site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
वर्ल्डलिंकमा फिनिस सरकारी कम्पनी फिनफन्डको एक करोड युरो लगानी

काठमाडौं । इन्टरनेट सेवाप्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फिनल्यान्डको सरकारी फन्डिङ कम्पनी फिनफन्डले एक करोड युरो लगानी गरेको छ । उक्त लगानी फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

बिहीबार आयोजित कार्यक्रममा फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल र फिनफन्डका तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Argakhachi Cement Island Ad

“वर्ल्डलिंकले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको छ,” फिनफन्डका वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले भने, “फिनिस लगानीकर्ता भएकोले हामी पक्कै पनि वर्ल्डलिंकले आफ्नो इन्टरनेट सेवाहरू पिस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौँ ।”

डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिंकको विस्तारले वर्ल्ड लिंकका ग्राहकहरूलाई मात्र नभई अन्य इन्टरनेट सेवाप्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरूलाई पनि फाइदा पुग्नेछ ।

“फिनफन्डको लगानी नेपालको हरेक कुनालाई तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने हाम्रो लक्ष्यमा एउटा महत्त्वपूर्ण कोसेढुंगा साबित हुनेछ,” वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, “हाम्रो फाइबर नेटवर्क विस्तार गरेर तथा विश्वस्तरीय डाटा सेन्टर स्थापना गरेर हामीले सहर र ग्रामीण भेगबीचमा देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौँ ।”

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्