- लेनिन बञ्जाडे
@lendaai
आज सत्रौं दिन हो !
मैले साउन ३२ गते राति साढे १० बजे १०३ मा फोन गरेर टिपाएको थिएँ, "बा १ ज ८०९१ नम्बरको ट्याक्सीले गुन्डाको भरमा हामीसँग ७४ रूपैयाँ लुट्यो ! त्यो ट्याक्सीका चालकलाई कारबाही गरिपाऊँ । मेरो नाम लेनिन बञ्जाडे हो, म अप्ठ्यारो परेको बेला ट्याक्सी चढ्ने आम मान्छे हुँ ।"
फोन उठाउने प्रहरीले भने, "फोन गर्नुभयो, धन्यवाद । तपाईंको नम्बर र गुनासो हामीसँग सुरक्षित छ । हामी यही नम्बरमा तपाईंलाई कारबाहीबारे खबर गर्नेछौं ।"
मेरो मोबाइलमा अहिलेसम्म ट्राफिक प्रहरीबाट फोन आएको छैन ।
० ० ०
१७ दिनअघि, राति १०:०८ बजे––
चावहिल चोकको वायाँतिर लस्करै ८-१० वटा ट्याक्सी उभिएका थिए । कुनै एउटामा गयौं र भन्यौं, "दाजु, बानेश्वरसम्म जाने ?"
करिब ७५ किलोको मोटो मान्छेले पुलुक्क ढोकाबाहिर अनुहार निकाले र भने, "डेढी लाग्छ, हुन्छ ?"
साथी र मैले हुन्छ भन्यौं र बस्यौं । चालकले मिटर अन गरे !
मिटर अन गरेर २ मिनेटसम्म पनि ट्याक्सी नगुडेपछि मैले भनें, "दाजु, कि मिटर बन्द गर्नुस् कि चलाउनुस् ।"
उनले वास्ता गरेनन् ।
केही बेरमा हाफ टिर्सट लगाएका एकजना बलिष्ठ युवक ड्राइभरछेउको सिटमा बसे । ट्याक्सी गुड्दा मिटरमा ३६ रूपैयाँ उठेको थियो !
र, आयो बानेश्वर । मिटरमा २२६/- रुपैयाँ देखिन्थ्यो ।
गोजीबाट पैसा निकाल्दै गर्दा गुरुजी बोले, "३ सय रूपैयाँ दिनुस् ।"
मैले सिधै प्रतिकार गरें, "किन दिने ३ सय ? मिटर देख्नुभएन ?"
चालक फन्किएर पछाडिको सिटतिर फर्किए र भने, "अघि नै डेढी लाग्छ भनेको हैन ?"
मलाई थाहा थियो- ९ बजेपछि मिटरमा आफैं डेढीको बिलिङ हुन्छ । उनले मलाई दिएको तर्क सरासर वाहियात थियो ।
"मिटरमा डेढी नै उठेको छ । चावहिल चोकबाट सामान्य समयमा बानेश्वर आउँदा बढीमा १३८ रूपैयाँसम्म तिर्नुपर्छ । तपाईकोमा २२६ रुपैयाँ उठेको छ । हिसाब गर्न सक्नुहुन्छ कि म हिसाब बुझाऊँ ?" म पनि झर्किएँ ।
छेवैमा बसेको साथीले कोट्यायो, "छाड्दे यार लेनु । यति राति के हल्ला गरिरा' ?"
मैले उसलाई हकारें, "तँ चुप लाग् । पैसा म तिर्छु, हिसाब पनि मलाई नै गर्न दे ।"
ऊ चुप लागेर ट्याक्सीबाट ओर्लियो । म भित्रै थिएँ ।
"हेर्नुस्, तपाईंको मिटरले डेढी नै उठाएको छ । मैले २२६/- भन्दा एक रूपैयाँ पनि बढी दिन्नँ," मैले आफ्नो निर्णय सुनाएँ ।
त्यसपछि चालक जुरुक्क उठे । उनको छेउमा बसेको अर्को बलिष्ठ पनि उठे ।
"तपाईं बाहिर निस्किनुस्," चालकका साथीले भने ।
म हातमा ५०० को नोट समातेर बाहिर निस्किएँ ।
चालकको छेउमा बस्ने मान्छे बाहिर निस्किएपछि अलि जोडले कराउन थाले ।
"हिरो बनेको हो ? चढ्दाखेरि डेढी लाग्छ भनेको हैन ? केको हल्ला हो ?" उनले मलाई सक्नेजति भने ।
"ए सर । तपाईंका जस्ता ट्याक्सी कति चढियो कति । डेढी भनेको के हो भन्ने पनि बुझ्छु । मिटर बिग्रेको छ भने भन्नुस्, म ट्राफिक बोलाएर बनाउन लगाइदिन्छु । कल गरूँ ?" म पनि उसैगरी झर्किएँ ।
र, मैले उत्तिखेरै गोजीबाट मोबाइल झिकेर १०० मा कल गरें ।
"हेलो ट्राफिक ! एउटा गुनासो थियो," मैले उताको कुरै नसुनी भनें ।
"ट्राफिकलाई १०३ हो, त्यहीँ गर्नुस् है," एकजना जवानले यति भनेर फोन राखें ।
त्यसपछि म सरासर ट्याक्सीको पछाडि गएँ र मोबाइलको क्यामराबाट नम्बर खिचें ।
बलिष्ठ पाखुराधारी युवक मेरो छेउ आएर भने, "किन फोटो खिच्या ? निहु खोजेको हो ?"
चालक र उनका साथीले पाखुरा सुर्किएपछि साथी डरायो र सुटुक्क भन्यो, "लेनु, छाड्दे न यार । यति राति के हल्ला गरिराको ? कुटे भने ?"
उसको 'कुटे भने ?' भन्ने वाक्य सुनेपछि मलाई झोक चल्यो ।
मैले उत्तिखेरै १०३ मा फोन गरें ! मैले फोन डायल गरिरहँदा साथीले सरक्क ३०० रूपैयाँ दियो र मलाई तानेर बाटोवारि ल्यायो । त्यतिबेलासम्म १०३ नम्बरको फोन उठिसकेको थियो ।
मैले भनें, "सर, बा १ ज ८०९१ नम्बरको ट्याक्सीले गुन्डाको भरमा हामीसँग ७४ रूपैयाँ लुट्यो । त्यो ट्याक्सीका चालकलाई कारबाही गरिपाऊँ । मेरो नाम लेनिन बञ्जाडे हो, म अप्ठ्यारो परेको बेला ट्याक्सी चढ्ने आम मान्छे हुँ ।"
फोन उठाउने प्रहरीले भने, "फोन गर्नुभयो, धन्यवाद । तपाईंको नम्बर र गुनासो हामीसँग सुरक्षित छ । हामी यही नम्बरमा तपाईंलाई कारबाहीबारे खबर गर्नेछौं ।"
० ० ०
दोस्रो दिन बेलुकी ४ बजेसम्म पनि खबर नआएपछि मैले फेरि १०३ मा फोन गरें । भनें, "प्रहरीले सहरभरि हाम्रो साथी भनेर बोर्ड झुन्ड्याएको छ । एउटा साथीले गुनासो टिपायो, अर्को साथीले किन वास्ता गरेन ? मैले टिपाएको गुनासोको कारबाहीबारे मलाई जानकारी चाहियो ।"
फोन उठाउने प्रहरी एकछिन चुपचाप लागे । केही बेरमा बोले, "ए अँ । हिजो तपाईंले टिपाउनुभएको उजुरी हामीले सबैतिर सर्कुलर गरिसकेका छौं । खबर आउनेबित्तिकै तपाईंलाई जानकारी दिन्छौं ।"
उनले फोन राखेको २४ घण्टापछि मैले फेरि १०३ मा डायल गरें । यसपालि गौतम थरका जवानले फोन उठाए । उनलाई मैले फेरि सबै फेहरिस्त सुनाएँ । सबै सुनिसकेपछि उनले भने, "सर, हामीले पनि अरुतिर खबर पुराइदिने हो । कारबाही भएको/नभएको बारे हामीलाई केही थाहा हुन्न ।"
उनले फेरि ट्याक्सी नम्बर टिपे । मैले २ पटक उनलाई घटनाबारे जानकारी गराएँ । उनले थपे, "कारबाही भएपछि तपाईंको नम्बरमा फोन आउँछ, ढुक्क हुनुस् ।"
तेस्रो दिन तामाङ थरका अर्का जवानले फोन उठाए । उनलाई पनि सबै बेलीविस्तार सुनाएँ । उनले सिस्टममा मेरो गुनासो खोजे ।
"ए ए । लिलङ बन्जारेको नाममा रहेछ । त्यही हो ?" उनले बडो विचित्रको नाम सुनाए ।
"हैन सर, लेनिन बञ्जाडे हो । नाम न सही टिप्दिनुस्," मलाई झोक चल्यो ।
उनले सकीनसकी मेरो सही नाम टिपे । र, उनले पनि भने, "कारबाहीका लागि सबैतिर भनिसकिएको रहेछ । तपाईंलाई खबर आउँछ ।"
उनले ढ्याप्प फोन राखे ।
४, ५, ६, ७, ८, ९ र दसौं दिन पनि बिते । मैले हरेक दिनजसो फोन गरिरहें ।
एघारौं दिन एकजना महिलाले फोन उठाइन् । उनलाई पनि सबै घटना बेलीविस्तार लगाएँ ।
म थाकेको थिइनँ ।
उनले भनिन्, "कारबाही भएको नभएको विषयमा चाहिँ बग्गीखानामै गएर बुझ्नुस् । त्यहाँ एउटा फर्म हुन्छ, त्यो भर्नुस् । त्यसकै आधारमा ट्याक्सीलाई कारबाही हुन्छ ।"
म ट्वाल्ल परें । यो मेरा लागि सर्वथा नौलो कुरा थियो । मलाई यो कुरामा रुचि पनि जाग्यो ।
"मलाई ११ दिनअघि यो कुरा किन थाहा दिनुभएन ?" म झर्किएँ ।
"अब त्यतिबेला फोनमा को थियो, कसरी थाहा हुन्छ र सर !" उनी नम्रसाथ बोलिन्, "निवेदन दिनुस् न बरु ।"
"म निवेदन सिवेदन क्यै दिन्नँ । तपाईं १०३ को मान्छे हो । त्यहाँभित्रको समस्या तपाईं आफैंसँग राख्नुस् । मलाई मेरो उजुरीको छिनोफानो चाहियो । सक्नुहुन्न भने भन्नुस् ।"
उनी ठमठमी भइन् । केही बोलिनन् ।
उनीसँगको ९ मिनेट लामो कुराकानी बिट मार्दै मैले भनें, "मलाई तपाईंहरूप्रति आशा थिएन र हुनेछैन पनि । तपाईंहरूले मलाई ११ दिनसम्म झुलाउनुभो । म ठगिएको ७४ रूपैयाँ हो, मलाई पैसाको चिन्ता होइन, प्रणाली र न्यायको हो । अनि नि म्याम, देश किन बनेन भनेर तपाईंहरूले कहिलेकाहीँ आफूलाई पनि गाली गर्नुहोला !"
म बग्गीखाना गइनँ । जाने पनि छैन । मलाई राज्यले १०३ को सुविधा दिएको छ, मेरो उजुरीकै आधारमा ट्राफिकले एकपटक ट्याक्सी झिकाएर सोधपुछ गर्नुपर्थ्यो । प्रमाणीकरणका लागि मलाई बोलाउनुपर्थ्यो । वा नबोलाए पनि मलाई फोनमा जानकारी दिनुपर्थ्यो । प्रहरीका लागि ट्याक्सी झिकाउनु गाह्रो काम हुँदै होइन । ट्याक्सीको संघमार्फत मात्रै पनि सबथोक जानकारी हुन सक्थ्यो ! मैले हरेक दिन फोन गरेर बुझ्दा त यस्तो हालत छ, ठगीमा पर्ने अरु सोझाको अवस्था के होला ?
ती महिलाले फोन राखेको ६ दिनपछि एकपटक फेरि १०३ मा कल गरें । घटनाको बेलीविस्तार लगाएँ र भनें, "मैले साउन ३२ गते राति टिपाएको उजुरी तपाईंहरूको सिस्टमबाट हटाइदिनुस् । मलाई अब कारबाही चाहिँदैन । ट्याक्सीलाई कारबाही होला भनेको, म आफैंले त्यसको सजाय पाएँ । अब मैले बिर्सेर पनि १०३ मा फोन गर्नेछैन । धन्यवाद ।"
उनी अलमल्ल पर्नुअघि नै मैले फोन राखें । मलाई कताकता आशा भने छ— मेरो फोनको घण्टी बज्छ कुनै दिन ।