site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
निखिल उप्रेतीको सुटिङ अनुभव– सात तलाबाट हामफाल्दा आफैँलाई दबाबमा राखेको थिएँ
Sarbottam CementSarbottam Cement

बलिउड र दक्षिण भारत (साउथ)का चलचित्रमा निर्देशकको असिस्टेन्ट भएर काम गरिरहेका दिनेश उप्रेतीलाई अचानक २२ वर्षअघि नेपाली सिनेमा उद्योगका एक चलचित्रकर्मीले बोलाए । न नेपाली सिने उद्योगबारे दिनेशलाई जानकारी थियो न भविष्यको आकलन नै । दिनेश आफ्नै भूमि भनेर काठमाडौं आए । बोलाइएको थियो निर्देशन गराउन होइन, हिरो बनाउन । नौलो अफर आयो । नौलै अनुभव होला !

बलिउड र साउथ सिनेमाका स्टन्ट कम्पोजर दिनेशलाई पहिलो चलचित्रमै केही नौलो स्टन्ट गर्नु थियो । काठमाडौंकै अग्लो बिल्डिङबाट जम्प गर्ने निधो भयो । उता (भारत) गरिराखेकै अनुभव थियो । काठमाडौंमा साततले घर भेटियो । जम्प गरिदिए । उता पो पुरानो, यता त त्यही नै नौलो थियो । दिनेश नाम लिएर जम्प गरेका उनी रातारात निखिल (उप्रेती)मा रूपान्तरण भए । आजको एक्सन–कट्का तिता–मिठामा कसैलाई बिझाउने, कसैलाई पोल खुलेको लाग्ने उनै निखिल उप्रेतीका खरा कुरा :

० ० ०
निखिल उप्रेती भारतको सिनेमा उद्योगमा व्यस्त थिए । निर्देशकको असिस्टेन्ट डाइरेक्टर भएर विभिन्न चलचित्रमा काम गरिरहेका थिए । फाइट डिजाइनको पनि काम गर्थे । त्यही बेला संयोगले उनको भेट भयो, पवन मैनालीसँग । खै के देखे पवनले निखिलमा ! उनले भने– निखिल, हामी चाँडै नेपाली फिल्ममा काम गर्नेछौँ । बोलाउँछु । आउनू ।

Prabhu Bank
Agni Group
NIC Asia

भेट हुँदा कतिपयले नयाँसँग आफ्नो पहुँच र सानसौकत देखाउन यस्ता कुरा गर्छन् । कतिपयले कसैले अपेक्षाको नजरले हेरे आश्वासन दिन पनि बढी बोल्छन् । निखिल यसमा अनविज्ञ थिएनन् । उनले पवनससँग अपेक्षा गरेका थिएनन् । त्यसैले उनका कुरामा खासै भरोसा पनि थिएन ।

तर, एक दिन तिनै पवनले निखिललाई बोलाए । अपेक्षा र भरोसा नै नगरेको बोलावट नै सही, निखिललाई लाग्यो– भरोसा गरेको व्यक्तिलाई निराश बनाउनु हुँदैन । इन्डियाबाट नेपाल आए । त्यति बेलासम्म न निखिलाई नेपाली कलाकारबारे उति धेरै जानकारी थियो न त नेपाली सिनेमाबारे नै । इन्डियामै हुर्किए, उतै बसे/पढेका उनलाई नेपाली सिनेमा उद्योगबारे जानकारी नहुनु नौलो पनि थिएन ।

Global Ime bank

afdgm1686282349.jpg

यस्तो च्याँसे पनि हिरो ?
पवनले नेपाली कलाकार र निर्देशकसँगको भेटमा निखिललाई चिनाउन थाले । कलाकार र निर्देशकलाई पवन निखिललाई चिनाउँदै भन्थे– ऊ निखिल, हाम्रो फिल्म ‘पिँजडा’को हिरो ।

‘यस्तो च्याँसे पनि हिरो हुन्छ ? यही हो एक्सन गर्ने भनेको हिरो ?’ निखिलकै अगाडि उनीहरू पवनलाई प्रश्न गर्थे । निखिललाई खिसीटिउरी गर्थे ।

निखिललाई लाग्थ्यो– कस्तो संस्कार हो यो ? कति साह्रो अपमान ?

पवन निखिललाई थामथुम पार्दै भन्थे, ‘निखिल, माइन्ड नगर । यहाँका मान्छे यस्तै छन् । काम गरेर देखाउने हो । भोलि यिनको मुख आफैँ बन्ती हुन्छ ।’

एक मनले उनलाई लाग्थ्यो– म आफैँ यस्तो दुब्लो, च्याँसे छु, कुन एंगलले हिरो छु र वाह ! भनून् ?

निखिल नेपाली रजतपटका सुरुआती क्षण सम्झिन्छन्, “मेरो आवरण जस्तोसुकै होस्, कम्तीमा व्यक्तिको सम्मान गर्न त जान्नुपर्छ । बोल्ने तरिका त सही हुनुपर्छ ।”

नयाँ ठाउँ, नयाँ व्यक्ति के नै गर्न सक्थे र निखिल ! सहन्थे । चुपचाप बस्थे । विकल्प पनि थिएन । मात्र उनले सोचे– यो हदसम्मको कुरा हुँदो रहेछ यहाँ ।

adfmgf1686282403.jpg

तँ फाइट डाइरेक्टर, तँलाई के आउँछ ?
पवनले भने, ‘फाइटको सिक्वेन्स बनाउनुपर्छ ।’ गर्नुपर्ने त फाइट डाइरेक्टरले थियो । तर, भरोसा गरेर पवनले भनेपछि फाइटका सिक्वेन्स निखिलले नै बनाए ।

“एक–दुईजना फाइट डाइरेक्टरले भने– तँ फाइट डाइरेक्टर ? तँलाइ के आउँछ ?,” नाम त निखिल खुलाउँदैनन्, तर त्यो समयको तितो सुनाउनबाट आफूलाई रोक्न सक्तैनन्, “मेरै अगाडि पवन दाइलाई भन्थे– ए पवन, खुब गफ दिन्थिस् त बलिउडमा काम गरिरहेको हिरो ल्याउँछु भनेर, यही च्याँसेलाई लिएर आ’को हो ? यही हो तेरो खतरा हिरो ?”

पवन भन्थे, ‘ज्यान हेरेर नबोल न । उसले गरेको एक्सनको भिडियो देखाउँछु । हेरेर कुरा गर !’

तर, पवनलाई उनीहरूले पत्याएनन् । भिडियो देखाउँछु भन्दा पनि हेर्दैनथे ।

‘दाइ, त्यो मान्छेले ममाथि त प्रश्न उठायो, ऊचाहिँ राम्रै फाइट डाइरेक्टर हो ? उसले गरेको काम मलाई देखाउनुस् त,’ बलिउड र साउथका टपटप फाइट डाइरेक्टरसँग काम गरिसकेका निखिलले पवनलाई भने ।

निखिलले भारतमा राम्रै प्रभाव जमाउन थालेका थिए । कारण, निखिल कुम्फु र तेक्वान्दोको ब्ल्याक बेल्ट थिए । त्यसले उनलाई सहयोग गरेको थियो ।

‘पिँजडा’को काम सुरु भयो । साउथ र बलिउडमा काम गरेका उनलाई यहाँका फाइट डाइरेक्टरको काम चित्त नबुझ्नु स्वाभाविक थियो । पवन भन्थे, ‘यहाँ यस्तै हो, छोड्देऊ ।’ 

पछि ‘पिँजडा’बाट ती फाइट डाइरेक्टर परिवर्तन भए । एनबी महर्जन भित्रिए । एनबी केही फ्लेक्जिवल लाग्यो निखिललाई । निखिल फाइटका पञ्चहरू बनाउँथे । एनबी नगरौँ त भन्दैन थिए, तर ‘सकिन्छ ?’ भनेर प्रश्न गर्थे – कहिले जिब्रोले, कहिले आँखाले ।

यहाँका लागि नयाँ भए पनि निखिलका लागि त्यो काम नौलो थिएन । उनले बलिउडबाट अर्का स्टन्ट माइन्डलाई सँगै लिएर आएका थिए । उनी थिए, हिरालाल यादव – जो अहिले बलिउडका टप फाइट डाइरेक्टरमध्येका एक हुन् । उनी ‘पिँजडा’को सुटिङभर नेपाल बसे ।

admg1686282478.jpg

सात तलाबाट जम्प 
भरोसा गरेर पवनले बोलाए । केही त नयाँ गर्नैपर्‍यो । के गर्ने ? अग्लो कुनै बिल्डिङबाट हामफालौँ भन्ने सोच आयो । सुरु भयो बिल्डिङको खोजी । अहिलेजस्तो अग्लाअग्ला घर थिएनन्, त्यो समय । त्यसैले उनीहरू पुगे धरहरा । धरहराबाट हामफाल्न प्राविधिक रूपमा नमिल्ने टुंगो लाग्यो । पहिलो कारण, तलाको संरचना । दोस्रो, पुरातत्त्व विभागले दिँदैन थियो । त्यसपछि उनीहरू पुगे तीनकुनेस्थित कान्तिपुर पब्लिकेसनको साततले बिल्डिङ । छत होइन, झ्यालबाट जम्प गर्ने कथा थियो । जम्प त गर्ने तर कसरी ? सुरक्षाको प्रशस्त प्रबन्ध गर्नुपर्ने थियो । सामान्यतः तल फर्म, कार्टुन या यस्तै केही चिज ओछ्याएर हामफाल्ने प्रचलन छ ।

फाइट डाइरेक्टरले कार्टुनको व्यवस्था गर्ने भए । एक हप्ताभन्दा बढी समय लगाएर बियर र टेलिभिजनका विभिन्न कम्पनीबाट ठूलो संख्यामा कार्टुन ल्याइयो । त्यो बेला ७५ हजार रुपैयाँको कार्टुन मात्र किनेको निखिललाई सम्झना छ ।

“म बिहान चाँडै जम्प गर्नुपर्छ भनिरहेको थिएँ । कारण, जति दिन छिप्पिँदै जान्थ्यो, त्यति हावा चल्थ्यो । जति धेरै हावा चल्छ, त्यति नै धेरै रिस्क बढ्दै जान्छ । म चाँडो गरौँ भनेर भनिरहेको थिएँ । तर, विभिन्न कारणले ढिलो भइरहेको थियो,” निखिल भन्छन्, “अन्ततः जम्प गर्ने समय आयो । मैले आफूलाई तयार गरिरहेको थिएँ । प्रेसर हाई गरेर आफूलाई तयार पारिरहेको थिएँ । प्रेसर हाई बनाउन सकिएन भने यस्तो रिस्क लिनै सकिँदैन ।”

qefmdg1686282522.jpg

अहिलेको जस्तो त्यो समय मिडिया छ्यापछ्याप्ती थिएन । तर पनि तीनचारवटा टेलिभिजनका क्यामेरा निखिलको सात तला माथिदेखिको जम्पको सट खिच्न तयार थिए । पत्रकार अन्तर्वार्ता लिन तयार थिए । सात तलामाथि पत्रकार जयप्रकाश रिजालले रेडियोका लागि अन्तर्वार्ता लिए । केहीले लाइभ समेत गरे ।

अन्ततः उनी बिल्डिङको सात तलाको झ्यालबाट हामफाले । कुम्फु र तेक्वान्दोको खेलाडी भएका कारण कसरी हामफाल्दा चोट लाग्दैन भन्ने थाहा थियो । हिप वा खुट्टाले टेक्न सके बाँचिन्थ्यो । घोप्टो वा उत्तानो परेर अथवा टाउको ठोक्किए ज्यान बँच्दैन थियो । त्यस्तो उनले साउथ र बलिउडमा गरिसकेका थिए । उनीसँगै अर्को हिरोको डुप्लिकेट बनेर उनैले सँगै लिएर आएका हिरालालले पनि सात तलामाथिबाट जम्प गरे ।

जब उनी जम्प गरेर तल झरे, नाकबाट रगत बग्न सुरु भयो । निर्माण टिम आत्तियो । तर, निखिललाई देख्नेले सोचेजस्तो गाह्रो भएको थिएन । रगत त प्रेसर हाई भएकाले आएको थियो । त्यो उनलाई अनुभव गरिसकेकाले थाहा थियो ।

रेडियो/टेलिभिजनमा समाचार आयो । भोलिपल्टका अखबारमा खबर छायो । साप्ताहिक, पाक्षिक र मासिक पत्रिकामा महिनाभर नै निखिल छाइरहे । तर, दिनेश उप्रेतीको नाममा । अर्थात्, उनको नाम निखिल होइन, दिनेश थियो ।

qwefdmg1686282566.jpg

दिनेशबाट निखिल
त्यही बेला निखिललाई लाग्यो– म इन्डियामा निर्देशकको एडी भएर काम गरिरहेको व्यक्ति नेपाल आएर हिरो बनिरहेको छु, नयाँ करिअर सुरु भइरहेको छ भने किन नयाँ नामबाट नचिनिने ?

उनले नाम परिर्वतन गरेर राखे, निखिल । दिनेशबाट त्यति धेरै चर्चा पाएका उनको नाम तत्कालै निखिलमा रूपान्तरण भयो ।

सात तलाबाट जम्प गर्ने हिरो भनेर गजबको चर्चा भयो । सिनेमामा अफर गर्ने प्रोडुसरको लाइन लाग्न थाल्यो । चर्चा यति धेरै थियो, जहाँ सुटिङ गर्न गए पनि उनलाई हेर्न टाढाटाढाबाट मान्छे आउँथे । दुब्लो–पातलो निखिललाई जब देख्थे, सात तलाबाट हामफाल्ने हिरो यही हो भनेर विश्वास गर्नै उनीहरूलाई गाह्रो हुन्थ्यो ।

qfdmg1686282608.jpg

जंगली व्यवहार !
जब निखिलको लोकप्रियताले शिखर छुन्छ, अनि अध्याय सुरु हुन्छ– चर्चा, परिचर्चा र नकारात्मक टीकाटिप्पणीको । “ग्रुप–गु्रपमा निखिललाई ठिक लगाउनुपर्छ भन्नेहरू भए । कति न एक्सन गर्छ रे ! त्यसलाई कसरी ठिक लगाउनुपर्छ, हामीलाई थाहा छ भनेको मैले थुप्रै सुनेँ । कति व्यवहारमा अनुभव गरेँ,” उनी भन्छन्, “यो समय आएर भन्नु ठिक हो वा होइन मलाई थाहा छ्रैन । तर, मलाई मधेसबाट आएको भनेर पनि हेपियो । विशेष गरी निर्देशक र फाइड डाइरेक्टरहरूबाट ।”

निखिललाई नेपाली चलचित्र उद्योग देखेर उदेक लाग्थ्यो । यहाँको संस्कारहीन व्यवहारले उनलाई दिक्दार बनाउँथ्यो । सायद बलिउडको अनुभव नगरेका भए यस्तै हो भनेर जस्तो छ त्यही ठिक मान्दै त्यसमै रमाउँथे होला । तर, बलिउडमा कलाकार र निर्देशकलाई गर्ने सम्मान देखेर नतमस्तक निखिल यहाँको व्यवहारलाई हाकाहाकी भन्छन्– जंगली व्यवहार !

सुपरस्टार सेटमा केही ढिलो आउँथे, त्यो बेग्लै कुरा । सुटिङ युनिट समयमै आइपुग्थ्यो । असिस्टिेन्ट समेतले सुपरस्टारसँग बोल्न पाउँदैनथे । निर्देशकसँगै चिफ एडीबाहेक अरू सहायक एडी हम्मेसि बोल्न छेउ पर्नै पाउँदैन थिए ।

एकैछिन साउथतर्फ फर्किन्छन् र एउटा अनुभव सेयर गर्छन्, निखिल । “मैले सिनेमाको नाम अहिले बिर्सिएँ । तर, हिरो आदित्य पञ्जोली थिए । सिनेमाको छायांकन थियो । उनी सेटबाट केही पर ओवी भ्यानमा ढोका उघारेर बाहिर फर्किएर चुरोट पिइरहेका थिए । मलाई चिफ एडीले ‘हिरोलाई बोलाएर आइज’ भने । म गएर ‘सर्ट रेडी छ, जाऊँ रे’ भनेँ । ऊ मेरो पाउदेखि शिरसम्म हेरेर यसरी रिसायो, आमाचकारी गाली गर्‍यो । लाग्छ कि मैले भयंकर गल्ती गरेको छु । लाललाल आँखा पारेर रिसाउँदै भन्यो– जाऊ, प्रोडक्सन म्यानेजरलाई जानु रे भन्देऊ । 
प्रोडेक्सन म्यानेजर डराउँदै आएर सोध्यो– सर के भयो ? 
उसले भन्यो– यो केटो को हो ? 
‘असिस्टेन्ट ।’ 
‘तिमीलाई थाहा होला, मलाई के थाहा ! यसको निधारमा लेखेको छ ? कोही आएर सर्ट रेडी भयो, जाऊँ भनेर भन्यो म जाऊँ ! यही हो तिम्रो अनुशासन ?’

बलिउडमा कलाकारसँग आम व्यक्तिको पहुँचमा जसरी घेरा खडा गरिएको छ, त्यसले सिंगो बलिउडप्रति आम समुदायको इज्जत छ । त्यसैले बलिउडलाई बचाइरहेको छ । तर, नेपालमा त्यो अनुशासन नरहेको र कला तथा कलाकारप्रति इज्जत नगरिने निखिलको अनुभव छ ।

qwfmg1686282653.jpg

आज राजेश हमालका सिनेमा चलून् वा नचलून्, उनले सिनेमा खेलून् वा नखेलून्, उनलाई आम जनताले स्वीकार गरिसकेको तथ्य सत्य हो । तर, यसका लागि उनले गरेको संघर्ष र त्याग कति छ भन्ने नेपालमा कसैले पनि मूल्यांकन नगर्ने उनको गुनासो छ । इज्जत पनि नगर्ने उनी बताउँछन् ।

“जब कसैले संघर्ष र त्यागको इज्जत गर्दैन भने त्यसको प्राप्तिका लागि कसैले पनि संघर्ष गर्दैन,” उनी अगाडि थप्छन्, “अहिले कसैले राजेश हमाललाई गाडीमा देख्यो भने रोकेर ओरालेर अँगालो हालेर सेल्फी खिचेर हिँड्छ । जब यसरी सहजै कसैले कसैलाई पाउँछ भने उसले किन व्यक्तित्व निर्माणका लागि मिहिनेत गर्छ ? नेपालमा अनुशासन छैन । यसको परिणाम हाम्रो सिनेमा उद्योगले भोगिरहेको छ ।”

सुटिङमा चिया पकाउने ‘भाइ’ले ‘चिया खाने दाइ ?’ भनेर कराउँछ । आज नखाने भन्यो भने ‘खाए खा नआए...’ भनेर गाली दिइने गरेको निखिलले कैयौँपटक सुनेका छन् । जहाँ मिहिनेत र अनुशासन हुँदैन, त्यहाँ विकास पनि हुँदैन । त्यसको भुक्तभोगी आफैँ रहेको निखिल निर्धक्क कहन्छन् ।

नयाँ हिरो, नयाँ अनुभव 
सिनेमाको छायांकन चलिरहेको थियो । निर्देशकले भने– निखिल, भोलि बिहान ७ बजे चोभारमा छायांकन छ । 

निर्देशकले भनेपछि होला त नि ! बलिउडमा टाइम टु टाइम काम गरेका निखिल ठिक ७ बजे चोभार पुगे । चलचित्रका कोही मन्छे छैन । 

‘म त झुक्किइनँ ?’ 

फोन गर्न मोबाइल थिएन । बसिरहे । धेरै बेर कुरेपछि बल्ल स्पोर्ट ब्वाइहरूको भ्यान आयो । 

“नयाँ हिरो बिहानै आएर पर्खेर बसेको छ भन्ने उनीहरूको मनोविज्ञान मैले पढेँ,” निखिल बेथितिको किस्सा सम्झिन्छन्, “विस्तारै मैले यो सिनेमा उद्योगबारे बुझ्न थालेँ । नचाहेरै यही माहोलमा भिझ्दै गएँ ।” 

wefdmg1686282708.jpg

फाइट सिकाउने बहानामा हिरोलाई लात 
जब निखिलले नेपाली चलचित्र उद्योगलाई बुझ्दै गए, उनले थाहा पाए – फाइटर आफूलाई ‘डन’ सम्झिन्थे, फाइट डाइरेक्टररू आफूलाई सुपर डन । जबकि, बलिउडमा यसको ठिक उल्टो हुन्थ्यो ।

यहाँ त फाइटरहरू हिरोलाई फाइट सिकाउने निहुँ पारेर किक हान्थे, त्यो पनि चोट लाग्ने गरी । फाइट डाइरेक्टर आफूलाई डन कसरी बनाइरहने भनेर उल्टो बुद्धि लगाउँथे । देखेर निखिल ट्वाँ पर्थे ।

“आर्टिस्टलाई छोयो भने बलिउडमा फाइटरको कार्ड जाने मात्रै होइन, फाइट डाइरेक्टर सस्पेन्ड नै हुन्थ्यो,” उनी भन्छन्, “प्रोडक्सनले सोध्थ्यो– कसरी लाग्यो कलाकारलाई ? कस्तो फाइटर ल्याएको ? प्रश्न मात्रै होइन, जागिर नै जान्थ्यो । यहाँ त यो हिरो बन्न आ’को यसलाई हान्नुपर्छ भनेर प्रि–प्लान गरेर किक हान्थे ।”

अनि, सुरु भयो पंगा
यहाँ कोही के भनेर आफ्नो परिचय दिन्थे, कोही बक्सिङले राँगो ढालेको भनेर चिनाउँथे । निखिल ‘जिल’ पर्थे । अनुहार नै नदेखे पनि दाउदको अन्डरवर्ल्डमा बसेर काम गरेका निखिल पनि के कम ! ब्लाक बेल्ट लिएका, काम गरेको अनुभव सँगालेका । त्यसपछि सुरु भयो निखिलको पंगा । धन्न, त्यो बेला निखिल ‘कुल’ थिए । सँगै नयाँ पनि ।

‘मलाई यहाँ किक किन लाग्यो ? मैले हानेको किक तिम्रो नाकमा लागेको भए के हुन्थ्यो ?,’ निखिल प्रश्न गर्थे, “म प्रश्न मात्रै होइन, सिकाउँथे पनि । यो किक यसरी होइन, यसरी हान । यसरी हान्दा क्यामेरामा पनि उही दृश्य देखिन्छ । चोट पनि लाग्दैन ।”

जब फाइटरहरूलाई सिकाउँदै गए, निखिलसँग उनीहरू साथी बन्न थाले । तर, फाइट डाइरेक्टरहरू शत्रु । फाइटरहरू ठूलो जोखिम लिएर काम गर्थे । वायरको सिस्टम थिएन । “मैले नै वायरको प्रयोेग गरेर काम गर्न सुरु गराएको हुँ,” निखिल नोस्टाल्जिक हुन्छन् ।

erfmgh1686282799.jpg

कस्तो अचम्म ! 
फाइट डाइरेक्टरपछि अनुभव निर्देशक र लेखकसँगको । अचम्म ! 
कस्तो अचम्म ?
“यहाँ निर्देशक र लेखकको मनमौजीमा कसलाई कति रोल दिने भन्ने निर्णय हुँदो रहेछ । कथा के छ भन्ने भन्दा पनि कसको सम्बन्ध कोसँग कस्तो छ, त्यसका आधारमा रोल निकालिँदो रहेछ,” निखिल कहन्छन्, “सुनाउँदा एउटा रोल हुन्छ, सेटमा पुग्दा काटेर अर्कै । त्यसले सिनेमामा के असर पर्छ भन्ने मतलबै छैन ।” 

यस्तो मनमौजी किन हुन्थ्यो ? 
“पैसा हाल्ने एउटा हुन्छ, चलाउने अर्कै । अर्कोको पैसा डुबोस्/नडुबोस् उलाई के मतलब ?,” उनी सुनाउँछन् ।

नेपालका ९० प्रतिशत निर्देशकलाई निखिल निर्देशक नै मान्दैनन् । निर्धक्क उनी भन्छन्– प्रोडक्सन म्यानेजर हुन् !

नेपालमा अधिकांश चलचित्र डाइरेक्टरको पाइलटिङभन्दा पनि अरूबाटै बन्ने गरेको उनी हाकाहाकी टिप्पणी गर्छन् ।

कथा लेख्नेले लेखिदिन्छ । खिच्नेले क्यामेराबाट खिचिदिन्छ । एडिटरले जोडिदिन्छ । साउन्ड हाल्नेले हालिदिन्छ । कलरवालाले कलर गरिदिन्छ । डाइरेक्टरको काम त एक्सन र कट भन्ने मात्र रहेको आफ्नो अनुभव सुनाउँछन्, निखिल । यो देखेर उनी छक्क पर्थे । स्क्रिप्ट मागे त्यो व्यक्ति त्यही दिनदेखि दुस्मनमा परिणत हुन्थ्यो । सबै मिलेर सिने क्षेत्रमा एक्लै बनाउँथे ।

“मैले स्क्रिप्ट माग्दा मलाई साथीहरू भन्थे– निखिल, यो ठूलो मान्छे हो, स्क्रिप्ट नमाग है, रिसाउँछन्,” उनी सुनाउँछन्, “हामी इन्डियामा काम गर्दा स्टोरी बोर्ड बनाउँथ्यौँ । यहाँ स्क्रिप्ट पनि दिइँदैन थियो । जसले स्क्रिप्ट माग्यो, उसको रोल काटिदिन्थे ।”

परिवर्तन सम्भव छैन
यस्तो अवस्था देखेपछि निखिल यो निष्कर्षमा पुगे– यहाँ यिनीहरूसँग पंगा लिनु भनेको आफूले आफैँलाई डिस्टर्ब गर्नु मात्रै हो । यहाँ यति सजिलै ठूलो परिवर्तन सम्भव छैन ।

त्यसपछि निखिलले आफैँ चलचित्र  बनाए, ‘सावधान’ । दिनेश डीसीलाई निर्देशक लिए । सिनेमाले फड्को मारोस् भनेर पोस्टप्रोडक्सनको काम साढे ११ लाख रुपैयाँ खर्चिएर अष्ट्रेलियामा गरे । इन्डियामा पनि त्यति बेला भर्खरै मात्र सुरु भएको टेप टु फिल्म (भिडियोमा खिचेर सिनेम्याटिक गर्ने प्रविधि) प्रविधिबाट काम गरे । पर फ्रेमको पैसा लाग्यो । उनले चलचित्र क्षेत्रको विकासका लागि काम गरे । उल्टै उनलाई उनकै सहकर्मीले उडाउन थाले– सेलुलाइडको जमानामा भिडियो यसले कहाँबाट ल्यायो ?

“यति पेलियो मलाई, सिनेमा नै फ्लप बनाएर छोडे । बरु, अहिलेको जेनेरेसनले ‘तपाईंले त्यही बेला यो प्रविधि भित्र्याउनुभएको थियो नि’ भनेर छक्क पर्छन् । मैले जुन प्रविधि त्यो बेला प्रयोग गरेँ, अहिले पनि त्यो नेपाली सिनेमाले प्रयोग गरेको छैन,” निखिल जिकिर गर्छन् ।

निखिल प्रोडुसर भए । आफ्नो सिनेमाको लेखनमा जान्थे । त्यहाँ ठूलठूला कुरा हुन्थे, तर सिनेमाको होइन । अरू नै कुरा । उनी अगाडि थप्छन्, “त्यहाँ सिर्फ चल्थ्यो दारु । राइटर एक्लै भएका बेला लेख्थ्यो । त्यहाँ हुनुपर्ने छलफल केही हुँदैन थियो ।”

adsfmg1686282848.jpg

हरेक चलचित्रको छायांकनपूर्व लोकेसन हन्टिङ भन्दै निर्देशक, निर्माता र केही कलाकार जान्थे । निखिल यसलाई राम्रो लोकेसनको खोजीभन्दा पनि घर छोडेर फ्रेस हुने बहाना मात्रको संज्ञा दिन्छन् ।

“लोकेसन हन्टिङको बहानामा पोखरा पुग्यो, त्यहाँ पनि रक्सी नै खाने हो । लोकेसन हेर्ने त त्यस्तै हो । हेरियो भने पनि त्यही डाँडामा जाने हो, जहाँ जहिल्यै सिनेमाको सुटिङ हुन्थ्यो,” निखिल भन्छन्, “एक दिन मन मिल्ने साथीले मलाई लोकेसन हेर्न लग्यो । हार्न नसकेर गएको त्यही डाँडामा पुर्‍यायो । जहाँ एकातिर हेर्दा माछापुछ«े देखिन्थ्यो, अर्कोतिर हेर्दा फेवाताल, जुन सिन सयौँ सिनेमामा छ । मैले ‘यहाँ जहाँजहाँ क्यामेरा राखेर खिच्ने हो, त्यहाँत्यहाँ किला ठोकेर राखिदिऊँ, ताकि फेरि कहाँ क्यामेरा राख्ने भनेर निर्देशक र क्यामेराम्यान घोत्लिनै नपरोस्, भोलिको पुस्तालाई पनि सहज होस्’ भनेँ ।” 

रस प्रिन्ट
सेलुलाइडमा खिच्दा अहिलेको जस्तो मनिटरमा हेर्न पाइँदैन थियो । सुटिङपछि रस प्रिन्ट आयो । रस प्रिन्ट ! भनेर हेर्न निर्देशकसहितका व्यक्ति तँछाड मछाड गर्थे । अरू रस प्रिन्ट हेर्न दौडिन्थे, निखिल भने दौडिनेलाई नै हेर्थे !

कारण ? 

यसरी यो एंगलबाट खिच्दा कस्तो पिक्चर आउँछ भन्ने सामान्य ज्ञान पनि उनीहरूलाई हुँदैन थियो । जति पनि छायांकन भइरहेको थियो, ज्ञान होइन – आकलनका आधारमा भइरहेको थियो ।

अनि, निर्णय बदलियो 
पहिलो सिनेमाबाटै लोभलाग्दो हाइप बनाए । चलचित्रमा काम गर्न अफर गर्नेको भीड लाग्यो । तर, निखिल ‘चुजी’ भए । निर्णय लिए– थोरै सिनेमा गर्छु, राम्रा मात्रै । मिहिनेत गर्छु, राम्रो काम गर्छु । 

“त्यति बेला हिरो बन्ने चक्करमा भएका फ्याक्चरका कारण अहिले पनि मेरो शरीर दुखिरहन्छ । तर, यहाँ न राम्रो काम हुन्छ न मिहिनेत गरिन्छ । न त मिहिनेतको कदर नै हुन्छ । सिनेमा बुझ्ने मान्छेको यहाँ अभाव छ । म पनि बुझ्दिनँ होला,” निखिल भन्छन्, “तर, यति बुझ्ने मान्छे पनि छैनन् । त्यसैले म अब यहीँ काम गर्नुपर्छ भने चुजी भएर होइन, जस्तो सिनेमा आउँछ, त्यस्तै खेल्नुपर्छ भनेर रोजीरोटीका लागि सिनेमा खेल्न थालेँ ।”

क्रिएटिभ टिम बनाउन खोजे, सकेनन् । ‘जसोजसो बाहुनबाजे उसैउसै स्वाहा !’ क्वालिटी होइन, क्वान्टिटीमा ध्यान दिन थाले । “कि मैले यहाँ जस्तो पनि सिनेमा गर्नुपर्‍यो, होइन भने अरू कलाकारजस्तै अमेरिका पलायन हुनुपर्थ्यो । यहाँ हिरो भएको मान्छे बलिउडमा एडी गर्ने कुरा भएन,” निखिल सुनाउँछन् । विदेश पलायन नहुने बरु पहिलो विकल्प नै रोज्ने निर्णय गरे ।

qwmdkgm1686282902.jpg

बलिउडको कपी
निर्देशकहरू सिनेमा त बनाउने भन्थे, तर कस्तो सिनेमा ? उनीहरूसँग कुनै आइडिया नै नहुने निखिल सुनाउँछन् । आइडिया हुन्थ्यो त केवल बलिउडका सिनेमा कपी किन गर्थे ? त्यहाँको पनि तल्लो ग्रेडको ।

राइटरले सिनेमा लेखेर ल्याउँथे । निर्देशक त्यसको सिक्वेन्स लुकाएर राख्थे । तर, त्यस्तै चलचित्र कलाकारले बलिउडका सिनेमामा हेरिसकेका हुन्थे । दर्शकलाई त हलमा गएर नेपाली सिनेमा हेर्नुको अप्सन थिएन, जहाँबाट जे चोरे पनि के थाहा ! अहिलेजस्तो हातहातमा एन्ड्रोइड मोबाइल थिएन । इन्टरनेट थिएन । जसले जस्तो सिनेमा बनाएर देखायो, त्यही हेर्नुको विकल्प थिएन ।

नेपाली सुटिङ सेटमा हिन्दी भाषा
सुटिङ स्पटको अर्को लज्जास्पद अनुभव छ, निखिलसँग । भारतमा बसे/पढेका र उतै काम गरेका निखिल नेपालीमा बोल्थे, तर नेपाली सिनेकर्मी हिन्दीमा । उनलाई अचम्म लाग्थ्यो । उनले सोधे– नेपाली सिनेमा निर्माण हुँदै छ, हिन्दी भाषा किन बोलेको हामीले ? इन्टरनेसनल भाषा बोल्ने हो भने अंग्रेजी बोलिनुपर्ने, हिन्दी किन ?

उनले एक दिन सिधै भनिदिए– हिन्दी पिक्चर हेरेर त्यसबाटै थुतथात गरेर आफ्नो सिनेमाको कथा पनि बनाएकाले हिन्दी बोल्नुभएको हो ? 

आफ्नै फाइट कपी
अर्को रमाइलो सम्झना – एक दिन एक निर्देशकले भिडियो देखाएर भने, निखिल, यो फाइट गर्नुपर्छ ।

“यो फाइट त बलिउडमा हामीले गराएको हो । हामीले उहाँ उहिल्यै गरेको फाइट यहाँ किन गर्ने ? नयाँ गरौँ न,” निखिल सुनाउँछन्, “मलाई उल्टै सम्झाउँदै भने– निखिल, यहाँ बलिउड चल्छ ।”

उनले सोधे, ‘हलिउड नै चल्छ भनेर थाहा पाउन तपाईंले हलिउड, कोरियन, चाइनिज सबै गरेको हुनुपर्‍यो नि ! गर्नुभएको छ ? कुनै प्रयोग नै नगरी तपाईं बलिउड नै चल्छ भनेर के आधारमा भनिरहनुभएको छ ?’

फाइटका लागि हार्नेस (सेफ्टी ज्याकेट) बनाउनुपर्थ्यो । कसरी बनाउने यहाँ कसैलाई थाहै थिएन । आफैँले डिजाइन गरे । आफैँ ब्याग सिलाउने ठाउँमा गएर सिलाउन लगाए । यो प्रसंग थियो, चलचित्र ‘हामी तीन भाइ’को ।

odasmg1686282950.jpg

बलिउड कपीको पराकाष्ठा
सिनेमा व्यापार नै हो, कलाको । तर, नेपालमा सिनेमालाई कलाको व्यापार होइन, सिर्फ खर्चपानी चलाउने माध्यम बनाइरहेकाहरूले सीमापारिका चलचित्र कपी गर्ने गरेको उनले बुझे । जति बोले पनि केही नहुने । जति परिवर्तनका कुरा गरे पनि कसैले नसुन्ने । नेपाली सिनेमामा परिवर्तनको खोजी गर्ने निखिलको उत्साह पनि मर्दै गयो । सुटिङमा गयो, निर्देशकले भनेअनुसार काम गर्‍यो, फर्कियो । यही नै दैनिकी बन्न थाल्यो ।

दिनको तीनवटासम्म सिनेमाको सुटिङ गर्थे, निखिल । बलिउडमा आफैँले कम्पोज गरेको फाइट यहाँ उनलै लाचार भएर कपी गरे ।

‘निखिल दाइ’ र ‘भाग्य विधाता’को एकैदिन सुटिङ थियो । ‘निखिल दाइ’मा उनी दाइको रोलमा थिए । रेखा थापा बहिनीको भूमिकामा । ‘भाग्य विधाता’मा निखिल दाइको रोलमा हुँदा सञ्चिता लुइँटेल बहिनीको रोलमा थिइन् ।

बालाजु ल्याबमा सुटिङ थियो । रेखासँगको सिन थियो । डाइलग बोले । त्यो दिनको उनको सुटिङ सकियो । त्यसपछि पालो त्यही दिन ‘भाग्य विधाता’को छायांकन गर्ने ।

अचम्म ! ‘निखिल दाइ’ र ‘भाग्य विधाता’को एउटै सिक्वेन्स थियो । “त्यहाँ जे डाइलग बहिनीलाई बोलेको थिएँ, यहाँ पनि त्यही नै छ । अरू पिक्चरमा पनि त्यस्तो नहुने होइन, तर एकैदिन एउटै डाइलग एउटै सिनमा परेको पहिलोपटक थियो,” उनले त्यहाँ भने, ‘यही सिन मैले अघि भर्खरै निखिल दाइमा गरेर आ’को, सेम डाइलग कसरी यो सम्भव भयो ?’ निर्देशक थिए कृष्ण चापागाईं र दयाराम दाहाल । छेउमा रहेका एकजनाले प्याच्च भने– मास्टर कपी एउटै पर्‍यो होला नि त !

लज्जास्पद त के भने, मेरो सिनेमा चोरी भयो भनेर चलचित्र विकास बोर्डमा मुद्दा पर्थ्यो । सीमापारिबाट आफू चोरी गर्थे, अनि यहाँ अरूले चोरी गरेको भन्दै मुद्दा हाल्थे । बेसरमको हद पार गर्नेको कथा सुनाउँछन्, निखिल ।

आफ्नै लगानी
देख्दा वाउ ! भित्री पीडा हैट ! अर्कै । निखिलले वर्षको १६ वटासम्म सिनेमा गरे । हिरो भएपछि सिन–सिनमा लुगा परिवर्तन गर्नैपर्‍यो, तर प्रोडक्सनले लुगा दिँदैन थियो । आफैँ किन्नुपर्थ्यो ।

घरको कोठा नै लुगाले भरिन थाल्यो । कति किन्ने कहिलेसम्म किनेर सकिन्छ ? उनी आजित भए । त्यसपछि लुगा ‘रिपिट’ गर्न थाले । “त्यसैले मेरा पुराना फिल्ममा एउटै ज्याकेट, एउटै पाइन्ट, एउटै सर्ट थुप्रै चलचित्रमा देखिन्छन् । त्यो रहर होइन, विवशता थियो । कति सिनेमामा हेयरस्टाइल मात्रै फरक छ,” उनले सुनाए ।

qfmdg1686282993.jpg

आफैँ परिवर्तन
निखिललाई नेपाली सिनेमामा केही परिवर्तन गर्नु थियो । त्यसको थालनी आफैँले गर्नु थियो । त्यसैले साउथका आर्टिस्ट लिएर उनले ‘कमिटमेन्ट’ नामको सिनेमा बनाउन सुरु गरे । यो सिनेमामार्फत चलचित्र कस्तो हुन्छ भनेर देखाउने उनलाई रहर थियो ।

एक करोड २० लाख रुपैयाँ खर्च भइसकेको थियो । तर, यहाँ काम गर्ने तौरतरिकामा परिवर्तन भएन । राम्रो टिम फर्म हुनै सकेन । त्यसैले उनले बीचैमा काम रोकिदिए । उदाहरणीय चलचित्र गर्भमै तुहियो । अहिले पनि थकथक छ उनलाई ।

मेनुमा चाउचाउ मात्र
मिनेरल वाटर मगाउँदा ‘नयाँ हिरो आएर सान दिएर मिनेरल वाटर मगाउँछ’ भनेर आलोचना गरेको निखिललाई हिजैजस्तो लाग्छ । चाउचाउ साँधेर कागजमा दिन्थे, चुपचाप खानुपर्ने समय थियो ।

“अचम्मको कुरा त के भने ‘सर, खाजा के खाने ?’ भनेर स्पट ब्याइले सोध्यो । तर, प्रोडक्सनसँग चाउचाउबाहेक केही हुँदैन थियो,” निखिल आफूले पछि–पछि व्यंग्य गर्ने गरेको सम्झिन्छन्, “भाइ, के खाने भनेर त सोध्यौ, तर के–के छ मेनुमा भन त ! भनेर सोध्दा उनीहरूसँग केही मेनु हुँदैन थियो । त्यही चाउचाउ साँधेर खाने, झोल हाालेर खाने, फ्राई गरेर खाने अथवा अन्डा हालेर खाने भन्ने मात्रै हुन्थ्यो ।”

प्रोडुसरलाई निखिल भन्थे, ‘नौलो ठाउँको पानीले कलाकार तथा क्रु मेम्बर बिरामी भयो भने लोकेसन चेन्ज गर्नुपर्ला, सेड्युल लम्बिएला, हस्पिटल भर्ना गर्नुपर्‍यो भने लाखौँ खर्च बढ्छ । पानी त हजारमै किन्न पाइन्छ ।’

हिजोआज प्रायः हरेक सुटिङमा मिनेरल वाटर अनिवार्यजस्तै भएको छ ।

त्यति बेला काठमाडौंबाहिर जाँदा पनि हाइवेमा रोकेर चाउचाउ नै बनाउँथे । चाउचाउको भरमा फाइटका हेभी सुटिङ गरेका कैयौँ दिन निखिलको दिमागमा घुरमैलो पनि भएको छैन ।

नेपाली सिनेमाको छायांकनमा अक्सर लन्च ब्रेक हुँदैन थियो । सुटिङ चलिरहँदा पालैपालो खाना खाने चलन थियो । एक्सन हिरोलाई वार्मअपको समय पनि हुँदैन थियो । त्यसको असर अहिले पनि आफूले शरीरमा लिएर हिँडिरहेको उनी सुनाउँछन् । 

कथा र हिरो हल र वितरकले छान्थे 
अहिले पनि सबै प्राविधिकले समयमै पैसा नपाउने गरेको निखिल निर्धक्क सुनाउँछन् । सिनेमाको छायांकनपूर्व नै यो यो प्राविधिकको पैसा रोकिदिने भनेर सल्लाह हुने गरेको आफूले देखेको निखिल बताउँछन् ।

नेपाली सिनेमा प्रोडक्सनको अनुशासन सुनाउँछन् निखिल, “एकपटक छायांकन गर्न दिएको व्यक्तिले आफ्नो घर वा पसल फेरि कहिल्यै दोहोर्‍याएर दिँदैन । कारण, हाम्रो अनुशासन नै हो । यसले नेपाली सिनेकर्मीको इज्जत कति छ, सबैलाई थाहा छ । यसकै प्रतिफल त हो सिनेमा घर र वितरकले ग्रस कलेसक्नको रिपोर्ट निर्मातालाई चुरोटको डिब्बाको खोलमा टिपेर दिन्छ ।”

यतिसम्मकी चलचित्रको कथा के हुने र कलाकार को राख्ने भन्ने बारेमा वितरक र सिनेमा हलले निर्मातालाई दबाब दिन थाले । त्यसो नभई सिनेमा रिलिज नै गर्दैन थिए ।

“वास्तविक राइटर त सिनेमा घर र वितरक थिए । पूर्वमा यो चल्छ भनेर पूर्वको चिज हाल्दिने । पश्चिममा यो चल्छ भनेर पश्चिमको चिज हाल्दिने । अन्तिममा सिनेमा उँटजस्तो हुन्थ्यो । अनि, कसरी सिनेमा राम्रो बन्थ्यो ?,” निखिल प्रश्न गर्छन्, “यतिसम्म कि सिनेमा घरमा टर्च बालेर मान्छे भित्र छिराउने मान्छे आयो भने उसले भन्थ्यो– तिमीहरूलाई के थाहा सिनेमामा कहाँ के भयो भने सिट्ठी र ताली बज्छ भनेर । सिट्ठी र तालीको पञ्च बनाएर स्टोरीमा हस्तक्षेप गर्न आइपुग्थ्यो ।”

qfmdgm1686283038.jpg

ज्ञानको तह र लापरबाहीको सीमा
चलचित्रको नाम उनले बिर्सिए । रमाइलो पक्ष भने भुलेका छैनन् । पुलचोक इन्जिनियरिङ कलेजमा छायांकन थियो । स्टन्टको सिन थियो । निर्माण पक्षले सोध्यो, ‘यो सिनेमामा केही फरक स्टन्ट गरौँ, तर के गर्ने ?

निखिलले भने, ‘बाइकको स्टन्ट गरौैँ ।’

त्यो बेलाको फर्मुला नै थियोे – भिलेनले हिरोइनलाई जिस्काउँछ, त्यही बेला हिरोको इन्ट्री हुन्छ । त्यस्तै सिक्वेन्स तयार पार्ने कुरा भयो । निखिलले सोचे– बाइक उडाएर होर्डिङ बोर्ड फोडेर अर्कोतिर निस्कौँ, जहाँ हिरोइन हुन्छे ।

तर, रिस्क थियो । कारण, अर्कोतिर नदेखेपछि दिमागले के कसरी गर्ने भन्ने निर्णय गर्न सक्दैन । जब होर्डिङ बोर्ड फोडेर अर्कोपट्टि देखिन्छ, त्यसपछि मात्र कसरी उडिरहेको बाइक सेफ ल्यान्ड गर्ने दिमागले काम गर्छ । सार्प र क्विक माइन्ड चाहिन्थ्यो, नत्र दुर्घटना निश्चित थियो ।

कागजको होर्डिङ बोर्ड बनाउने कुरा भयो । निखिल आफैँले र्‍याम्प बनाउन लगाए । समय आयो स्टन्ट दिने । तर, जब उनले होर्डिङ बोर्ड देखे, जिल परे । निर्देशकलाई सोधे, ‘डाइरेक्टर साब, यो होर्डिङ बोर्डमा के लेखेको ? यो त कलेज हो । कलेजभित्र यस्तो बोर्ड लाग्छ ? कलेजभित्र कस्तो बोर्ड लाग्छ होला भन्ने हामीलाई यति पनि थाहा भएन ?’ होर्डिङ बोर्डमा लेखिएको थियो– दुई मात्र सन्तान ईश्वरका वरदान ।

सन्तानका कुरा इन्जिनियरिङ कलेजमा ?

उल्टै निखिललाई भनियो, ‘तपाईंलाई थाहै छैन, कस्तो फिल्म चल्छ, कस्तो फिल्म दर्शकले हेर्न चाहन्छन् ।’

सिनेमेटोग्राफरलाई उनले भने, ‘दाइ, सबै क्यामेरा ठिक छ, स्टन्ट दिऊँ ? उनले झोक्किँदै निखिललाई भने, ‘मलाई सिकाउने ? आफ्नो काम गर न खुरुखुरु ।’

निखिलले जोखिम उठाए । स्टन्ट दिए । रसप्रिन्ट हेर्दा थाहा भयो, बाइक उडेर गएको देखाउन राखिएका मध्ये साइड र फ्रन्टको क्यामेरा अन भए पनि हाइट र डिस्टेन्स देखाउने तलको क्यामेरा नै अन भएको रहेनछ । त्यसपछि क्यामेरामेनलाई निखिलले भने, ‘मैले किन भनेको थाहा पाउनु भयो दाइ ? तपाईंहरूको किन आलोचना हुन्छ र काम पाउनु हुन्न थाहा छ ? यस्तै कारणले हो ।’ 

wfkdmg1686283113.jpg

त्यो ह्यारेसमेन्ट
‘मायाको जाल’ निर्माण हुने भयो । निखिल हिरो । जहाँ निखिल त्यहाँ केही न केही नयाँ त हुनैपर्‍यो । मुग्लिनको पुलको लट्ठामा हातले नसमाई हिँड्ने कुरा भयो । मुस्किलले पैताला मात्र अट्थ्यो । सेफ्टी राख्ने ठाउँ नै थिएन । राखिएन ।

त्यो सिक्वेन्स गर्दा जब लट्ठामा चढेर निखिल उभिए, गाडी रोकिएको थियो, कारण – पुल नहल्लियोस् । ज्यान जोखिममा राखेर उनी पुलको लट्ठामा हिँडिरहेका थिए । तर, नौपटक रिटेक गर्नुपर्‍यो । “राम्रोका लागि होइन, त्यो ह्यारेसमेन्ट थियो । त्यति रिस्क सिनमा नौपटक रिटेक ? म त जिल्ल परेँ,” निखिल सुनाउँछन् ।

‘मायाको जाल’मा निखिलले निर्णय गरे– स्केटिङको खेल देखाउँछु ।

भैँसेपाटीको टाउन प्लानिङ लोकेसन थियो । रोड त पिच नै थियो, तर पूरै खस्रो । घर्रर्र गर्ने । तर पनि गर्ने नै भए । व्यस्त सडक देखाउन सातवटा ट्याक्सी ल्याइएको थियो । निखिलले सुरु गरे स्टन्ट ।

“स्टन्ट गर्दागर्दै ब्यालेन्स बिग्रियो, म दुर्घटनामा परेँ । चिप्लिएर ट्याक्सीमुनि जाकिन लाग्दा ट्याक्सी ड्राइभरले मेरो कठालोमा समाएर आफ्नो ट्याक्सीमुनि जान रोक्यो । मलाई उसले बचाएको हो भन्छु म,” उनी भन्छन्, “हात र खुट्टाको छाला पूरै गयो । रगतको भल बग्यो । प्रोडुसर आएर अरूलाई सोधेको सुनेँ, भएन ? फेरि गर्नुपर्ने भयो ? अर्कोपटक फेरि सातवटा ट्याक्सी ल्याउनुपर्ने भयो । हिरोलाई चोट लागेकोमा उनीहरूलाई मतलब थिएन । सातवटा ट्याक्सी एक घण्टा हायर गर्दा खर्च बढ्छ भन्ने चिन्ता मात्रै थियो ।”

गरिबी र दुःखमा काम गरेको उनी सम्झन्छन् । भारतमा हिरोलाई हिरोजस्तो देखाउन डाइरेक्टर, प्रोडुसरदेखि टिम नै प्रोटेक्टिभ हुन्छ । तर, नेपालमा प्रोडुसर र डाइरेक्टर आफ्नै हिरोको आलोचना गर्दै हिँड्छन् । यो संस्कारले सिनेमाको करोडौँ लगानी डुब्ने गरेको निखिलको अनुभव छ ।   

प्लास्टर गरेको खुट्टाको सहारामा फाइटको सिन 
‘भाग्य विधाता’को छायांकन रानीबारीमा थियो । १० फिटमाथिबाट जम्प गर्नुपर्ने थियो । ठूलठूला स्टन्ट गर्ने निखिललाई १० फिटमाथिबाट पनि जम्प गर्न डर लागिरहेको थियो । उनले फाइट डाइरेक्टरलाई भने, ‘म टेढो देखिरा’छु, के भइरहेको छ ?’

राजेन्द्र खड्गी फाइट डाइरेक्टर थिए । उनले सधैँ निखिलसँग गुनासो गर्थे, ‘निखिलले मलाई को–अपरेट गर्दैन ।’

निखिललाई लाग्यो– यत्तिकै त मलाई यो आरोप छ, १० फिटबाट पनि जम्प गरेन भने त यसले मलाई सहयोग गरेन भन्ने आरोप यसै लाग्छ ।

तर, खड्गीले भने, ‘तिमीलाई समस्या भयो भने म सेफ्टी राखिदिन्छु, तनाव लिनु पर्दैन । मलाई बीचको सिन मात्रै चाहिएको हो ।’

उनले डराइडराइ जम्प गरे । सेफ्टी दिए पनि उनको खुट्टा प्याट्टै भाँचियो । टिचिङ हस्पिटल गए । भाँचिएको खुट्टा प्लास्टर गरियो । 

कति निर्दयी छ यो चलचित्र उद्योग ? खुट्टा भाँचिएको एक हप्ता नपुग्दै उनको घरमा आएर सिनेमाको युनिट छायांकनमा जान प्रेसर दिन थाल्यो ।

‘दुनियाँ’ सिनेमामा फाइटको सिक्वेन्स थियो । लट्ठी घुमाउने सिन थियो । 

घरमा आएर भने– फाइटको सुटिङ छ गर्नुपर्‍यो ।  

– खुट्टा प्लास्टर गरेको छ, कसरी गर्नु ? 

– साह्रै अफ्ठ्यारो भयो, जसरी पनि गर्दिनुपर्‍यो । 

उनले सोचे– यस्ता मान्छेसँग ‘डिस्कस’ गर्नुभन्दा जस्तो सकिन्छ, काम गर्नु नै राम्रो । भने– ठिक छ, सेड्युल राख्नुस् ।

प्लास्टर गरेको खुट्टाको सहारामा डन्डा घुमाए । जब यो सिक्वेन्स सकियो, अर्को सिन पनि गर्नैपर्ने भयो । प्लास्टर गरिएको खुट्टाका कारण त्यो त्यति सहज थिए ।

घाइते भएका भुवन केसीलाई बोकेर हस्पिटल पुर्‍याउनुपर्ने थियो । निर्माण पक्षले दबाब दियो । जसोतसो गरे । त्यसैले त निखिल भन्छन्, “यो इन्डष्ट्रीलाई क्वालिटीको काम चाहिँदैन । घिसिपिटी काम भए पुग्छ । इमानदार भएर काम गर्छु भन्ने वातावरण नै छैन ।”

qefmg1686283175.jpg

बाइक उडाउँदा...
चोभारमा सुटिङ थियो । मोटरसाइकमार्फत उडेर गाडी नाघ्नुपर्ने थियो । मोटरबाइकको स्टन्टमा इन्जोय गर्ने निखिलले ‘हुन्छ’ भने । बाइक त आइपुग्यो, तर यति पुरोनो कि बल्लतल्ल स्टार्ट भयो ।

‘यो बन्द त हुँदैन ? र्‍याम्पमा चढिसकेपछि दुर्घटना भयो भने त ठूलो दुर्घटना हुन्छ है,’ निखिलले भने । 

‘हुँदैन ।’

मेकानिक पनि ल्याए । उनले पनि बाइकको कन्डिसन ‘ठिक छ’ भने । बाइक राम्रो ल्याउन सक्ने प्रोडुसरको क्षमता थिएन । खर्चमा ‘कन्भर्ट’ गर्थे । निखिलकै शब्दमा, ‘दुर्घटना भयो भने त्यसले गराउने खर्चमा उनीहरूको ध्यान हुँदैन थियो । आँखाअगाडि जे छ, त्यसमा पैसामा हिसाब गर्थे ।’

निखिलले बाइक उडाए । एयरमै बन्द भयो । एयरमा बन्द भए पनि निखिलले सेफ ल्यान्डिङ गरे । हुत्तिसकेकाले धन्न दुर्घटना भएन ।

“र्‍याम्पमा स्टार्ट बन्द भएको भए दुर्घटना हुन्थ्यो । एयरमा भएकाले भाग्यवश दुर्घटना भएन,” निखिल ‘भगवान् भरोसा’मा स्टन्ट गरेका विगत सुनाउँछन् । रंगीन दुनियाँका भित्री श्यामश्वेत कथा सुनाउँछन्, उनी ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement