site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पठाओ चलाउने तयारी गर्दैगर्दा कमेडी च्याम्पियनमा पुगेका थिए भरतमणि
SkywellSkywell

जिन्दगी दोबाटोमा पुगेर उभिएको थियो । जाने कता ? अलमल थियो । यही बाटो हिँड् भन्ने कोही थिएन । भेट हुँदा दर्शनदेखि सुदूरभविष्यसम्मको सुझाव दिने त कति–कति । तर, तिनको सुझावले बाटो पहिल्याउँदैन थियो । बरु, झन् दोधार र अलमल थपिदिँदै थियो । भरतमणि (पौडेल)लाई भने आजै, अहिल्यै जिन्दगीको बाटो स्पष्ट गर्नु थियो । गर्ने के निश्चित गर्नु थियो ।

कारण ?

सँगैका साथीहरू कोही ब्रिटिस त कोही इन्डियन र नेपाल आर्मी भइसकेका थिए । आर्मी नहुनेहरू अरू जागिर गर्न थालेका थिए । जागिर नहुनेहरू बिजनेस गर्न थालिसकेका थिए । घरको जेठो छोरो हुनुका नाताले भरतमणिले नैतिक दबाब महसुस गर्न थालेका थिए । त्यो महसुस विस्तारै दबाबमा परिणत हुन थालेको थियो । रेडियोको कामबाट आउने पैसा अपुग हुन थालिसकेको थियो । त्यसैले भरतमणिसँग मात्रै दुई विकल्प थिए । पहिलो, विदेश जाने । दोस्रो, जे–जस्तो हुन्छ नेपालमै बसेर काम गर्ने । भनेजस्तो काम त कहाँ पाउनु नेपालमा । 

KFC Island Ad
NIC Asia

करिब पाँच वर्ष अगाडि नै बनाएको राहदानी थियो । त्यसमा भिसा हान्न लगाउने सोच मनमा आइसकेको थियो । रेडियोमा काम गरेका, केही कलाकार र उनीहरूको स्टारडम देखेका र त्यही क्षेत्रमा आफू रम्ने सपनालाई वाग्मतीमा बगाएर विदेश जानु र ? मनमा अन्तरसंघर्ष चल्थ्यो । उनले निर्णय गरे– अन्तिम मौका आफैँलाई दिन्छु । मात्रै एक वर्ष । एक वर्षमा पनि नेपालमा जिन्दगीले लय समातेन भने खाडी जानु त छँदै छ । 

दुई–चारवटा सिरियलमा सानै रोलमा भए पनि काम गरेको । सानै स्टेज किन नहुन्, हँसाउन चढेको । दुई–चारजनाले त चिन्छन् नै । त्यसैले उनले योजना बनाए– दिनभर आफैँले गर्न खोजेको काम गर्छु, कलाकारिता । रातिमा अनुहार नदेखिने÷नचिनिने गरी टम्म रुमाल बाँध्छु र पठाओ चलाउँछु ।

Royal Enfield Island Ad

आर्मी बन्ने त्यो रहर... 
सानैमा देखेको सपना छोडिसकेका थिए । 
के सपना ? 
नेपाल आर्मी बन्ने । घरनजिकै आर्मीको ब्यारेक थियो । आर्मी हरेक दिन बर्दी लगाएर दौडिन्थे । उनी पनि पछि–पछि लाग्थे । सानो बच्चा आफैँसँग दौडिएको देखेर माया लाग्दो हो, उनीहरू तेर्सोमा भरतलाई दुईतिरबाट दुईजनाले दुई हात समातेर सँगै कुदाउँथे । उकालोमा काँधमा बोकेर दौडिन्थे । हरेक दिन आफ्नै आँखाले बर्दीमा आर्मीलाई देख्दा उनमा त्यस्तै बन्ने चाह पलाउनु नौलो थिएन । पलायो । भलै, उनलाई त्यसबारे पर्याप्त चेत थिएन । त्यसैले त तेर्सोमा उनी आर्मीसँगै ढुंगा बोकेर दौडिन्थे । उकालोमा उनैलाई आर्मीले बोक्थे ।  

आर्मीको औँला समाएर दौडिने भरतमणिको स्वाभाव भने हँसाउने रहेछ । साथीभाइ हुन् वा छरछिमेकी, दुई–चारजना देख्यो कि उनलाई हँसाउनु पर्थ्यो । अरू हाँस्दा उनलाई आनन्द आउँथ्यो । क्यारिकेचर गरेर अरूलाई हँसाउँदा उनलाई बडो मजा लाग्थ्यो । के हो कमेडी, के हो क्यारिकेचर, त्यो त उनलाई के थाहा । मात्रै स्वाभाव हँसाउने थियो । हँसाउँथे । 

मोबाइलको त्यो ‘मेरी बास्सै’
कक्षा–५ मा पढ्दै थिए भरतमणि । सात समुद्रपारि रहेका मामाले भरतमणिकी आमालाई मोबाइल पठाइदिए । मोबाइलमा थियो धुर्मस–सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे)को ‘मेरी बास्सै’ । त्यो हेरेर उनका बुवाआमा मजाले हाँसे । भरतमणिलाई रहर लाग्यो, म पनि यो धुर्मुसजस्तै बोल्छु । उनले क्यारिकेचर गर्न सुरु गरे । धुर्मुसको अभिनय हेरेर मात्रै होइन, धुर्मुसको क्यारिकेचर भरतले गर्दा पनि आमाबुवा हाँसे । उनलाई लाग्यो– राम्रै पो गर्छु कि क्या हो !

त्यसपछि उनले छिमेकीको क्यारिकेचर गर्न थाले । जो गाउँको सिनियर थिए, उनीहरूको नक्कल सुरु गरे । हेर्नेहरू हाँसेर उत्साह थपिदिन्थे । घरमा आमा भन्थिन्– त्यसरी जिस्काउँन हुँदैन । अरूलाई जिस्काउने मान्छेका छोराछोरी पछि ‘लाटो’ भएर जन्मिन्छन् । “मलाई छोरोछोरी कस्तो जन्मिन्छन् के थाहा । दुई–चारजनाले यसले दामी हँसाउँछ, चौतारोमा बसेर सुनौँ त भन्दा मजा आउँथ्यो,” भरत बाल्यकालीन सम्झनाको पोयो फुकाउँछन्, “मामाघर (थेचम्बु) पुगेर फर्किएर आएपछि पनि ममीलाई तपाईंका बुवा, काका यसरी बोल्नुहुन्छ भनेर सुनाउँथेँ । ममी–बुवा मान्छे जिस्काउँदा पाप लाग्छ भन्नुहुन्थ्यो, मलाई त्यसमै मजा थियो ।”

गीतभित्रै मिमिक्री
स्कुल पढ्दा भरतमणि गीत पनि गाउँथे । गीतमै क्यारिकेचर घुसाउँथे । शिवशक्ति फिल्मको ‘मायाले बोलायो...’ गीतको संवादमा उनले बुवा र बच्चा दुवैको क्यारिकेचर घुसाएर दोस्रो भए । दोस्रो हुनुमा भन्दा पनि हँसाउन सकेकोमा उनी सन्तुष्ट भएका थिए । “अरूले गीत गाउँदा सर र साथीहरू रमाउनुभयो । खुसी हुनुभयो । मैले गाउँदाचाहिँ उहाँहरू हाँसेर थप उत्साही भएको देखेर म त्यो बेला दंग परेको थिएँ । कमेडी के हो भन्ने थाहा नभए पनि थोरबहुत चेतचाहिँ त्यो बेला नै रहेछ सायद,” अवचेतन मनप्रति नै अनुगृहीत सुनिए उनी, “मैले मान्छे जिस्काउँदा नै मान्छे हाँस्छन् भने यही नै ठिक र’छ त भन्ने लाग्न थाल्यो । त्यसपछि म कसको नक्कल गर्ने अवलोकन गर्न थालेँ । क्वालिटी त त्यो बेला मैले के दिन्थेँ, तर क्वान्टिटी भने दिएँ ।” 

त्यो बेला उनी धुर्मुस–सुन्तलीको ‘सुपारी जाईको माला...’ गीत नै कपी गरेर स्टेजमा गाउँथे । धुर्मस र माग्ने बूढा (केदार घिमिरे)को ‘मिमिक्री’ गर्थे । ७ कक्षासम्म उनले स्कुलमा हुने कार्यक्रममै आफूलाई सुनाए । ९ कक्षा पढ्दा जिल्ला विकास समितिको कार्यालय ताप्लेजुङमा किरण गुरुङ र उनले कार्यक्रम गरे । स्कुलको चौघेरा नाघेर उनले गरेको पहिलो कार्यक्रम त्यही थियो । त्यसमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, धुर्मुस र माग्ने बूढाको क्यारिकेचर गरेका थिए । 

कक्षा–९ मा पढ्दै गर्दा साथीसँग मनका कुरा चलाउने स्वर्णिमा श्रेष्ठ, कला दाहाल ताप्लेजुङ पुगे । उनीहरूले सडकनाटक गरे । त्यसमा उनले भाग लिए । त्यही साल बीबीसीको टोली पनि सडकनाटक लिएर पुग्यो । त्यसमा पनि उनले भाग लिए । भरतमणिलाई सडकनाटक मात्रै त होइन, योसँगै क्यारिकेचर पनि गर्न सके कलाको दायरा फराकिलो हुन्छ भन्ने लाग्यो । तर पनि भविष्य नै यसमा छ भन्ने न उनले सोचे न कसैले तेरो सुनौलो बाटो यही हो भनेर औँल्याइदिए । 

रेडियो यात्रा
०६७ सालमा एसएलसीको परीक्षा दिए । रेडियो ताप्लेजुङमा रेडियो कार्यक्रम गर्न थाले । गुगलमा रहेका जोक्स खोज्थे । त्यसमा थपघट गर्थे । कार्यक्रम चलाउँथे । पारिश्रमिकले लोभ्यायो । उनी रेडियो तमोर पुगे । त्यहाँ उनले ‘टेनसन फ्री’ नामक कार्यक्रम चलाए । त्यहीँबाट हो, उनको करिअर सुरु भएको । 

एफएमको स्टुडियो काठमाडौंमा थियो । सञ्चालक समिति अध्यक्ष तथा सदस्यहरू यतै बस्थे । बेलाबेलामा ताप्लेजुङ पुग्ने उनीहरूले भरतमणिमा सायद सञ्चारकर्मी भन्दा पनि कलाकार बढी देखेका थिए । त्यसैले अध्यक्ष रमेश बराल भन्थे– मनोज गजुरेल मेरो साथी हो, म भेटाइदिउँला । 

‘सानो धुर्मुस’
धुर्मुसको मिमिक्री गर्ने भएकाले ताप्लेजुङमा भरतमणिलाई ‘सानो धुर्मुस’ भन्थे । तर, केही व्यक्ति जसले उनलाई राम्रो सुझाव दिन्थे, उनीहरू भन्थे– तिमी सेकेन्ड मनोज गजुरेल बन्नुपर्छ । त्यसैले उनका लागि धुर्मुस र मनोजलाई भेट्न पाउनु ठूलो उपलब्धि नै थियो । “हाम्रोजस्तो सुदूरपूर्वी गाउँमा जन्मिएको मान्छेले काठमाडौं र सहरमा ख्याति कमाएर कलाकार तथा ठूला नेतालाई हेर्ने भनेको वर्षमा एक–दुईपटक हुने मेला–महोत्सवमा परबाट त हो,” उनी भन्छन्, “पहिलोपटक मनोज दाइलाई भेट्दा म नर्भस भएँ । रातोपिरो भएँ ।”

बाबु तिम्रो नाम के हो ?

भरमणि पौडेल

यहाँ त डुप्लिकेट भन्छन् त ?

“रेडियो कार्यक्रममा मेरो टाइटल नेम डुप्लिकेट थियो । अहिले पनि उहाँ मलाई बाबु डुब्ली भनेर जिस्काउनुहुन्छ,” भरतमणिले मनोजसँगको पहिलो भेट सुनाए, “ल बाबु, मैले तिम्रो कार्यक्रम सुनिरहेको छु, राम्रो छ । तिम्रो सरहरूले पनि मलाई भनिसक्नुभएको छ । राम्रो गर्नु पछि काठमाडौंमा भेट्नुपर्छ ।” 

काठमाडौं यात्रा
नभन्दै तीन वर्ष काम गरेपछि रेडियो तमोरले काठमाडौंको स्टुडियो पठायो । त्यहाँ उनले मनोज गजुरेलसँग काम गर्ने मौका पाए । मनोजको कार्यक्रम ‘धर्ती आकाश’ रेडियो नेपालमा बज्थ्यो । सानो रोल भरतमणिलाई पनि दिएका थिए । त्यो कार्यक्रमको प्राविधिक काम भरतमणि आफैँ गर्थे ।

त्यहीँ भेट भयो हरिश निरौला (क्रकोज)सँग । उनीमार्फत भद्रगोल टिमसँग भेट भयो । सानोतिनो रोल नै किन नहोस्, उनले त्यहाँ धेरै कुरा सिके । आजपर्यन्त त्यो काम लागिरहेको थियो । 

मनोजले हरेक वर्षको ‘गाईजात्रा’मा अवसर दिए । अलिअलि अवसर नपाएका पनि होइनन् । तर, उनको कलाले लय समाइरहेको थिएन । उनी स्वयंलाई चित्त बुझिरहेको थिएन । पजल नमिलेजस्तो, खुट्टा लरबराएजस्तो । 

“मलाइ कसैसँग गुनासो थिएन । ‘भद्रगोल’मा खेलेकै हो । ‘गोलमाल’मा पनि अभिनय गरेकै हो । मनोज दाइले हरेक वर्ष गाईजात्रामा अवसर दिनुभएकै हो,” उनी भन्छन्, “तर पनि मनमा मलाई बुझेर लिड क्यारेक्टरमा कसैले अवसर दिओस् भन्नेचाहिँ लागिरहेको थियो । तर, त्यो अवसर मैले पाइनँ । सायद मेरो क्षमता नै त्यति थियो ।” 

रेडियोमा काम गर्दा उनी सानोसानो स्टेज कार्यक्रममा हँसाउन जान्थे । ती कार्यक्रमले उनलाई माझ्दै थियो । अनुभवी बनाउँदै थियो । स्क्रिप्ट कसरी लेख्ने उनलाई थाहा थिएन । मात्रै अग्रजको स्टेज पफर्मेन्स हेरेर उनी आफ्नै तरिकाले तयारी गर्थे । पफर्मेन्स गर्थे । उनी आफैँ भन्छन्, “कन्टेन्टमा भने खासै मिहिनेत गर्दिन थिएँ । गुगलबाट टापटिप पा¥यो । त्यसैलाई आफ्नो झैँ बनायो ।” कसैले सिकाएन । उनलाई थाहै थिएन । 

पठाओको योजना र युट्युबर
उनले काम पाए त पाइरहेका थिए, तर राम्रो पहिचान दिने लिड रोलको अपेक्षा थियो, त्यो पाइरहेका थिएनन् । तनाव भयो । र, उनले निर्णय गरे– एक वर्ष विदेश नगएर रातमा पठाओ चलाउँछु, दिनमा अझै कलाकारितामै राम्रो अवसरका लागि संघर्ष गर्छु ।

“सल्लाह दिने त पाइलापाइलामा भेटिन्थे । तर, मेरो अन्तरहृदयको चाहना बुझेर सहयोग गर्ने निकै कम थिए । ती कममध्येका दुई व्यक्ति हुनुहुन्थ्यो, मनोज गजुरेल र हरिश निरौला । उहाँहरूले गर्ने सहयोग त उहाँहरूले गरिसक्नुभएको थियो,” भरतमणि भन्छन्, “मनोज दाइ जे समस्या परे पनि मलाई धक नमानी भन भन्नुहुन्थ्यो । तर, म मेरो व्यक्तिगत समस्या लिएर कसरी जाऊँ ? आफैँलाई अप्ठ्यारो लाग्थ्यो । घरभाडा तिर्न सकिनँ भनेर कसरी दुःख देखाउन जान सक्थेँ र ?”

कलाकार बन्नु थियो । त्यसका लागि काठमाडौंमै बसेर संघर्ष गर्नु थियो । तर, यसका लागि बिहान–बेलुकाको छाक टार्नुपर्थ्यो । महिना मरेपछि घरधनीलाई भाडा बुझाउनुपर्थ्यो । यसका लागि चाहिन्थ्यो पैसा । त्यो उनले रेडियोमा गरेको कामले धान्दैन थियो । त्यसैले उनले सुरु गरेका थिए, युट्युब च्यानल । त्यसमा उनी कलाकारको अन्तर्वार्ता लिन्थे । नयाँनयाँ ठाउँ र विषयको भिडियो खिच्थे । “तर, मैले कुनै काण्ड खिचिनँ । श्रीमान्/श्रीमतीको घरझगडा खिचेर छरपस्ट पारिनँ,” भरत सुरुमै टकटकिए, “जति समय मैले युट्युबर भएर काम गरेँ, मैले मेरो धर्म छोडिनँ । सकेसम्म स्ट्यान्डर्ड काम गर्ने प्रयत्न गरेँ ।” 

कमेडी च्याम्पियन सिजन–१
‘कमेडी च्याम्पियन तिमीहरूकै लागि हो भाग लिनू है’ मनोज गजुरेलले भरतमणिलाई भनेका थिए । उनलाई पनि मनासिब नै लागेको थियो । सुमन कोइराला (दले दाइ)लाई त उनले पटक–पटक जानुपर्छ है भनेर आफैँले भनेका थिए । डिजिटल अडिसन पनि दिए । छनोट भएको खबर आयो । 

सुमनले फोन गरे– आज फिजिकल अडिसन छ, जानुपर्छ आऊ है । फोन आउँदा भरतमणि ललितपुरको लेलेमा भिडियो खिच्न पुगेका थिए । नफर्किऊँ, फिजिकल अडिसन छुट्छ, फर्किऊँ त सम्भावना देखेको भिडियो छुट्छ । उनले सोचे– घरभाडा तिर्नुछ । चुलोमा आगो बाल्नुछ । यसका लागि अहिले मेरो प्राथमिकता भिडियो नै हो ।

“यो सिजन म जान सकिनँ । तिमीहरू (सुमन कार्की र सुमन कोइराला)लाई शुभकामना छ,” पहिलो सिजनको कमेडी च्याम्पियनमा सहभागी हुन नसक्नुको कारण कहन्छन् भरतमणि । 

पछि उनले हरेक शृंखला हेरे । उनलाई लाग्थ्यो– म पनि जान पाएको भए ? मजस्तै साथीहरूले आफ्नो कला देखाइरहँदा म पनि देखाइरहेको हुने थिएँ । छुटेँ ।

भरतमणि त्यही बेलादेखि दोस्रो सिजनको तयारीमा लागे । स्क्रिप्ट लेख्न थाले । कन्टेन्टको जोहो गर्न थाले । स्क्रिप्ट लेख्न सिक्न थाले । यसमा सुमन कोइरालाले उनलाई निकै सहयोग गरे । 

तर, जरुरत थियो पैसाको । भोलिभन्दा पनि आजै उनलाई पैसाको खाँचो थियो । त्यसैले पैसाका लागि उनले पठाओ चलाउने अन्तिम तयारी गरिरहेका थिए । कमेडी च्याम्पियनमा जाँदा के हुन्छ ? उनलाई संशय थियो । 

र, कमेडी च्याम्पियन सिजन–२
सुमन कोइरालाले भने, “दाइ, तपाईंले मलाई जसरी सिजन–१ मा जान ढिपी गर्नुभयो, त्यस्तै जिद्धी म गर्दै छु । केही त हुन्छ हुन्छ एकपटक ट्राइ गनुपर्छ ।” 

मनमा डर थियो । कमेडी च्याम्पियनमा त जाउँला, तर केही गर्न सकिएन भने ? यो प्रश्नले लखेटिरहन्थ्यो । “कलाकार बन्न भनेर सात वर्षदेखि काठमाडौं बसेको छ, हँसाउँछु भनेर बेलाबेलामा स्टेज समेत चढ्थिस्, टेलिभिजनमा त देखियो त तेरो हैसियत भनेर साथीभाइले नै भन्ने अवस्था आयो भने त पत्तासाफ भइन्छ त भन्ने मनमा डर पनि थियो,” मनको त्रास सुनाउँछन् भरतमणि । तर पनि सुमनको कर र आफैँमा रहेको केही हुन्छ कि भन्ने गुप्त अपेक्षाले सहभागी भए उनी । 

कमेडी च्याम्पियनमा सहभागी हुँदा उनले टप १५ सम्मका तीन सेटको स्क्रिप्ट लेखिसकेका थिए । जसलाई पछि ‘पोलिस’ मात्रै गरिएको थियो ।

अडिसन दिँदा उनी निकै धेरै डराएका थिए । कारण, आउट भएँ भने बेइज्जत हुन्छ भन्ने पिरले सताएको थियो । अर्कोतर्फ, हँसाउन सकिनँ भने पनि बेइज्जत हुन्छ भन्ने तनावले गाँजेको थियो । त्योभन्दा पनि ठूलो समस्या सँगै काम गरेका मनोजका अगाडि पफर्म कसरी गर्ने होला भन्ने कुराले नर्भस थिए । 

त्यो डर
जब पहिलो दिन उनी सेटमा पुगेका मात्रै के थिए, सन्तोष पन्तले सोधे– के छ बाबु ? 
भरतमणिको होस उड्यो, के भन्ने–भन्ने, ‘ठिकै छ हजुर’ भने ।
कपाल किन पालेको पारस बन्न हो ? 
हुन त त्यसकै लागि थियो । कसरी थाहा भएछ, हो भन्ने कि होइन ! बिलखबन्दमा परे । अहिले किन स्रिकेट खोलौँ, त्यसैले झट्टै भने ‘होइन’ । 
सिरयल किन छोडेको ?
जवाफ दिए । 
पानी खाने ?
मन त थियो, तर नर्भस थिए, ‘खान्नँ’  भने । 
ल स्टार्ट गर ।
सुरु त गरे । तर, सुरु मात्रै के गरेका थिए, बिर्सिए । आत्तिएर उल्टोपाल्टो पारेरै भए पनि उठाए । 
त्यति बेला उनको मनमा खेलिरहेको थियो, आजै हो मेरो जिन्दगीको निर्णायक दिन । 
जब पफर्मेन्स सकिएपछि प्रदीप भट्टराईले कमेन्ट गरे, बल्ल उनले आनन्दको सास फेर्दै लख काटे, टप २० मा चाहिँ पुगिन्छ कि क्यो हो !

टप २० मा छनोट भए । त्यसपछि उनलाई आत्मबल बढ्यो । चारजनाका अगाडि मात्रै हँसाउन उनलाई कठिन लाग्छ । जब अडियन्सका अगाडि पफर्मेन्स सुरु भयो, उनको आत्मबल र पफर्मेन्सको पारो चढ्दै गयो । आउट नै भए पनि लज्जास्पद छवि बोकेर बाहिरिन्नँ भन्ने दृढता बढ्यो । 

पहिलो दिनको भिडियो जब उनका चिनेजानेकाले देखे, उनलाई सम्झाए, ‘तँ यस्तो मान्छे त होइन, किन डराइस् ? डराउनु हुन्न । सबै चिज थियो, जोक्स थियो । पञ्चलाइन थियो र पनि किन हार्दै छस् तँ ?’ सुमन, क्रक्रोज र सुबोध गौतमले आडभरोसा दिए । जितु नेपाल र दीपाश्री निरौलाले सम्झाए । त्यसले पनि उनमा ऊर्जा थपिदियो । 

२४ मा बेरोजगारको कन्टेन्ट थियो । त्यसमा अधिकांश आफ्नै जिन्दगीका अनुभव थिए । पुण्य गौतम र हिमेश पन्तको क्यारिकेचर गरेका थिए । एक हप्ता त्यसले भरतमणिलाई ‘क्लिक’ गराइदियो ।

घरधनीको सेटमा भरतमणिले गोकुल बाँस्कोटाको क्यारिकेचर गरे । त्यसले बेरोजगारको सेटलाई ओझेल पारिदियो । च्याम्पियनको सेट भरतमणिलाई फाप्दै गइरहेको थियो । त्यसपछि उनलाई लाग्न थालेको थियो– विशाल भण्डारी (कमेडी च्याम्पियन शो निर्देशक)ले यो प्लेटफर्म त हाम्रै लागि पो सिर्जना गरिदिएका रहेछन् । 

अनि, भए विजेता
त्यही बेला उनले लामै समय तयारी गरेको कन्टेन्टको पालो आयो, पूर्वयुवराज पारसको क्यारिकेचरसहितको गेटअप र लवजमा हुबहु उत्रिए ।

पूर्वयुवराज पारस विनाअभिमान आम नागरिकसरह स्वतन्त्र भएर घुमिरहेका थिए । विनाअभिमानको उनको व्यवहार र सरलपनले भरतमणिको ध्यान पहिले नै खिचिसकेको थियो । 

त्यसैले उनले पारसलाई ‘फलो’ गरेका थिए । तस्बिर र भिडियोहरू हेरेका थिए । गेटअप र स्टाइल नियालेका थिए । कस्तो लुगा लगाउँछन्, कसरी बोल्छन्, हिँड्ने तरिका कस्तो छ, उनले मिहिन अध्ययन गरिसकेका थिए । 

त्यही समय कोरोनाभाइरसले संसारभर फणा फिजायो । विश्व लकडाउनमा प्रवेश गर्यो । नेपाल पनि अछुतो रहेन । त्यो लकडाउनमा भरतमणि सुमन कोइरालासँग उनकै कोठामा बसेका थिए । 

सुमनको कोठामा आएपछि उनले पारसका बारेमा थप ‘रिसर्च’ गरे । सुमनले ‘लुक्स पनि झन्डैझन्डै मिल्छ, हाइट पनि मिल्छ, क्यारिकेचर गर्न आइहाल्छ, एकपटक ट्राइ गर्दा हुन्छ’ भने । सुमनले आफूलाई पारसको क्यारिकेचर गर्न प्रेरित गरेको भरतमणि सुनाउँछन्, “सुमनले भनेपछि मैले ट्राइ गरेँ । मलाई पनि हल्काहल्का मिलेजस्तो लाग्यो । सुमन हाँसेपछि मलाई पनि हौसला भयो, राम्रै हुन्छ कि क्या हो भन्ने भएपछि यसलाई कुनै न कुनै दिन गर्छु भन्ने भयो ।” 

त्यसपछि भरतमणि र सुमनले सल्लाह गरे– राम्रोसँग गर्यो र पूर्वयुवराजलाई सम्मान गर्दै कन्टेन्टमा खेल्न सक्यो भने राम्रै्र होला । त्यसपछि अठोट गरे– ल, म पारसको क्यारिकेचर गर्छु । त्यसपछि थप सूक्ष्म  अध्ययन गर्न थाले । र, कपाल पाल्न थाले ।

“म कहिले पनि कपाल पाल्दिन थिएँ । पूर्वयुवराजको क्यारिकेचर गर्न नै मैले डेढ वर्ष अगाडिदेखि कपाल पाल्न सुरु गरेको हो । मिहिनेत गरेर क्यारिकेचर गर्ने भएपछि नक्कली कपाल किन प्रयोग गर्नु भनेर पाल्न थालेको थिएँ,” नोस्टाल्जिक हुन्छन् भरतमणि, “कपाल लामो हुँदै गएपछि कालो चस्मा किनेर ल्याएर ऐना हेर्न थालेको थिएँ । अलिअलि लुक्स मिल्न थालेपछि आफैँलाई पनि रमाइलो लाग्न थालेको थियो । त्यसपछि कालो कुर्ता पनि किनेँ ।”

गाईजात्रामा मनोज गजुरेलसँग उनले यो क्यारिकेचरको प्रस्ताव पनि गरे । मनोजले स्ट्यान्डअप नै गर्न सुझाए । उनलाई सुझाव शिरोधार्य थियो । माने । 
 
“त्यसपछि मलाई पनि लाग्यो– गाईजात्रा होइन, कुनै ठूलो प्लेटफर्ममा गएँ भने यो क्यारेक्टर गर्छु । यदि, कमेडी च्याम्पियन गएँ भने पनि त्यहीँ गर्छु । र, त्यो बेलादेखि साँचेर राखेँ पारसको क्यारेक्टर,” भरतमणि केही अगाडि फर्किएर आफ्ना कुरा सुनाउँछन् । 

कमेडी च्याम्पियनको मञ्चबाट कुन बेला को आउट हुन्छ, थाहा थिएन । त्यसैले भरतमणिलाई पारसको क्यारिकेचरचाहिँ गरिहाल्नुपर्छ भन्ने लागेको थियो । तर, कहाँ पाउनु ! २४औँ शृंखलामा बेरोजगार र १५औँमा घरधनीको आफैँले रोजेको विषयबाहेक निर्माण पक्षले दिएको विषयमा गर्नुपर्थ्यो । तर, जब यी दुवै प्रस्तुति रुचाइए, भरतमणिलाई लाग्यो– आफैँले रोजेको विषयमा पनि राम्रै गर्न सक्छु कि क्या हो !

उत्कृष्ट पाँचमा पुगे । अब विषयको बन्धन थिएन । विषय छनोटका हिसाबले भरतमणि फुक्काफाल भए, ठ्याक्कै पूर्वयुवराज पारसजस्तै ! त्यसैले उनले रोजे, साँचेर राखेको पारसको क्यारेक्टर । त्यही क्यारेक्टरबाट उनले वाहवाही पाए । लोकप्रियताको पारो उकालियो । ‘लाफ्टर’ प्रस्तुति दिँदै गए । कहिल्यै नचिनेका, नभेटकाले उनलाई म्यासेज र फोन गर्थे । उनलाई लाग्थ्यो– हैन, खत्रै गर्दै छु कि क्यो हो, मै हुँ कि क्या हो सबैभन्दा खतरा, जित्छु कि क्या हो ! 

तर, उनले थुप्रै सेलिब्रिटीको जीवन नजिकबाट देखेका थिए । वाहवाही त दुई दिनको क्षणिक हुन्छ भन्ने देखेका थिए । आज मात्तिएको मान्छे भोलि नै पछारिएको उनले आफ्नै आँखाले देखेका थिए । त्यसैले भरतमणि सम्हालिन्थे र सोच्थे– यसलाई निरन्तरता दिन सके मात्रै यो वाहवाही रहन्छ, नत्र धरातल यही हो । 

“हारिसकेको मान्छे म किन हौसिन्थेँ । अझै त संघर्ष नै गरिरहेको छु,” धरातल बिर्सिए दर्शक–स्रोताले पनि दुई दिनमै बिर्सिने निष्कर्ष निकालेर हिँडिरहेका उनी सुनाउँछन्, “म वास्तवमा विनर हो । तर, यो फिल जित्दा, अवार्ड थाप्दा स्टेजमा मात्रै भयो । जितिसकेपछि पनि भएन । अहिले त झन् चुनौती छ । त्यस्तै लाफ्टर कन्टेन्ट र पफर्मेन्स कसरी दिन भन्ने कुराले विनरको अभिमान बिर्साइदिँदो रहेछ ।”

अन्त्यमा : अफर, अभिनय र रहर
कमेडी च्याम्पियन सिजन–२ जिते । म्युजिक भिडियोबाट थुप्रै अफर आए । तर, उनलाई लाग्यो– मैले यो जान्दै नजानेको काम कसरी गर्ने ? त्यसैले विनम्र भएरै भने, ‘सक्दिन होला’ । 

चलचित्रबाट अफरहरू आए । जुन अपेक्षा राखेर उनलाई अफर गरियो, त्यो अफरका लागि आफू योग्य नरहेको उनी बताउँछन् । “अभिनय गर्न मैले कहाँ जानेको छु र ? स्टेजमा उभिएर हँसाएको मात्रै हो । त्यो अभिनय होइन,” भरतमणि आफ्नो क्षमताको मूल्यांकन गर्छन्, “मलाई चलचित्र खेल्ने रहर छ र खेल्छु पनि, तर अभिनय सिकेर मात्रै । त्यसैले अभिनय सिक्न थिएटर जाने तयारीमा छु ।” 

उनलाई भिलेन भएर चलचित्रको पर्दामा देखिने रहर छ । त्यही भएर हो कपाल नकाटेको ? कुराकाकानी बिट मार्दै राखेको अन्तिम जिज्ञासामा उनले भने, “हा...हा...हा... होइन । पूर्वयुवराजको क्यारेक्टरका लागि पहिलोपटक कपाल पालेको थिएँ । अहिले त काट्न माया लाग्न थालेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro