site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेखा थापाको त्यो भयानक क्षण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नेपाली सिने उद्योगमा ‘हिरो रेखा’ भनेर चिनिने पात्र हुन्, रेखा थापा । दश वर्षको टिनऐजबाट सुरु भएको उनको रजतपट यात्रा अझै रोकिएको छैन । मात्र समयानुसार उनको भूमिका बदलिएको छ । कहिले कलाकार त कहिले निर्माता र निर्देशक । तोरीबारी र रुखको वरिपरि नायकको पछाडि घुमेर नायिका कहलिने समयमा नेपाली सिनेमामा बोल्ड अवतारमा भित्रिएकी थिइन्, रेखा । उनी एक्सनप्रधान सिनेमामा पनि फिट भइन् । एउटा चलचित्रमा एक्सन भूमिकामा देखिन्थिन्, सँगै आउने अर्को सिनेमामा ग्ल्यामरस । लोभलाग्दो क्रेज बटुलेकी उनले कहिले आफैँ निर्माता बनेर सिनेमामार्फत महिलाका मुद्दा उठाइन् । कहिले सामाजिक अन्धविश्वास र कुरीतिविरुद्ध चलचित्र बनाइन् । पछिल्ला केही वर्षयता पर्दामा उनको उपस्थिति पातलिएको छ । कारण हो, राजनीति । अहिले उनी मूलधारको राजनीतिमा छिन् । तर, रेखाकै शब्दमा – उनले सिनेमालाई माया मारेकी छैनन् । सिनेमालाई मेडिटेसन ठान्ने उनी पुनः चलचित्रको तयारीमा छिन् । उनै रेखासँग सिनेमा छायांकनको अनुभवबारे गरिएको कुराकानी :

०००

सानो छँदा आफूले हरेक दिन टेलिभिजनमा हेरेका राजेश हमाल, गौरी मल्ल, निरुता सिंह, कृष्ण मल्ललगायत कलाकार सँगै सेटमा थिए । तर पनि रेखा (थापा) त्यति धेरै नर्भस थिइनन् । उनमा यति आत्मविश्वास थियो, त्यसले नर्भस होइन, एक्साइटमेन्ट मात्र भइरहेको थियो । उमेरले १६ वर्षकी रेखा दिग्गज कलाकारसँगै अभिनय गरिरहेकी थिइन् । उनमा न डर थियो न त हिचकिचाहट ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“त्यो १६ वर्षे बालपनमा पनि ममा कुनै डर थिएन । थियो त केवल आत्मविश्वास र उत्साह,” उनी भन्छिन् ।

त्यो ‘हिरो’ र हतारका प्रतिक्रिया 
रेखाको पहिलो सिनेमा थियो, ‘हिरो’ । उनी २२ वर्षअघिको त्यही चलचित्रको सेट सम्झिरहेकी थिइन् । क्यामेरा फेस त रेखाले ब्युटी प्याजेन्ट ‘मिस कोसी’बाटै सुरु गरेकी थिइन् । सिनेमा यो पहिलो थियो । तर, सेटमा उनी पहिलोजस्तो लागिरहेकी थिइनन् । डान्स डाइरेक्टर रेखालाई भन्थे, ‘पहिलो कामजस्तै लागिरहेको छैन । सबै कलाकारको आत्मा यसैमा पसेको छ कि क्या हो, खारिएर आएको कलाकारजस्तो छे त !’

Royal Enfield Island Ad

यो त भयो काम सुरु भएपछिको प्रतिक्रिया । काम सुरु हुनुअघि रेखाले पाएका प्रतिक्रिया अलि फरक थिए ।

गौरी मल्लले रेखालाई दिएको प्रतिक्रिया थियो– दूध खाने बालख तँलाई किन आउनुपरेको ? अलि ठूली भएर आउनुपर्थ्यो नि !

राजेश हमालले रेखालाई देखेर गरेको कमेन्ट सिनेमेटोग्राफर राजु थापाले सुनाएका थिए– साह्रै सानो फुच्ची भइन र यो ? ओठ निचोर्दा पनि दूध आउँछ जस्तो छ त !

हतारमा प्रतिक्रिया दिने अदातबाट कोही मुक्त छैन भन्ने कुराको प्रमाण हो, यो । त्यो हिजो थियो । आज पनि छ ।

निर्देशक नरेश पौडेल र निर्माता छवि ओझाले भने रेखामा भरोसा गरेका थिए । भनेका थिए– एक दिन यसले सिंगो नेपाली चलचित्र उद्योग खान्छे !

उनीहरूले देखेको त्यो सम्भावनामा रेखाको आत्मविश्वासले काम गरेको थियो । सुटिङ सेटमा उनी अब्बल देखिएकी थिइन् । उनलाई दिइएका कमेन्ट रेखाले फिका सावित गरिदिएकी थिइन् । तर, रेखाले त्यति बेला ती कमेन्ट सुनेकै थिइनन् ।

“त्यही बेला मैले सबै कलाकारको आत्मा ममा छिरेको कमेन्ट सुनेको भए झन् बबाल हुन्थ्यो होला,” उनी भन्छिन् ।

बिनाड्रेसअप र बिनामेकअप सेटमा जाँदा ‘हिरोइन खोइ ?’ भनेर खोजेको रेखा आफैँले देखिन् । ‘म यहीँ छु त !’ उनले भन्नुपर्थ्यो ।

कहाँको उमेरले परिपक्व राजेश हमाल, कहाँ १६ वर्षे रेखा । सिनेमामा त जोडी मिल्दो देखिनैपर्‍यो । रेखालाई राजेशसँग सुहाउँदो देखाउन हिप र चेस्टमा प्याड लगाइदिन्थे । उमेरलाई उछिनेर परिपक्व देखाउन म्याच्योर्ड मेकअप गरिदिन्थे ।

सिनेमामा राजेशको अपोजिटमा रेखा हुन्थिन् । त्यसैले उमेरले राजेशजस्तै परिपक्व होलिन् भन्ने भान दर्शकमा परेको थियो । हुन पनि हो, राजेश र रेखाको जोडी पर्दामा परिपक्व नै देखिन्थ्यो ।

रेखाको आत्मविश्वासले राम्रो काम निस्कियो । त्यसैले उनले अर्को चलचित्र पाइन्, ‘मितिनी’ । त्यसपछि कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । 

तर, रेखा रोइनन्
थुप्रै चलचित्र थुप्रै किस्सा । ‘मितिनी’सँग जोडिएको एउटा किस्सा रेखाको मस्तिष्कमा अझै पनि धमिलिएको छैन । वसन्त श्रेष्ठ डान्स डाइरेक्टर थिए । उनको बानी रहेछ, हरेक सिनेमाका हिरोइनलाई रुवाउने । “डान्सको स्टेप गर्न नजानेपछि प्रायः हरेक हिरोइन रुन्थे रे !,” रेखा ‘मितिनी’को सेटतर्फ लाग्छिन् ।

त्रिशूली नदी किनार । नदीको ढुंगामा खिच्ने सिन । रोमान्टिक गीतको छायांकन थियो । दिलीप रायमाझी र रेखा ढुंगामा बसेर एकैतिरबाट लडेर पानीमा डुबुल्की मार्नुपर्ने थियो । जस्तोसुकै काम गर्ने सहासी उनी पानीसँग भने डराउँथिन् । लड्ने पोजिसन मिलेन । रेखालाई सहज लागिरहेको थिएन । तीन टेक लिइसक्दा पनि भएको थिएन । वसन्त थापा माथि ढुंगाबाट हेरिरहेका थिए । उनले रेखालाई भने, ‘तलाईं यहीँबाट ढुंगाले हानेर मार्दिऊँ ? तँ गर्दिनस् ?’
 
‘हिरो’को ‘चक्कुछुरी’ गीतले रेखा लोकप्रिय भइसकेकी थिइन् । अग्रज कलाकारभन्दा उनको चार्म बढी थियो । छायांकनस्थलमा आउने कलाकार रेखालाई हेर्न बढी झुम्मिन्थे ।

‘ल त कसरी ढुंगाले हान्ने र’छ, म लड्दिनँ,’ रेखाले भनिन् । उनलाई इगो भयो । पानीमा डुबुल्की मारिन् । सट एकैपटक ओके भयो ।

‘यसलाई गाली नगरी नहुने रहेछ,’ वसन्तले भने । त्यो दिनको छायांकन सकियो ।

बेलुका वसन्तकी असिस्टेन्टले रेखालाई भनिन्, ‘यो केटी एकदम आत्मविश्वासी र निडर छे । यसलाई रुवाउने ट्राई गरौँ भनेर वसन्त सर र मेरो बाजी परेको थियो । सरले म जसरी पनि यसलाई रुवाउँछु भन्नुभएको थियो । मैले तपाईंले रुवाउन सक्नु हुन्न भनेर बाजी राखेको थिएँ ।’ उनले जितेपछि रेखाका लागि बडीस्प्रेलगायत मेकअपका सामान लिएर आएकी थिइन् ।

वसन्त पनि रेखा भएको ठाउँमा आएर भने, ‘महारानी, सरी है ! हाम्रो बाजी परेको थियो, त्यसैले...।’

सुरुमा सिनेमा साइन गर्दा रेखाको भागमा गीत परेको थिएन । तर, वसन्त उनको बडी एक्सप्रेसनको फ्यान थिए । सोही कारण रेखालाई गीत पनि पारिदिए । 

कामको टर्चर 
रेखा नयाँ थिइन् । टेक थोरै लिने सीमित कलाकारमा पनि पर्थिन् । नयाँ नै सही, जो क्षमतावान् छ चलचित्रमा उनी हाबी हुन्छ । सेटमा बोलावाला चल्ने उसकै हो । अग्रज नै किन नहून्, रेखा पनि आफूले जानेका कुरा सिनियरलाई बताउँथिन् । तर, कलाकार हेरेर । यसो गरे राम्रो होला कि भन्थिन् । समकालीन र अनुज पुस्तालाई सिकाउन त अप्ठ्यारो मान्नै परेन । निर्धक्क सिकाउँथिन् । निकै सिनियरलाई भने सिकाउन कठिन हुन्थ्यो । त्यसैले त जब आफ्नै उमेरका को–एक्टर पाइन्, पर्दामा केमेस्ट्री मिलेको उनले अनुभूत गरिन् ।

रेखालाई वर्कोेलिस्टभन्दा फरक पर्दैन । जसरी अल्कोहलको लत बसेको मान्छेलाई रक्सी नभइ हुँदैन, त्यस्तै रेखालाई एक दिन काम नभए छटपटी हुन्थ्यो । छटपटी पनि किन नहोस्, एकैदिन तीन सिफ्टसम्म काम गर्थिन् ।

लामो समय एक नम्बर हिरोइनको छवि बनाएकी रेखासँग एकैदिन चारवटासम्म सिनेमामा काम गरेको अनुभव छ । “घरको पार्किङमा चारवटासम्म गाडी कुरेर बस्थे । जुन फिल्मको गाडी पहिला आयो, त्यही फिल्मको छायांकनमा जान्थेँ,” रेखा ती कलरफुल दिनहरू सम्झिन्छिन्, “एक दिन यतिसम्म भयो, म चलचित्र ‘मैदान’को सुटिङका लागि गाडीमा चढेर गएँ, ‘बरमाला’ फिल्मको गाडीले म चढेको गाडी फलो गर्‍यो । सुटिङ स्पटमा गएर ‘भरे यो समयमा नआए सुटिङको सम्पूर्ण खर्च व्यहोर्ने’ कागज गरेर फर्किन्थे । त्यो पनि म साइन गर्थेँ ।”

‘बरमाला’को निर्देशक ज्ञानेन्द्र देउजा थिए । “साँझ उहाँले भन्नुभयो– तिमी यसो नगर त ! तिम्रो कारणले छायांकन लम्बिने भयो । तिमीलाई थाहा छ त छायांकन लम्बिँदा सिनेमाको बजेट बढ्छ,” रेखा सुनाउँछिन् ।

अधिकांशको छायांकन समय एउटै । अधिकांशलाई आफ्नो चलचित्रमा हिरोइन रेखा नै चाहिने । फेरि पर्‍यो ‘बरमाला’सँगै । ‘बरमाला’को छायांकनका लागि जानुपर्ने रेखा, ‘दुई पल’का निम्ति पोखरा पुगिन् । फर्किएर ‘बरमाला’को छायांकनमा लागिन् । रेखा पोखरा पुगेको ज्ञानेन्द्रले सुइँकोसम्म पाएनन् । यस्तो किस्सा त रेखासँग कति छन् कति !

काम भइरहेको हुन्थ्यो । बजारमा चर्चा थियो । खल्तीमा पुग्दो पैसा । पलपलको हिसाब गरेर काममा पुग्दा टर्चर पनि उत्तिकै हुन्थ्यो । कामभन्दा पनि समयको टर्चर ।

हरेक व्यक्ति अभिनेता
दिनकै चारवटासम्म फिल्मको सुटिङ, क्यारेक्टरको सम्झना कसरी हुन्थ्यो ?
निर्देशक आएर रेखालाई प्रत्येक सिन खरर्र सुनाउँथे । “खोइ कसरी मेरो दिमागमा त्यो सिन बस्थ्यो, मलाई नै थाहा छैन । तर, त्यो फिल्मको पूरै भिजुअल मेरो दिमागमा बस्थ्यो । मेरो क्यारेक्टर मात्रै होइन, होल फिल्म मेरो दिमागमा हुन्थ्यो,” रेखा पुराना दिन स्मरण गर्छिन् ।

अहिले अक्सर सिनेमा छायांकनमा जानुअघि निर्देशक र कलाकार वर्कसपमा बस्छन् । रेखा कहिल्यै वर्कसपमा बसिनन् । “त्यो बेला वर्कसपमा नबसे पनि अहिले हेर्दा पनि त्यो बेलाको एक्टिङ झुर लाग्दैन,” रेखाको जिरिह छ ।  

वर्कसप आवश्यक छैन ? 
अभिनय सिकेर नसकिने कुरा भएको रेखाको बुझाइ छ । “हरेक व्यक्ति अभिनेता हो । मान्छे जन्मिदै रुँदै आउँछ । उसलाई रुन आउँछ । उसलाई हाँस्न आउँछ । उसमा इमोसन हुन्छ । उत्साह र निराशा पनि हुन्छ । जीवनका सबै रङ व्यक्तिमा हुन्छन् । हामीले चलचित्रमा देखाउने त्यही कुरा होइन र ?,” रेखाको प्रश्न छ, “मान्छे रिसाउँछ, खुसी हुन्छ । रिसाउन, रुन, खुसी हुन पनि सिक्नुपर्छ र ?”

हरेक व्यक्ति हरेक पल अभिनय नै गरिरहेको तथ्यलाई सत्य मान्न नसक्नु गलत भएको उनको भनाइ छ । “तपाईं र म पनि त अहिले अभिनय त गरिरहेका छौँ नि ! तपाईं मेरो विगतका कुरा सोधिरहनुभएको छ, म मेरो अनुभव सुनाइरहेको छु । तपाईं सुनिरहनुभएको छ । यो नेचुरल हो कि अभिनय,” रेखा भन्छिन्, “फिल्ममा कोही पत्रकार आएर मेरो अन्तर्वार्ता लिइरहेको दृश्य छ भने योभन्दा लाउड हुन्छ र ? योभन्दा फरक केही फूलबुट्टा त भर्नु पर्दैन ।”

छिनमै विधवा छिनमै टम ब्वाई
‘सिलसिला’को ‘सागरसरि...’ गीतमा रेखा टम ब्वाईको क्यारेक्टरमा थिइन् । त्यही बेला छायांकन भइरहेको ‘आफ्नो मान्छे आफ्नै हुन्छ’मा उनी विधवाको भूमिकामा थिइन् । ‘नसिब आआफ्नो’मा लफंगा केटीको भूमिकामा थिइन् । ‘भगवान् सबैको’मा रेखा रेस्टुराँ डान्सरको क्यारेक्टमा थिइन् । यी सबै सिनेमा एकैपटक छायांकन भइरहेका थिए । सिफ्ट–सिफ्टमा उनले काम गरिरहेकी थिइन् ।

“‘भगवान् सबैको’मा ‘छन्छन् छनन छन्छन्’ गीतको होल नाइट सुटिङ हुँदा ‘सिलसिला’ र ‘नसिब आआफ्नो’ घर गएर नुहाएर ‘सिलसिला’को सारी लगाएको क्यारेक्टरमा अभिनय गर्थेँ,” रेखा भन्छिन्, “ती सिनेमा अहिले हेर्दा पनि हुन्छ, कहाँ म अनिद्रा र नराम्री देख्छु ? क्यारेक्टरमा बस्ने भनेको यही होइन र ? रातभरि सेतो सारी लगाएर रुएर अभिनय गरेको भोलिपल्ट बिहानै मस्किएर अर्को सिनेमामा अभिनय गरेको छु भने क्यारेक्टरलाई न्याय भएन र ?”

कोही सच्चा प्रोफेसनल कलाकार छ भने उसलाई वर्कसप नै आवश्यक नपर्ने उनको जिकिर छ । “मैले मालिका चलचित्रमा जाजरकोटकी युवती जसले जिन्दगीमा कहिल्यै टेलिभिजन देखेको छैन, गाडी चढेको छैन, त्यस्तो व्यक्तिलाई हिरोइन बनाएको होइन र ?,” रेखा उदाहरण प्रस्तुत गर्छिन्, “मालिकामा हिरोइनले राम्रो अभिनय गरेको छैन र ? तपाईंलाई कहीँ कतै अक्कड लाग्ला, त्यो बेग्लै कुरा भयो । तर, मेरा लागि उसले गरेको काम दुई सय प्रतिशत हो ।”

‘हिम्मतवाली’मा रेखाले हात नभएको व्यक्तिलाई हिरो बनाइन् । बाहिरबाट सरसर्ती हेर्दा उनले फिल्ममा कति ठूलो चुनौती मोलिन् भन्ने लाग्न सक्छ । तर, रेखा भन्छिन्– हात नभएर त के भयो, उसले (सुदर्शन गौतम)ले अरूभन्दा राम्रो काम गरिरहेको थियो ।

“हातले चिया खाएको त सबैले देखेकै थियो, खुट्टाले चिया खाएको त कसैले देखेको थिएन । त्यो सबैभन्दा इन्ट्रेस्ट्रिङ पार्ट थियो,” उनी भन्छिन्, “जसले अभिनयलाई पेसा बनाएका छन्, उनीहरूले त अभिनय गर्छन् नै । जो अभिनय गर्ने पेसाभन्दा बाहिरबाट आएर अभिनय गर्छन्, त्यो महत्त्वपूर्ण हो । त्यसैले त म भन्छु– हरेक व्यक्ति अभिनेता हो । म तपाईंलाई पनि अभिनेता बनाउन सक्छु । मात्रै तपाईं जे गर्न लाग्नुभएको छ, त्यो पेसाप्रति इमानदार हुनुपर्‍यो ।” मनबाट काममा लगन भए हरकोही कलाकार बन्न सक्ने उनको निष्कर्ष हो ।

जब्बर रेखा, कहिलेसम्म लिने अर्काको जिम्मेवारी ?
रेखा चुनौती मोल्ने कलाकार हुन् । कहिले सहर नै नदेखेको टिनेजरलाई काठमाडौं ल्याएर हिरोइन त कहिले हात नभएको व्यक्तिलाई हिरो बनाउँछिन् । त्यसपछि उनीहरू यो क्षेत्रमा रहून्/नरहून् उनीहरूकै मर्जी । महिलाका विषय उठाउनु कठिन नै किन नहोस्, रेखाका लागि त दालभात खाएसरह नै भइगयो !

यस्तो चुनौती सामना गर्दा उनको भलो चिताउनेले के भन्थे ? अरूले के कुरा गर्थे ? “मेरो अगाडि आएर यो के गरेको भनेर भन्ने त कसैले आँट गर्छ भन्ने मलाई लाग्दैन । तर, पक्कै पनि मालिकामा गाउँबाट ननएक्टर मालिकालाई ल्याउनुको सट्टा सेन्टमेरिज वा रातो बंगालाको गुडलुकिङ केटीलाई ब्रेक दिएको भए हुन्थ्यो, यो हावा के गरिरहेकी छ भनेर कुरा काटे होला,” उनी भन्छिन्, “तर, यो सब नगरेर म मालिका खोज्दै किन जाजरकोट पुगेँ, यसको मक्सद के थियो सबैले बुझेनन् होला, तर मिडियाले बुझेको छ ।”

रेखा दोहोर्‍याउँछिन्– प्रतिभा दूरदराजमै छ । म पनि त कुनै समय गाउँमै थिएँ । काठमाडौंमा जति पनि भीड छ, त्यो गाउँबाटै आएकाहरूको होइन र ?

“हामी कसका लागि सिनेमा बनाइरहेका छौँ ? ब्युटी प्याजेन्ट कसका लागि भइरहेका छन् ? यो मैले पाँच वर्षअगाडिदेखि भन्दै आएको छु । अब मिडियाले भन्नुपर्छ,” रेखा भन्छिन्, “ब्युटी प्याजेन्ट काठमाडौंका स्थानीयका लागि हो वा दूरदराजका प्रतिभाका लागि प्लेटफर्म दिने ठाउँ बन्नुपर्छ ? अछाम, बाजुरा वा ताप्लेजुङकी किशोरी किन मिस नेपाल हुन्न ? यो प्रश्न गर्ने बेला भएन र ?”

रेखासँग ब्युटी प्याजेन्टको कुनै त्यस्तो ठूलो प्लेटफर्म छैन, जहाँ उनले भनेजस्ता गाउँगाउँमा लुकेका प्रतिभालाई ल्याएर ठाउँ दिन सकियोस् । उनीसँग त बस्, सिनेमाको प्लेटमर्फ छ । त्यसैले उनी कहिले जाजरकोट पुगेर मालिका ल्याउँछिन् । कहिले सग्लो शरीर नभएको व्यक्तिमा आत्मविश्वास भर्न सुदर्शनजस्ता व्यक्तिलाई स्पेस दिन्छिन् ।

“मेरा चलचित्रले क्लास छुट्टयाउँदैनन् । मेरा चलचित्रले जनताका कुरा गर्छन्,” उनी प्रश्न गर्छिन्, “क्लासका व्यक्तिका लागि जाजरकोट र बाजुराका व्यक्तिको जीवनले अर्थ राख्छ कि राख्दैन ? फरक क्षमता भएका व्यक्ति क्लासका व्यक्तिको सरोकारभित्र पर्नुपर्छ कि पर्दैन ?”

चुनौती नै विशेषता
कुभलो चिताउनेले मात्र होइन, भलो सोच्नेहरू नै रेखाको काममा चुनौती देख्छन् । हुन त चुनौती लिनु नै रेखाको विशेषता हो । चाहे सिनेमामा होस् वा राजनीतिमा । कतै महिला, कतै एसिड आक्रमणविरुद्ध, कतै फरक क्षमता भएका व्यक्तिका पक्षमा त कहिले बालविवाहविरुद्धका विषय उठान गर्छिन् ।

प्रसंग फेरि मालिकाकै । मालिकाकी हिरोइन सिनेमामा बालविवाहविरुद्धको वकालत गर्छिन् । सामाजिक सञ्जालमा उही मालिका विवाहका लागि कानुनी उमेर नपुग्दै ‘पोइल’ गई भन्ने कुरा ‘भाइरल’ भयो ।

‘छोरीका लागि स्वर्णिम नेपाल महाअभियान चलाएर हिँडेकी, बालविवाहविरुद्ध ‘मालिका’का लागि जसले करोडौँ रकम खर्चिएर सिनेमा बनायो, उसकै हिरोइन पोइल गइन्’ भन्दै रेखालाई व्यंग्य गरियो । त्यही सिनेमाकी मुख्य पात्र जसले बालविवाहविरुद्ध विद्रोह गर्छ, उनै पोइल गई भन्ने सोधपुछले रेखालाई बेचैन बनायो । भलै, त्यो भाइरल सूचनामा सत्यता थिएन ।

रेखाले रेखा फिल्मस्बाट आर्यन सिक्देलाई ‘ब्रेक’ दिइन् । फरक क्षमता भएका सुदर्शन गौतमलाई हिरो बनाइन् । सहर नटेकेकी जाजरकोटकी किशोरी ‘मालिका’ कमला वलीलाई हिरोइन् बनाइन् ।

“तर, के उनीहरूको पूरै जिन्दगीको ठेक्का मैले लिनुपर्ने हो ?,” रेखाको प्रश्न छ, “मैले प्लेटफर्म दिएका सबैले उनीहरूले जिन्दगीभर के गर्छन् त्यसको अपजसको भारी मैले बोक्नुपर्ने हो ?”

सिनेमा सकिएपछि नैतिकबाहेक ती व्यक्तिसँग कुनै साइनो–सम्बन्ध रहँदैन । त्यस हिसाबले अरूले गरेका कुकर्मसँग किन कोही कसैलाई जोड्ने ? आर्यनले सिनेमाबाट कति अवार्ड पाए ? थुप्रै । तर, के कसैले रेखा फिल्मस्ले ब्रेक दिएको आर्यनले अवार्ड पाए भनेर भन्छ ? भन्दैन । त्यसैले त्यस्ता नकारात्मक पक्षसँग पनि नजोड्न रेखाको आग्रह छ ।

“मेरो सिनेमाका हिरोले भोलि ओस्कार अवार्ड पायो भने रेखाले इन्ट्री दिएको हिरोले ओस्कार जित्यो भनेर कसैले लेख्छ ?,” रेखाको चित्त दुखाइ छ, “त्यसो भए नराम्रो काममा मात्रै किन जोडिन्छ नाम ?”

त्यो भयानक क्षण
रेखा यस क्षेत्रमा आउँदा अक्सर हिरोइनहरू हिरोसँग तोरीबारीमा नाचेर नायिका कहलिएको समय थियो । त्यति बेला कतिले फाइट गरिरहेका थिए/थिएनन् त्यो सम्बन्धित व्यक्तिलाई नै थाहा होला । तर, त्यही समय रेखा एक्सनप्रधान सिनेमामा काम गरिरहेकी थिइन् ।

रेखा फर्किइन्, चलचित्र ‘जलजला’तिर । यो सिनेमामा किन काम गरेछु भन्ने लागेको रेखालाई अझै याद छ । “वरिपरि पेट्रोल बमैबम राखिएको थियो । कानको छेउबाट बड्याम्म बम पड्किँदा कस्तो भयो होला ?,” रेखा सम्झिन्छिन्, “एउटा पक्षले अर्को पक्षलाई बम हानेपछि प्रतिकारमा अर्कोले बम हान्नुपर्ने थियो । राजेन्द्र खड्गीले कानकै छेउबाट प्रेटोल बम पड्काउँदा मेरो सातो जान्थ्यो । अब अर्को बम पडकाउँदै छन् भन्ने थाहा पाएपछि पहिला नै डरले मुटु काम्थ्यो । त्यो बेला अरूलाई एक्सन हिरोइन नहुँदै पनि भइरहेको छ, मलाईचाहिँ किन एक्सन हिरोइन हुनुपरेको होला भन्ने लाग्थ्यो ।”

‘देवरबाबु’मा पेट्रोल बम पड्काउँदा हातको छाला गएको रेखाले अझै बिर्सन सकेकी छैनन् । महिनावारी हुँदा एक्सन सिन गर्दाको पीडा उनलाई आजैजस्तो लाग्छ । ‘लंका’, ‘दुर्गा’मा ‘फामिङ’ र ‘टुचिङ’मा रोल गराएर हान्दा पेट दुखे पनि सहेर काम गरेको उनले भुलेकी छैनन् । जस्तोसुकै दुःख होस्, सिनेमामा कम्प्रमाइज गर्नु हुँदैन भन्ने सोचले काम गरेको उनी बताउँछिन् ।

“रिस पनि उठ्थ्यो, तर सँगै गर्व पनि लाग्थ्यो । जब म एक्सन सिनको सेटमा हुन्थेँ, यहाँ जेन्डर इक्वालिटीको कुरा पनि छ भन्ने कुराको हेक्का राख्थेँ,” रेखा भन्छिन्, “यो महिला हो, यसले काम गर्न सक्तिनँ भन्ने भान दिनु हुँदैन भन्ने इखले काम गर्थ्यो ।”

त्यसैले रेखाले केही गर्न सक्तिनँ भनेर कुनै निर्देशकले नभनेको उनी सुनाउँछिन् । ‘सि क्यान डु, सि इज हिरो’ भन्ने छाप थियो रेखाको । अहिले पनि धेरैले रेखालाई ‘हिरो’ भन्छन् । चुनौती लिएर रेखाले ट्रेन्ड चेन्ज गरेकी हुन् ।

“यो हिरो हो, यसले गर्न सक्छे भनेर मलाई निर्देशक तथा एक्सन डाइरेक्टरहरू भन्थे,” रेखा अनुग्रहित सुनिइन्, “उनीहरूले मलाई विश्वास गरे, मैले विश्वासको दियो निभ्न दिइनँ । जसरी हुन्छ बालिरहेँ । त्यसैले म हिरो भएँ । उनीहरूले नै मलाई हिरो रेखा बनाए ।”

सबैकी प्रिय  
रेखा तिनै हिरोइन् हुन्, जसले हिरोले भन्दा धेरै पारिश्रमिक लिन्थिन् । रेखाले जतिसुकै पारिश्रमिक चार्ज गरे पनि प्रोडुसरदेखि निर्मातासम्मले उनलाई औधी माया गर्थे ।

यति धेरै पारिश्रमिक लिने भनेर सेटमा त्यसको नकारात्मक प्रतिक्रिया देखाउँदैन थिए ? 
“त्यस्तो हुँदैन थियो । म १६ वर्षको बालापनदेखि नै उनीहरूसँग काम गरेकाले सायद मलाई उनीहरू सधैँ त्यही फुच्ची रेखा देख्थे होला,” उनी भन्छिन्, “उनीहरू त्यही फुच्ची बेलादेखि देखेकाले अहिले पनि मलाई ‘नानु’, ‘बुनु’ भनिरहेका हुन्छन् । अर्को कारण, म मनदेखि काम गर्थेँ, त्यसको रिटर्नस बजारबाट आउँथ्यो । म निर्देशक र प्रोडुसरको सधैँ प्रिय पात्र थिएँ ।”

रेखा लागेको कुरा फ्याट्ट बोल्छिन् । यो बानी अहिलेसम्म छ । टिनेजरको त के कुरा, जे देख्थिन् त्यो बोल्थिन् । परिपक्व उमेर थिएन । मान्छे रिझाउन कतिपय कुरा नजरअन्दाज गर्नुपर्छ भन्ने उनलाई थाहा थिएन । मनमा एउटा कुरा राखेर जिब्रोले अर्कै बोल्नुपर्छ भन्ने मान्यता आजपर्यन्त उनमा छैन ।

सम्बन्धमा पानी बाराबार तर सँगै काम
नाम त रेखा भन्दिनन्, तर उनले पानी बाराबार भएका निर्देशकसँग पनि काम गरेकी छन् । स्क्रिप्ट आउँथ्यो, पढ्थिन् । राम्रो लागे साइन गर्थिन् । सेटमा निर्देशकसँग बोलचाल हुँदैन थियो । तर, मजाले काम गर्थिन् ।

“किनकि, अभिनय मेरो पेसा हो । कोसँग मेरो बोलचाल छ/छैन त्यसले सरोकार राख्दैन थियो । मैले काम गर्नुपर्छ, गरेँ,” रेखा भन्छिन्, “एक्सन ! भनेपछि अभिनय गर्थेँ । कट ! भनेपछि सकियो । निर्देशकसँग मिडिएटरको काम असिस्टेन्टले गर्थे । तर, सिनेमा छायांकनको अन्तिमसम्म पुग्दा म बोलिसकेको हुन्थेँ । कारण, मेरो मनमा पाप हुँदैन थियो । कामका क्रममा सामान्य विवाद त सामान्य नै हो ।”

काम पर्फेक्ट, निर्देशक दंग
रेखाको एक्सप्रेसन नै लोभलाग्दो ! जहाँ रेखा आफ्नो दिमाग चलाउँथिन्, त्यहाँ सिन पर्फेक्ट हुन्थ्यो । सिनेमा निर्देशकको भिजन हो । त्यसैले निर्देशकको निर्देश नै अन्तिम हुन्छ । तर, रेखालाई कहीँ कतै यसमा केही थप्न पाए अझ राम्रो हुन्छ भन्ने लागे सुनाइहाल्थिन्– डाइरेक्टर साब, यसमा म अलिकति एडिसनल केही कुरा थपौँ ? स्वीकृति पाए उनी आफ्नै दिमाग चलाउँथिन् । उनकै शब्दमा ‘काम पर्फेक्ट’ हुन्थ्यो । निर्देशक दंग पर्थे । 

त्यति धेरै ग्ल्यामर किन ?
रेखासँग ग्ल्यामर स्वतः जोडिएर आउँछ । प्रसंग उप्काउनेबित्तिकै रेखा मुसुक्क हाँस्छिन्, “त्यो त हो नै, आउनैपर्‍यो नि !”

नेपाली सिनेमावृत्तमा एउटा भनाइ छ, ‘कथाले मागेपछि...।’ त्यसो त यो भनाइ सिनेमावृत्त नाघेर बाहिर आइसकेको छ । यसको आशय हो– कथाले मागोस्/नमागोस्, आफ्नै मनमर्जी कथा परिवर्तन गर्ने । ‘उत्ताउला’ दृश्य थप्ने ।

तपाईंको सन्दर्भमा यो लागु भयो ? 

“भएन,” एकै शब्दमा रेखाको जवाफ आयो ।

“कहाँ दबाब दिनु, बढी भयो अलि कम गर्नुपर्ला भन्थे,” रेखा चलचित्र ‘जेठो कान्छो’को सेटमा फर्किइन्, “र्‍यापर लगाएर झरनामा ‘पानीले मेटिन्न मायाको तिर्सना...’ गीतमा अभिनय गर्दा वसन्त सरले ‘आमा ! लौन, यही लगा’को !’ भन्नुभयो । खासमा त्यो ड्रेस पेन्टिङमा थियो,” रेखा भन्छिन्, “सरले ‘तिम्रो शरीरमा यो ड्रेस सुहाउँछ, लाउन सक्छौ ?’ भन्नुभएको थियो । मैले ह्वाई नट भनेको थिएँ । उहाँले पत्याउनुभएको थिएन । तर, मैले लगाएँ । उहाँ छक्क पर्नुभयो ।”

चलचित्र ‘दुनियाँ’को एउटा सट कत्तिको याद छ तपाईंलाई ? त्यहाँ रेखाको ढाडमा कपडा देखिँदैन । शालीन निर्देशकको छवि बनाएका शिव रेग्मीले भने, ‘यो गुरु–चेली भएर बर्बाद पार्ने भए ।’

“थाहा छैन, त्यो उहाँलाई त्यति धेरै ग्ल्यामर किन लाग्यो,” रेखा भन्छिन्, “वसन्त सर जो ग्ल्यामर भनेपछि ‘वाह !’ भन्ने पनि ‘आम्मा ! यस्तो ?’ भन्नुभएको थियो । वास्तवमा त्यस्तो अचम्म मान्नुपर्ने केही थिएन । मैले त्यति बेला लगाउँदा मेरो आलोचना गर्नेहरू त्योभन्दा ग्ल्यामरस ड्रेस लगाएर अहिले हिँड्छन् ।”

सेट त सिनेमाको थियो । सेटमा हुन्जेल सिनेमा चलचित्रकर्मीको हुन्छ, हलमा आएपछि दर्शकको । “पहिरन व्यक्तिको इच्छा हो । व्यक्ति जुन पहिरन जुन उमेरमा लगाउन चाहन्छ, लगाए हुन्छ । जुन पहिरनले आफूलाई खुसी दिन्छ, त्यो लगाए हुन्छ भन्ने मेरो सुझाव पनि हो,” रेखा मनको कुरा सुनाउँछिन्, “१६ वर्षको केटीले आफूले लगाउन चाहेको ड्रेस लगाई । त्यो पनि मेरा सिनियरहरूले लगाइसकेको पहिरन त हो, मैले लगाएको हो । स्कट होइन मैले लगाएको ? त्यो त सडकमा हिँड्दा नै म लगाउँथे । अरू पनि लगाउँथे । के अचम्म भयो ?”

रेखाको प्रश्न छ– अरूले लगाउँदा चर्चा नहुने मैले लगाउँदा मात्रै किन ? जवाफ पनि उनी स्वयं दिन्छिन्, “सायद मेरो शरीरमा अरूभन्दा फरक र आकर्षक पो देखियो कि ! इस्यु बनाउनुपर्ने कुरा केही छैन ।”

सुटिङ नै मेडिटेसन
रेखाका लागि सुटिङ मेडिटेसन हो । काम ध्यान हो । जेसुकै रिजल्ट आओस्, त्यो पछिको कुरा भयो । सेटमा मात्र कामप्रति उनको लगाव हुन्छ । कामलाई ध्यान र गन्तव्य नसोचे सफल भइँदैन भन्ने उनले अनुभूत गरेको पक्ष हो । जिन्दगीमा उनी फुल सेटिस्फाइड भएको ‘मालिका’मा हो । हाफ सेटिस्फाइड ‘रुद्रप्रिया’मा ।

“बलिउडमा भर्खर हैन र महिलाप्रधान सिनेमा बन्न थालेको ? मैले त थुप्रै वर्ष भयो नि महिला चरित्रलाई केन्द्रमा राखेर सिनेमा बनाएको !,” रेखा आफूले गरेको प्रयास सुनाउँछिन्, “मैले त महिलाका कथा उठान गरेर सिनेमा बनाएको थुप्रै भइसक्यो ।”

रेखा कतै दाइजो प्रथाको विरोध गर्छिन् । कतै एसिड भिक्टिम महिला भएर जिउँछिन् । कहिले टेम्पो ड्राइभर त कुनै सिनेमामा विधवा महिला भएर देखिन्छिन् ।

“तपाईं आफ्नो जिन्दगीमा जम्मा तीनवटा जिन्दगी बाँच्नुहुन्छ, एउटा – तपाईंको पेसा जे हो त्यो जिन्दगी । अर्को, श्रीमान्/श्रीमती र बाउ/आमा र छोरा/छोरी । तर, हामी पचासौँ जिन्दगी एउटा जीवनमा बाँचिरहेका हुन्छौँ,” रेखा भन्छिन्, “त्यही भएर हामी कलाकार समाजसँग नजिक हुन्छौँ । अनि, हामीलाई भन्छन्– मुडी ! कुन क्यारेक्टरले कहाँ कति बेला हानिरहेको हुन्छ, त्यसको असर रियल लाइफमा देखियो भने त्यसकै आधारमा मूल्यांकन गर्न मिल्छ भन्ने मलाई लाग्दैन ।”

सिनेमा चल्छ/चल्दैन सुरुमै थाहा हुन्छ
रेखालाई छायांकन गर्दैगर्दा थाहा हुन्छ, त्यो सिनेमाले व्यावसायिक सफलता हासिल गर्छ/गर्दैन ! ‘रुद्रप्रिया’ र ‘मालिका’ बनाउँदा व्यावसायिक सफलताभन्दा पनि त्यसले समाज रूपान्तरणका लागि काम गर्छ भन्ने उनलाई थाहा थियो । उद्देश्य पनि त्यही थियो । मात्र त्यो पूरा हुन्छ/हुँदैन भन्ने संशय थियो ।

“मालिकामा मैले पाएको प्रतिक्रिया करोडौँ खर्च गरेर कहाँ पाइन्छ र ? पाइँदैन,” रेखा भन्छिन्, “मलाई मेरो क्षेत्रबाट समाज परिवर्तन र रूपान्तरणका लागि के गर्न सक्छु र के गर्नुपर्छ भन्ने लागेको थियो, त्यो मैले गरेँ । म यो समाजको को हुँ, म यो देशका लागि के सोच्छु र के गरेँ भन्ने कुरा मैले गरेको काम हेर्दा थाहा हुन्छ ।”

समाज रूपान्तरणमा रेखाको भूमिका थोरबहुत कति छ ? त्यसको जवाफ उनले निर्माण गरेका चलचित्र हुन् । अब उनी त्यो मैदानबाट फर्किन्छिन् वा अझै जिम्मेवार भएर काम गर्छिन्, त्यो उनको भोलिको कर्मले देखाउला !

यो पनि पढ्नोस्–

निखिल उप्रेतीको सुटिङ अनुभव– सात तलाबाट हामफाल्दा आफैँलाई दबाबमा राखेको थिएँ

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro