
काठमाडौं । गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्न सरकारले प्रक्रिया अघि बढाएको बताएका छन् । बिहीबार (जेठ २२) प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
हालसम्म जिल्ला प्रशासन कार्यालयबाट मात्र नागकिरता दिने व्यवस्था छ । समिति बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्तासँग छलफल गरिएको थियो ।
प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले जिल्ला सदरमुकाम टाढा र आवतजावतमा झमेला र खर्चिलो हुने भएकाले जटिलताको स्थितिलाई मध्यनजर गर्दै नजिकको इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता वितरण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । त्यसका निम्ति शाखा अधिकृत सबै इलाका प्रशासन कार्यालयको कार्यालय प्रमुख नहुनु समस्या रहेको उनले बताए ।
नागरिकता वितरण गर्दा समस्या नहोस् र सहज होस् भन्ने उद्देश्यले सरकारले अधिकांश जिल्ला प्रशासन कार्यालयमा मेसिन राखेर टोकन पद्धति थालेको उनले जानकारी दिए । मेसिन उपलब्ध हुन नसकेको केही जिल्ला प्रशासनमा पहिला पुग्नेको लिखित नाम टिपेरै भए पनि टोकन पद्धति थालिएको र यसले केही सहजता ल्याएको उनले उल्लेख गरे ।
नागरिकता प्राप्तिलाई सहज बनाउने गरी विधेयक ल्याइएको उनले बताए । न्युज एजेन्सी नेपाल