काठमाडौं । ‘पाम टिम च्याम्पियन’ ‘प्रतियोगितामा पामका खेलाडी उत्कृष्ट’ नेपाली खेलकुद क्षेत्र जुडो खेलमा पछिल्लो समय यस्ता हेडलाईनसहितका समाचार पटक पटक सार्वजनिक हुने गरेका छन् ।
यसको एउटै कारण हो– बन्दी सहायता गृह (प्रिजनर एसिस्टेन मिसन) ‘पाम’ का खेलाडीले नेपाली जुडो खेलमा पटक–पटक ल्याएको सफलता । काठमाडौको रानीवनस्थित एकलटारमा रहेको गैर नाफामुलक संस्था ‘पाम’ विष्णुकुमारी वाइबा ‘पारिजात’ द्वारा स्थापित संस्था हो ।
विभिन्न कारणले जेलमा परेकाका सन्तानलाई शिक्षा दिने, हेरचाह गर्ने र समाजमा पुनःस्थापित गराउने काम यो संस्थाले गर्ने गर्छ ।
सोही संस्थाले जेलमा रहेका बाबुआमाका सन्तानलाई जुडो खेल्न सिकाउने गरेको छ ।
“पाम अहिले खेलाडी उत्पादन गर्ने संस्था नै बनेको छ,” पाम संचालक समितिका अध्यक्ष तथा जुडो प्रशिक्षक सुर्य श्रेष्ठले बाह्रखरीसँगको कुराकानीमा भने, “पाम फरक संस्था हो तर अहिले पामलाई सबैभन्दा बढी जुडो खेलले चिनाएको छ ।”
हुन पनि विभिन्न जिल्लाका बालबालिकाको एकै परिवार ‘पाम’ ले हालसम्म नेपाली जुडोमा १४ पटक टिम च्याम्पियन, ९२ वटा स्वर्ण पदक जितिसकेको छ । त्यतिमात्र हैन अन्तर्राष्ट्रिय स्तरमा यहाँका खेलाडीले स्वर्ण, रजत र कास्यगरी २१ पदक जितेका छन् ।
अहिले पनि पाममा रहेका केही खेलाडीहरु राष्ट्रिय टिमकै सदस्य छन् भने, केही उदयमान खेलाडी । उनीहरुको उमेर ४ वर्षदेखि १८ वर्षसम्म छ । उनीहरुलाई जुडो प्रशिक्षक सूर्य श्रेष्ठले प्रशिक्षण दिने गर्छन् ।
पाममा रहेका मध्ये मनिता श्रेष्ठ प्रधान, इन्द्र बहादुर श्रेष्ठ जुडो खेलका उदयमान खेलाडी हुन । दुवैले दक्षिण एसियाली खेलकुदमा पदक समेत जितिसकेका छन् । राष्ट्रिय प्रतियोगितामा दुवैको स्वर्ण संख्या १० भन्दा बढी छ । यस्तै मनिता त एसियन जुडो च्याम्पियनसिपमा ‘बाउट’ जित्ने पहिलो नेपाली महिला खेलाडी समेत हुन् । गत जेठमा हङकङमा सम्पन्न च्याम्पियनसिपमा मनिताले महिला ५७ केजी तौलमुनि समूहमा आयोजक राष्ट्रकी के क्वोकलाई पराजित गर्दै ऐतिहासिक उपलब्ध हात पारेकी थिइन् । नेपाली खेलाडीले एसियन च्याम्पयनसिपमा ‘बाउट’ जित हासिल गरेको २९ वर्षयता यो पहिलो पटक थियो । यसअघि सन् १९८८ मा ऋषीराम प्रधानले सिरियामा भएको च्याम्पियनसिपमा मकाउका खेलाडीलाई हराएका थिए ।
सुरुवातमा यो संस्थामा बालबालिकालाई हेरचार र पढाइमा मात्र ध्यान दिने गरिन्थ्यो । तर, समयको परिवर्तनसँगै यहाँका बालबालिकाहरुलाई खेलकुदमा प्रेरित गरियो ।
खेलकुदले बालबालिकाहरुको अनुशासनमसमेत परिवर्तन आयो । पाममा सन् २००९ बाट जुडो सिकाउन थालिएको थियो ।
“जुडोको मध्यमबाट यहाँका बच्चाहरुलाई परिवर्तन गर्नुपर्छ भनेर हामीले जुडो खेल सिकाउन थालियो, जुडो अनुशासित र फिजिकल खेल हो,” प्रशिक्षक श्रेष्ठले भने, “अहिले उनीहरु यहि जुडोले समाजमा स्थापित भएका छन् । उनीहरुलाई संसारले चिन्ने मौका मिलेको छ र उनीहरुले देशलाई चिनाएका छन् ।”
पाममा अहिले २५ जना बालबालिका छन् । जसमा १५ जना छात्र र १० जना छात्रा रहेका छन् ।
उनीहरु सबैले जुडो खेल्छन् । अधिकांसले जुडोमा पदक जितेका छन् त केहिले सिक्दै गरेका छन् । उनीहरु एकै स्कुलमा पढ्छन् । पामको होस्टेलबाट नजिकै रहेको बालविकास माध्यमिक विद्यालयमा अध्ययन गर्छन । र, अध्यनरत विद्यार्थीमध्ये अधिकांस जुडो खेलाडी भएकै कारण छात्रवृत्तिमा पढिरहेका छन् ।
यस्तै पाममा आएर जुडो खेल सिक्ने स्थानीय खेलाडीहरु पनि विस्तारै बढ्दै गएको छ । तर, पामले सबैलाई सिकाउन कठिन रहेको कारण केहि खेलाडीहरुलाई मात्र अहिले जुडो सिकाउने गरेको प्रशिक्षक श्रेष्ठको भनाइ छ । “हामीले अब जुडो हल बनाउने योजना बनाएका छौं तर कहिले साकार हुने हो भन्न गार्हो छ,” श्रेष्ठले भने, “ हामीसँग जग्गा छ तर, निर्माण गर्ने सहयोगी दाता खोजिरहेका छौं । त्यस्ता दाता आए हामी स्वीकार गर्नेछौं । किनकि यहाँ जुडो हल बन्यो भने पामका खेलाडीमात्र हैन यो क्षेत्रका खेलाडीहरु लाभान्वित हुनेछन् ।”
पामबाट अहिलेसम्म ६ जनाभन्दा बढी जुडो खेलाडी भने निस्किसकेका छन् । उनीहरु आफ्नै परिवारमा बस्न थालेका छन् । पाममा आएका बालबालिकाहरुलाई २० / २२ वर्षको उमेरसम्म राख्ने गरिन्छ । उनीहरुलाई १२ कक्षासम्म शिक्षा दिने गरिन्छ । त्यसबाहेक कैदी जीवन सकेर आफ्नो बालबालिका लैजान चाहेमा आफन्तले लैजान पाउछन् । यस्तै बालबालिकाले कमाएको पैसाहरु उनीहरुकै नामको खातामा जम्मा गरिदिने चलन छ । “यहाँका अधिकांस बालबालिकाले जुडो खेलेर पैसा कमाउने गर्छन्, हामीले साग गेम्समा पदक जितेर मनिता, इन्द्रले पाएको पुरस्कार रकम पनि उनीहरुकै नाममा जम्मा गरिदिएका छौं,” प्रशिक्षक श्रेष्ठले भने, “हामीले त्यो उनीहरुकै नाममा खाता खोलेर कम्तिमा २२ बर्ष उमेर नपुगी निकाल्न नमिल्ने गरी जम्मा गरी दिने गरेका छौं ।”
नेपाली जुडो खेलकी उदयमान खेलाडी मनिता पामलाई आफ्नो परिवार ठान्छिन् । भन्छिन, “ म यहाँ आएको १० वर्ष बढी भयो । यहाँको माहोल म बयान गर्न सक्दिनँ । मलाई बुबा आमाले जन्म दिए तर पामले कर्म दियो ।”
पामको मासिक खर्च अनुमानित १ लाख छ । र, पामको सम्पूर्ण खर्च दाताहरुको सहयोगमा चल्छ । पामलाई अहिले जर्मनीको एक संस्था (जीएलएस) र समाजसेवी डा. नारायणकाजी श्रेष्ठले सहयोग गरिरहेका छन् ।
विसं २०४८ सालमा पारिजातले स्थापना गरेको पाम सुरुवाति समयमा उत्कृष्ट संस्थाको रुपमा रह्यो । तर, पारिजातले संस्था अन्य व्यक्तिलाई सुम्पिएपछि भने केहि अस्तव्यस्त बनेको थियो । २०५९ सालमा डा. श्रेष्ठले ब्युँताएर पुरानै अवस्थामा फर्काए ।