विशेष
काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्ने लक्ष्य लिएका नेपाली राष्ट्रिय फुटबल टोली मलेसियामा अन्तिम तयारी गरिरहेका छन् । एएफसी सोलिडारिटी कपको उपाधि जित्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोलीले अन्तिम तयारी स्वरूप दैनिक अभ्यास जारी राखेका छन् ।
एएफसी सोलिडारिटी कपको उद्घाटन खेलमा बुधबार बेलुका समूह एका ब्रुनाई र टिमोर लिस्टे प्रतिस्पर्धा गर्दैछन् । र, नेपाली टोलीले एएफसी सोलिडारिटी कपको उद्घाटन अघि बुधबार बिहान कुचिङस्थित युनीमास युनिभर्सिटीको मैदानमा अभ्यास गरेका थिए ।
नेपालले पहिलो खेलमा कात्तिक २० गते टिमोर लिस्टेसँग खेल्नेछ । त्यस्तै नेपालले समूह चरणको अन्तिम खेल ब्रुनाईसँग कात्तिक २३ खेल्नेछ । लिग कम नकाउटका आधारमा हुने प्रतियोगितामा दुई समूहको बिजेता र उपबिजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । सात टोली सहभागी हुने सोलिडारिटी कपको समूह बीमा श्रीलंका, मकाउ, लाओस र मंगोलिया छन् ।
कप्तान अनिल गुरुङको कप्तानीमा रहेको नेपाली टोलीको लक्ष्य उपाधि जित्नु रहेको छ । सोलिडारिटी कप अघि मंगलबार मलेसियाको कुचिङमा भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक जापानिज गोटुकु कोजीले आफ्नो लक्ष्य एएफसी सोलिडारिटी कपको उपाधि जित्ने रहेको बताईसकेका छन् । गत मार्चमा नेपाली राष्ट्रिय टिमको प्रशिक्षक बनेका कोजीको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता समेत हो । कोजीको प्रशिक्षणमा नेपालले यसअघि दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको छ ।
एएफसी सोलिडारिटी कपको लागि अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय टोली नेपाली टोली मलेसियामा रहेका छन् । नेपाली टोलीमा टोलीमा ८ डिफेन्डर, ६ मिडफिल्डर, ६ फरवार्ड र ३ गोलकिपर छन् ।
नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, किरण चेम्जोङ्ग र बिशाल श्रेष्ठ रहँदा डिफेन्डरमा बिराज महर्जन,रबिन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, कमल श्रेस्ठ, देबेन्द्र तामाङ्ग, रन्जित धिमाल र आदित्य चौधरी छन् । त्यस्तै मिडफिल्डरमा बिशाल राई, हेमन गुरुङ, बिक्रम लामा, सुजल श्रेष्ठ र राजेन्द्र रावल छन् भने फरवार्डतर्फ कप्तान अनिल गुरुङ, नवयुग श्रेष्ठ, भरत खवास, बिमल घर्ती मगर, रन्जन बिष्ट र अन्जन बिष्ट छन् ।
एएफसी च्यालेन्ज कप आयोजना हुन छोडेपछि एएफसीले त्यसको विकल्पको रुपमा एएफसी सोलिडारिटी कप आयोजना गरेको हो । र, एएफसीले सन् २०१८ को विश्वकप र २०१९ को एसियन कप छनोटबाट बाहिरिइसकेका टोलीलाई प्रतियोगितामा सहभागी गराएको हो ।
तस्बिरः सौजन्य एन्फा
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ १५:२७
प्रतिक्रिया दिनुहोस्