
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (जेठ २२) विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बाह्रखरीलाई जानकारी दिए ।
काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । बहुदलीय व्यवस्थापछि प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो ।