काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकाजस्ता विदेशी शक्तिले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् ।
बंगलादेशबाट भागेर भारतमा शरण लिइरहेकी हसिनाले मौनता तोड्दै अमेरिकामाथि आरोप लगाएकी हुन् । भागेर भारत आएपछि उनले यसअघि कुनै धारणा सर्वाजनिक गरेकी थिइनन् ।
भारत सरकारले बंगलादेशको राजनीतिक संकटको पछाडि ‘विदेशी हात’ हुनसक्ने भनी विष्लेषण गरेकै दिन बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाले यस्तो अभिव्यक्ति दिएकी हुन् ।
शनिबार आफ्नो पार्टी अवामी लिगका समर्थकहरूलाई दिएको सन्देशमा उनले भनेकी छन्, “यदि मैले सेन्ट मार्टिन र बंगालको खाडी अमेरिकाका लागि छोडेको भए म सत्तामा रहीरहन सक्थें ।”
हसिना सरकारको अमेरिकासँग लामो समयदेखि तनावपूर्ण सम्बन्ध थियो । यसै वर्षको जनवरीमा चुनाव हुनु अघि उनले ‘एउटा ह्वाइट म्यान’ ले आफूलाई एयरबेसको बदलामा सत्तामा फर्कन प्रस्ताव गरेको बताएकी थिइन् ।
बंगलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेकी हसिनाले आफ्नो पछिल्लो सन्देशमा नयाँ अन्तरिम सरकारलाई चेतावनी समेत दिएकी छन् । उनले विदेशी शक्तिको लागि ‘प्रयोग’ नहुन चेतावनी दिएकी हुन् ।
हसिनाले देश छोडेर भागेपछि सरकार सञ्चालनको लागि बंगलादेशमा १७ सदस्यीय सल्लाहकार परिषद् गठन भएको छ ।
परिषद्मा रहेकामध्ये चार जना बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)प्रति झुकाव राख्ने र तीन जना जमात–ए–इस्लामीसँग आवद्ध छन् । उनीहरुले गएको बिहीबार राति शपथ लिएका थिए । गतसाता नै बंगलादेशको संसद् विघटन गरिएको थियो ।
हसिनाले देश छोडेको केही समयपछि बंगलादेशका सेना प्रमुख जनरल वकार–उज–जमानले हसिनाले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
कोटा विरोधी विद्यार्थीको आन्दोलन थेग्न नसकेपछि प्रधानमन्त्री रहेकी हसिना बंगलादेशबाट भागेर भारत पुगेकी थिइन् ।
“मैले शवको जुलुस हेर्न नपरोस् भनेर राजीनामा दिएको हुँ । उनीहरु तिम्रा (विद्यार्थी) लाशमाथि सत्ता हात पार्न चाहन्थे, मैले त्यो हुन दिइनँ । म सत्ताको साथ आएको हुँ,” हसिनाले भनेकी छन्, “सायद आज म देशमा भएको भए अझ धेरैको ज्यान जाने थियो, धेरै सम्पत्ति नष्ट हुने थियो ।”
हसिनाले अर्को साता भारतमा सञ्चारकर्मीलाई पनि सम्बोधन गर्ने कार्यक्रम बनाएकी छन् ।
हसिनाको विरोधमा बंगलादेशमा दुई साताभन्दा लामो विद्यार्थी आन्दोलनमा ३०० जना भन्दा बढीको मृत्यु भएको थियो ।
अमेरिका, बेलायत, क्यानडालगायत देशले विद्यार्थीको मृत्युको छानबिन गर्न माग गरेका छन् । ढाकामा नयाँ अन्तरिम सरकार गठन भएपछि अमेरिकाले बंगलादेशमा ‘लोकतान्त्रिक भविष्यको रुपरेखा’ बन्ने आशा व्यक्त गरेको छ ।
नयाँ अन्तरिम सरकारको नेतृत्व गरिरहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको अमेरिकासँग बलियो सम्बन्ध रहेको विश्वास गरिन्छ ।
विकिलिक्स केबलका अनुसार विगतमा उनले बंगलादेशको राजनीतिक अवस्थाको निन्दा गर्न अमेरिकी कूटनीतिज्ञहरूसँग बारम्बार बैठकहरू गरेका थिए । अमेरिका बंगलादेशमा सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानीकर्ता पनि हो ।
आफ्ना समर्थक र पार्टी कार्यकर्तालाई दिएको सन्देशमा हसिनाले हार स्वीकार गर्दै स्वदेश फर्कने वाचा गरेकी छन् ।
उनले भनेकी छन्, “म छिट्टै फर्कनेछु । हार मेरो हो, तर जित बंगलादेशका जनताको हो ।”
“मैले आफूले आफैलाई हटाएँ, म तपाईँहरुको जित लिएर आएको हुँ, तपाइहरु नै मेरो शक्ति हुनुहुन्थ्यो, तपाईहरुले मलाई चाहनु भएन, तब म आफै हिडेँ, राजीनामा दिएँ । त्यहाँ रहेका मेरा कार्यकर्ताहरूको मनोबल खस्किने छैन । अवामी लिग बारम्बार उठेको छ,” हसिनाले भनेकी छन् ।
पूर्वप्रधानमन्त्री हसिनाले केहीले उनको भनाईलाई तोडमोड गरेको आरोप लगाइन् ।
उनले भनेकी छन्, “म मेरा युवा विद्यार्थीहरूलाई दोहोर्याएर भन्न चाहन्छु कि मैले तपाईँहरुलाई कहिल्यै रजाकार भनेकी थिइनँ...मेरो शब्दलाई तोडमरोड गरिएको छ । एउटा समूहले तपाईँहरुको फाइदा उठाएको छ ।”
बंगलादेशमा ‘रजाकार’ शब्दलाई अपमानजनक शब्दका रुपमा लिइन्छ । रजाकार भन्नाले सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्राममा पाकिस्तानी सेनासँग सहकार्य गर्ने ‘स्वयंसेवकहरू’ भन्ने बुझिन्छ ।
(द प्रिन्टबाट)