमा कडाइ, लोकप्रिय सामाजिक संजालमाथि प्रतिबन्ध र यात्रु हवाइ उडानहरूमा कटौती गरेको थियो । प्रत्यक्ष कार्गो (मालवाहक) उडानहरू भने जारी रहेका थिए ।
गत अक्टोबरमा दुई देशबीच हिमाली सीमामा रहेको सैन्य तनाव कम गर्न सहमति भएपछि सम्बन्धमा सुधार आएको देखिएको छ । सोही महिनामा चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच रूसमा भेटवार्ता पनि भएको थियो ।