ब्लग
जिप झ्याप्प रोकियो । टइइटटटटटटटटट..............। घुम्ती काटेर जिप उकालो चढ्दै थियो । स्टार्टै बन्द भयो । चालकले गियर बदलेर जिप स्टार्ट गर्ने कोसिस गरे । घर्यार्र घर्यार्र घररररर .............। तर, स्टार्ट भएन । साँझको साँढे ७ बज्दै थियो । चारैतिर अँध्यारो थियो । टाढा टाढासम्म पनि मानव बस्ती थिएन । हामी मुस्ताङ जिल्लाको लेतेमा थियौँ । दुवैतर्फ ठूला ठूला अजङ्गको पहाड । बीचमा कालीगण्डकी बगेको थियो । कालीगण्डकीको बा“या पट्टिको पहाडलाई फोरेर मोटरबाटो बनाइएको थियो । कच्ची अनि सा“घुरो सडक । सडकमा एकपटक एउटा मात्रै सवारी साधन गुडाउन मिल्ने । अर्को दिशाबाट आएको सवारीलाई साइड दिनु परेमा फराकिलो ठाउ“ खोज्नुपर्ने । गाडीको पांग्राले अलिकति पनि ट्रयाक छोडेमा सिधै कालीगण्डकीमा ।
चालकले कराए – ‘‘एक जना ओर्लिएर ओट राख्नुहोस त’’ । मेरो मन ढक्क फुल्यो । म र सुदीप चालकस“गैको सिटमा थियौँ । म ढोकाकै छेउमा थिए । त्यसैले छिटो ओर्लन सकेँ । मेरो मनले लख काटिसकेको थियो । तैपनि मनलाई बलियो बनाएँ । जिपबाट झरेर बाहिर ढुंगा खोज्न थालें । एक त अँध्यारो त्यसमा पनि मरुभूमि जस्तो ठाउँमा सुख्खा माटोबाहेक केही नभेटिने । न त रूखपात न त ढुंङगा नै । सुदीपले माबाइलको स्क्रिन अन गरेर उज्यालो देखाउनु भयो । मैले बल्लबल्ल दुईओटा ढुङगा भेटें । र जिपको पछाडिका दुई पांख्रामा लगेर ओट राखेँ ।
यतिकैमा चालकले भने – ‘‘लौ भयो, अब आउनुहोस्’’ । जिप स्टार्ट भयो तर मेरो मन भने मानेन ।
हामीले घा“सामा आएर जिप चढेका थियौँ मुस्ताङका लागी । घा“साबाट करिब १२ किलोमिटर हिँडेपछि नै जिप बिग्रियो । जिपको पांग्रालाई नियन्त्रण गर्ने नटबोल्ट ढुङगामा ठोकिएर भाँचिएछ । सा“झको ६ बज्दै थियो । त्यत्तिकैमा हामीस“गै छुटेको बस पनि आइपुग्यो । अनि जिप र बसका चालक दल मिलेर नटबोल्ट बनाए । करिब एक घन्टा समय खर्चिएपछि मोटरको मर्मत भयो । अनि हामी सोही जिपमा चढेर हिँड्यौ । एकपटक बिग्रिसकेकाले मनमा चिसो पसेको थियो । त्यतिबेला नै सन्जिपले भनेका थिए ‘‘यस्तो उकालोमा गाडीको इन्जिनको भर नै हु“दैन । कुनै पनि बेला ब्रेकफेल हुन सक्छ । त्यतिबेला ढोका खोलेर हामफाल्नुपर्छ । ज्यान जोगाउनुको अरु विकल्प नै हुदैन ।’’
अन्ततः लामो समयको योजनापछि २०७१ साल असोजमा मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने हाम्रो निधो भएको थियो । घटस्थापनाको पर्सिपल्ट तृतियाको दिनदेखि काठमाडौंबाट हाम्रो यात्रा सुुरु भयो । यात्राको सुरुमा हामी दुई (सुदीप र म )बाट भएको थियो । तर, पोखरा पुगेपछि सन्जिप (दाजु) र सुजन (भतिज) थपिए । पोखरा घरमा एकरात बसेपछि भोलिपल्ट हामी बिहानै ६ बजे सृजनाचोक पुग्यौँ । बिहान ६.३० को माइक्रोबस चढ्यौँ बेनीसम्मका लागि । बाटोमा सिमसिम पानी पर्दै थियो । बाटोमा पहिरो गएको खबर पनि सुनेका थियौँ । तर, लामो समयपछि बनेको योजना हामीले रद्द गर्न चाहेनौ । बिहान ९.३० मा बेनी बसपार्क पुग्यौँ । बेनी पुग्दा भने घाम लागिसकेको थियो । बेनीबाट ११ बजेको बस चढेर घाँसातर्फ लाग्याँै ।
बसको सबै सिट भरिएका थिए । टिकट लिनेले सिट पाए । नजिककै पुग्नेहरू भने टिकट नलिकैन यात्रा गर्दै थिए । अधिकांशको हातमा समानका ठूलाठूला झोला थिए । दसंैको बेला बेनी बजारमा किनमेल गर्न आउनेको भिडले बस खचाखच भयो । छतमा उत्तिकै थिए । बेनीको गलेश्वर मन्दिर हु“दै बस अगाडि बढ््यो । कच्ची सडक । बायाँपट्टि ठूलो पहाड । दाया“पट्टि अर्को अजंगको पहाड । अनि बीचमा कालीगण्डकी । गण्डकीको तिरतिरै हँुदै गुड्यौँ हामी । माटैमाटो भएको सडक केही दिनदेखि परेको पानीले हिलाम्मे भएको थियो । बाटोको हिलोमा बस आधा जति डुब्थ्यो । बीचमा भएको खाल्डोमा पांग्रा पर्दा बस कहिले दायाँ, कहिले बायाँ लच्किन्थो । दायाँ लच्किदा आँगै सिरिंग हुन्थ्यो । कालीगण्डकीमा खस्यो खस्यो जस्तो लाग्थो । तैपनि आँखा चिम्लदै तीन घन्टाको यात्रा तय गरी दाँबा पुगियो ।
उसो त बेनीदेखि सिधै जोमसोमसम्म एउटै बस पुग्ने रहेछ । तर, बीचबीचमा ठूलो पैरो गएकाले धेरै बस फेर्नु प¥यो । बसले दाबाँमा रोकिदियो । खोलाले गाडी गुड्ने सडक नै बिगारी दिएपछि बसले खोलावारि नै छाडी दियो । सहचालकले भने – ‘‘बस यहाँसम्म मात्रै हो, अब खोला पारी गएर अर्को बस चढ्नुपर्छ ।’’ हिउँदमा बस सोही खोला भएर नै जाने रहेछ । तर, वर्षामा आएको पानीको भेलले बाटो नै बिगारिदिएको रहेछ । हामीले जुत्ता, मोजा फुकाल्यौँ । अनि एक अर्काको हात समाउँदै खोला तर्यौँ । खोला पार अर्को बसले यात्रुलाई नै पर्खेको रहेछ । बस भरिनेबित्तिकै गुडी हाल्यो । बस गुड्नेबित्तिकै चालकले भने –‘‘एक जनाको भाडा रू ५० हो । अहिले नै सबैजनाले दिई हाल्नु है । झर्ने बेलामा हतार हुन्छ ।’’
मुस्किलले दुई किलोमिटरको दूरी पार गरेपछि रूप्से झरनामा पुगेर बस रोकियो । झरनामा पानी बढेकाले बस गुड्ने बाटो बन्द भएको रहेछ । त्यसैले हामी पुनः अर्को बस चढ्नु पर्ने भयो । फेरि रू.५० तिरेर एक किलोमिटर जतिको यात्रा गर्यौँ । त्यसपछि भने बस चढी रहनुपर्ने झन्झट सकियो । विभिन्न चार स्थानमा ठूलो ठूलो पहिरो गएको रहेछ । त्यसैले करिब ५ किलोमिटर जति हिडेरै यात्रा गर्नुपर्ने भयो । करिब तीन घन्टा जति हिँडेपछि हामी घाँसा पुग्यौँ ।
मुस्ताङको प्राकृतिक सौन्दर्यले मलाई आकर्षित गरेको थियो तर, जाने कारण त्योमात्र थिएन । मुख्य कारण त धार्मिक आस्था नै हो । मेरो आमाबुबाले मुक्तिनाथको दर्शन गरेपछि हामी दाजुबहिनी जन्मिएका रे ! लगातार चार वटी छोरी जन्मिएपछि गाउँलेको मुख टाल्न मेरी आमाले छोरा पाउनै पर्ने भयो । त्यसैले आमाबुवा छोरा पाउने आर्शीवाद माग्न मुक्तिनाथको दर्शन गर्न जानु भएछ । तर, एउटा समान खरिद गर्दा अर्को सित्तैमा भनेजस्तै मेरी आमाले एउटा छोरा माग्दा भगवानले मलाई पनि सित्तैमा दिएका रे ! छोरा पाएपछि बुबाले छोरालाई लिएर मुक्तिनाथ दर्शन गर्न आउँछु भन्ने भाकल गर्नु भएको थियो रे । त्यसैले जहिलेदेखि हामी कुरा बुझ्ने भयौँ त्यति बेलादेखि बुबाले यही कुरा दोहोर्याउनु हुन्थ्यो – तिमीहरूलाई मुक्तिनाथ भगवानको अगाडि लैजानु छ । तिमीहरू मुक्तिनाथका प्रसाद हौ । एकपटक मुक्तिनाथ पुग्नैपर्छ भन्नुहुन्थ्यो । तर, उहाँ जीवित नै रहदाँ यो इच्छा पूरा हुन सकेन । तै पनि बुबाआमाको भाकल पूरा गर्न र बुबाको श्राद्ध गर्न भनी हामी मुक्तिनाथ जाँदै थियौँ ।
‘‘ल ल भयो, बस्नु बस्नु’ चालकले भने । सुदीप जिपमा बस्नुभयो । म पनि बिस्तारै बसेँ र ढोका लगाउँदै थिएँ । चालकले गियर चेन्ज गर्यो । तर, फेरी स्टार्ट बन्द भयो । गाडी बिस्तारै तल झर्न थाल्यो । अब चाहिँ पक्कै केही गर्नैपर्छ । सन्जिपले बाटोमा भनेको याद आयो । उकालोमा भर नै हुँदैन । म तुरून्तै जिपको दायाँ साइडको ढोका खोलेर ओर्लिए । अनि सुदिपको हात पनि ताने । तर, दायाँ साइडमा अजंगको पहाड थियो । त्यसैले ढोका त खोले तर, म ढोका र पहाडको बीचमा चेपिएँ । जिप तल झर्दै जाँदा ढोकाले पनि मलाई घिसार्न थाल्यो । त्यत्तिकैमा सुदिपले जिपको ढोका बेस्मारी पछाडी धकेल्नु भयो । ढोका भाँचियो । र म बाहिर निस्किएँ । सुदिप पनि ढोकाबाट हामफाल्नु भयो । जिपको पछाडि सात जना यात्रु थिए । जिप बिस्तारै पछाडि सर्न थाल्यो । हामी गुहार माग्न थाल्यौँ ।
सन्जिप बाहिर निस्क – म कराए । जिप अनियन्त्रित भयो । ढल्ने पक्का भयो । जिपभित्र सुजन पनि थियो । मेरो दिमाग शून्य भयो । मलाई सन्जिप र सुजनलाई पनि बाहिर निकाल्नु थियो । त्यसैले म जिपको बायाँ साइडमा बसेर धान्न थाले । त्यतिबेला मैले जिप धानेर धानिदैन भन्ने ख्याल नै आएन । तल सिधै कालीगण्डकी । म सन्जिप सन्जिप भन्दै थिए । सन्जिप झयालको छेउमा नै थिए । त्यसैले मलाई लाग्यो म जिपलाई धान्छु अनि सन्जिप ढोकाबाट निस्कन सक्छन् । सन्जिपभित्रबाट कराउन थाले – सानी, तिमी भाग, तिमी छोड, छोड........। कठै १५ दिन हिडेर मुक्तिनाथको दर्शन गरेर मेरी आमाले पाएको छोरा । ......त्यो अवस्था म कसरी हेर्न सक्थे र ? त्यतिबेलासम्म हामी पछाडिको बस पनि हामी भए नजिकै आइपुग्यो । बसको हेडलाइटले उज्यालो दियो । तर, कसैले केही गर्न सक्ने आँट भने देखाएनन् । सबै बसबाट ओर्लिएर हेरी रहे । म सबैसँग बिलौना गर्दै थिएँ । आखिर गर्न पनि के नै सक्थे र ? सब मूकदर्शक बनी रहे । तैपनि, म जिपलाई समात्दै थिए यत्तिकैमा मलाई पछाडिबाट कसैले तान्यो । अनि उता ठूलो आवाज आयो । ड्याम्प......डडडडड......। जिप पल्टियो । मेरो हात खुट्टा गले, अनि म भुईमा पछारिएँ । दिमाग शून्य भयो । मानिसहरू कराउन थाले । तर, आवाज टाढा कतैबाट आएजस्तो मधुरो लाग्यो ।
‘मुना मुना, कसैले आवाज दियो । आँखा हेर, उठ ! पानी झम्कियो कसैले । सुदीप कराउनु भयो : मुना, ऊ हेर सन्जिपलाई केही भएको छैन ।’ विश्वास लागेन । आँखा उघारें । नभन्दै सन्जिप टाउको समाउँदै आए । सुजन पनि खुट्टा समाउँदै आइपुग्यो । त्यसपछि म आफू बाँचेजस्तो लाग्यो । हामीले एक अर्कोलाई अँगालो हाल्यौँ । अनि रोयौँ ।
भगवानको दयाले भनौ वा चालकको होसियारीले जिप सडकमा नै बजारिएछ । चालकले जिपलाई पूरै मोडेर भित्तातिर ठोकाएछन् र जिप सडकमै पल्टाएछन् ।
अन्य याुत्रलाई बसका यात्रुले उद्धार गरे । समान पनि निकाली दिए । त्यसपछि सबैलाई बसमा चढाएर जोमसोमको अञ्चल अस्पताल पुर्याइदिए । हामीलाई भने सामान्य चोटपटक लागेकाले हामी होटलतिर नै लाग्यो । भोलिपल्ट थाहा भयो, पछाडिको सिटमा बसेका तीन महिलालाई गम्भीर चोट लागेको रहेछ ।
होटलमा खाना त खा तर रातभर निन्द्रा लागेन । भोलिपल्ट मुक्तिनाथ दर्शन गरेर सोही दिन घाँसा बास बस्न पुग्यौँं । अघिल्लो दिनको घटनाले प्रत्येक पल झस्काई रह्यो । दुर्घटनापछि ती चालकको माया लागेर आयो । भर्खरै २२/२३ वर्ष पुगेको हुनुपर्छ । जुँगाको रेखी भर्खरै बसेजस्ता थिए । तर, तिनले ठूलो बुद्धि र बहादुरीको काम गरे । उनी जिपलाई छोडेर हामफाल्न पनि सक्थे । त्यसो गरेको भए जिप सिधै काली गण्डकीमा खस्ने थियो । अरू जे सुकै भए पनि उनको ज्यान पक्कै बाँच्ने थियो । तर, उनले त्यसो गरेनन् । स्टेरिङलाई जति सक्दो घुमाए । अनि जिपलाई पहाडमा ठोकाएर हामीलाई पनि बचाए ।
भोलिपल्ट घाँसामा बास बस्दा अन्य चालकदलबीच हाम्रै दुर्घटनाको चर्चा हुँदैथियो । म होटलको अगाडिको पिँढीमा बसेको थिएँ । उत्ता चार जना मानिस कुरा गर्दै थिए : हिजो जिप ठूलो दुर्घटनाबाट बाँच्यो । केटी पनि धन्न बाँची । केटी आँटिली नै रहिछ । ढुगां खोजेर ओट राँख्दै थिई । उनीहरूको कुराले मलाई भने असहज लाग्यो । किनभने दुर्घटनाले मानसिकरूपमा म विक्षिप्तजस्तै बनेकी थिएँ ।
फर्किँदा हामी सबै चुपचाप थियौं । कोही कसैसँग बोलेनौ । डर सबैलाई लागेको थियो तर, कसैले व्यक्त गरेनन् । बेनी आइपुगेपछि मात्रै अब त बाँचियोजस्तो लाग्यो ।
समय र मौसमले साथ दिए मनांग पनि पुग्ने हाम्रो योजना थियो । तर, हामी मुक्तिनाथबाटै फर्कियौँ । जे सोचेर मुक्तिनाथ गएका थियौँ त्यो पूरा भएन । औचापरिक दर्शन गरेरमात्रै फर्कियौँ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७३ १२:५६
प्रतिक्रिया दिनुहोस्