ईश्वर पोखरेल
दसैंमा घर जानु पर्ने । जानै पर्ने । ती दिनमा काठमाडौंबाट जनकपुरतिर जाने बसहरू सीमित । आफ्नो लागि सुहाउँदो र भरपर्दो यातायातको साधन भनेको— साझा बस । साझा बसको मुख्य काउन्टर सुन्धारामा । साझा बसको रुटैपिच्छे छुट्टाछुट्टै काउन्टर । सोह्रसरादको प्रारम्भतिरै अग्रिम टिकट खुल्यो कि खुलेको छैन भनेर दिनमा एकफेर कोही न कोही पुग्ने क्रम सुरु हुन्थ्यो— साझा बसको काउन्टरमा । कर्मचारी पनि जवाफ दिँदादिँदा झिँजो मान्न लागे झैँ देखिने । झर्किने । हुन त काउन्टरमा पुग्नै पर्ने पनि थिएन ।
टिकट खुलेको खबर आफैँ हुत्याउने गरी आइपुग्थ्यो— ठाउँको ठाउँ । तर, खबर सुनेर जानेहरू ढिलो भइसकेका हुन्थ्ये । मान्छेहरू सोह्रसराददेखि नै आफ्नो अड्डाको समय सकिएपछि सुन्धारा हुँदै डेरा फर्किन्थे । यसरी आउँदा टिकट खुलेको सुइँको पाएपछि ऊ डेरा आइपुग्दैनथ्यो त्यहीँ लाइनको हिस्सा बन्थ्यो । अनि त्यहीँबाट कुनै तरहले आफ्नालागि खाना, पानी र ओड्नेओछ्याउने मगाउँथ्यो । खबर सुनेर जाने व्यक्तिले भने लाइनमा कैयौं जना पछाडि उभिनु पथ्र्यो । लाइनमा पछाडि पर्नुको सोझो अर्थ हुन्थ्यो— टिकट पाइने सम्भावना क्षीण हुनु । त्यसैले लाइनमा पछाडि पर्ने व्यक्ति पनि आफू लाइन छाड्दैनथ्यो बरु भित्रभित्रै टिकट मिलाउने कुनै सूत्र छ भने त्यसको खोजी गर्न र त्यस सूत्रलाई सक्रिय तुल्याउन भाइ वा निकट व्यक्तिलाई खटाउँथ्यो । ती दिनमा पनि सुशासन यत्ति ‘जब्बर’ थियो कि अरूभन्दा पहिले बसको टिकट देखाउँदै लाइनलाई ‘बाई बाई’ गर्ने मौका त्यही अन्तिममा उभिनेलाई जुथ्र्याे ।
यो जो लाइन हुन्थ्यो, नियमतः त्यसको भाग्यको ढोका भोलि बिहान ९ बजेमात्र खुल्थ्यो । त्यसैले लाइनमा जो हुन्थे सबैको सबैसँग परिचय हुन्थ्यो, अड्डा/अफिसका बारेमा चासो राखिन्थ्यो, यहाँ काठमाडौंको डेरा/बसोबासका बारेमा यकिन गरिन्थ्यो । अनि पहाड घरको सोधीखोजी हुन्थ्यो, पुगेको वा आफ्नो चिनजानको मान्छेको घर त्यतै छ भने उसको घरदेखि कता र कति पर हो भन्ने बारेमा खुल्दुली मेटिन्थ्यो र यस्तो खुल्दुली घरको जग खनेकै ठाउँ पत्ता लगाएरमात्र शान्त हुन्थ्यो । यही बीचमा खैनी/सुर्तीको आदानप्रदान हुन्थ्यो । कसैले सुर्ती मोलेको देख्नु हुन्नथ्यो केही थान चिनेका/नचिनेका हातहरू याचनाको मुद्रामा आउँथे ।
यही मौकामा यस अम्मलको घोर भर्त्सना हुन्थ्यो । यस्तो भत्र्सना समवेत स्वरमा पनि हुन सक्थ्यो । अनि पालो आउँथ्यो– साइनोको । साइनो केलाउने सवालमा जात, थर र पहाड घरले केही संकेत गरेको हुन्थ्यो । त्यही संकेतको गोहो पछ्याएर अगाडि बढ्थ्यो– कुराकानी । कुराकानी लगत्तै खोजीनीतिमा रूपान्तरण हुन्थ्यो र नातागोता खुट्ट्याइन्थ्यो । बिहान हुनेहुने बेलासम्ममा लाइनमा उभिएकोमध्ये कोही दाजु हुन्थ्यो, कोही भिनाजु, कोही भाइ हुन्थ्यो त कोही जेठान । यो नाता बिहान नित्यकर्मका लागि ट्वाइलेटमा लाइन लाग्न जाँदा स्थानको रखवारी गरिदिन काम आउँथ्यो ।
लाइनमा रहेका मान्छेहरू परस्परमा बात मार्थे, अघिल्ला सालका आआफ्ना अनुभव सुनाउँथे, ठट्टा गर्थे; जोकिङ र हँस्यौली राम्रै हुन्थ्यो । यसबाहेक लाइनका मानिसहरूको दह्रो र सक्रिय संवाद हुन्थ्यो– लामखुट्टेसँग । दसैं मनाउन घर जाने मानिसहरूले सबैभन्दा पहिले सुन्धाराको साझाबसको टिकट काउन्टरअघि लामखुटटेलाई दसैं मनाइदिनु पथ्र्याे । सुरुमा लामखुट्टेलाई धपाउन पनि खोजिन्थ्यो तर लामखुट्टे पिँडुलामा पनि छ, पाखुरामा पनि छ, घाँटीमा पनि छ, डाढमा पनि छ । लामखुट्टे कहाँ छैन र ! कहाँको मात्र लामखुट्टे धपाउनु !! त्यसलाई चाहिँ किन धपाउने ? किन रगत चुस्न नदिने ? भेदभाव गर्ने किन ! शत्रु हो र ? रात छिप्पिँदै र निन्द्राले च्याप्दै गएपछि बिस्तारै मानिसहरू झकाउन थाल्थे भने लामखुट्टेलाई निन्द्राको फ्रिक्री थिएन । यसरी लामखुट्टेलाई धपाउने सवालमा रात बित्दै र निन्द्राले थिच्दै आएपछि मानिसहरूमा अचानक अन्तरज्ञान खुल्थ्यो— ‘यो संभव छैन ।’
कोही राति ढिलो निदाउँथ्यो । टिकट काउन्टरको झ्याल घ¥याक्क गरेपछि अरुले उसलाई उठाइ दिनुपथ्र्यो । झ्वाट्ट उठाउँदा उसलाई यथास्थितिको बोध गर्न केही समय लाग्थ्यो । अनि किञ्चित लाज मानेजस्तै गरी ऊ मुसुक्क हाँस्थ्यो र खैनी माग्थ्यो । अब बुझे हुन्थ्यो— ‘ऊ पूरा होसमा छ ।’
यी दिनमा साझा बसको सिट घटेर यति थोरै हुन्थ्यो; बाह्रपन्ध्रवटा सिटको टिकट बिक्री भएपछि काउन्टरमा स्टुलको टिकटमात्र बाँकी रहन्थ्यो । मानिस जुनसुकै बेहोराको होस् टिकट लिन हिजोदेखि लाइनमा छ त किन छोड्थ्यो ! यहाँ स्टुलको अर्थ कुनै किसिमले बस्ने साधन विशेषको नाम होइन बरु बसमा उभ्भिएर यात्रा गर्न पाइने अनुमतिको नाम हो ! अब बसभित्र उभ्भिन पाइने भइयो भन्ने खुसीमा टिकट हातमा परेपछि मानिस लाइनका अन्य मानिसतिर फर्किएर खिस्स हाँथ्यो । अरूले उसको हाँसोको ईष्र्या गर्थे ।
साझा बस सात बजे वरपर काउन्टरबाट हिँड्थ्यो । मानिसहरू घरका लागि दसैंका पोकापन्तुरा बोकेर पाँच बजे आसपासमा काउन्टरमा पुगिसकेका हुन्थे । साझा बसमा लगेज राख्न छत हुँदैनथ्यो; लगेजको सिटमुनि वा प्यासेजमा व्यवस्थापन गर्नुपथ्र्यो । कसैले प्यासेजमा ब्याग बिसाउँथ्यो र सबैले सुन्नेगरी भन्थ्यो— ‘फुट्ने सामान छ है ।’ यसको अर्थ ‘मेरो ब्याग हाकाहाकी नकुल्चिदिनोस्’ भनेर ब्यागधनीका तर्फबाट दुनियाँका सामु भएको याचना मात्र हो भनेर कसले बुझ्दैनथ्यो र ! अन्ततः प्यासेजमा रहेका सबै झोला/गुन्टा सबैको लात्तेभकुन्डो हुन्थे । झोलामा कसैले घरपरिवारका लागि गुँदपाक जस्ता कोसेली बोकेका भए बसबाट झरेपछि होइन; घरमै पुगेपछि मात्र त्यसको हालत बुझ्न जाँगर चल्थ्यो ।
साझा बसको सिटमा जो बसेको हुन्थ्योऊ आफूलाई नागरिक सम्झिन्थ्यो र बाँकी सबैलाई रैती । उसलाई छुनु हुँदैनथ्यो । तत्क्षण भरखर ब्याएको पोथी कुकुरको स्वभाव धारण गर्थ्यो । तर, फेरि कोही चाहिँ अत्यन्त सहृदयी पनि टुसुक्क बस्न छेऊ दिने, डण्डीमा डाढ टेकाउन पनि दिने । यी जति दिन्थे; त्यो प्राप्त गर्नु अहोभाग्यको कुरा थियो; बाटामा उसले खाएको खानाको पैसा पनि तिरिदिऊँ भैm लाग्ने !
हामी जनकपुर जाने बसबाट बर्दिबासमा उत्रिन्थ्यौँ । ती दिनमा हाम्रो झोलाहरू बोकेर बर्दिबासबाट उत्तरतर्फ पैदलयात्रा सुरु हुन्थ्यो । हामी यहाँबाट ६ कोस टाढा भनिएको भिमानसम्म पुग्ने लक्ष्य बनाउथ्यौँ र मोटेको होटलमा मासुभात खाएर यात्राभरि खाएका बेस्वादका खान्कीलाई बिर्सिने सपना बुन्थ्यौँ । बसमा उभिँदाउभिँदा खुट्टा सुन्निएका हुन्थे र बर्दिबासमा उत्रिएपछि प्रथमतः खुट्टाको असहयोग सामना गर्नुपर्थ्यो । त्यसको असहयोग जुत्तामा पस्न अस्वीकार गर्नबाट प्रारम्भ हुन्थ्यो । अनि चप्पल किन्यो, सुन्निएका खुट्टामा चप्पल ! पाटु पुग्दाओर्दा चप्पल पनि फुकालेर खाली खुट्टा हिड्नुपर्थ्यो । अनि थाहा हुन्थ्यो— रातु खोलाको गेगर र बालुवामाथि खाली खुट्टा हिड्नुको वास्तविक दुःख ।
काठमाडौंबाट हिँडेको दिन हामी कसैगरी भिमान पुग्थ्यौँ । मोटे साहुले परिचित मुस्कानका साथ हामी सबैलाई स्वागत गथ्र्यो । खाना खाएपछि साहूले सुत्नका लागि यथाशक्य निःशुल्क व्यवस्था मिलाउँथ्यो । हाम्रो भागमा अझै कमला नदीको एकसरो बगर, रानीचुरीको ठाडो उकालो, मुजुराको ओरालो, मुजुरादेखि तिलङ्गेसम्म जिर्गाहा/चदाहाको ११ जङ्घार खोला र तिलङ्गेदेखि कदमेसम्मको लगभग पाँच किलोमिटर बगरबाटो बाँकी रहन्थ्यो ।
(तीनपाटन, सिन्धुली
हाल : बोझेपोखरी, ललितपुर)