नयाँदिल्ली । ‘सधैं एयरपोर्टमा शिर निहुराएर फर्कनुपर्थ्यो, यो पटक शिर झुकाएर एयरपोर्टबाट निस्कनु परेन । गुरु, साथीहरु खुशी हुनुहुन्छ,’ ताजिकिस्तानका खेलाडीलाई हराएर विमला श्रेष्ठले जितको खुशी व्यक्त गरिरहँदा छेउमा बसेकी पुनम रावलको मुहारको चेहरा पनि एकाएक चम्कियो ।
पुनमले विमलालाई नियालेर एकटकले हेरिरहिन् । सायद, विमलाको पदकले पुनम पनि हौसिएकी थिइन् । पुनमको खेल पनि ताजिकिस्तानकै खेलाडीसँग थियो । यस्तोमा पुनमको आत्मबल बढेको थियो । उनले भनिन्, “ताजिकिस्तानलाई हराउन पाए त पदक जितिन्छ । मलाई जित्छु जस्तो लागेको छ ।”
नभन्दै केही घन्टापछि लाइट वेटर ६४ केजी तौलकी पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा हराउँदै कांस्य पदक पक्का गरिन् । विमलाले भनेजस्तै अब एयरपोर्टबाट निस्कँदै गर्दा नेपाली बक्सिङ टोलीले मुख छोप्न पर्दैन । पदक जित्न हैन, घुम्न गएको आरोप खेप्न पर्दैन ।
नेपालले दोस्रो पदक जितिरहँदा मुख्य प्रशिक्षक प्रकाश थापा मगर, प्रशिक्षक डम्बर दत्त भट्ट, दिपक महर्जन र टिम म्यानेजर राम बहादुर गिरीको हर्ष हेर्न लायक थियो । सायद, उनीहरुको खुशी नेपाली बक्सिङमा पदकविहिन यात्राको खडेरी अन्त्य नै मुख्य कारण थियो ।
२३ राष्ट्र सहभागी प्रतियोगितामा पुनमले जितेको पदक नेपालको लागि दोस्रो पदक थियो । यसअघि वेन्टम ५४ केजी तौल समूहकी विमलाले ताजिकिस्तानकी फार्डिया सामिएभालाई हराएर कास्य जितेकी थिइन् । प्रतियोगितामा १२ खेलाडीमध्ये उनै विमला र पुनमले नेपाललाई पदक दिलाए । नेपालले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई पदक जितेको पहिलो अवसर पनि हो ।
प्रतियोगितामा अन्य खेलाडीहरु उत्कृष्ट प्रदर्शनको बाबजुद पदकबिहिन भए । तर, विमला र पुनम नेपाली महिला बक्सिङ इतिहासमा औंलामा गन्न सकिने पदक जित्ने महिला खेलाडीको सूचीमा नामाकरण भए । यसअघि नेपालका चार खेलाडीले मात्र अन्तर्राष्ट्रिय पदक जितेका छन् । विमला पाँचौ र पुनम छैटौं खेलाडी बनिन् ।
भारतमा सम्पन दक्षिण एसियाली खेलकुद (साग) पछि नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय पदक जितेको हो । यस्तै, ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सन् २०१० पछि पदक पाएको हो । सन् २०१० को गोन्जाओ एसियाडमा नेपालका दिपक महर्जनले कांस्य जितेका थिए । दिपक अहिले प्रशिक्षकको भूमिकामा छन् ।
विमला र पुनम एकै क्लबबाट घरेलु प्रतियोगिता खेल्छन्, त्रिभुवन आर्मी क्लबबाट । संयोग भनौं, दुवैले एकै खेलबाट नेपालको लागि डेब्यु खेल खेलका थिए । दुवैले दोस्रो अन्तर्राष्ट्रिय सभागितामा पदक जिते र त्यो पनि एकै प्रतियोगितामा । उनीहरुले भियतनाममा गत वर्ष सम्पन्न एसियन वुमन बक्सिङ च्याम्पियनसिप खेलेका थिए ।
अन्तर्राष्ट्रिय खेलमा पदकको उडान भर्न दुवैलाई संघ र क्लबको हात ठूलो छ । त्यसैले त एकैसाथ विमला र पुनमले भने, “नेपालको बक्सिङका कारण यहाँ छौं, गुरुहरुको मेहेनत र परिश्रमको कारण पदक जित्यौं । महिला खेलाडीले पनि गर्न सक्छन् भनेर देखाउन सफल भयौं । हामीलाई यो अवस्थामा पुर्याउन आर्मी क्लबको हात ठूलो छ । सेनामा जागिर नभएको भए हामी यहाँ हुने थिएनौ । सिभिल भए खेलमै हुने थिएनौं ।”
नेपालको झन्डामुनि रहेर खेल खेल्दाको अनुभव कुनै पनि खेलाडीको लागि विशेष हुन्छ । देशको राष्ट्रिय गान बज्दै गर्दा खेलाडीको नशा नशामा देशको नामको रगत बग्छ । त्यसैले उनीहरु खेलमा ज्यान दिन तयार हुन्छन् । “हामी घरेलु प्रतियोगितामा आर्मी क्लबबाट खेल्छौं तर, यहाँ हामी नेपालबाट खेल्न आएका हौं । हामीलाई आर्मी भनेर कसैले चिन्दैन, नेपाल भनेर चिन्छ,” कांस्य पदक जितेपछि दुवैले भने ।
बक्सिङ संघ र आर्मी क्लबले बक्सिङलाई धेरै माया गरेकै कारण क्लबका अधिकांश खेलाडी सफल छन् । विमला र पुनम उदाहरणमात्र हुन् । आर्मी क्लबको बक्सिङ सुधारमा प्रधानसेनापति राजेन्द्र छेत्री, मेजर सागर शमशेर थापा र सहसेनानी प्रकाशराज थापा तथा बक्सिङ संघका अध्यक्ष राम अवालेको योगदानको प्रशंसा खुलेरै गर्छन् विमला र पुनम । “गुरु र संघको योगदान जति छ, चिफ सापहरुको योगदान पनि त्यतिकै छ,” पुनमले थपिन् ।
आर्मी क्लबका खेलाडीहरु रिङमा होस् या मैदान उत्रँदा, सधैं डटेर खेल्छन् । कारण, पदक जिते खेलाडीको बढुवा हुन्छ । बढुवा भए अभावको खेलाडी जीवन केही सहज बनाउन सकिन्छ । विमला भन्छिन्, “हामीले पदक जिते हाम्रो बढुवा हुन्छ । हामीलाई सापहरुले बढुवा गराएर खेल्न हौसला दिनु हुन्छ । उहाँहरुको देन नभए हामी अहिले यो अवस्थामा हुने थिएनाैं ।”
बक्सिङ खेलकै कारण विमला र पुनमले नाम र दाम कमाए । यो स्थानको लागि उनीहरुले गरेको मेहनत सलाम योग्य छ । त्यसैले त बक्सिङमा छिरेको छोटो अवधिमा नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएका छन् । “मेहनत निकै गरेका छाैं, सपना देखेको हुन्छाैं, देशको लागि खेल्ने । सपना पूरा हुँदै गएको छ,” पुनमले सुनाइन् ।
विमलाको बक्सिङ यात्रा
आर्मीमा जागिरे विमला केही वर्षअघि बक्सिङबारे अनभिज्ञ थिइन् । २०७१ सालमा आफ्नो गण धरानबाट प्रधानसेनापति ट्रफीमा दौडन उनी काठमाडौँ आइन् । त्यहीँबाट उनको बक्सिङ करियरको सुरुवात भयो । बक्सिङमा लागेको छोटो समयमै विमला अन्तर्राष्ट्रिय पदकको हकदार बनिन् ।
श्री कालीबक्स गण (इ) मोरङमा अम विमला प्रधानसेनापति ट्रफीमा दौडिन राजधानी छिरेकी थिइन् । तर, दौडमा खासै राम्रो गर्न सकिनन् । त्यीह बेला आफ्नै गणको सिनियरले बक्सिङ खेल्न उनलाई प्रेरित गरे ।
“दौडमा खासै राम्रो त थिइन, तर गणबाट खेल्न आएँ,” बक्सिङ खेलअगावै सेनाकी जागिरे विमलाले पुराना दिन सम्झिइन्, मोहन ठकुरी दाइले यो खेल राम्रो हुन्छ भनेर बक्सिङमा लैजानु भयो । त्यपछि म इन्जिनियर गणबाट बक्सिङ खेल्ने पहिलो महिला खेलाडी बनें ।”
बक्सिङमा आएपछि विमलाले भक्तमान श्रेष्ठबाट बक्सिङको पहिलो कला सिकिन् । लगत्तै प्रधानसेनापति ट्रफीमा सहभागी भइन् । पहिलो सहभागितामै रजत जितिन् । त्यसपछि आर्मी क्लबको नजरमा विमला परिन् र क्लबमा आबद्ध भइन् ।
खेलाडीको हौसला बढाउन आर्मी क्लबले उनीहरुलाई एकपटक तीन पटकको विश्व च्याम्पियन भारतीय बक्सिङ स्टार मेरी कोमको जीवनीमा आधारित चलचित्र देखाउन हलसम्म लगेको थियो । त्यही बेला विमलालाई म बक्सिङ खेल्छु जस्तो लागेको थियो । उनले भनिन्, “करसापले हामीलाई पैसा दिएर फिल्म हेर्न पठाउनु भएको थियो । फिल्म हेरेपछि पहिलोपटक मलाई म पनि बक्सिङ खेल्न सक्ने रहेछु जस्तो लाग्यो ।” त्यसयता विमला अविचलित हुँदै बक्सिङमा लागेकी छिन् उनी ।
बक्सिङ संघले आयोजना गर्ने विर गणेशमान बक्सिङ च्याम्पियनसिपको पहिलो संस्करणमा विमलाले कांस्य पदक पाइन् । त्यसको अर्को वर्ष सातदोबाटोमा भएको चौथो राष्ट्रव्यापी महिला तथा पुरुष बक्सिङ प्रतियोगिता आफ्नो तौल समूहमा स्वर्ण जितिन् । विमलाको त्यो पहिलो स्वर्ण थियो ।
२०७३ सालमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दै विमलाले आफ्नो स्वर्ण करियरलाई कायम राखिन् । गत वर्ष भियतनाममा भएको एसियन वुमन्स बक्सिङमा सहभागिता जनाउँदै उनले अन्तर्राष्ट्रिय बक्सिङको अनुभव पनि बटुलिन् ।
त्यस्तै गत असोजमा सम्पन्न दोस्रो विर गणेशमान बक्सिङमा पनि विमलाले आफ्नो तौल समूहमा स्वर्ण जितिन् । राखेपले गत पुसमा आयोजना गरेको राखेप च्याम्पियनसिप बक्सिङमा पनि विमलाले स्वर्णसहित उत्कृष्ट फाइटरको उपाधि जितिन् ।
राखेप च्याम्पियनसिपमा गरेको प्रदर्शनको हौसलाले विमलाले इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कांस्य पदक दिलाइन् । “तीन राउण्ड खेल्न सकिन्छ भनेर रिङ छिरेको थिएँ, प्रतिद्वन्दी अलि होचो थियो, हराउन सक्छु भन्ने लाग्यो, राम्रो खेल्दै उसलाई हराएँ,” कांस्य जित्दाको क्षण विमलाले सुनाइन् ।
उनी सफलता हात पार्न आफ्नो मेहनत र पति अमृत डंगोलको हात महत्वपूर्ण रहेको ठान्छिन् । भन्छिन्, “खेलकुदमा सफलता पाउन पहिलो कुरा मेहनत हो, अनि घर परिवारको साथ निकै महत्वपूर्ण छ ।”
पुनमको बक्सिङ यात्रा
सुदूरपश्चिमकी २१ वर्षे पुनम भने लहैलहैमा बक्सिङ खेलमा लागेकी थिइन् कलिलो उमेरमै । २०६८ सालमा बाजुरामा १४ वर्षको हुँदा पुनम बक्सिङमा लागेकी थिइन् ।
पुनमले सुरुवातमा योगेन्द्र थापाबाट बक्सिङ सिकेकी थिइन् । २०६९ सालसम्म आइपुग्दा पुनम मेडल जित्ने भइसकेकी थिइन् । काठमाडौँमा भएको एक बक्सिङ प्रतियोगितामा पुनमले सुदूरपश्चिमबाट खेल्दै पहिलो मेडलको रुपमा रजत जितिन् । “म सानै उमेरमा बक्सिङ खेल्थे, मैले काठमाडौँमा भएको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेर पदक जितेको थिएँ,” श्री एक नम्बर राजदल गण इटहरीकी पुनमले सुनाइन्,, “जब म सेनामा भर्ती भएँ, बल्ल मेरो बक्सिङ करियर सुरु भयो ।”
पुनम २०७१ सालमा नेपाली सेनामा भर्ती भइन् । सेनामा भर्ती भएको अर्को वर्ष पुनम आर्मी क्लबमा प्रवेश गरिन् । अनि बल्ल बक्सिङमा पुनमको स्वर्ण यात्रा सुरु भयो । पुनमले २०७३ सालमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितिन् । त्यो पुनमको पहिलो स्वर्ण थियो ।
गत वर्ष भियतनाममा भएको एसियन वुमन्स बक्सिङमा सहभागिता जनाउँदै पुनमले अन्तर्राष्ट्रिय बक्सिङको अनुभव बटुलिन् । उनले त्यही बुझिन्, बक्सिङमा नेपाली भन्दा विदेशी धेरै माथि छन् भनेर । बल्ल कडा मेहेनत गर्न थालिन् । आफूलाई झन् निखारिन् । “विदेशी खेलाडी टेक्निकल खेलमा निकै अगाडि छन्, हामी टेक्निकलमा कमजोर छौ तर हामीलाई ट्रेनिङ राम्रो मिल्यो भने हामीले एसियन र सागमा धेरै पदक जित्छांै,” उनी भन्छिन् ।
पुनमले गत असोजमा भएको दोस्रो विर गणेशमान सिंह बक्सिङमा स्वर्ण जित्दै करियरको दोस्रो स्वर्ण पदक पाइन् । नेपाली राष्ट्रिय टोली निर्माणको लागि राखेपले गत पुसमा राखेप च्याम्पियनसिप अन्तर्गतको २७ औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगिता आयोजना गर्यो । उक्त च्याम्पियनसिपमा पुनमले स्वर्ण जितिन् ।
राखेप च्याम्पियनसिपकै स्वर्णको कारण पुनमले दिल्लीमा खेल्ने मौका पाइन् । दिल्लीमा पुनमले आफ्नो क्षमता देखाएरै छाडिन् । “सबै गुरुहरुले तिमीले राम्रो खेले जित्छौ भन्नुभएको थियो । मैले राम्रै खेलें । देशको लागि पदक जित्न पाउँदा खुशी छु” पुनमले भनिन्, “देशको लागि योभन्दा राम्रो गर्ने योजना छ । अब आउने दिनमा स्वर्ण जित्ने प्रयास गर्नेछु ।”