site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी पार्टी, एमालेको प्रचार : एकीकृत समाजवादीलाई भोट हाल्न निर्देशन

काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा हुन लागेको उपाध्यक्ष पदको उपनिर्वाचनले नेकपा (माओवादी केन्द्र)मा देखिएको विवादमा केन्द्रले हस्तक्षेप गरेको छ । माओवादीबाट उमेदवारी दिएकी राजुकुमारी विकले उमेदवारी फिर्ता लिएर नेकपा (एमाले)को प्रचारमा हिँडेयता विवाद भइरहेको छ ।

एमालेको गाउँपालिका कमिटी र माओवादीको गाउँपालिका कमिटीबीच चुनावी तालमेल गर्ने निर्णय भएको थियो । ०८४ मा हुने स्थानीय तह निर्वाचनमा उपाध्यक्ष, एक वडाध्यक्ष र केही वडा सदस्य पदमा माओवादीलाई एमालेले सहयोग गर्ने सहमति भएको नेताहरू बताउँछन् ।

सोही सहमतिपछि उमेदवारी फिर्ता लिएर विक एमालेकी उमेदवार सुलोचनाकुमारी भण्डारी बुढाको चुनावी प्रचारमा छिन् । माओवादीका जिल्ला संयोजक देवीचन्द्र बुढा (दीपक)ले मंसिर ६ गते विज्ञप्ति जारी गर्दै विकले उमेदवारी फिर्ता लिएकामा आपत्ति जनाएका थिए ।

“बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा सहभागी भई स्थानीय पार्टीको सिफारिसमा उपाध्यक्षको उमेदवार राजुकुमारी वि.क. ‘रचना’को उमेदवारी दर्ता भएको थियो । तर, हिजो ५ गतेका दिन वहाँले उमेदवारी फिर्ता गरेको कुरा सुन्नमा आएकोले यसप्रति जिल्ला पार्टीको गम्भीर ध्यानाकर्षण भएको र उक्त कार्य पार्टीका नीति, निर्देशनविपरीत भएको जानकारी गर्दछौँ । यस अवैधानिक कार्यमा जिल्ला पाटीको संलग्नता नरहेको र बिनाअनुमति उमेदवारी फिर्ता भएकोले यस कार्यप्रति घोर आपत्ति जनाउँदै उक्त काम पार्टीको विधानविपरीत भएकोले यसमा संलग्न जुनसुकै तहका कमरेडहरूलाई आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

उनले आपत्ति जनाए पनि माओवादीका नेताहरू एमालेको प्रचारमा हिँडेका थिए । त्यसपछि हेडक्वार्टरले हस्तक्षेप गर्दै नेकपा (एकीकृत समाजवादी)का उमेदवार जवा शाहीलाई भोट हाल्न निर्देशन दिएको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले त्यहाँको उपाध्यक्षमा एकीकृत समाजवादीलाई भोट हाल्ने निर्णय भएको जानकारी दिए । “एमालेलाई होइन, त्यहाँ एकीकृत समाजवादीलाई समर्थन गर्ने निर्णय भएको छ,” उनले बाह्रखरीसँग भने ।

माओवादीको सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले एमालेको प्रचारमा हिँड्नु पार्टीको केन्द्रीय नीति र निर्देशनविपरीतको क्रियाकलाप भएको बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीकी उमेदवार शाहीलाई मतदान गर्न निर्देशन दिएका छन् ।

“केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को बीचमा केन्द्रीय गठबन्धन गरेर जाने भन्ने सहमति भएको सन्दर्भमा बाजुरा, स्वामिकार्तिक खापर गाउँपालिकामा यही मंसिर १६ गते हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले एमालेलाई गरेको समर्थन सच्याई यस उपचुनावमा नेकपा (माओवादी केन्द्र)को समर्थन नेकपा (एकीकृत समाजवादी)को उमेदवारलाई गर्न र नेकपा (एकीकृत समाजवादी) पार्टीको उमेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

उक्त पालिकाको उपाध्यक्षका निम्ति नेपाली कांग्रेसका तर्फबाट पुल्तिसरा शाही उमेदवार छिन् । कांग्रेसका तर्फबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधनपश्चात् रिक्त पदमा यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । ०८० माघ ४ गते उनको निधन भएको थियो ।

०७९ को स्थानीय तह निर्वाचनमा जोशीले एक हजार ८१० मत प्राप्त गरेकी थिइन् । उनको निकटतम प्रतिस्पर्धी एमालेकी सुलोचनाकुमारी भण्डारी भण्डारीले एक हजार ६३७ मत ल्याएकी थिइन् । उनीहरूबीचको मतान्तर १७३ थियो । त्यहाँ माओवादीका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उमेदवार वीरसिंगे विकले ४१ मत पाएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro