ब्लग
धन्यवादसहित हजुरको पत्रको जवाफ डाक्टर साब
डा. रामेश कोइरालाज्यू,
हजुरको पत्रको लागि जति नै धन्यवाद दिए पनि कम हुन्छ । मेरो अनुभूतिमा लेखिएका हरेक भोगाइ मेरा हुन् र मैले सुनेर सेयर गरेका कुराहरु यदि बहसको विषय बन्ने हुन् भने तपाईं विज्ञहरुको जिम्मा । मेडिकल सेक्टरमा घटेका दुःखद् घटनाहरूको मलाई ठूलो खेद छ । हामी पक्कै पनि संवेदनशील हुनुपर्छ ।
हजुरले डाक्टरी पेशाले दोषी देखिएको ठाउँमा क्षम्य छैनन् भन्नुभो । सत्यको लागि देखाउनुभएको साथको लागि सलाम ! मेरो भोगाइ मेरो अनुभव यहाँले भन्नुभएको जस्तो अनाहकको हन्डर नै हुन्, यदि देशमै यति सजिलो र सुलभ तरिकाले उपचार हुन्थ्यो भने ।
मैले लेखमा छुटाएको एउटा कुराचाहिँ मलाई डी. भी. टी. पनि भएको रहेछ देब्रे खुट्टामा । थाहा छैन, यसले कत्तिको फरक पर्ला हजुरको चित्त दुखाइमा ।
महिला डाक्टरले किन गुगल गरिन् थाहा भएन । मेरो विचारमा उनले त्यही बेला डाक्टरलाई कल गर्नु र गुगल सर्च गर्नुले मेरो अनुमान ठूलो रोग लाग्यो भन्ने हो ।
विशेषज्ञ डाक्टर किरणसँग केही गुनासो छैन । उहाँले नै हो डोप्लर र सीटी एन्जियोग्राम गराउनुभएको । कुरा रह्यो केएमसी रेफरको, मैले भएको कुराकानी राखेको हो, गुनासो होइन । गुनासो त डाक्टर आचार्यसँग हो, जसले खररर दबाइ लेख्नुभो बिनाटेस्ट । र, डाक्टर प्रवीण श्रेष्ठसँग हो । लेखमा भनिसकेको छु, किन ग्यानग्रिन हुन्जेलसम्म न्युरोको उपचार गरिरहन भो ? अनि हाम्रो व्यवस्थापन र हाम्रो कार्यशैलीको ।
सबै कुरा लेखमा समेट्न सकिएन । मेरो देब्रे खुट्टा पूरै ब्लक कम्मरदेखि पाइतालासम्म र दाहिने घुँडा तल भनेको छु मैले । हजुरले भनुभएको जस्तो मेरो खुट्टा सुक्न पनि थालेका थिए । डाक्टर किरणले पनि क्रोनिक भएको भन्नुभएको थियो । खाली ३ महिना ब्लड थिनरको भरमा बस्ने कुरामा चाहिँ हाम्रो छलफल भयो र छिमेकी रोज्न बाध्य भयौं ।
तर, डाक्टर किरणलाई फेरि पनि धन्यवाद ! मलाई राम्रो रिज्ल्ट आउने ठाउँमा पठाउनुभएछ । अर्थको अनर्थ लागे माफ गर्नुहोस्, मलाई झन्डै ३ महिना लाग्यो रोग पत्ता लाग्न र फेरि अर्को ३ महिना कुर्नुपर्ने भो उपचारको लागि । हजुरले भन्नुभएको जस्तो साता दिनमा होइन । यस मानेमा म आफूलाई भाग्यमानी सम्झिन्थें, यदि हजुरले भन्नुभएको जस्तो सेवा र नतिजा आएको भए । तर, आज हजुरमार्फत थाहा भो, केस त जटिल हुँदै रहेनछ । कास ! मेरो हकमा पनि हजुरले भन्नुभएको जस्तो भइदिए हुन्थ्यो । मेरो १५ दिन र १५ रात एक नभए हुन्थ्यो । हामीलाई जानकारी दिएअनुसार गाङग्रीन भए पछि उपचार भनेको नै काटेर फाल्ने रहेछ क्रोनिक केसमा ।
रगत दिने व्यक्तिहरूको ओइरो लाग्यो, रगत पनि दिएर गए । मेरो लोग्नेमात्र प्लेटलेत्सको लागि स्ट्यान्ड्बाइ थियो, पछि रगत पनि दुई पिन्ट मात्रले पुग्यो । सायद सर्जरी खुट्टा फाल्ने थियो र रगत दिन ११ जना खोजे । तर, पछि एम्बेलोक्टोमी गर्ने भएपछि रगत २ पिन्टले पुगेछ । एम्बेलोक्टोमी मेरो दुवै खुट्टको भएको जानकारी गराउन चहन्छु ।
मलाई यति सजिलोसँग देशमै सर्जरी हुने त्यो पनि यति सजिलोसँग भन्ने ज्ञान भएको भए पक्कै छिमेक चाहर्थिनँ हजुर ! ३÷३ महिना दाजुभाइको दैलो त्यसै धाएको होइन ।
नर्स दिदीबहिनीको हकमा पनि अन्याय बोलेको जस्तो लाग्दैन । मिठो बोल्न र अलिकति पनि सहनशिलता छैन भने यो पेशामा नआउँदा राम्रो होला । बरु, मःम बेचेर पैसा आउँछ तुरुन्त ।
यहाँले आफ्नो नाम आएको भए मानहानिको कुरा गर्नुभो, अनि नियोजित प्रचारको । मलाई दुःखको साथमा अबचाहिँ अलिकति दया पनि लाग्यो हजुरको सोच देखेर । भेट्दै नभेटेको मान्छेको नाम कसरी लिनु हजुर ? त्यहाँ बस्दा एकजना अफ्रिकन १५०० डलर ओटी चार्जमात्र तिरेर मोतिबिन्दुको अपरेसन गर्न आएको थियो । मैले नेपालमा मोतिबिन्दुको संसारकै बेस्ट डाक्टर सन्दुक रुइतको नाम लिएर पैसा पनि १५० डलरले पुग्ने भनेको थिएँ । सायद यसलाई भन्छन् कि प्रचार ?
फेरि मलाई उल्टै सोध्यो, नेपालमै बेस्ट भए तिमी किन त यहाँ ? मैले आफ्नो अलग्गै रोग बताएको थिएँ ।
मैले केस जेनेरलाइज गरेको कदापि होइन । हजुरले सरी भन्नुभो । सरी त म भन्छु, यदि नाम नै नलिएको दिनरात एक गरेर खट्ने कर्मठ डाक्टर दाजुभाइलाई मन दुखे । हजुरले भन्नुभएको जस्तो मसँग हरेक रिपोर्ट छन् । कुराकानी राख्न मिलेन, भेटघाटको सम्पूर्ण डिटेल छ ।
हजुरले भाग्यमानी भन्नुभो, मलाई पनि लागेथ्यो । तर, आज हजुरमार्फत यति डिटेलमा बुझ्दा म धेरै अभागी रहेंछु । यति सजिलो सुलभ उपचार रहेछ, मैले अनाहकमा हन्डर खाइरहें ।
मेरो सद्दे खुट्टाको कामना गर्नुभएकोमा धन्यवाद ।
मनमा लागेको कुरा, के हामी कमर्सियलको सट्टा प्रोफेसनल हुन सक्दैनौं ? मैले मुद्दा हालें भने हाम्रो मेडिकल सिस्टममा रिभोलुसन आउला र ?
यहाँलाई छिट्टै भेट्ने बाचासहित जदौ !
–बिमला
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७३ १४:३४
प्रतिक्रिया दिनुहोस्