
काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र ‘जन्ते बाख्रो’ प्रिमियर शोमा हेरेपछि मनोरञ्जनात्मक रहेको प्रतिक्रिया आएको निर्माणपक्षले जनाएको छ ।
बुधबार आयोजना गरिएको प्रिमियरमा चलचित्र हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको बताइन् ।
उनले भनिन्, “म धेरैपछि हलभित्र निकै हाँसेकी छु । आशिफ शाहलाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो । उहाँ यसअगाडिका फिल्मभन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ ।”
कलाकार संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ परम्पराको जानकारीसँगै मनोरञ्जन दिने बताए ।
अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले सिनेमा हेरेर निस्किँदा पटकथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको भन्दै उनले तारिफ गरे ।
चलचित्रकर्मी र सञ्चारकर्मीले जन्ते बाख्रो ‘मनोरञ्जनको प्याकेज’ भएको प्रतिक्रिया दिएका छन् ।
अभिनेत्री गरिमा शर्माले प्रतिक्रियाले आफूमा थप उत्साह बढेको बताइन् ।
अभिनेता लोकेन्द्र लेखकले निर्माण समूह, कलाकार र कथा राम्रो भएकाले सिनेमा राम्रो बनेको बताए ।
अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शनपश्चात दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको प्रतिक्रिया दिए । “हामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, प्रतिक्रिया त्यस्तै पाएको छु,” उनले भने, “अघिल्ला सिनेमाभन्दा यसमा म केही भिन्न देखिएँ जस्तो लागेको छ । दर्शकले रुचाउनु हुन्छ भन्नेमा आशावादी छु ।”
मुइन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन छ । सुनील शिवभक्तिको सम्पादन छ ।