site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवासँग दीपकराज जोशीको संवाद : अब तनहुँमा के गर्लान् गोविन्दराज ?

पोखरा । तनहुँ–१ उपनिर्वाचनले देशकै ध्यान केन्द्रित गरिरहेको सन्दर्भमा कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

तनहुँको निर्वाचनमा ‘जोशी फ्याक्टर’ निर्णायक छ । गत मंसिरको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएका गोविन्दराजले यहाँ तेस्रो बढी मत पाएका थिए । 

तनहुँ–१ बाट निर्वाचित भएका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत पाएका थिए । एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत पाउँदा जोशीले ६ हजार ८८६ मत ल्याएका थिए । 

चुनाव जितेपछि रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि यहाँ उपचुनाव हुन लागेको हो ।

उपचुनावमा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्लेसहित ९ जना उमेदवार छन् । निर्वाचनका मुख्य प्रतिष्पधी यी तीनजना उमेदवार नै हुन् ।

Global Ime bank

यी तीनजनाबीच मुख्य रूपमा प्रतिष्पर्धा भइरहँदा यसपटकको उपनिर्वाचनमा गोविन्दराज आफैँ उमेदवार भने बनेनन् । हालसम्म उनी तटस्थ नै छन् । उनी तटस्थ बसेपनि उनको समूहले एकजनाको मात्रै पक्ष लिँदा यहाँको निर्वाचनमा कसले बाजी मार्छ, भन्न सकिँदैन ।

जोशी समूहको यही शक्ति बुझेर नै सबै उमेदवारले उनलाई आफ्ना पक्षमा पार्ने कसरत गरिरहेका छन् । जोशीलाई आफ्नो पक्षमा पार्ने कसरतमा उनको पुरानो पार्टी कांग्रेस पनि उत्तिकै लागिरहेको छ ।

चुनाव नै प्रभाव पार्न सक्ने शक्ति देखेपछि कांग्रेसले मनोनयन दर्ताको मुखैमा जोशीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरिसकेको छ । ०७४ को निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि जोशीले रामचन्द्र पौडेलविरुद्ध बागी उमेदवारी दिएका थिए । जोशीको उमेदवारीविरुद्ध पौडेल निर्वाचन आयोगमा उजुरी दिए । आयोगले जोशीको उमेदवारी खारेज गरिदियो भने पार्टीले निलम्बन गर्ने निर्णय गर्‍यो ।

तर, निलम्बन गरी कारबाही गरेको पत्र आफूले नपाएको जोशीको दाबी छ । पाँच वर्षअघि गरेको निलम्बन अहिले फुकुवा गर्दा जोशी समूहले खण्डन गर्दै चुनावी रणनीतिमात्रै रहेको बताएको छ । गोविन्दाजका छोरा दीपकराजले प्याकेजमा डिल नगरिकिन पार्टीमा नफर्किने बताएपछि उमेदवारी दर्ताका क्रममा तनहुँमा नै रहेका कांग्रेस महामन्त्रीले उनीसँग वार्ता गरेका थिए ।

महामन्त्री थापासँग संवादको क्रममा दीपकले आफ्ना सर्तहरू सुनाएका थिए । त्यहाँ उनले 'प्याकेजमा डिल भए कांग्रेसलाई सघाउन र पार्टीमा फर्किन कुनै समस्या नरहेको' सन्देश महामन्त्री थापामार्फत कांग्रेसलाई सुनाए ।

त्यही ‘प्याकेज डिल’ दीपकले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासामु राखेका छन् । गोविन्दराज र देउवाको सम्बन्ध पुरानो हो । त्यही सम्बन्धका कारण दीपकराजले देउवालाई काका भन्छन् ।

“मैले काकालाई आफ्ना कुराहरू राखेको छु,” उनले भने ।

उनले देउवासामु केके सर्त राखे ?
आफ्ना शर्तबारे उनको भनाइको संक्षिप्त अंश :–

कांग्रेसलाई सुदृढ बनाउने हो भने गोविन्दराज जोशी र समूह कांग्रेसमा फर्किन्छ । तर, पदमात्र लिन जाने कुरा त भएन । केन्द्रीय सदस्यमात्रै लिएर जाने कुरा हुँदैन । कांग्रेसको समानुपातिकमा २० हजार भोट आएको हो । हाम्रो सात हजार मत छ । हाम्रो ३३ प्रतिशत मत आइसकेपछि जिल्लामा पार्टीदेखि लिएर भ्रातृ संघसम्ममा ३३ प्रतिशत दिनुपर्‍यो ।

बीपी विचार समाजमा रहेकाहरू, पहिला केन्द्रीय सदस्य, मन्त्री बनेकाहरूलाई पार्टीमा लैजान आह्वान गर्नुपर्‍यो । तनहुँमा म माथि भएको हमलाको छानबिन गर्नुपर्‍यो, क्षतिपूर्ति दिनुपर्‍यो । मेयरको उमेदवारमाथि दिनदहाडै कुटपिट भएको छ । सवारी तोडफोड गरिएको छ । उहाँ आफैँ प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले केही गर्नुभएन ।

देउवाले जोशीलाई तनहुँको व्यास नगरपालिकाको उमेदवारी बन्दै गर्दा कांग्रेसबाट उमेदवारी किन नहालेको भनेर पनि सोधेका थिए ।

“कांग्रेसबाट उमेदवारी हालेको तर कांग्रेसले आफ्नोबाहेकको नाममा मात्र छलफल गर्ने भनेपछि स्वतन्त्र उमदेवारी दिएको हो,” जोशीले जवाफ दिएका थिए ।

देउवालाई उनले आफूलाई कांग्रेसमा आउने इच्छा नभए पनि बुवा (गोविन्दराज) को योगदानका कारण थोरै कम्प्रमाइज गरेर भए पनि पार्टीमा जाँदा फाइदा हुने बताए । ०४६ यताका सबैलाई एक ढिक्का बनाउँदा राम्रो सन्देश जाने प्रस्ताव पनि सुनाए ।

तर, देउवाले भने खासै इच्छा देखाएनन् ।

“उहाँहरूले झ्याप्प कांग्रेसमा ल्याउने, त्यसपछि चुनाव जितिन्छ, पछि जे होस, भन्ने मनसाय रहेको पाएँ,” उनले भने ।

त्यसपछि देउवालाई प्रधानमन्त्री बन्न शुभकामना दिएर आफू निस्किएको उनले बताए ।

देउवासामु राखेको प्रस्ताव यसअगाडि आफ्नो समूहमा छलफल गरी महामन्त्री थापालाई जोशी समूहले बुझाएको थियो ।

“गगन र मेरो कुरा भएको थियो, त्यसपछि बुवासँग पनि कुराकानी भयो । तेस्रो चरणमा गोविन्द परियार र गगन थापालाई प्रस्ताव दिएका हौँ,” जोशीले भने, “त्यो प्रस्तावको जवाफ नदिइकन चुनावलाई मात्रै हेरेर जसरी पनि जित्नुपर्छ भन्ने रणनीतिमात्रै देखियो ।”

गोविन्दराज जोशी यसअगाडि नै कांग्रेसको सहमहामन्त्री भइसकेकाले त्यो भन्दा तलको पदमा नजाने उनको भनाइ छ ।

“केन्द्रीय सदस्य भएर आए भइहाल्छ नि,” देउवाको प्रस्तावमा उनले भने, “म केन्द्रीय सदस्य माग्न गएको त होइन नि ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu