
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसँगै आर्थिक विधेयक २०८२ सार्वजनिक गर्यो । सो विधेयकमा भोड्का, ह्विस्की, रममा लाग्दै आएको भन्सार महसुल परिवर्तन गरियो । पहिले जति मूल्यको मदिरा ल्याए पनि प्रतिलिटर दुई हजार रुपैयाँ भन्सार सुल्क लाग्थ्यो ।
तर, अहिले यसलाई परिवर्तन गरेर न्यूनतम दुई हजार र सय प्रतिशत जुन बढी हुन्छ, त्यसैलाई आधार मानेर भन्सार शुल्क लिने व्यवस्था गरिएको छ । यही व्यवस्थाअनुसार अब रम, भोड्का तथा ह्विस्कीमा फरक–फरक भन्सारदर लाग्नेछ ।
यसलाई ठूलो परिवर्तनका रूपमा विभागले लिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक विधेयक २०८२ मा भन्सार शीर्षक (एचएस कोड) २२.०८ मा पर्ने मदिरा जन्य पदार्थ उत्पादन गर्न चाहिने कच्चा पदार्थमा ८० प्रतिशत र तयारी मदिरामा सय प्रतिशत भन्सार महसुल लाग्ने भनिएको थियो ।
तर, संसद्मा दर्ता भएको यही विधेयकको एचएस कोर्ड २२.०८ मा पर्ने मदिराका कच्चा पदार्थमा प्रतिलिटर एक हजार ५०० रुपैयाँ वा ८० प्रतिशतमध्ये जुन बढी हुन्छ, त्यसलाई आधार मानेर भन्सार महसुल लिने प्रस्ताव गरिएको छ ।
त्यसैगरी यी शीर्षकमा पर्ने तयारी ह्विस्की, रम र भोड्कामा न्यूनतम दुई हजार रुपैयाँ वा सय प्रतिशत जुन बढी हुन्छ, त्यसैलाई आधार मानेर भन्सार महसुल लिने भनिएको छ । यसअघि तयारी मदिरामा दुई हजार भन्सारदर लाग्दै आएको थियो ।
अहिलेको भन्सारदर वैज्ञानिक तरिकाले निर्धारण गरिएको भन्सार विभागका महानिर्देशक महेश भट्टराई बताउँछन् । यसले बढी मूल्य पर्ने मदिराको भन्सार महसुल बढी पर्ने र कम मूल्य पर्नेलाई कम भन्सार महसुल लाग्ने उनी बताउँछन् ।
सुरुमा सार्वजनिक गरिएको आर्थिक विधेयकमा ‘टाइपिङ मिस्टेक’का कारण पहिलेको न्युनतम दुई हजार रुपैयाँ महसुल नभएको उनी बताउँछन् । तर, पहिले नै यो विषयमा छलफल भएर महसुल निर्धारण गरिएको उनी बताउँछन् ।
एक्सलसिटमा कोलम तान्न भुल्दा पनि सानो त्रुटि भएको भट्टराईको भनाइ छ ।
“यसअघि जतिसुकै मूल्यको मदिरा आयात गरे पनि दुई हजार रुपैयाँ भन्सार महसुल लाग्थ्यो । अहिले हामीले सस्तोलाई सस्तो र महँगोलाई महँगो भन्सार महसुल लाग्ने व्यवस्था गरेका हौं,” विभागका महानिर्देशक भट्टराईले बाह्रखरीसित भने, “अहिलेको व्यवस्थालाई ठूलो परिवर्तनका रूपमा लिनुपर्छ । एक्सलसिटमा राख्दा केही इरर भएकाले अहिले हामीले सुधार गरेका छौं ।”
मदिरा आयातको हकमा नयाँ व्यवस्था गरिएकाले यसबाट राजस्व संकलन बढी हुने उनी बताउँछन् ।
नेपाली उद्योगलाई जोगाउनका लागि कच्चापदार्थमा लाग्ने भन्सार महसुलमा पनि एक हजार ५०० रुपैयाँ र ८० प्रतिशत जुन बढी हुन्छ, त्यसअनुसार भन्सार महसुल लिने उनले बताए ।