site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कास्कीमा सफल देउवा समूहको ‘फ्राइडे नाइट स्टार्टेजी’
किशोरदत्त बराल । फाइल तस्बिर ।
SkywellSkywell

पोखरा । नेपाली कांग्रेस कास्की जिल्ला सभापतिको मतदान दोस्रो चरणमा जाँदै गर्दा शनिबार मतदानस्थल नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा एउटा विज्ञप्ति फोटोकपी गरेर मतदातालाई वितरण गरियो । त्यसमा लेखिएको सार थियो, “सभापतिका तीन उमेदवार आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतमले दोस्रो चरणको चुनावमा अर्का प्रत्यासी उमेदवार सुदीपमोहन भट्टराईलाई समर्थन गरेका छौँ । तसर्थ, मतदाताहरूले भट्टराईलाई मतदान गरी विजयी गराइदिनुहुन अनुरोध छ ।”

यो बाँड्नुभन्दा अघिल्लो दिन शुक्रबार कास्की सभापतिमा पाँचजना प्रत्यासीबीच प्रतिस्पर्धा भएको थियो । उक्त मतदानको गणना हुँदा ६४४ मतका साथ किशोरदत्त बराल पहिलो स्थानमा आए भने भट्टराई ४७२ मतका साथ दोस्रो स्थानमा रहे । त्यसपछि क्रमशः गुरुङले ४६२, शर्माले ३३५ र गौतमले ६३ मत ल्याएका थिए ।

कांग्रेसको विधानानुसार जिल्ला सभापति हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर, पहिलो चरणमा कसैको पनि उक्त वैधानिक व्यवस्थाअनुरूपको मत नआएका कारण शनिबार पुनः मतदान भयो । सोही क्रममा तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका सभापतिका उमेदवारले भट्टराईलाई समर्थन गर्दै मतदानको अपिलपत्र मतदातामा बाँडे ।

Dabur Nepal
NIC Asia

त्यो पत्र वितरणकै कारण केही बेर मतदानस्थल नयाँबजारमा होहल्ला समेत हुन पुग्यो । शनिबार साँझ सकिएको मतदानको नतिजा आइतबार बिहानै आयो । बराल ९९५ मत ल्याएर सभापति बने । प्रत्यासी भट्टराईले ८० मत कम अर्थात् ९१५ मत ल्याए ।

भट्टराईलाई किन हराउन चाहन्थे बाँकी उमेदवार ?
कांग्रेस कास्कीमा देउवा समूहबाट सभापति बन्ने बराल नै पहिलो व्यक्ति (प्रजातान्त्रिकबाहेक) हुन् । कास्की यसै पनि देउवाइतर त्यसमा पनि पौडेल समूहको पकड क्षेत्रको रूपमा लामो समयसम्म कायम रह्यो । अहिले पनि बरालबाहेकका सबै उमेदवार देउवाइतरकै समूहका हुन् ।

कतिपयको विश्लेषण थियो कि ‘पहिलो चरणमा नै बराललाई तेस्रो स्थानमा लैजान सकिन्छ ।’ तर, मतदाताको नजरमा बौद्धिक उमेदवारको उपमा पाएका बराल पहिलो स्थानमा आए ।

कास्कीमा देउवाइतरमा कांग्रेसका हस्तीहरू छन् । शुक्रराज शर्मा, देवराज चालिसेदेखि यज्ञबहादुर थापा, जिल्ला सभापति कृष्ण केसीलगायत सबै नेता संस्थापनइतरमा छन् । तर, यी सबै नेताको तालमेल जिल्लामा पहिलो चरणको निर्वाचनमा भएन र सबैले व्यक्तिगत स्वार्थ र समर्थनमा उमेदवारहरूलाई उठाए ।

दोस्रो चरणको चुनावमा गएता पनि संस्थापनइतरकै सभापति आउने उनीहरूको आकलन थियो । तर, त्यसमा उनीहरू गलत साबित भए ।

त्यही उपक्रममा पराजित उमेदवारको समर्थन रहेको भनेर बाँडिएको पत्रले पनि कतिपय मतदाता चिढिन पुगे । आन्तरिक चुनावमा गुटबन्दी गरेको भन्दै सामाजिक सञ्जालमा उक्त पत्रको इतरकै कार्यकर्ताले समेत चर्को आलोचना गरे ।

युवराज पौडेलले सामाजिक सञ्जालमा लेखे, “कास्कीमा किशोर दाइलाई हराउन भएको यस्तो काइते खेल पनि किशोर दाइको प्रभावशाली व्यक्तित्वका अगाडि विफल भयो । किशोर दाइ सच्चा कांग्रेस सिपाही हो भन्ने कुरा अब त बुझे कि ?”

तुलसी प्रभास नामका व्यक्तिले लेखे, “अब जनता कसैको दास छैनन् । योग्य व्यक्तिलाई कस्केली जनताले राम्ररी चिने ।”

बराललाई देउवा समूहको ‘ट्याग’ लगाइसकेपछि उनले पहिलो चरणमा पाएको ६४४ मत नै संस्थापन पक्षको वास्तविक भोट भनेर विश्लेषणसमेत भयो । अब बराललाई चुनाव जित्नका लागि कम्तीमा ४०० मतको आवश्यकता थियो । उता, इतरको समूहमा भने भट्टराईलाई बाँकी तीन उमेदवारलाई मतदान गरेका मतदाताले मतदान गरेको खण्डमा विजय सुनिश्चित थियो ।

खासगरी संस्थापन ‘भर्सेस’ इतरको चुनाव दोस्रो चरणमा देखियो । कास्कीमा सभापति शेरबहादुर देउवानिकट नेताहरू पनि सक्रिय हुन थाले । इतरका नेताहरूको त गठबन्धन नै बन्यो ।

शुक्रबारको मतपरिणाम आउनासाथ कास्कीबाट प्रदेशस्तरमा चुनाव लड्ने नेतासँगको वार्ता देउवा समूहका नेताहरूले गर्न थाले । कास्कीबाट निवर्तमान सभापति कृष्ण केसी महामन्त्री, शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी हुन् ।

वार्ताको केन्द्र प्रदेशमा आफूहरूले सघाउने तर जिल्लामा बराललाई सभापति बनाउनका लागि कार्यकर्तालाई आग्रह गर्ने विषयमा केन्द्रित रह्यो । गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सक्रियता बढाए । खेमराज पौडेललगायत नेताहरू पहिलेदेखि नै खुलेर लागेका थिए ।

सभापतिका तीनै दाबेदार, महामन्त्रीका दाबेदारसँग छुट्टाछुट्टै भेटवार्ता गरेता पनि उनीहरू टसमस भएनन् । कास्कीका प्रभावशाली नेता शुक्रराज शर्मादेखि यज्ञबहादुर थापा, कृष्ण केसी सबै सुदीपमोहन भट्टराईलाई नै जिताउने अभियानमा केन्द्रित भए ।

यी नेताहरूको साथ नपाएपछि मन्त्री थापालगायत नेताहरूले जिल्लामा अन्य पदका पदाधिकारीसँग सम्पर्क बढाए । विभिन्न इकाइ सभापतिहरूसँग पनि भोलिको राजनीतिक करियर हेर्नका लागि भन्दै ‘लबिङ’ अगाडि बढ्यो । जिल्लामा सभापतिबाहेक अन्य पदका पदाधिकारीहरूले पनि भित्री रूपमा ‘ग्रिन सिग्नल’ दिए । स्वतन्त्रजस्ता देखिएका मतदाता र प्रभाव राख्ने दोस्रो तहका नेताहरूसँगको छुट्टाछुट्टै भेटघाटमा शुक्रबार राति र शनिबार बिहानसम्मै थापा समूहका नेता व्यस्त भए । त्यही सक्रियता शनिबारको मतगणनामा देखियो । बरालले ३५१ मत बढाउन सफल भए ।

अर्कातर्फ, शनिबारको मतगणनामा मत पनि कम खस्यो । कुल दुई हजार ८८ क्षेत्रीय प्रतिनिधि भएता पनि शनिबार एक हजार ९२६ मात्र मत खस्यो । उक्त मतको गणनामा किशोर बराल ८० मतले विजयी भए । विजयी मात्र भएनन्, कास्कीमा देउवा समूहको उदय भएको पनि सन्देश दिए ।

यद्यपि, उनको शिक्षण पृष्ठभूमिले पनि उनलाई चिनजान र व्यक्तित्वका कारण कार्यकर्ताले विश्वास गरे । देउवा समूहका भनिएता पनि बरालले गुट मात्रै भनेर मत नमागेको कास्कीकै नेता–कार्यकर्ता बताउँछन् ।

सभापति हुनुपूर्व नै बरालले ‘नेपाली कांग्रेसको रूपान्तरणका सूत्रहरू’ पुस्तक सार्वजनिक गरेका थिए । त्यसमा उनले कांग्रेसमा ०४८ सालदेखि देखिएको बेथिति अन्त्य गर्न आवश्यक रहेको, यसका लागि वैचारिक हिसाबले खारिएको र व्यावहारिक हिसाबले सच्चिएको नेतृत्वले वडादेखि केन्द्रसम्म हस्तक्षेप गर्नुपर्ने आवश्यकता रहेको, सपना र प्रतिबद्धताविनाको नेतृत्वले गर्दा पार्टी पार्टीजस्तो नबनेको र व्यक्तिवादी चरित्र मौलाउँदै गएको उल्लेख गरेका छन् । त्यसैलाई सुधार्नुपर्ने एजेन्डा लिएर उनी सभापतिको उमेदवार बनेका थिए ।

०७४ को प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपातिकको मतान्तर हेर्दा नेकपा (एमाले)भन्दा कांग्रेस ४५ हजार मतान्तरले पछाडि थियो । त्योमध्ये २१ हजारको अन्तर कास्कीमा मात्र थियो ।

कमजोर देखिएको कास्की कांग्रेसलाई अब कसरी अगाडि बढाउनुहुन्छ भन्ने प्रश्नमा उनले भने, “त्यो अन्तर देखिएको छ, अब पार्टी संगठन, संगठनभित्रका विङ्सहरूलाई सक्रिय बनाउने हो । विश्वास जगाउने हो । फरक तरिकाले लैजानको लागि आगामी निर्वाचनमा कांग्रेसलाई गाउँसँग जोड्नुपर्छ भन्ने मेरो एजेन्डा हो ।”

उनले ग्रामीण उद्यमशीलतालाई जोड दिने बताए । गाउँमा कस्तो खालको स्रोत हुन्छ, त्यसलाई नै उद्यमसँग जोड्ने उनले बताए ।

उनले आफूले व्यक्तिगत स्वार्थ नराखेकै कारण मतदाताले जिताएको बताए । कांग्रेसको राम्रो बाटोमा आफू लाग्ने हुँदा सबै नेता–कार्यकर्ताहरूको समर्थन आफूलाई आउने विश्वास उनले व्यक्त गरे ।

“कांग्रेसलाई राम्रो बनाउने कुरामा कसैले विरोध नै गर्दैन, एउटा राम्रो एजेन्डा लिएर हिँडेपछि सबैको सहमति आउँछ नै,” उनले भने, “मैले पनि त्यो वातावरण मिलाउँछु ।”

चुनावका बेला आफूले कास्कीका सबै नेताहरूसँग परामर्श गरेर नै उमेदवारी दिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu