site stats
बाह्रखरी :: Baahrakhari
विशेष
‘दासढुंगा’का अम्मर लामा

चलचित्र ‘दासढुंगा’ निर्माण गर्ने अन्तिम तयारीमा थिए, निर्देशक मनोज पण्डित । कलाकारको खोजी थियो । अम्मर लामाजस्तै देखिने क्यारेक्टर आर्टिस्ट चाहिएको थियो । पोखरा पुगे । भनेजस्तो कोही आँखा परेन । चितवन झरे । आँखालाग्दो कोही भेटिन्छ कि खोज्दै थिए । 

त्यही बेला अनुप बरालले क्यारेक्टरको खोजी गर्दै मनोज चितवन पुगेको थाहा पाएछन् । मनोजलाई फोन गरेर भने– एक्टर स्टुडियोको विद्यार्थी हो, राई भएकाले अनुहार पनि करिब–करिब मिल्छ । एकपटक हेरेर कुरा गर, हुनसक्छ ।

दयाहाङ (राई)लाई पनि अनुपले फोन गरेर भनेका थिए– मनोजले तिमीलाई चलचित्रका लागि फोन गर्छन्, कुरा गर्नू ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं आएपछि मनोजले दयाहाङलाई बोलाए । एक्टिङ त कस्तो गर्थे थाहा थिएन । तर, उनलाई हेर्दै चित्त परेन । भने, ‘म तिमीलाई भोलि फोन गर्छु ।’

“भोलि फोन गर्छु भने पनि मलाई उहाँले फोन गर्नु भएन । फोन आउला भनेर भोलि कुरेँ, पर्सि कुरेँ । चार दिन बित्यो, तर फोन आएन,” दयाहाङले पुराना दिन सम्झिए, “फोन नआएपछि म आफैँले फोन गरेँ । उहाँले फोन उठाउँदै उठाउनु भएन ।”

तर, मनोजले कही दिनपछि आफैँ बोलाए ।

‘तिमी अहिले जुन रूपमा छौ, एकरत्ति पनि अम्मर लामासँग मिल्दैन,’ दयाहाङको ठूलो पेट देखेका मनोजले भने । 

“वास्तवमा हो, म अम्मर लामाजस्तो थिइनँ । मोटो थिएँ । धेरैले चिनेको र देखेको व्यक्ति भएकाले फिल्मको क्यारेक्टर अम्मर लामाजस्तै देखिनुपर्ने थियो,” दयाहाङ नोस्टाल्जिक हुन्छन् ।

‘तर, अनुप सरले भन्नुभएकाले तिमीलाई एकपटक अब्जर्ब गरेर हेर्छु । दुई हप्तामा ८÷१० किलो वेट घटाउन सक्छौ ?,’ मनोजले प्रश्न गरे ।

दयाहाङले भने, ‘प्रयास गर्छु, सक्छु होला ।’

दयाहाङलाई जसरी पनि फिल्म खेल्नु थियो । आएको अवसर कसरी गुमाउन सक्थे । त्यो पनि देश हल्लाएको विषयमा बन्दै गरेको सिनेमा । त्यसको पनि मुख्यमध्येका एक पात्र ।

“त्यसपछि म दैनिक हिँडेर बुद्धनगरबाट महाराजगन्ज जान थालेँ । हिँडेरै फर्किन थालेँ । त्यस्तो ठूलो एक्सरसाइज त मैले गरिनँ, तर मोटाउने खानेकुरा खाइनँ । खाना पूरै कन्ट्रोल गरेँ,” उनी सम्झिन्छन्, “हिँडेर आउने जाने त भइगयो, दिनभर नाटकको रिहर्सन गर्थेँ । जसरी पनि मैले यो छोड्नु हुन्न भन्ने थियो । अनेक थोक गरेर भए पनि म घटेँ ।”

१० दिनपछि फोन आयो, ‘सर, म दयाहाङ । सरलाई भेट्न आऊँ ?’

‘हुन्छ आऊ ।’

“बबरमहलको एउटा चिया अड्डामा म चिया खाएर बसिरहेको थिएँ । पर एउटा मान्छे पसलतिरै आइरहेको देखेँ । त्यो मान्छे हेर्दा मलाई यो मान्छे त अम्मर लामाजस्तै छ, को रहेछ भन्ने भयो । बोलाएर कुरा गरौँगरौँजस्तो लाग्यो,” मनोज नोस्टाल्जिक हुन्छन्, “नभन्दै त्यो मान्छे मेरै छेउमा आउँदा दयाहाङ राई पो रहेछन् । पूरा स्लिम भएर आएको । उसले छेउमा आएर नमस्ते गर्ने बेलासम्म मैले ओके गरिसकेको थिएँ ।”

“मैले ओके ! भनेपछि उनले आफूले कसरी त्यति छोटो समयमा ज्यान घटाएँ भनेर सुनाए । त्यो सुनाउँदा उसका आँखामा कति धेरै पीडा र संघर्ष थियो, त्योभन्दा धेरै फिल्ममा काम गर्ने विलपावर भएको म अहिले पनि झल्झली सम्झिरहेको छु,” मनोज दयाहाङमा सिनेमाप्रति रहेको लगाव सुनाउँछन्, “छायांकनमा उसलाई केही समस्यै भएन । जब उनले वेट लुज गर्न थालेका थिए, त्यही बेला साइकोलोजिकल रूपमा अम्मर लामा बनिसकेको मैले पाएको थिएँ ।”

दयाहाङ अतीततिर फर्किन्छन्, “एक हप्तामा जाँदा म अर्कै भइसकेको थिएँ । हुनु पनि थियो । किनभने, यो फिल्म मेरै लागि बनेको हो भन्ने मलाई लागिरहेको थियो । यो फिल्म उम्काएँ भने म अगाडि नबढ्दै छोडिन्छु भन्ने लाग्यो । यो उम्काउनु हुन्न भन्ने लागेपछि मैले हप्तामा करिब आठ केजी वेट लुज गरेँ ।”

जब मनोजले ‘ओके’ भने, दयाहाङको शरीरमा खुसीको सञ्चार भयो । जति बेला उनी खुसी महसुस गरिरहेका थिए, ठिक त्यही बेला उनको अगाडि चुनौतीको पहाड ठिंग उभिइरहेको थियो ।

“सामान्य मान्छे होइन । सबैले नोटिस गरेको मान्छेलाई मैले न्याय गर्न सकिँन भने पहिलो पाइलाबाटै ब्रेक लाग्छ भन्ने दिमागमा खेलिरहन्थ्यो,” उनी त्यो समयको मनोवैज्ञानिक त्रास सुनाउँछन् । यो नै नेपाली सिनेमाका लागि आफ्नो ढोका खोल्ने अवसर हो भनेर दिलोज्यान दिएर लागेका उनमा डरले घर गरे पनि मिहिनेतले आत्मविश्वास समेत बढाएको थियो ।

त्यो समय सौगात मल्लले ‘कागबेनी’ खेलेर आफ्नो हाइट बनाइसकेका थिए । दयाहाङले पनि ‘अनागरिक’ नामको चलचित्र त गरिसकेका थिए, तर त्यो हल रिलिज भएन । कम्युनिटी बेसमा मात्रै सीमित भएकाले दया आफूलाई चिनाउने सिनेमाको खोजीमा थिए । क्यामेराका अगाडि ‘अनागरिक’ले आत्मविश्वासी बनाएको थियो । अब करिअर उचाल्ने चलचित्र चाहिएको थियो ।

सामान्य नागरिकदेखि देशदेशावरका राजनीतिज्ञसम्मले नोटिस गर्ने चलचित्र पाउनु त उनका लागि अवसर छँदै थियो । अर्को खुुसी पनि जोडिएको थियो यही सिनेमासँग उनको । उनका गुरू अनुप बराल पनि सँगै यही चलचित्रमा अभिनय गर्दै थिए । “उहाँ भएपछि म ढुक्क थिएँ । बिग्रिए पनि सुधार्ने मौका पाउँछु भन्ने थियो । किनकि, यो भएन भनिदिने अनुप सर हुनुहुन्थ्यो,” दयाहाङ ढाडस पाउने अपेक्षामा रोमाञ्चित भएको क्षण साट्छन् ।

नभन्दै सेटमा दयाहाङका लागि अनुप उभिदिए । ‘हुँदै छ, हुँदै छ, काम राम्रो हुँदै छ, आत्तिनु पर्दैन’ भन्थे । यति ढाडसले मात्रै पनि दयाहाङको मन बलियो हुन्थ्यो । आत्मबलको पारो उचालिन्थ्यो । काम गर्न सहज हुन्थ्यो ।

सिनेमाको छायांकन सकियो । कतै च्यारिटी शो देखाइयो । कतै सम्बन्धित व्यक्तिलाई देखाइयो । हेरेकाहरू दयाहाङलाई भन्थे, ‘क्यारेक्टरको काम गज्जबको भएको रहेछ ।’

हेरेकाहरूले गरेको प्रशंसाबाट मात्रै उनी सन्तुष्ट थिएनन् । सिनेमा हलमा चले हुन्थ्यो भन्ने लागेको थियो । आम दर्शकले सिनेमा हेरे उनीहरूको मनमा बस्न पाइन्थ्यो भन्ने लोभ थियो । निर्देशक र निर्माताको ध्यान आफूमा खिचिदिन्छ भन्ने महत्त्वाकांक्षा थियो ।

‘दासढुंगा’ हत्याकाण्ड आफैँमा घुम्टो नउघ्रेको विषय थियो । राजनीतिका ‘खेलाडी’हरू सत्यता खोज्न हच्किएका थिए । एमाले नेताहरू नै ‘तैँ चुप मै चुप’ थिए ।

कुनै सरकारले पनि खोल्न नसेको हत्याकाण्डको रहस्यबारे सिनेमाले बोल्ने ? प्रश्न धेरैमा थियो । सिनेमा हलमा चल्ला ? धेरैमा संशय थियो । जनताको ठूलो कुर्बानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको रापताप आलै भएकाले हलमा रिलिज होला कि भन्ने अपेक्षा पनि थियो ।

तर, विस्तारै आन्दोलनको रापताप चिसिँदै गइसकेको थियो । सिनेमा नियन्त्रण गर्ने निर्णायक संस्था सेन्सर बोर्ड कैँचीमा धार उद्ध्याएर बसेको थियो । सेन्सर बोर्ड आफ्नो पुरानै चरित्रमा फर्किसकेको थियो । निर्देशक मनोजलाई सेन्सर बोर्डले भन्यो, ‘नेताहरूको मन दुखाउनु त भएन नि !’

निर्देशकलाई यसले जति तनाव दिन्थ्यो त्यति नै दयाहाङलाई पनि । कारण, ‘दासढुंगा’ आफ्नो करिअरकै ‘माइलस्टोन’ सिनेमा बन्ने उनको मनभरिको विश्वास थियो ।

अन्ततः चलचित्र रिलिज भयो । “चलचित्र रिलिज भएपछि हेर्नेहरूको प्रशंसा बेग्लै थियो,” दयाहाङ रोमाञ्चित हुँदै कहिल्यै नबर्सिने पहिलो सफलताको कथा सुनाउँछन् ।

“प्यासनले नै हो दयाहाङले आफ्नो करिअर उचालेको । त्यही बेला मलाई यो मान्छे खतरा हो भन्ने लागेको थियो,” दयाहाङको फिल्मी करिअरका साक्षी मनोजले अभिनयप्रति उनमा देखेको भोक सम्झिए, “दयाहाङमा अभिनय गर्न नपाउँदा देखेको छटपटी मेरो मानसपटलबाट अझै मेटिएको छैन ।”

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्