site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विवादित रास्वपा सांसद डा. श्रेष्ठका दुई काण्ड : पार्टीबाट निलम्बन, पद धरापमा

पोखरा । गएको पुस ११ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी भए । नेकपा (एमाले) नेतृत्वको तत्कालीन सातदलीय गठबन्धनको सरकार निर्माणमा रास्वपा पनि एक महत्त्वपूर्ण शक्ति थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको गृहकार्य अघि बढाइयो । त्यसक्रममा रास्वपाबाट मन्त्रीका आकांक्षीमध्ये एक थिए, डा. ढाकाकुमार श्रेष्ठ ।

रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि दाबी गरेको थियो । सांसदत्रय डा. तोसिमा कार्की, डा. चन्दा कार्की भण्डारी र डा. श्रेष्ठले भूगोलदेखि समावेशितासम्मको पृष्ठभूमि भन्दै मन्त्रीका लागि पहल थालेका थिए । मन्त्रीका लागि ‘लबिइङ’कै क्रममा रहेका बेला डा. श्रेष्ठ संलग्न कास्कीको एक सहकारी आर्थिक हिनामिनामा मुछिन पुग्यो ।

Dabur Nepal
NIC Asia

सहकारीमा लाखौँ रुपैयाँ राखेका बचतकर्ताले उजुरी दिएपछि घटना बाहिरिएको थियो । बचतकर्ताले पोखरा महानगरपालिकाको सहकारी महाशाखामा उजुरी दिएका थिए । त्यति बेला सांसद श्रेष्ठ स्वास्थ्यमन्त्री बन्नका लागि काठमाडौंमा लबिइङ गरिरहेका थिए ।

घटनापछि रातारात पोखरा आएर उनले पत्रकार सम्मेलन गरे । आफूलाई फसाउन खोजिएको सन्देश दिएर घटना सामसुम पार्न खोजे । पत्रकार सम्मेलनमै उनले सहकारीमा समस्या रहेको भने स्वीकार गरेका थिए ।

सांसद हुनुअघिसम्म खासै चर्चामा नरहेका श्रेष्ठले केही वर्ष पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका थिए । निजी क्लिनिक पनि चलाउँथे । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि उनी त्यसको गण्डकी प्रदेश सभापति बने । जिल्लामा संगठन पनि बनाए । रास्वपाको सबैभन्दा बढी संगठन गण्डकीमा नै बनेको जस लिँदै उनी आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद बन्न पुगे ।

आमनिर्वाचन हुनुभन्दा एक महिनाअघि मात्र सहकारी छाडेका श्रेष्ठमाथि पनि आर्थिक हिसाबकिताब नबुझाएको आरोप लागेको थियो । सहकारी प्रकरणमा मुछिएपछि विवादित बनेका उनी मन्त्री बन्न पाएनन् । स्वास्थ्य राज्यमन्त्रीमा रास्वपाले डा. कार्कीलाई पठायो ।

नागरिकता प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको सांसद पद खारेज भयो । उपप्रधान एवं गृहमन्त्री पद पनि स्वतः गयो । पार्टी सभापतिको सांसद पद सर्वोच्च अदालतले नागरिकता विवादका कारण खारेज गरिदिएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गर्‍यो । समर्थन कायम राख्यो ।

यता, राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा एमाले सत्ताबाट प्रतिपक्षमा पुग्यो । नेपाली कांग्रेससहितको नयाँ गठबन्धन बन्यो । रास्वपाले नयाँ गठबन्धन अँगाल्यो । प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दियो ।

त्यसपछि उपनिर्वाचनप्रश्चात् प्रचण्ड सरकारमा पुनः सहभागी हुने विषयमा पार्टीभित्र छलफल भइरहेको थियो । उनै श्रेष्ठ पुनः मन्त्रीका लागि लबिइङ गर्दै थिए । सहकारी प्रकरण मत्थर भइसकेका कारण स्वास्थ्यमन्त्री बन्नका लागि उनी पार्टीदेखि बाहिरी व्यक्तिसँग समेत छलफलमा थिए । यहीबीच अघिल्लैपटक आफू स्वास्थ्यमन्त्री बन्ने भनेर उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ‘डिल’ गरेको अडियो बाहिरिएको छ ।

त्यही रेकर्ड बाहिरिँदा आइतबार रास्वपाले उनलाई एक हप्ताका लागि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरेको छ । घटना पुष्टि भए उनको सांसद पद पनि निलम्बन हुनसक्छ । रास्वपाले घटनाको छानबिन गर्न समिति गठन गर्ने जनाएको छ ।

विवादित व्यवसायीसँग साढे दुई करोड रुपैयाँ माग्दा उनको छवि त विवादित बन्यो नै, मन्त्रीमोहको ‘च्याप्टर’ पनि करिब ‘क्लोज’ भएको छ ।

सार्वजनिक भएको उक्त अडियोमा मन्त्री बन्ने भए साढे दुई करोड बुझाउन पार्टी सभापति लामिछानेले भनेको उनले प्रसाईंलाई बताएका छन् । “त्यहाँ दुई/तीनजना हुनुहुन्छ, पार्टीलाई, रवि (सभापति रवि लामिछाने)लाई सुरुदेखि नै सहयोग गर्ने मान्छे, त्यही टिमबाट मलाई कुरा आएको हो । अब आज मैले फिक्स्ड गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि । साढे दुई (करोड) भन्या छन् । आज मैले एक (करोड) दिएँ भने मान्छन् । अरू पछि चेक दियो भने हुन्छ,” अडियोमा श्रेष्ठले भनेका छन् ।

आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । तत्काल एक करोड दिए पनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको उनले प्रसाईंलाई सुनाएका छन् ।

प्रसाईंले श्रेष्ठलाई भनेका छन्, “तपाईं अगाडि बढ्नुस् । तर, दुई करोड दिएपछि तोसिमा कार्कीले लडाइँ त गर्दिनन् नि ? तोसिमाले पैसाका बारेमा कुरा पनि गर्न सक्दिनन् । उनले आफूलाई गोविन्द केसीको मानिस भनेकी छन् । उनले कहीँ कतै कुरै गर्न मिल्दैन ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro