site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएका दयाहाङ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वि.सं. २०६२ बाट सिनेमाको रंगीन दुनियाँमा प्रवेश गरेका दयाहाङ राईको पहिलो चलचित्र ‘अनागरिक’ हो । यसले चलचित्र बजारमा जादु त छर्न सकेन, उनमा सिनेमाकर्ममा रहने भोक पनि मारेन । त्यसको चार वर्षपछि ‘दासढुंगा’मा दयाहाङ देखिए ।
उक्त चलचित्रमा उनी मुख्य भूमिकामा थिए । अर्थात्, अमर लामाको भूमिकामा दयाहाङ प्रस्तुत भए । यो सिनेमामार्फत उनी नोटिस भए, दर्शकमा भन्दा पनि मेकरमा । त्यसको केही वर्षपछि आएको ‘लुट’ नेपाली चलचित्र उद्योगमा कोसेढुंगाका रूपमा दरियो । दयाहाङले पनि यस क्षेत्रमा बलियो खुट्टा टेके । ‘लुट’मा गोफ्लेको भूमिकामा देखिएका उनको माग सिनेमामा यति धेरै बढ्यो, भ्याइनभ्याइ भयो । आफ्नो चलचित्रमा लिन निर्माताहरू उनको समय कुरेर बस्न थाले ।

त्यसो त दयाहाङ तिनै अभिनेता हुन्, जसले नेपाली सिनेमा उद्योगमा हिरोको परिभाषा नै फेरिदिए । उनी चलचित्रको मुख्य चरित्रमा आउनुअघि हिरो भनेको अग्लो, बलिष्ठ शरीर भएको गुडलुकिङ आर्य फेस मात्र हुन्छ भन्ने आमबुझाइ थियो । त्यो मानकलाई भत्काउने श्रेय दयाहाङले आफ्नो पोल्टामा पारे । जब उनी मेकरको पहिलो रोजाइमा पर्न थाले, गुडलुकिङ शरीर भएको व्यक्ति मात्र हिरो हुने भाष्य भत्कियो । अनि आए विपीन कार्की, विल्सनविक्रम राई, निश्चल बस्नेतजस्ता अभिनेता । अहिले जोसँग अभिनयको अब्बल क्षमता छ, उसले मुख्य चरित्रमा अवसर पाउँछ ।

दर्जनौँ चलचित्रमा अभिनय गरेका दयाहाङ रंगमञ्चको बाटो हुँदै सिनेमामा आइपुगेका कलाकार हुन् । त्यसो त उनले केही टेलिचलचित्रमा पनि काम गरेका छन् । दयाहाङ ब्लकबस्टर सिनेमा ‘कबड्डी’ सिरिज’का मुख्य कलाकार हुन् । यो शृंखलाको सुटिङ अनुभवमा उनै अभिनेता दयाहाङका कुरा प्रस्तुत गरेका छौँ । सेटबाहिरका अनुभवमा हामी केन्द्रित भएका छौँ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

 ० ० ०    

सरकार–माओवादी सशस्त्र द्वन्द्व चलिरहेको समय थियो । समाज त्राहिमाम्मा बाँचिरहेको थियो । टेलिचलचित्र ‘दलन’को विषय पनि द्वन्द्वकै थियो । दलित आन्दोलनमा ‘दलन’ केन्द्रि थियो । पर्वतमा छायांकन थियो । सदरमुकामको एक होटेलमा उनीहरूलाई राखियो । बाहिरबाट आएका मान्छेलाई द्वन्द्वरत पक्ष माओवादी र सुरक्षा निकाय दुवैले निगरानीमा राख्थे । समय त्यस्तै थियो । उनीहरूको जिम्मेवारी नै त्यही थियो । त्यसैले जे भइरहेको थियो, त्यसमा आफूलाई समाहित गर्नुपर्थ्यो । गरिरहेकै थिए ।

Royal Enfield Island Ad

ट्वाइलेटका लागि होटेलको ‘स्पेस’ कटेर बाहिर जानुपर्थ्यो । ढोका खोल्दा ठूलो आवाज निस्किन्थ्यो । खोक्दा पनि आवाज निस्किइहाल्थ्यो । “आवाज सुनेपछि तीन तला तलको सेनाले ‘को हो ?’ सोध्थ्यो । हामी ‘म हुँ’ भन्थ्यौँ,” दयाहाङ भन्छन्, “‘किन निस्किएको ?’ भन्थ्यो, ‘ट्वाइलेट’ भनेपछि बल्ल जान पाइन्थ्यो । ट्वाइलेटदेखि फर्किंदा पनि त्यसै गर्नुपर्थ्यो ।”

हरेकपटक ट्वाइलेट जाँदा समेत आर्मीको अनुमति लिनुपर्ने भएपछि उनीहरू त्यहाँ बस्न सकेनन् । सुटिङ सेट गाउँमा थियो, त्यहीँ बस्न थाले । गाउँमा बस्न त आनन्दै थियो, त्राहिमाम् भने उस्तै थियो ।

सुटिङ चलिरहेको ठाउँबाट केही तल ट्रयाकसुट र गोल्डस्टार जुत्ता लगाएर काँधमा बन्दुक भिरेको ठूलो समूह लस्करै आएको देखियो । उनीहरू जसै डाँडाले छेकिए, माथिबाट ‘हाम्रा साथीहरू देख्नुभो ?’ भन्दै सैनिक गुटुटु आए । ‘छैन हजुर’ दयाहाङलगायत त्यहाँ उपस्थितले जवाफ फर्काए ।

“तलबाट माओवादी आइरहेको छ, माथिबाट सेना आयो । अब दोहोरो भिडन्त हुने भयो, हामी चेपुवामा पर्ने भयौँ, अब के हुने हो ?,” दयाहाङले द्वन्द्वकालको सुटिङको सकस सम्झिए, “पछि थाहा भयो, तलबाट आउने पनि छद्म भेषमा हिँडेको सेना नै पो रहेछ !”

गाउँको नाम खौला हो या दुर्लुङ त्यो त दयाहाङको स्मृतिबाट विस्मृत भइसकेको छ । तर, त्यहाँ केही दिनमा माओवादीले ठूलो सांस्कृतिक कार्यक्रम गर्दै छ रे ! भन्ने हल्ला आइपुग्यो । सुटिङ युनिटबाट उक्त कार्यक्रम हेर्न जाने छुट थिएन । कोही पनि गएनन् । सुटिङको क्याप्टेनसिप सम्हालेका थिए, नवीन सुब्बाले । अर्थात्, उनी ‘दलन’को निर्देशक थिए ।

कोही सेन्ट्री बस्ने त कोही सुराक गर्ने भन्दै आउँथे । उनीहरूसँग चिनजान हुन्थ्यो । त्यही बोलचालका आधारमा भोलि कुनै पक्षबाट केही हुने पो हो कि भन्ने डरैडरमा सकाए, उनीहरूले त्यो सुटिङ । 

जब पुलबाट फालियो...
‘दलन’मा थुप्रै कलाकार थिए । दयाहाङको काम करिब–करिब सकिइसकेको थियो । काटेर मारेर पुलदेखि खोलामा फ्याँक्ने सिन बाँकी थियो ।

त्यसका लागि निर्देशकले टुचिङ लिएर आउँछु भने । तर, आर्मीले यो के हो, किन ? भनेर दुःख दिने सम्भावना उच्च थियो । त्यसबाहेक उपाय के होला त ? १५ फिटजति उचाइ थियो, दयाहाङले आँट गरे । भने– म फाल हान्छु । निर्देशक नवीनले भने– त्यसो भए आज सबै तयारी सकाएर भोलि गरौँ ।

खोलामै हामफल्न त सम्भव थिएन । त्यसैले ‘चिट’ गरेर बारीमा फाल हान्ने निधो भयो । बारी जोतेर माटो खुकुलो पार्ने र त्यसमाथि पराल र डस्ना राख्ने निर्णय गरे । सबै प्रक्रिया पूरा भयो । भोलिपल्ट सुटिङ सुरु भयो ।

“ओहो ! त्यो बेला पो मलाई थाहा भयो, उत्तानो परेर पो तल झर्नुपर्ने रहेछ,” दयाहाङ त्यो समयको कठिन परिस्थिति सम्झिन्छन्, “चारजनाले उचालेर उत्तानो पारेर फाल्दिए । सास थामेर झरिरहेको थिएँ, भुर्ईंमा भ्वाक्क झरेँ । टेक्निकल कुरा हामीलाई थाहा भएन, पुलको बार नापेर तल जोतेर पराल र डस्ना राखिएको थियो । मलाई चारजनाले ह्वात्त फाल्दा पर पो पुग्दो रहेछ !”

त्यति बेला ‘अबचाहिँ मरेँ’ भन्ने दयाहाङलाई भयो । तर, ल्यान्ड राम्रै भएछ । सास रोकेकाले होला, खासै असर गरेनछ । “तर, सबै आत्तिए । क्यामेराम्यानले क्यामेरा छोेडेर दौडिए । निर्देशक आत्तिदै आए । एक छिन यसलाई नचलाऊ भने,” दयाहाङ त्यो क्षण सम्झिन्छन्, “म त साइको भएँ– के भन्छन् यिनीहरू ? मलाई त केही भएको छैन भन्ने लाग्यो । सबैले केयर गर्न थाले ।” त्यहाँदेखि उनले त्यति धेरै रिस्क लिन छोडे ।  

लमजुङको त्यो सिन
‘अनागरिक’को छायांकन लमजुङ र रुम्जाटारमा थियो । हतियारको सिनका लागि बन्दुक छायांकनस्थलसम्म लैजानुपर्ने थियो । द्वन्द्वको समय कहाँ थियो र सजिलो ? महाभारत थियो ! गाडी रिजर्भ थियो । गाडीमा कलाकार र प्राविधिक ठूलो संख्यामा थिए । सुटिङमा प्रायः विद्युतीय सामग्री हुन्थ्यो । “ठाउँ–ठाउँमा आर्मीको चेकिङ हुन्थ्यो, सुटिङको गाडी भन्थ्यौँ । हिरो/हिरोइन खोइ ? भन्थे । उनीहरू अर्को गाडीमा पछि आउँदै छन् भन्थ्यौँ,” दयाहाङ सुटिङ भन्नेबित्तिकै हिरो/हिरोइन खोज्ने कालखण्डतिर फर्किए ।

‘दलन’मा अब रिस्क सिन गर्दिनँ भनेर कसम खाएका दयाहाङ त्यहाँ पनि उम्किन पाएनन् । भिन्डन्तको सिन थियो । भिडन्तमा परेर म निर्दोष छु भनेर भाग्नुपर्ने सिन थियो । चौरमा भैंसी बस्ने ठूलो आहाल थियो ।

“निर्देशकले एक्सन ! भनेपछि म दौडिएँ । आहालको बीचबाट दौडिएको म आहाल पार गर्ने बेलामा चिप्लोमा चिप्लिएर ब्ल्याङ्ङै पछारिएँ । छाती बजारियो । स्वास्थ्यमा ठूलो समस्या त भएन, तर म आत्तिएँ,” दयाहाङ हाँस्छन्, “निर्देशकले– मैले त आहालको बीचबाट कुद्छौ भन्ने त सोचेकै थिइनँ, आहालको डिलबाट कुद्छौ भन्ने थियो, आहाल कति गहिरो छ भन्ने तिमीलाई थाहा थियो ? निर्देशकले सोध्नुभयो । आहालबाट निस्किँदा शरीर जुकैजुकाले टप्पै भरिएको थियो ।” कलाकारले कतिसम्म गर्ने/नगर्ने भन्नेमा त्यो समयसम्म दयाहाङ अनविज्ञ थिए ।  

छायांकनभन्दा यात्रा कठिन
‘कबड्डी’को पहिलो सिरिजको छायांकनमा जाँदा दयाहाङ अर्को चलचित्रको सेटबाट मुस्ताङ पुगेका थिए । काठमाडौं–पोखरा–बेनी–घासा हुँदै जानु थियो । सिनेमाको सुटिङ युनिट मुस्ताङ पुगिसकेको थियो । काठमाडौंबाट निश्चल बस्नेत पोखरा पुग्ने र त्यहाँ रहेका दयाहाङलाई लिएर बाइकमा सँगै जाने सल्लाह थियो । सल्लाहअनुसार उनीहरू बाइकमार्फत पुस्ताङ लागे ।

“कच्ची बाटो, बाइकको पछाडिको सिटको बसाइ, ढाड दुखेर सहिनसक्नु हुन्थ्यो । जब तेर्सो बाटो आउँथ्यो, म ओर्लिएर हिँड्थेँ,” चलचित्रको छायांकनस्थलमा पुग्दाका अप्ठ्यारा सुनाउँछन् दयाहाङ, “छायांकनभन्दा पनि त्यसका लागि गरिने यात्रा कठिन हुने गरेका मेरो अनुभव छ ।”

जब लाग्यो लेक...
‘भैरे’ चलचित्रको छायांकन अपर मुस्ताङमा थियो । दयाहाङलाई अचानक लेक लाग्यो । ज्यान जोगाउन तल झर्नैपर्ने भयो । चिकित्सकले त्यही सल्लाह दिए । मान्नैपर्‍यो । झर्न त झर्ने तर कसरी ? चिकित्सकले भने, ‘उहाँलाई अक्सिनबिना तल झार्न सकिन्न ।’ कारण, दयाहाङ रहेको ठाउँबाट ३०० मिटरमाथि चढेर तल झर्नुपर्ने बाटो थियो । तर, अक्सिजन थिएन ।

उनले आफैँ जबर्जस्त निर्णय लिए । अक्सिजनबिना दयाहाङलाई लिएर गाडी भन्ज्याङतर्फ गुड्यो । अफसोच, दयाहाङलाई भन्दा गाडी चालकलाई पो झन् धेरै लेक लाग्यो ।

“प्रोडक्सनको एकजना साथी लिएर फर्किंदै थियौँ, पानी खुवाउँदै बल्लबल्ल तल झार्‍यौँ,” दयाहाङ जिन्दगीका उकालीओराली सम्झिन्छन्, “टाउको चुट्टिएलाजस्तो हुन्छ । छुसाङ झर्नुपर्ने थियो । रातिको समय थियो । बाटो भुलियो । कालीगण्डकीमा जीप फस्यो । ट्याक्टरले तान्नुपर्ने भयो । तर, ट्याक्टर छैन । के गर्ने ? अगाडिको सिटमा म थिएँ । सिटमुनिसम्म पानी आइपुग्यो । इन्जिन भिजिसक्यो । तर, धन्न ! गाडी स्टार्ट भने बन्द भएको थिएन । दुईजना ओर्लिएर गाडी ठेले । कसोकसो गाडी निस्कियो । त्यो गाडी निस्किनु हामी बच्नु थियो ।”

आँखैअगाडि चट्याङ
‘निरफूल’को सुटिङ रुवी भ्याली (पाङसाङ)मा थियो । काठमाडौंबाट हिँड्दा ढिलो भयो । पानी पर्ने मौसम थियो । रुवी भ्याली पुग्नुभन्दा केही तल पुगेपछि पानी थप बढ्यो । कच्ची बाटो थियो । फोन सम्पर्क टुटिसकेको थियो । रातको १२ बज्न लागेको थियो । 

करिब १५ मिटरअगाडि रहेको बिजुलीको पोलमा बडेमाको आवाजसहित चट्याङ पर्‍यो । बिजुलीको तारमा आगो लाग्यो । “एउटा तार हाम्रो गाडीमाथि थियो । अर्को तार रोड क्रस गर्ने ठाउँमा दन्किरहेको थियो । कुन बेला हाम्रो गाडीमाथि बन्दै गरेको तार खस्छ थाहा छैन, उपाय केही छैन । गाडीभित्र रुवाबासी सुरु भयो,” दयाहाङ भन्छन्, “तार बल्दै भुईंमा झर्दै गरिरहेको थियो । तलबाट त करेन्ट लाग्दैन भन्ने थियो । माथिबाट बल्दै गरेको तार गाडीको छतमा खस्यो भने हामीलाई करेन्ट लाग्छ कि लाग्दैन सोधेँ । मलाई त्यहीँभित्रको कसैले भन्यो– लाग्दैन । मैले भनेँ– त्यसो भए हामी यहीँ सुरक्षित छौँ । बाहिर ननिस्किऔँ । १५ मिनेटपछि तार खस्यो । भाग्य भनौँ अथवा संयोग, हाम्रो गाडीमा तार नखसेर अर्कैतिर खस्यो । नयाँ जीवन पाएको अनुभूत भयो ।”

जिन्दगी जति लामो त्यति नै धेरै अनुभव । दयाहाङले अर्को यस्तै अनुभवका लागि लामो समय कुर्नु परेन । यही सिनेमाको युनिट रुविभ्यालीको छायांकन सकेर फर्कंदै थियो । बाटोमा ठूलो पहिरो थियो । एक किलोमिटरअगाडिसम्म नपरेको पानी त्यही पहिरोमा आएपछि दर्कियो । उनकै शब्दमा मुसलधारे पानी पर्‍यो ।

“खोलामा ढुंगा बगाउन थाल्यो । हाम्रोभन्दा अगाडि ट्रक छ । त्यसपछि हाम्रो गाडी । अगाडिकाले ढुंगा पन्साउँदै र छल्दै क्रस भए । तर, हाम्रो अगाडि माथिबाट डङडङ ढुंगा खसिरहेका थिए । फ्यासफ्यास पहिरो झर्दै थियो । गाडीको चक्का पुरिसकेको थियो । गाडीमा रुवाबासी चल्यो,” दयाहाङ जिन्दगी मृत्युको मुखमा पुगेको क्षण सम्झिन्छन्, “जिन्दगीमा बाँच्ने अवस्था छैनजस्तो लाग्न थाल्यो । पहिरोसँगै बगिन्छ भनेझैँ लाग्यो । अर्कोतिरबाट आउने मान्छे साँच्चै आँटी रहेछन् । पहिरो खसिरहेका बेला ढुंगा पन्साएर गाडी पार गराए । हामीसँगै रहेको ट्रक त्यही मौका पारेर फुत्तै गयो । हाम्रो जीप पनि कसोकसो स्वाट्टै पार भयो । पारि पुग्दा पुनर्जीवन पाएजस्तो लाग्यो । १० मिनेट वर आउँदा चर्को घाम लागिरहेको थियो । मलाई लाग्यो– हमीलाई तर्साउन प्रकृतिले नै झेल गरेछ ।”

मृत्युको मुखमा पुग्दा पनि बाँचिन्छ कि भन्ने आस हमेसा हुने गरेको दयाहाङ सुनाउँछन् ।

घोडा कुदाउँदा...
‘कबड्डी’मा घोडा कुदाउनुपर्ने दृश्य थियो । दयाहाङले त्यहीँ रहेको सानो घोडा सिकेका थिए । भारी बोक्ने घोडा थियो । कि त्यसलाई कसैले अगाडिबाट तान्नुपर्थ्यो, नत्र उसको साथी हिँडेपछि मात्र हिँड्थ्यो । कुदाउन खोज्दा कुद्दैन थियो । पछाडिबाट लात्ताले हानेपछि भने दौडिन्थ्यो । मालिकले छडी लगाएर कुदाउँथे । दयाहाङ छडी लगाएर कुदाउन सक्दैनथे ।

मैयालाई छोपेर घोडामा चढाएर दौडाएर लैजानुपर्ने सिन थियो । रेश्माले कल्चर ड्रेस लगाएकी थिइन् । लङ सट खिच्नुपर्ने थियो । घोडा मालिकले घोडालाई लात्ताले हानेर दौडाउने तयारी थियो ।

“रेश्मा भर्खर चढेकी थिइन् । क्यामेरा–रोलिङ–एक्सन भन्नेबित्तिकै मैले एक छिन है एक छिन भनेको कसैले सुनेन । घोडा मालिकले घोडालाई लात्तीले हाने । घोडा दौडियो । रेश्माको शरीर कन्ट्रोल नै भएन । मैले उसलाई सम्हालिरहेको थिएँ । तर, उसको लुगा चिप्लो भएकाले ऊ झन्झन् झरिरहेकी थिइन्,” दयाहाङ भन्छन्, “तान्दातान्दा मैले पनि सकिनँ । सक्दै नसकेपछि म पनि ऊसँगै खसेँ । कुदिरहेको घोडाबाट मेरो शरीरमाथि रेश्मा खसिन् ।”

दयाहाङको ज्यान ढुंगामा बजारियो । रेश्मा त दयाहाङको शरीरमाथि परेकाले खासै केही भएन । दयाहाङ थला परे । दुई दिन आराम गरे । अहिले पनि उनमा बेलाबेला त्यो लडाइको असर देखिन्छ । ज्यान दुखिरहन्छ । धेरै जरकमरक गर्नु हुँदैन ।

घोडाकै अर्को किस्सा
‘तान्द्रो’को छायांकन थियो । लमजुङमा खिच्नुपर्ने भए पनि केही सिन ‘चिट’ गरेर भक्तपुरको जगडोलस्थित सल्लाघारीमा छायांकन भइरहेको थियो । सपनाको सिन थियो । घोडामा दौडनुपर्ने थियो । सेतो घोडा अग्लो थियो । दयाहाङले प्राक्टिस गरेको घोडा होचो थियो ।

“जम्प गरेर घोडामा चढेर घाँटीमा समातेर दौडाउनुपर्ने थियो । चढ्नेबित्तिकै घोडा दौडियो । सल्लीपिरमा सरर्र चिप्लिएको घोडा जंगलैजंगल उकालो लाग्यो,” दयाहाङ डरको क्षण स्मरण गर्छन्, “घोडा भारी अप्ठ्यारो भयो भने त्यसलाई लडाउन रुखमा ठोक्काउँदै दौडिन्छ । च्याप्दाच्याप्दा बल्लबल्ल कन्ट्रोल गरेँ ।” त्यसपछि दयाहाङले घोडा चढ्नै छोड्दिए ।

‘लुट’को त्यो फाइट
रिस्कपछि कुरा गरौँ, घिनको । वास्तवमा त्यो अर्को रिस्क नै थियो । ‘लुट’मा दयाहाङ र सौगात मल्लको फाइट वधशालामा थियो । रोजेका थिए सौगातले । दर्शकलाई देख्दा पनि घिनलाग्दो होस् भनेर वधशाला रोजिएको थियो । निर्माण युनिटले फोटो खिचेर पनि ल्याएको थियो । ‘ठाउँ त भनेजस्तै बबाल छ ! दाइहरूले आँट त गर्नुभयो, तर कामचाहिँ कसरी गर्नुहुन्छ ?’ भनिरहेका थिए । निर्देशक निश्चल बस्नेतले ‘हामी आफैँले रोजेको हो, गरौँ’ भने ।

त्यहाँ हुने ‘रगत नपुछ्नू, जस्तो हुन्छ त्यस्तै छोड्दिनू’ भनेका थिए । आँट त उनीहरूले गरे, तर त्यहाँ गन्ध सहन सक्ने खालकै थिएन ।

“हातभरि मासु र रगतैरगत थियो । त्यसमै उनीहरूको फाइट चलिरहेको थियो । साथीहरूले पानी ल्याइदिन्थे । तिर्खाले प्याकप्याक्ती भइसक्यो । तर, खानै मन नलाग्ने,” दयाहाङ अनुभव सुनाउँछन्, “तर, विस्तारै सबै सामान्य पो हुँदै गयो । सुरुमा आजबाट मासु नै खाइँदैन होला भन्ने लागेको थियो, तर तीन/चार घण्टापछि त्यहीँ बसेर पानी मात्रै होइन, मासु नै खाइयो ।”

त्यही चलचित्रमा रगतसहितको छालामा चिप्लिने सिक्वेन्स थियो । “पटकपटक टेक लिइयो । पहिला त खासै फिल भएको थिएन, अलिअलि चहर्‍याइरहेको मात्रै थियो,” उनी भन्छन्, “तर, मासु काट्दा भएका हड्डीका सानासाना टुक्राले घुँडाको छाला त सबै लगिसकेको रहेछ । पछि स्वेलिङ नै भयो ।”

अप्ठ्यारो त्यो सिन
‘लुट–२’ मा एउटा अप्ठ्यारो सिन थियो । पुरुषोत्तम प्रधान सिनेमेट्रोग्राफर थिए । टुचिङ लगाएर दौडिएर आएर सुशीलले दयाहाङलाई उचालेर फालेको दृष्यलाई पुरुषोत्तमले फलो गर्ने सिन थियो । तीनपटक लिइएको त्यो बडो रिस्क सट थियो । यही चलचित्रको अर्को सट थियो, बाइक उडाउने । त्यही समय पानी पर्‍यो । पानी परेपछि बाइकले पिकअप लिएन । उनीहरूले तीन रात कुरेर त्यो सट लिए ।

गाडी पल्टाउने सिन थियो । कसरी यो स्टन्ट गर्ला ? दयाहाङलगायत कलाकारलाई कौतूहल थियो । “हेलमेट लगाएर बाइक उडाएको स्टन्टबाजले त हेर्दाहेर्दै गाडी भ्याल्याट्टै पल्टाइदियो । आँट पनि कस्तो !,” छक्क परेको पल साट्छन् दयाहाङ ।

जब साँच्चै आफैँ बसेको गाडी पल्टियो
गाडी हत्तपत्त नपल्टिने दयाहाङको अनुभव छ । दयाले सम्झिए, चलचित्र ‘झुम्की’ । भोलाराज सापकोटा गाडी चलाउँदै थिए । दयाहाङ पुलिसको हाकिम थिए । भोला उनको गाडी चालक । भोला गाडी चलाइरहेका थिए । अगाडि क्यामेरा राखिएको थियो । लङ सट थियो । निर्देशकले कट् भनिसके । भोलाले सुनेनन् । ट्रनिङ थियो, ट्रन गर्नुपर्नेमा भोलाले सिधै लगे ।

“मैले टाउको... टाउको... भनेको सुनेँ । मलाई टाउको जोगाउनुपर्छ भन्ने दिमागमा आयो । गाडीको अगाडिको भाग भुईंमा टेकेर सर्लक्क ल्यान्ड भयो,” उनी भन्छन्, “मैले सोचेको थिएँ– उत्तानो परेर गाडी पल्टिन्छ । तर, नोज ठोक्किएर सर्लक्क बस्यो । कसैलाई केही भएन । टेक्निक नै चाहिने रहेछ गाडी पल्टिन । बेलाबेलामा गाडी पल्टिन्छन् । सम्भवतः ओभरस्पिडले होलाजस्तो लाग्छ मलाई, त्यो घटनायता ।”

भोलाको सातो गयो ! दुई दिनसम्म उनी कसैसित राम्रोसँग बोल्न पनि सकेनन् । त्यसपछि उनले गाडी चलाउनै छोडे । ‘झुम्की’मा तत्कालै नयाँ स्टोरी क्रिएट गरेर चालकले रक्सी खाएको बनाइयो । कारबाही गरियो । अर्को ड्राइभर राखेर छायांकन गरियो ।

रिलमा रियल झापडको अनुभव 
‘वधशाला’को छायांकन थियो । अनुप बराल र दयाहाङको छायांकन थियो । अनुपले दयाहाङलाई झापड हान्दै केरकार गर्ने सिक्वेन्स थियो । सिंकसाउन्ड थियो । अनुपले चड्याम्म झापड हाने । तर, प्राविधिक पक्ष मिलेन । पुनः टेक लिइयो ।

“तोरीको फूल देख्ने गरी झापड खाएँ । होस् नै हराउँदो रहेछ । भन्नुपर्ने डाइलग पनि रोकीरोकी रुँदै भनेँ,” दयाहाङ रिलका लागि रियल झापड खाएको प्रसंग सुनाउँछन्, “अनुप सरले मलाई पुनः त्यस्तै झापड हान्नुभयो । कन्ट्रोल गरेँ । फेरि लात्ताले हान्नुभयो । उठेँ । केरकार नसकिएकाले फेरि झापड हान्नुभयो ।”

अगाडि नै आर्मीको ‘ट्रेनिङ’ गर्दा दयाहाङलाई भनिएको थियो– जस्तोसुकै अवस्था आए पनि हाकिमको अगाडिचाहिँ ठाडै उभिनैपर्छ । उभिन त उभिरहेका थिए, तर झापडका कारण बोल्न भने उनलाई कठिन भइरहेको थियो ।

“सिन सकियो । दयाहाङको गाला सुन्निएर फुलेका थिए । तर, सबैलाई त्यो सिन मन परेछ । डिरेक्टर मनोज पण्डित पनि गज्जब सिन भनेर खुसी थिए,” दयाहाङ भन्छन्, “६ एंगलमा गनेर मैले ६६ झापड खाएको थिएँ । पोजेटिभ इगो पनि हुँदो रहेछ । अनुप दाइ त मेरो गुरु पनि भएकाले झापड खाँदा पनि आनन्द आउँदो रहेछ,” उनी भन्छन्, “तर, बेलुका सुटिङ सकिएपछि गाला सुन्निएको थियो । चारखालमा सुटिङ भएको थियो । चारखालदेखि मैतिदेवी बाइकमा आउँदा सिमसिम पानी परेको थियो । फुलेको गाला चिसो पानीले घर आइपुग्दा घटिसकेको थियो ।”

त्यस्तो राम्रो टेक...
‘गाउँ आएको बाटो’मा एउटा सिन छ । छोरोसँग श्रीमती रिसाउँछे र श्रीमतीसँग श्रीमान् अर्थात् दयाहाङ रिसाउँछन् । त्यही नोकझोकमा हलो जोतिरहेका दयाहाङ गोरु चुट्छन् । गोरु दौडिँदा हलो उछिट्टिएर हलोमा खुट्टा अड्किएर दयाहाङ लड्ने सिन थियो । जस्तो भनेको त्यस्तै सिन भइरहेको थियो । हलोमा खुट्टा अड्किएर दयाहाङ लडे । सिनेमेटोग्राफर आत्तिएर कट् गरे ।

“त्यो सिन साँच्चै रियलजस्तै भइरहेको थियो । मलाई पनि चित्त बुझेको थियो । निर्देशक (नवीन सुब्बा)ले पनि राम्रो थियो भन्नुभयो ।  सिनेमेटोग्राफरलाई पनि पछि बहुल गिल्टी फिल भयो,” दयाहाङ टेक्निकल मिस्टेकका सिन सुनाउँछन्, “सिनेमेटोग्राफरले भने– मैले त स्क्रिप्ट नै बिर्सिएछु । साँच्चै तपाईं लड्नुभयो भनेर कट् गरेर आएँ । कस्तो होसै गुमाएछु । पछि ६/७ टेक लिँदा पनि मेकानिकल भयो, पहिलाको जस्तो राम्रो भएन ।”

सपनामै सकियोस् नृत्य
धेरैले दयाहाङको अभिनय कौशलको कुरा गर्छन् । शिल्पको कुरा गर्छन् । तर, नृत्य भनेपछि दयाहाङलाई सधैँ टाउको दुख्छ । उनकै शब्द सापटी लिएर भन्दा ‘गीत सपनामै सकियोस् भन्ने लाग्छ ।’ हातको मुद्रा मिल्छ, खुट्टाको स्टेप मिल्दैन !

“गीतमा मलाई पर्फेक्ट खिच्ने पुरुषोत्तम प्रधान मात्रै हो । उहाँले मलाई मिडसटमा कभर गर्दिनुहुन्छ । फुलसटमा मलाई गीतमा समस्या हुन्छ,” उनी भन्छन्, “कण्ठ गरेर ६४ बिटसम्म म वान टेकमा नाचेको छु । स्टेप कण्ठ गरे पनि फिनिसिङ गर्न आउँदैन ।”

छायांकनमा भीड
भीड धेरै भएर ढाँटेर छायांकन गरेका ठाउँ धेरै छन् । तर, पछिल्लो समय सुटिङमा दर्शकको उपस्थिति बानी पर्न थालिसकेको दयाहाङ बताउँछन् । ‘हाइवे’मा पुगे दयाहाङ । त्यो समय दयाहाङ र सौगात अहिलेजस्तो पपुलर थिएनन् । तर, फरक खालका चलचित्रमा काम गर्नेमा उनीहरू चिनिइसकेका थिए । दयाहाङका ‘मेरो एउटा साथी छ’ र ‘दासढुंगा’ आइसकेको थियो । सौगातको ‘कागबेनी’ रिलिज भइसकेको थियो ।

धरानमा छायांकन थियो । ठूलो भीड जम्मा भयो । काम गर्न सक्ने अवस्थै भएन । “त्यसपछि एकातिर क्यामेरा राखेर केही व्यक्ति हाहाहोहो गरेर हामी भने अर्कैतिर सुटिङ गरिरहेका थियौँ,” दयाहाङ भन्छन्, “क्राउड धेरै जम्मा भएपछि – ल, अहिले छायांकन हुँदैन भनेर भीड हटेपछि हामीले थुप्रै चलचित्रको छायांकन गरेका छौँ । उपत्यकाबाहिरभन्दा काठमाडौंमा धेरै क्राउड हुन्छ । गाउँमा एकपटक झुरुप्प भेला भएपछि सबै आ–आफ्नो काममा जानुहुन्छ । तर, सहरमा त्यस्तो हुँदैन ।”

असन्तुष्टि
कतिपय चलचित्रको संवाद आफ्नै पुराना सिनेमा हेरेर लेखिएको दयाहाङले अनुभव गरेका छन् । प्रभावित भएर संवाद लेखिएकाले कथासँग संवादको रिदम मिलिरहेको हुँदैन । “त्यस्तो अवस्थामा बसेर छलफल नै गर्नुपर्ने अवस्था पनि आउँछ । तर, काम नै नहुने तहमा भने होइन,” दयाहाङ चलचित्रलाई हल्काफुल्का लिने प्रवृत्तिबारे भन्छन्, “सुरुमा दिइएको स्क्रिप्टसँग छायांकनमा जाँदा थुप्रै मिल्दैनन् । एउटा स्पेस भनेर मैले तयारी गरेको हुन्छु । तर, छायांकनमा जाँदा अर्कै लोकेसन हुँदा मुड अफ हुन्छ । स्क्रिप्ट पढेर दिमागले एउटा परिकल्पना गरिएको हुन्छ । तर, अर्कै स्पेस हुँदा सोचेजस्तो काम निस्किँदैन ।”

प्रि–प्रोडक्सनमा काम गर्दा एउटा र सेटमा पुग्दा अर्कै हुन थालेपछि हिजोआज दयाहाङले धेरै अप्सन राखेर तयारी गर्ने गर्छन् । ताकि, सेटमा पुग्दा निराश हुनु नपरोस् ।

“स्क्रिप्ट पढेर म क्यारेक्टरमा लामो समय मिहिनेत गरौँला, तर सेटमा जाँदा अर्कै लोकेसन भयो भने के गर्ने ? त्यसैले आजकाल म निर्देशकसँग कहाँ कसरी काम गर्ने भनेर केही अप्सन राखेर काम गर्ने गरेको छु,” उनी भन्छन्, “एक महिना क्यारेक्टरका लागि लामो समय होइन । तर, समय हुने र त्यहीअनुसारको बजेट र बजार हुने हो भने कम्तीमा हरेक ऋतु, मौसम र रङहरूसँग साक्षात्कार हुने गरी क्यारेक्टर निर्माण गर्नुपर्छ । अनि मात्रै पर्फेक्ट हुन्छ ।”

यो पनि पढ्नोस्–

रेखा थापाको त्यो भयानक क्षण

सात तलाबाट हामफाल्दा आफैँलाई दबाबमा राखेको थिएँ

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro