site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
तपाईं त आज जाँदै हुनुहुन्छ । खै ! हामी त कहिले हो कहिले...

“तपाईं त आज जाँदै हुनुहुन्छ । खै हामी त कहिले हो कहिले ।” होटेलबाट एयरपोर्ट निस्किँदै गर्दा असदका यी शब्दले मन अमिलो बनायो । 

असद रोजगारको सिलसिलामा साउदी अरबियाको रियाद पुगेको करिब दुई वर्ष पुग्दै थियो । म सात दिनका लागि पुगेकालाई त दोस्रो दिनदेखि नै कतिबेला आफ्नो देश पुगौँ भन्ने छटपटी थियो, उनी त दुई वर्ष देश बाहिर । ओहो ! देश, गाउँ, साथीभाइको याद कति गुम्सिएका होलान्, असदको मनमा । 

असद मिया, उनी चितवनका बासिन्दा हुन् । उमेरले २५ आसपासका । बढ्दो उमेरले जिम्मेवारी पनि बढाउँदै लगेपछि साउदी हानिएका । साउदीमा उनी ओलैयास्थित पाँचतारे होटल ‘रोश रायान बाई रोताना’मा काम गरिरहेका छन् ।

विश्वभरका खेलकुद पत्रकारहरूको संगठन एआईपीएसले आयोजना गरेको युवा पत्रकार कार्यक्रममा रियाद पुग्दा असदसँग मेरो भेट भएको थियो । उनी होटलको लबीमा कार्यरत थिए । 

मेरो फ्लाइट समय अक्टोबर ८ को राति १०ः१५ मा थियो । सँगैका सहकर्मीले आज जाने भएपछि चेकआउट अहिले नै गर्दा राम्रो भनेपछि दिउँसो १ बजे मैले आफ्नो सबै सामानको गुन्टो कसे ।

म लबीमा आउँदा हामी दुई देशका मात्रै बाँकी थियौँ । मसँगै थिइन्, प्यालेस्टिनी पत्रकार माराह । उनको फ्लाइट साँझ ६ बजे आसपास थियो । त्यसअघि नै बाँकी १२ देशका प्रतिनिधिले रियाद छोडिसकेका थिए । माराहले पनि दिउँसो दुई बजे होटल छोडिन् । कार्यक्रमको व्यवस्थापन जिम्मेवारी पाएका व्यक्तिले रियादमा अचाक्ली जाम हुने भनेपछि माराह चार घण्टाअघि नै होटलबाट निस्किइन् । 

त्यसपछि म होटल छोड्ने अन्तिम व्यक्ति बनेँ । असदको डिउटी दिउँसो ३ बजेपछि सुरु हुन्छ भन्ने थाहा थियो । लबीमा एक्लै मोबाइल हेर्नुको विकल्पै भएन, मसँग । 

अक्टोबर २ मा रियाद पुगेपछि मैले होटलमा तीनजना नेपालीसँग कार्यरत भएको पाएँ, जसमध्ये एक जनाको नाम बिर्सिएँ । उनी झापाका थिए । अर्का थिए, विश्वास भोलन । जो होटलमा क्लिनरको काम गर्थे । उनी पनि असदजस्तै, उमेरले २५ आसपासका । 

लबीमा मलाई देखेर विश्वास नजिक आए । “तपाईंको फ्लाइट आज हो ?,” विश्वासका यी प्रश्नले मेरो ध्यान मोबाइलबाट हट्यो । “हो नी,” मैले हात मिलाउँदै भनेँ ।

“अब फेरि आउनुहुन्छ कि सकियो ?,” उनले फेरि प्रश्न थपे । “हाम्रो कार्यक्रम सकियो । अब यसैका लागि आउदिनँ । तर, कुनै अरू कार्यक्रम भयो भने सम्भावना छ,” मैले फेरि जवाफ दिएँ ।

“ल अब मिलेछ भने नेपालमा भेटौँला है त । हामीलाई ह्याँ यसरी धेरैबेर उभिन दिँदैन । माथिबाट हेरिरहेको हुन्छ । फेरि गाली गर्छन्,” यति भन्दै उनी पुनः मोप घिसार्दै हिँडे । म फेरि मोबाइल हेर्न लागेँ । 

दिउँसो साढे तीन बजे असद लबीमा आइपुगे । मलाई लबीमा हान्डब्यागसहित देखेपछि सोधे, “कति बजेको छ फ्लाइट ?” मैले भनेँ, “राति १०ः१५ बजे ।” उनले फेरि सोधे, “अनि किन यति चाँडै निस्किनुभएको त ?” 

“मलाई थाहै भएन नि । साथीहरूले अब चेक आउट गर्नुपर्छ भनेपछि मैले रुम छोडेँ ।” 

“केही खानुहुन्छ ?,” उनले नेपाली हुनुको आत्मियता देखाए । “पर्दैन,” जवाफ दिँए ।

मेरो जवाफ खस्न नपाउँदै उनले भनिहाले, “म छु नि ह्याँ, केही पिर लिनुपर्दैन । ल म कफी ल्याइदिन्छु ।”

मेरो जवाफ नकुरी उनी कफी बनाउन लागे । “ल यो लिनु, मैले चिनी हालेको छैन । चाहिन्छ भने म ल्याइदिन्छु ।”

“ठिक छ पर्दैन,” मैले भने । “ल उसो भए राम्ररी जानु है त । अब मिल्यो भने नेपालमै भेट्नपर्छ ।”

उनी यति भन्दै हात मिलाएर आफ्नो काममा व्यस्त भए । यति बेलासम्म घडीले साढे ४ पार गरिसकेको थियो । कार्यक्रम व्यवस्थापकले मलाई ट्राफिक जाम औधी हुने भन्दै मलाई ५ बजेसम्म होटल छाड्न सुझाएका थिए । मैले जाउँ भनेपछि उनीहरूले गाडी ल्याए । मैले सबैलाई नेपाल भ्रमणको निम्तो छोड्दै होटलबाट अन्तिम बिदाइँ लिएँ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro