विशेष
काठमाडौं । इंग्ल्यान्डमा अर्को वर्ष हुने आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटको लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तीव्र तयारीमा जुटेको छ । आगामी अक्टोबरमा हङकङमा आयोजना हुने छनोटका लागि नेपाली राष्ट्रिय महिला टोलीले दैनिक अभ्यास गरिरहेको छ ।
नेपाली महिला राष्ट्रिय टोलीको अन्तिम १४ सदस्यीय टोलीको नामावली भने आएको छैन । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा प्रशिक्षक जगत टमाटा, श्यामसन जंग थापा, सुदीप पौडेल, अरुण अर्याल र विनायक पोखरेलको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले रुबिना क्षेत्रीको कप्तानीमा घोषणा गरेको १८ सदस्यीय टोलीले तयारी गरिरहेका छन् । नेपाली महिला टोलीको एकमात्र लक्ष्य एसियाली छनोटको शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने रहेको छ ।
“हङकङमा हुने क्वालिफायरको लागि हामीले निकै मेहनत गरेका छौं । विगतको तुलनामा धेरै राम्रो ट्रेनिङ क्याम्प भएको छ,” बाह्रखरीसँग कप्तान रुबिना क्षेत्रीले भनिन्, “हामीले क्वालिफायरमा राम्रो गर्दै दोस्रो चरणमा (ग्लोबल छनोट) पुग्ने लक्ष्य लिएका छौं । तयारी गरेअनुसार हामी त्यो सफलता हात पार्नेछौं ।”
नेपाल सम्मिलित एसियाली छनोट आगामी अक्टोबर ९ देखि १५ सम्म हुनेछ, जसमा नेपाल, आयोजक हङकङ, चीन र थाइल्याण्ड राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपमा छनोट हुनेछ ।
नेपालले लगभग दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । सन् २०१४ मा भएको इन्चोन एसियाडपछि नेपाली टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । इन्चोन एसियाडमा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । तर पनि कप्तान रुबिना क्षेत्री जसरी पनि ग्लोबल छनोटमा पुग्ने लक्ष्य बनाएर अघि बढेको बताउँछिन् ।
“हामीले लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका हौं । छनोटमा सबै टोली हामीभन्दा माथि छन्,” अलराउन्डर रुबिनाले भनिन् , “तर, हामी प्रमाणित गरेर देखाउनेछौं कि शतप्रतिशत खेलेर जसरी पनि छनोट हुन्छौं ।” त्यसका लागि नेपाली राष्ट्रिय टोली मझबुत रहेको रुबिना बताउँछिन् । उनका अनुसार अहिलेको टोलीमा नयाँ र पुराना खेलाडीहरुको मिश्रण छ । त्यस्तै अहिले आफ्ना टोलीको कमजोर पक्षहरुको सुधारमा लागेको कप्तान रुबिनाको भनाइ छ ।
“अहिले हामी ब्याटिङलाई सुधार गरिरहेका छौं । टिम अहिले मजबुत छ पहिलेको तुलनामा । किनकि अहिले हाम्रा ब्याट्सवुमनले पनि धेरै सुधार गरेका छन् । हाम्रो बलिङ र फिल्डिङ त पहिलेबाटै राम्रो छ । फिटनेसमा पनि ध्यान दिइरहेका छौं,” उनले भनिन् ।
इंग्ल्यान्डले आयोजना गर्ने सन् २०१७ को महिला विश्वकप जुन २६ देखि जुलाई २३ सम्म चल्नेछ । महिला विश्वकपको ११ औं सस्करणको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसमा ४ टोली आईसीसीको शीर्ष आठ टोलीबीचको छनोटबाट आउनेछन् भने अन्य चार टोली आईसीसीको छनोटमा पर्ने टिमले खेल्नेछ । नेपाली टोली अक्टोबर ६्७ तारिखमा हङकङ प्रस्थान गर्ने तालिका छ ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षक राजु बस्नेतले प्रशिक्षण दिइरहेका छन् । बस्नेतलाई पुरुष टोलीको मुख्य प्रशिक्षक जगत टमाटा र विनोद दासले प्रशिक्षणमा सहयोग गरिरहेका छन् । प्रशिक्षक बस्नेतका अनुसार नेपाली टोली विगतको तुलनामा ब्यालेन्समा छ । टोली विश्व छनोटमा पुग्नेमा उनी विश्वस्त छन् ।
“टिम तयारी राम्रो भइरहेको छ । हामीसँग समय पनि छ, फरक किसिमले तयारी गरिरहेका छौं,” उनले भने ।
नेपालबाहेक छनोटमा सहभागी हुने सबै टोली वैदेशिक तयारीमा छन् । थाइल्यान्डको टिम श्रीलंका, हङकङको टिम भारतमा तयारी गरिरहेका छन् ।
प्रशिक्षक बस्नेत नेपाली टोली जुनै टोलीलाई पराजित गर्न सक्षम रहेको बताउँछन् । केही सुधार भने आवश्यक रहेको उनको भनाइ छ । बस्नेतका अनुसार नेपाली टोलीले ब्याटिङ पक्षमा केही सुधार गर्नुपर्ने हुन्छ । बलिङमा भने राम्रो अवस्था छ । बस्नेतका अनुसार नेपाली टोलीले ब्याटिङमा १ सय २० माथिको स्कोर गर्न सके सबै टोलीलाई हराउन कठिन हुँदैन ।
अन्तिम १४ सदस्यीय टोलीमा ३ जना स्पिनर, ३ मिडियम पेस बलर र अन्य अलराउन्डर तथा ब्याट्सवुमन समावेश गर्ने प्रशिक्षक बस्नेतको योजना छ ।
१८ सदस्यीय टोलीमा परेकी खेलाडी सरिता मगर पनि दोस्रो चरणमा पुग्नेमा ढुक्क छिन् । यस पटक पहिलेको तुलनामा धेरै राम्रो तयारी भएको हँुदा ग्लोबल छनोटमा पुग्ने सरिताको भनाइ छ । “दुई वर्षपछि क्रिकेटमा फर्किन पाउँदा खुशी लागेको छ यस पटक हामीले धेरै राम्रो क्याम्प पाएका छौं । मलाई लाग्छ, पहिलो पटक महिला क्रिकेटमा सबैभन्दा राम्रो ट्रेनिङ क्याम्प भएको हो । त्यसैले टिम तयार छ । हाम्रो लक्ष्य दोस्रो चरणमा पुग्ने हो,” उनले भनिन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३ १४:५०
प्रतिक्रिया दिनुहोस्