site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएलमा ‘म्याच फिक्सिङ’ निगरानी खेलाडी बसेको होटलसम्मै पुगेर हुँदैछ !

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) मा ‘म्याच फिक्सिङ’ र सट्टेबाजी नहोस् भनी प्रहरीले विशेष निगरानी गर्ने भएको छ । त्यसका लागि प्रहरी प्रधान कार्यालयले विशेष प्रहरी टोलीलाई सादा पोशाकमा परिचालन गर्ने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि हुन लागेको फ्रेन्चाइज क्रिकेटमा सहभागी हुन विदेशी खेलाडीसमेत सहभागी हुँदैछन् । क्यानद्वारा आयोजित एनपीएल हालसम्मकै ठूलो घरेलु प्रतियोगिता हो ।

प्रहरी स्रोतका अनुसार, आईसीसीको एन्टी करप्सन युनिटको आग्रहमा प्रहरी प्रधान कार्यालयले सहभागी टीमका खेलाडीहरूको निगरानी र खेल अवधिको विश्लेषण गर्न सादा पोशाकमा प्रहरी खटाएको हो ।

Dabur Nepal
NIC Asia

प्रहरी प्रधान कार्यालयले खटाएका प्रहरी टोली सहभागी टीमहरूसँगै बस्नेसमेत प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्रोतले भन्यो, “एन्टी करप्सन टिमको आग्रहमा हामीले सहभागी टिम हेर्न छुट्टाछुट्टै प्रहरी टोली बनाएर खटाएका छौँ । उनीहरू खेलाडी बसेकै होटलमा बस्नेछन् र सकेसम्म खेलाडीहरूले नचिनून् भन्ने छ ।”

एनपीएलका लागि आईसीसीको एन्टी करप्सन युनिटमा पूर्वप्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की छन् । कार्की नेतृत्वकै न्युनिटमा रहेर प्रहरीले समेत सहयोग गर्ने छ ।

क्यानका प्रवक्ता छुम्बी लामाले एन्टी करप्सन टिममा सबै आईसीसीकै हुने भएकाले उनीहरूले के–के गरिरहेका छन् भन्ने आफूहरूलाई थाहा नहुने बताए । प्रहरी प्रधान कार्यालय स्रोतले भने आईसीसीको एन्टी करप्सन युनिटसँग काम गर्न एक जना प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाएको छ ।

यसअघि २०७९ मा क्यानले आयोजनाका गरेको नेपाल टी–२० लिगमा भने खेलाडीमाथि ‘स्पट फिक्सिङ’को आरोप लागेको थियो । उक्त ‘स्पट फिक्सिङ’मा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

हाल दुवैले अदालतबाट सफाई पाइसकेका छन् । तर, आदिल अझैँ टिममा फर्केका छ्रैनन् । क्यान स्रोतका अनुसार, यही मुद्दाका कारण आईसीसीले उनलाई क्लिन–चिट दिन मानेको छैन ।

यसपालिको एनपीएलमा समेत कुनै टिममा छैनन् । आदिलले २०७९ को जेठमा अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

नेपाल टी–२० लिगमा उनी जनकपुर रोयल्सबाट सहभागी थिए । उनलाई नेपाली क्रिकेट जगतमा आशा लाग्दा खेलाडीका रूपमा हेरिएको थियो । तर, त्यही प्रकरणबाट उनको खेल–जीवन धरापमा छ । त्यसयता क्यानले आयोजना गरेको एनपीएल पहिलो प्रतियोगिता हो ।

एनपीएलको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एडभेन्चर्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका आठवटै टिमले आफ्नो ‘मार्की खेलाडी’ घोषणा गरिसकेका छन् भने विदेशी खेलाडी समेत सार्वजनिक गरिरहेका छन् । विराटनगर किंग्स्को मार्की खेलाडीमा सन्दीप लामिछाने, चितवन राइनोजको मार्की खेलाडीमा कुशल मल्ल, जनकपुर बोल्ट्सको मार्की खेलाडीमा आशिफ शेख छन् ।

त्यस्तै काठमाडौं गुर्खाजको मार्की खेलाडीमा करण केसी, लुम्बिनी लायन्सको मार्कीमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, पोखरा एभेन्जर्सको मार्कीमा कुशल भुर्तेल छन् । यसरी नै कर्णाली याक्सको मार्कीमा सोमपाल कामी तथा सुदूरपश्चिम रोयल्समा दिपेन्द्रसिंह ऐरी मार्की खेलाडीका रुपमा छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro