विदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीकी उमेदवार हिलारी क्लिन्टनले रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले लामो समयदेखि महिलालाई शारीरिक स्वरुपका आधारमा धम्क्याउँदै आएको आरोप लगाएकी छन् ।
राष्ट्रपति चुनावका लागि फ्लोरिडा राज्यमा आयोजित चुनाव अभियानका क्रममा क्लिन्टनले ट्रम्पसँग महिलालाई होच्याउने, अपमानित गर्ने, अनादर गर्ने तथा दुरब्यवाहार गर्ने ३० वर्षको इतिहास रहेको बताएकी बीबीसीले जनाएको छ ।
तर, रिपब्लिकन उमेदवार ट्रम्पले भने क्लिन्टनलाई ‘भ्रष्टाचारी’ र अमेरिकाको स्वास्थ्य सेवा सधैंका लागि ध्वस्त पार्न चाहेको आरोप लगाएका छन् ।
ट्रम्पले पूर्वमतदानमा भोट हाल्नेलाई क्रेताको पछुतोको संज्ञा दिँदै उनीहरुले त्यसलाई पुनःबिचार गर्न सक्ने बताएका छन् ।
अमेरिकामा राष्ट्रपति चुनावको मतदान हुनु भन्दा ठिक एकसाता बाँकीरहँदा एक अर्कामा यो आरेप प्रत्यारोप भएको हो ।
फ्लोरिडाको चुनाव अभियानका क्रममा पूर्व मिस युनिभर्स एलिसिया मचाडोसँगै स्टेजमा आएकी क्लिन्टनले ट्रम्पले मोटाएकै आधारमा मचाडोलाई ‘मिस सुङ्गुर’ भनेकोमा ट्रम्पमा प्राथमिक तहका बालबालिकाको जति पनि ज्ञान नभएको बताएकी छन् ।
उक्त अवसरमा उनले ट्रम्पलाई निर्दयी भन्दै ट्रम्पको टिप्णीले गर्दा धेरै वर्षसम्म उनी इटिङ डिसअर्डसको सिकार र बिरामी भएको बताएकी छन् ।
हिलारीको टिप्पणीसँग सार मिलाउदै राष्ट्रपति ओबामाले पनि ओहायोमा आयोजित एक चुनावी र्यालीमा ट्रम्पले आफ्नो अहिलेसम्मको जीवनमा महिलालाई ‘सुँगुर’, ‘कुकर’ र ‘मुर्ख’ भन्ने गरेको आरोप लगाए ।
आफ्नो चुनावी अभियानलाई बलियो बनाउन क्लिन्टनको नयाँ चुनावी विज्ञापनमा पनि ट्रम्पले महिलामाथि गर्दै आएका अश्लील टिप्पणीलाई समेटिएको बताइएको छ ।
ट्रम्पले गत महिना उनको सन् २००५को महिलाहरु प्रति गरिएको अश्लील टिप्पणी पछाडि यौन उत्पिडनका असंख्य आरोप लागेको थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ १५:४१
प्रतिक्रिया दिनुहोस्