site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनका उमेदवार फेसबुक विज्ञापनमा : कसलाई कति खर्च ?

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उमेदवारहरू प्रचारप्रसारमा छन् । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समेत प्रचारप्रसार गरिएको देखिन्छ । 

निर्वाचन आयोगका अनुसार बिहीबार (आज) राति १२ बजेसम्म मात्र उमेदवारहरूले प्रचारप्रसार गर्न पाउँछन् ।

फेसबुकको ‘एड लाइब्रेरी स्पेन्डिङ ट्रयाक’का अनुसार पछिल्ला ३० दिन चुनावी प्रचारका लागि सबैभन्दा धेरै खर्च स्वतन्त्र उमेदवार कवि कुमारले गरेका छन् । उनी कीर्तिपुर नगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार हुन् । 

कवि कुमारले दुई वटा फेसबुक पेजमार्फत विज्ञापन गरेका छन् । उनले ‘युवा मेयर कवि कुमारलाई जिताऔँ’ नामको फेसबुक पेजमार्फत १३ वटा विज्ञापनमा २२१ अमेरिकी डलर खर्च गरेका छन् । आजको विनिमयदर अनुसार उनले २९ हजार ७२८ रुपैयाँ फेसबुक र इन्स्टाग्राममा विज्ञापनका लागि खर्च गरेका छन् ।

उनले अर्को फेसबुक पेज ‘कवि कुमार’मार्फत चार वटा विज्ञापन गरेका छन् । यी विज्ञापनका लागि उनले एकसय डलरभन्दा कम खर्च गरेका छन् ।

फेसबुकले सार्वजनिक रूपमा उपलब्ध गराउने रिपोर्टअनुसार यही मंसिर १६ गते हुने उपचुनावमा सबैभन्दा धेरै खर्च गर्ने उमेदवार कवि कुमार हुन् ।

फेसबुकले १०० डलरभन्दा बढी खर्चको रकम देखाउँछ, त्योभन्दा कम खर्च गरेको भने देखाएको छैन । फेसबुकमा एक दिएको विज्ञापनका लागि न्यूनतम एक डलर खर्च गर्न पाइन्छ ।

कीर्तिपुर नगरपालिका मेयरमा नेकपा (माओवादी केन्द्र)बाट प्रा.डा. शिवशरण महर्जन उमेदवार छन् । महर्जनले पनि फेसबुक र इन्स्टाग्राममा ६ वटा विज्ञापन गरेका छन् । उनले यी विज्ञापनमा एकसय डलरभन्दा कम खर्च गरेका छन् ।

कीर्तिपुर नगरपालिकाकै मेयरका स्वतन्त्र उमेदवार मिम महर्जनले पनि फेसबुकमा एउटा विज्ञापन गरेका छन् । यो विज्ञापनका लागि उनले सय डलरभन्दा कम खर्च गरेका छन् ।

कीर्तिपुर नगरपालिका–४ को वडा अध्यक्ष पदका लागि स्वतन्त्र उमेदवारी दिएकी पविता खड्का (अधिकारी)को पनि फेसबुकमा विज्ञापन भएको देखिन्छ । अधिकारीको विज्ञापन ‘स्वतन्त्र अभियान कि.न.पा ४’ नामको फेसबुक पेजले गरेको छ । 

यो पेजले अधिकारीसँगै कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका दिनेशकुमार अधिकारीको पनि विज्ञापन गरेको छ । यो पेजले उपचुनावका लागि १५ वटा विज्ञापन गरेको छ । यी सबै विज्ञापनमा यो फेसबुक पेजमार्फत एकसय डलरभन्दा कम खर्च भएको देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं महानगरपालिका–१६ की वडा अध्यक्ष उमेदवार रोजिना श्रेष्ठले हालसम्म फेसबुकमा तीन वटा विज्ञापन गरेकी छन् । तीन वटा विज्ञापनका लागि उनले एकसय डलरभन्दा कम खर्च गरेको फेसबुकले देखाउँछ ।

श्रेष्ठका लागि भनेर रास्वपा सांसद गणेश पराजुलीले पनि आफ्नो फेसबुकमार्फत दुई वटा विज्ञापन गरेका छन् । उनले तीन विज्ञापनमा एकसय डलरभन्दा कम खर्च गरेको फेसबुकको विवरणले देखाउँछ ।

फेसबुकले हटायो विज्ञापन
काठमाडौं–१६ का वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएका पशुपति कठायतले फेसबुकमा एउटा विज्ञापन गरेका छन् । तर, उक्त विज्ञापनले फेसबुकको विज्ञापन निर्देशिका नमानेको भन्दै फेसबुकले नै हटाएको हो । 

त्यसैगरी काठमाडौं–१६ मा राप्रपाका उमेदवार श्यामकृष्ण श्रेष्ठले चुनावी प्रचारका लागि फेसबुकमा सय डलरभन्दा कम खर्च गरेर पाँच वटा विज्ञापन गरेका छन् । तीमध्ये एउटा विज्ञापन फेसबुकले आफ्नो विज्ञापन निर्देशिका नमानेको भन्दै हटाएको छ ।

नेपाली कांग्रेसबाट काठमाडौं–१६ का वडा अध्यक्ष उमेदवार देवेन्द्र पाठकले फेसबुकमा आफ्नो चुनावी प्रचारका लागि राखेको विज्ञापन पनि हटाएको छ । 

हेटौँडा उप–महानगरपालिका–१२ का वडा अध्यक्षका उमेदवार अर्जुनप्रसाद तिवारीले पनि फेसबुकमा विज्ञापन गरेका छन् । ‘अर्जुनप्रसाद तिवारी सचिवालय’ नामको पेजबाट दुई वटा विज्ञापन गरिएको छ । यी विज्ञापनमा पनि सय डलरभन्दा कम खर्च भएको फेसबुकको विवरणमा देखिन्छ ।

यता, गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा उमेदवार बनेकी नेपाली कांग्रेसकी पासादिकी तामाङले पनि ‘पासादिकी तामाङ जिताऔँ' अभियानमार्फत विज्ञापन गरेकी छन् । उनले फेसबुकमा एउटा मात्र विज्ञापन गरेकी छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro