'सातपत्र छोपेर ठूलो पारेको पेट जसको पनि हात राखेर देखाउनुपर्ने यो कस्तो चलन आयो ? कोठामा पर्दा किन चाहियो ? कुकुर बिरालो जस्तै गरे भैगो नि ! खै ! आफ्नो त दुईटा म्याक्सीले छोपेर जन्मिए दुई सन्तान । यो 'बेबी सावर' भन्ने सुनेको पनि थिएन । नेपाली संस्कार पनि होइन । मलाई मन पनि पर्दैन ।' बानेश्वरकी पार्वती भट्टराईले फेसनको रूपमा बढ्दै गएको गर्भवती महिलाको पेटमा हात राखेर फोटो खिच्ने चलनको विरोध गर्दै भनिन् ।
ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, नेपाली विभाग प्रमुख उपप्राध्यापक उमा मिश्र भन्छिन् - हाम्रो आफ्नै परम्परागत संस्कार गर्भाधानपछि पोसिलो खानेकुरा खाने, सकारात्मक सोच राख्ने, सुन्दर दृश्य अवलोकन गर्ने र बच्चा जन्मिने महिना लागेपछि विशेषगरी माइतीले दहीचिउरासँगै पोसिलो खानेकुराहरु खुवाउने र गर्भमा रहेको बच्चालाई आर्शीवाद दिने चलन छ । मलाई त हाम्रो आफ्नो परम्परा छोडेर आयातित संस्कृति अंगालेको पटक्कै मन पर्दैन । 'बेबी सावर'को नाममा बढ्दै गएको पेटमा मान्यजनको हात राखेर सामाजिक सञ्जालमा फोटो प्रदर्शन गर्ने विषय त होइन नि । बच्चाले गर्भमा रहेको बेला गर्ने गतिविधिले गर्भवती महिलाले अलौकिक अनुभुति गर्छिन् । पेटको आकार नापेर देखाएजस्तै अनुभूति देखाउन वा साट्न मिल्दैन । आफूभन्दा मान्यजनको अगाडि लाज मान्नुपर्ने ठाउँमा पारदर्शी पोशाक लगाएर अझ उनीहरूकै हात पेटमा राखेको देख्दा अश्लीलता प्रदर्शन गरे जस्तो लाग्छ । मलाई त त्यस्ता फोटा हेर्दा पनि लाज लागेर आउँछ ।'
ट्रान्सपरेन्सी इन्टरनेनल, नेपालकी अध्यक्ष एवं समाजसेवी पद्मिनी प्रधानाड्ग भन्छिन् – 'बेबी सावर' शब्दको सिधा अर्थ बच्चालाई नुहाउने भन्ने हुन्छ । तर, पेटभित्रको बच्चालाई नुहाउन सम्भव छैन । नेपालीमा दहीचिउरा खुवाउने भनिन्छ । हाम्रो आफ्नै परम्परागत संस्कारमा अंग्रेजी नाम बेबी सावर राखेर आफुभन्दा मान्यजनको हात पेटमा राखेर फोटो प्रदर्शन गर्ने चलन बढेको छ । यो आयातित संस्कार हाम्रो समाजमा अलि अपाच्य नै हो जस्तो लाग्छ । यसै पनि बच्चा पेटमा आएपछि नकारात्मक शक्तिबाट बचाउनुपर्छ भन्ने वैज्ञानिक र धार्मिक मान्यता छ । त्यसैले गर्भ प्रदर्शन गर्ने विषय होइन । दहीचिउरा खुवाउने हाम्रो आफ्नै शैली छ । आमाले गर्भवती अवस्थामा खान मन लागेको कुरा खान पाइनन् भने बच्चा जन्मेपछि र्याल चुहाउने हुन्छ । त्यसैले पनि खानाका अनेक परिकार बनाएर बच्चा जन्मिने महिना लागेपछि गर्भवती महिलालाई खुवाउने चलन छ ।
जापानीहरू नाइटो देखाएर हिड्नुलाई अश्लील मान्छन् । हामी हाम्रो घ्याम्पो जत्रो पेट र नाइटो देखाउन पाएकोमा गौरवान्वित हुँदै गएकाछौँ । आउने पुस्तालाई हामीले कस्तो संस्कृति हस्तान्तरण गर्दैछौँ ? ख्याल राख्नु जरुरी छ ।'
हिन्दु विद्यापीठ स्कुलका संस्थापक डा.चिन्तामणी योगी भन्नुहुन्छ – हामीले हाम्रो चाडपर्व, संस्कार र संस्कृति मनाउँदै गर्दा मर्यादा र शिष्टताको पनि ख्याल गर्नुपर्छ । लज्जा भनेको सम्मान पनि हो । सृष्टिप्रतिको मर्यादा ईश्वरको आर्शीवादका रूपमा स्वीकार्नुमा छ । नारी भनेको कति महान् रहिछन् भन्ने बोध गर्ने बेला नै गर्भवती अवस्था हो । दुर्गा सप्तशती चण्डीमा ' या देवी सर्वभुतेषु लज्जा रुपेण संस्थिताः । नमः तस्सै नमः तस्सै नमः तस्सै नमोनमः' भनेको छ । हामी सामाजिक प्राणी हौँ । समाजप्रतिको दायित्व र मर्यादामा पनि ध्यान दिनुपर्छ । हुनेखाने र हुँदाखाने बीचको खाडललाई पुर्न पनि हामी सचेत हुन जरुरी छ ।
सञ्चारिका समुहकी अध्यक्ष बिमला तुम्खेवा पनि आफ्नो परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिन्छिन् । सानो देश भए पनि हाम्रो आफ्नै चाडपर्व, धर्म, संस्कार र संस्कृत छ । संसारका कुनै पनि समाजमा जन्मदेखि मृत्युसम्म आफ्नै किसिमको संस्कार हुन्छ । हामीसँग विभिन्न मौलिक संस्कार छन् । हामीकहाँ गर्भवती महिलालाई क्षेत्री बाहुनले दहीचिउरा खुवाउने चलन छ । लिम्वु समाजमा गर्भ रहेको ४ देखि ६ महिनाभित्र फेदाङ्वा ( लिम्वु धर्मगुरु ) राखेरै पेट पूजा गरी आमा र बच्चा दुवैको स्वास्थ्य लाभको कामना गरिन्छ । यो पनि विस्तारै लोप हुने अवस्थामा गएको छ ।
छिमेकी मुलुक भारतमा आफ्नो धर्म, संस्कार र संस्कृति जगेर्ना गर्नेमा पंजावी ( शिख ) समुदाय अब्बल मानिन्छ । शिख समुदायकी ६३ वर्षीया प्रोमिला मलहोत्रा बेबी सावरका बारेमा भन्नुहुन्छ - हामी यसलाई 'गोद भराइ' भन्छौँ । गर्भ सात महिना लागेपछि माइतीले गर्भवती महिलालाई मेहन्दी लगाएर सिंगारपटार गरी आमा र पेटमा भएको बच्चालाई कपडा, खाने मसला, मिठाइ आदि दिएर गर्भवती महिलाको कानमा आमा बच्चा दुवैको स्वास्थ्य र दीर्घ जीवनका लागि आर्शीवचन सुनाउने चलन छ । सोही अवसरमा घरका परिवारले पनि उपहार दिने गर्छन् । तर आजकाल यतापनि बिस्तारै संस्कार हराउँदै जान थालेको छ ।
इजरायल यहुदी राज्य हो । आफ्नो जाति, धर्म, संस्कार, संस्कृति एवं देशप्रति प्रतिबद्ध यहुदीको कुल जनसंख्या करिब ७० लाख जति छ । यहुदीसँगै विवाह गरी बसेकी दुई बच्चाकी आमा नेपाली चेली मन्जु भेटुवाल भन्नुहुन्छ – ‘ यहाँ बेबी सावर वा दहीचिउरा भन्ने हुँदैन । गर्भ रहेको तीन महिनासम्म पतिपत्नीबाहेक कसैलाई पनि थाहा हुँदैन । पाँच महिना लागेपछि डाक्टरले छोरा वा छोरी के छ ? आफैँ भनिदिन्छन् । नौ महिना लागेपछि डाक्टरले अब बच्चाको स्वागतका लागि तयार हुनु भन्छ । अनि घरको एउटा कोठा बच्चाको लागि प्रयोगमा आउने उपहारका सामानले भरिन्छ ।
माइतीका आमा र घरकी सासुले सल्लाह गरेरै कुनै सामान नछुटोस् र कुनै सामान डबल नपरोस् भनी आपसमा छलफल गरेरै किन्छन् । त्यस बाहेक नातागोता वा साथीभाइले उपहार दिन चाहे भने पनि सोधेर दिने चलन छ । सुत्केरी भइसकेपछि पतिले पत्नीलाई आफ्नो ज्यान जोखिममा राखेर वंश उत्तराधिकारका लागि आफूलाई सन्तान उपहार दिएकोमा धन्यवाद स्वरूप विशेष उपहार दिने चलन छ । उपहारमा आफ्नो गच्छेअनुसार हीरा, मोति वा सुनका गहना दिन्छन् ।
यहाँ सबै एकात्मक परिवार हुने भएकाले सुत्केरी भएको एक महिनासम्म आमा वा सासुले पालैपालो सुत्केरीलाई सुत्ने वातावरण निर्माण गरिदिन्छन् । पतिलाई सरकारले एक साता छुट्टी दिन्छ । यहाँको अर्को राम्रो पक्ष भनेको साताको हरेक शुक्रवार पतिले पत्नीलाई फूलको गुच्छा दिने चलन छ ।
हामीले कुनै पनि चाडपर्व वा संस्कार र संस्कृति मनाउँदै गर्दा आफू बसेको समाज र प्रकृतिलाई विशेष ध्यान दिन जरुरी छ । हुनेले खुसी मनाउँदै गर्दा नहुनेलाई पीडाबोध नहोस् । नौ महिनाको पेट पारदर्शी पोसाक लगाएर आफ्नै हात राखेर गरेको पोस्ट हेर्न पनि लजाउने समाज वा परिवारका सदस्य जीवित छन् भन्ने हेक्का नभएकाले अरूको हात आफ्नो पेटमा राखेर फोटो पोस्ट गर्नेको प्रतिस्पर्धा नै चलेको छ । जुन हाम्रो संस्कार र संस्कृतिविपरीत छ । यसको विरोध अरूले होइन गर्भवती महिलाले नै गर्नुपर्छ । लाज लाग्ने पनि त उनैलाई हो ।
वेदना वा समवेदना भावनामा हुन्छ । शब्द वा चित्रमा उतार्न सकिँदैन । गर्भावस्था अत्यन्त संवेदनशील अवस्था हो । सकारात्मक सोच, सुन्दर दृश्य र पोसिलो खाना नै आमा र बच्चालाई चाहिने तत्त्व हुन् । यसतर्फ नेपाली महिलाले नै विशेष ध्यान दिनु जरुरी छ ।
( स्वतन्त्र पत्रकार )