क्यानबेरा । विकिलिक्सका संस्थापक जुलियन असान्ज स्वतन्त्र व्यक्तिको रूपमा १२ वर्षपछि बुधबार अष्ट्रेलियास्थित आफ्नो घरमा पुगेका छन् । उनले बुधबार बिहान अमेरिकी न्यायालयमा आफूले गरेको गल्ती स्वीकार गरेका थिए । अमेरिकी न्यायाधीशले उनको रिहासम्बन्धी कागजमा हस्ताक्षर गरेपछि लगत्तै अष्ट्रेलिया उडेका थिए ।
उनी पुग्दा अष्ट्रेलियाको क्यानबेरा विमानस्थलमा समर्थकहरू पनि खुसीयाली मनाउन पुगेका थिए । उनले ओर्लनासाथै समर्थकहरूलाई हात हल्लाएका थिए । उनी टर्मिनलमा पुग्दा उनकी पत्नी स्टेल्ला अनुहार हँसिलो बनाउँदै देखा परेकी थिइन् । असान्जले उनलाई तानेर अंकमाल र चुम्बन गरेका थिए ।
आँखाभरी आँसु पार्दै स्टेल्लाले पत्रकार सम्मेलनमा जुलियनले आफ्नो तर्फबाट सबैलाई धन्यवाद भनेको जनाएकी थिइन् । ५२ वर्षीय असान्ज सोमबार लन्डनस्थित जेलबाट मुक्त भएका थिए । अमेरिकी प्रशासनसँगको सहमतिअनुसार बुधबार उनले अमेरिकी अदालतमा पुगेर गल्ती महसुस गरेपछि उनी घर फर्किन पाएका हुन् । सीएनएन