site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अस्ट्रेलियामा नेपाली समुदायमा गैरकानुनी गतिविधि बढेको भन्दै चिन्ता
फाइल तस्बिर ।

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायमा गैरकानुनी गतिविधि र घरेलु हिंसाका घटना बढेकामा चिन्ता व्यक्त गरिएको छ । सिड्नीमा आयोजित एक कार्यक्रममा विभिन्न व्यक्तिहरूले चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा न्यु साउथ वेल्स पुलिस फोर्सका डिटेक्टिभ सर्जन्ट सुदीप स्वारले अस्ट्रेलियामा हुने विभिन्न आपराधिक क्रियाकलापमा नेपाली मूलका व्यक्तिको संलग्नतासम्बन्धी तथ्य प्रस्तुत गरे । स्वारका अनुसार, न्यु साउथ वेल्स राज्यमा मात्र प्रत्येक महिना लगभग १०/१२ नेपाली मूलका युवा गम्भीर आपराधिक अभियोगमा जेल चलान हुने गरेका छन् । ती अपराधमा बलात्कार, यौनजन्य हिंसा, घरेलु हिंसा, लागुऔषध दुर्व्यसनजस्ता समावेश छन् ।

Argakhachi Cement Island Ad

प्रहरी अधिकृत स्वारले यस्ता घटना समयमै नियन्त्रण गर्न नसके भविष्यमा समुदायले गम्भीर असर व्यहोर्नुपर्ने हुन सक्ने भन्दै सतर्कता अपनाउन ध्यानाकर्षण गराए । कुनै गैरकानुनी गतिविधि देखिए वा थाहा भए तुरुन्त स्थानीय प्रहरीलाई जानकारी दिन उनले आग्रह गरे ।

“प्रहरीमा उजुरी नदिने कारण कैयन् घटनाक्रम बाहिर आउन सकेको छैन,” उनले भने, “मनि लाउन्डरिङ र मानव तस्करीजस्ता गम्भीर अपराधका बारेमा पनि प्रश्न आएको छ । देख्ने र सुन्नेहरूले देखिएर वा नदेखिएर उजुरी दिन सक्नुपर्छ, प्रहरी सक्रिय भइहाल्छ ।” 

वाणिज्यदूत सञ्जीव शर्माले आपराधिक गतिविधिमा संलग्नता बढ्दै जाँदा नेपाली समुदायकै छविमा आँच आउने भन्दै चिन्ता व्यक्त गरे । समुदायलाई अझ बलियो र समुन्नत बनाउन सबै नेपाली एकजुट हुन आवश्यक रहेकामा उनले जोड दिए ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले यस्ता सचेतनामूलक कार्यक्रममा सधैँ साथ दिने प्रतिबद्धता जनाए ।

कार्यक्रमका सहभागीले घरेलु हिंसा र लागुऔषध दुर्व्यसनसम्बन्धी अस्ट्रेलियाली कानुन तथा नेपालीले जान्नैपर्ने विविध विषयमा प्रश्न राखेका थिए । प्रहरी अधिकारी स्वारले यसबारेमा सल्लाह दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २२:३७
प्रतिक्रिया दिनुहोस्