ब्लग
भदौ ४ गते शनिवार विशेष कामले लमही गएको थिएँ । घोराही फर्किँदा रातको नौ बजिसकेको थियो । खाना खाएर कोठामा एकछिन टिभी हेरेँ। त्यति खेरै लाइन गयो । अँध्यारो कोठा, अनि गर्मी उत्तिकै ! पाँच मिनेटभन्दा धेरै कोठाभित्र बस्न सकिन । निद्रा पनि लागेको थिएन । छतमा उक्लिएँ, रातिको दस बजिसकेको थियो ।
छतमा हावा खाएर बस्दा बस्दै एघार बज्यो । लाइन पनि आयो । कोठामा फर्किँदै थिएँ घर अगाडि होहल्ला सुनियो । छतबाटै हेरेँ । केही त हुँदै छ भन्ने लागेर तल झरेँ ।
घटना यस्तो थियो :
बुटवलबाट आउने लोकल बसमा तुलसीपुरसम्म जाने एघार जना यात्रु थिए । बसवालाले उनीहरूसँग तुलसीपुरसम्मकै भाडा लिइसकेको रहेछ । तर घोराहीको तुलसीपुर चोकमा ल्याएर अलपत्र पार्दै तुलसीपुर नजाने अडान लिँदै रहेछ ।
यात्रु जानै पर्छ भन्दा रहेछन् । गाडी स्टाफ अर्को गाडी आयो भने उसैमा पठाइदिने तर आफू नजाने अड्डी लिँदै थियो ।
म गएर एकछिन घटना विवरण सुने । गाडी स्टाफलाई सम्झाएँ । तर उसले मेरो कुरा के सुन्थ्यो ? मानवीयताका नाताले पनि यस्तो नगर्नुस् भन्दा ऊ फोनमा कुरा गर्न थालेको नाटक गर्दै साइड लाग्यो ।
गाडीभित्र तीज मान्न माइत जाने र किनमेलका लागि पूर्व गएका महिला धेरै थिए । उनीहरू हात जोडेर यसरी अलपत्र नपारिदिन बिन्ती गर्दै थिए ।
हुनत, यो घटना उनीहरूको आफ्नो समस्या थियो । म न गाडीवाला थिएँ न यात्रु । तर रातिको ११ बजे महिलाहरूको बिचल्ली देखेर चित्त दुख्यो । अनि केही उपाय लगाउने सोच बनाएँ ।
मसँगको घटना :
उनीहरूलाई सहयोग गर्नुपर्छ भन्ने ठानेर मोबाइल निकालेँ । प्रहरी सहायता कक्षको १०० मा फोन गरेँ । ‘हेलो ! म दीपक घिमिरे, मेरो घर अगाडि यात्रुलाई अलपत्र पार्दै बस अडिएको छ । सहयोग गर्न आउनुपर्यो !’
फोन उठ्नासाथ उताको हेलो नसकिँदै मैले आफ्नो कुरा राखेँ। निक्कै खरो स्वरमा उताबाट प्रहरीले सोधे ‘कुन ठाउँ हो ?’
मैले घोराहीको सहिद गेटदेखि पश्चिम र तुलसीपुर चोकदेखि पूर्व भनेर निश्चित ठाउँ नै भनिदिएँ। मेरो उत्तर सुन्नेबित्तिकै उताको फोनमा बोल्ने व्यक्ति यसरी कड्किए कि मानौं म कुनै अपराधी हुँ ।
‘दिमाग चाट्नलाई फोन गरेको हँ ? बोल्ने तमिज छैन ? हामीलाई दु:ख दिने ? अगाडि त्यत्रो प्रहरी बिट देख्या छैन ? उतै गएर कम्प्लेन गर्नुस्।’ उनले मलाई थर्काए । म स्तब्ध भएँ । आखिर के गल्ती गरेँर मैले ? मैले आफैँलाई प्रश्न गरेँ ।
फेरि नम्र हुँदै भने – ‘सर म पत्रकार हुँ, घर अगाडि समस्या देखेर हजुरलाई भन्देको हुँ । हजुर आफैँ बिटमा खबर गर्दिनुस् । म यात्रु पनि होइन र गाडीवाला पनि हैन ।’
उनी झन् कडकिए – ‘पत्रकार भए म के गरुँ त ? दिमाग चाट्न फोन गरेको ? अगाडि बिटमा गएर भन्ने, सानो कुरालाई लिएर फोन गर्ने है न ।’ यति भनेर उनले फोन राखे ।
म ट्वाँ परेँ। के साँच्ची गल्ती मेरो थियो त ? यही प्रश्नले एकछिन दिमाग ततायो । तातिएको दिमाग सेलाउन नपाउँदै त्यहाँ भिड जम्मा भयो । भिडले गाडीवालाले त्यसरी यात्रु अलपत्र पार्न नपाउने भन्दै गाडी गुडाउन भनिरहे । तर गाडीका स्टाफ मस्तले आफू आफू गफिन थाले । त्यत्तिकैमा स्थानीय एकजनाले गाडी लग्छौ कि म आफैँ यिनी यात्रुलाई गन्तव्यसम्म पुर्याऊँ भनेर गाडी स्टार्ट गरे, डराउने उद्देश्यले ।
गाडी स्टार्ट भयो, गाडीवाला आएनन् । गिएर लाग्यो तर पनि उनीहरूले वास्तै गरेनन् । अनि सुस्तसुस्त गाडी गुड्यो । गाडीको पछिपछि स्टाफहरू गए । अनि गाडी तुलसीपुर चोकभन्दा पल्तिर रोकियो । यता स्टाफले बिटमा गाडी अरूले कुदाएर लगे भनेर उजुर गरेछन् ।
गाडी हिँडे पनि म तनावमै थिएँ । प्रहरी र सर्वसाधारणको सम्बन्धमा दूरी कम गर्न प्रहरीभित्रबाट निक्कै प्रयास भएका छन् । मुस्कानसहितको प्रहरी सेवा र प्रहरी मेरो साथी भन्ने कार्यक्रम पछिल्ला लोकप्रिय कार्यक्रम हुन् । तिनैलाई आधार मान्ने हो भने दु:खमा प्रहरीको साथ हामी जनताले खोज्नै पर्छ।
प्रहरी आफैँले सहायता कक्षको नम्बर सर्वसाधारणलाई बाँड्छ । तर सर्वसाधारणले फोन गरेको बेला प्रहरी स्टाफबाटै त्यस किसिमका व्यवहार हुँदा कसरी सोच्ने प्रहरीलाई साथी ?
तनाव भइरह्यो ती फोन उठाउने प्रहरीका भनाइले । मनले नमानेपछि प्रहरी प्रमुख धिरजप्रताप सिंहलाई फोन गरेँ । पहिला त्यो १०० नम्बरको फोन उठाउनेको कम्प्लेन गरेँ । अनि आफ्नो परिचय दिँदै समस्या बताएँ ।
प्रहरी प्रमुखले अघि फोन उठाउनेको बारेमा बुझ्ने आश्वासन दिनुभयो । अनि तुरुन्तै समस्या भएको ठाउँमा प्रहरी खटाउने भन्नुभयो । म उहॉसँग बिदा भएँ ।
उता गुडाएर गएको बस र प्रहरी अनि गाडीका स्टाफ रोकेर राखेको बसनिर भेट भयो । अनि गाडी गुडाउने साथीलाई कुरै नबुझी प्रहरीले दुई झापट दिए । गल्ती साथीको हैन, गाडी स्टाफको हो भन्न खोज्ने साथीलाई पनि तीन झापट प्रहरीले लगायो । त्यो सबै रमिते बनेर मैले हेरिरहेँ। अब निष्कर्ष निकालौँ - अब कसरी मानौ प्रहरीलाई साथी ?
गाडीका स्टाफले यात्रुका हजारौं बिन्ती सुनेनन्, प्रहरीलाई फोन गर्दा उल्टो थर्काइ खाइयो । अनि बाध्य भएर स्टाफलाई धम्क्याउन गाडी स्टार्ट भयो । यो ठूलै गल्ती थियो त ? प्रहरीको काम निष्पक्ष छानबिन गरेर कारबाही गर्नु हो । कुरै नबुझी हात छाड्नु पक्कै होइन ।
हो, अर्काको गाडी अनुमतिविना गुडाउने छुट ती साथीलाई थिएन तर किन गुडाइयो भनेर प्रहरीले बुझ्ने हो, हात हालेर दादागिरी देखाउने होइन ।
समस्यामा परेका यात्रुका बारेमा गुनासो गर्ने मेरो अधिकार र कर्तव्य पनि हो । सकिँदैन भने हाम्रो काम होइन, बिटमा गएर भन्नुस् भन्नुपर्ने । निक्कै तुच्छ भाषामा प्रस्तुत हुँदा मैले कसरी सोचौँ - प्रहरी मेरो साथी भनेर ?
म आफूलाई टाठोबाठो ठान्ने मान्छेसँग त बोल्नै डराउने गरी प्रहरी प्रस्तुत हुन्छन् भने अरू गाउँले सर्वसाधारणसँग कस्तो व्यवहार गर्छन् होला ?
हो ! अहिले दाङमा शान्ति सुरक्षाको राम्रो अनुभूति गर्न पाइएको छ । नयाँ प्रहरी प्रमुखको आगमनसँगै दाङबासी सुरक्षाको दृष्टिमा खुसी नै छन् । सामान्य गल्ती गर्ने एक दुईजनाले गर्दा नै सिंगो प्रहरी बदनाम हुन्छ र जनताको नजरमा प्रहरी हाउगुजी बन्न जान्छ । प्रहरी मेरो साथी भन्ने नारा नारैमा सीमित नहोस् । गल्ती गर्ने प्रहरीलाई पनि कारबाही होस् ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७३ ११:२०
प्रतिक्रिया दिनुहोस्