पोखरा । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरा, नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा स्थापित साक्षर प्रदेशको स्तम्भ अनावरण गरे ।
त्यसपछि सभागृहमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री देउवाले साक्षर घोषणा भएकोमा गण्डकीवासी र गण्डकी सरकारलाई बधाई दिए । उनले ‘देशकै विद्वान्हरूले जन्म लिएको ठाउँ गण्डकी पहिलो साक्षर घोषित’ भएको भनेर बधाई दिए ।
तर, गण्डकी देशको पहिलो नभई दोस्रो साक्षर घोषित प्रदेश हो । यसअघि, यही असोज ११ गते वाग्मती प्रदेश देशकै पहिलो साक्षर प्रदेश घोषणा भइसकेको छ ।
देउवाले लक्ष्मीप्रसाद देवकोटा र मोतीराम भट्टको जन्म गण्डकीमा भएको र उनीहरू ठूला विद्वान् रहेको बताए । गण्डकीका विद्वान् भनेर नाम लिएका दुई साहित्यकारको जन्म काठमाडौंमा भएको हो ।
तर, प्रधानमन्त्री देउवाले भने, “गण्डकी साक्षर घोषणा भएको छ । गण्डकी सरकारसहित सबैलाई बधाई । यो प्रदेशको इतिहासमा नै ठूला विद्वान् जन्मेको ठाउँ हो यो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल यहीँ जन्मिनुभएको हो । मोतीराम भट्ट पनि यहीँ जन्मिनुभएको हो । साक्षर घोषणा भएको पहिलो प्रदेश भएको छ । यसका लागि सबैलाई बधाई र धन्यवाद दिन चाहन्छु ।”
यो कदमले अरू प्रदेश सरकार, नेतृत्वदायी वर्गलाई पनि यसले प्रेरणा दिने उनले बताए । “शिक्षामा थप कार्यक्रम ल्याउन, थप बजेटको व्यवस्था गर्न सकियोस्, सबैलाई साक्षरता बनाउन सकियोस्, सिंगो मुलुकलाई साक्षर बनाएर निरक्षरताको कलंक मेटाउने सरकारको उद्देश्य रहेको छ,” उनले भने ।
कोभिड–१९ नियन्त्रण कम हुँदै जानु पनि एउटा महत्त्वपूर्ण उपलब्धि रहेको उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, “नेपालमा कोभिडको महामारीअझै पनि नियन्त्रण भइसकेको छैन । तैपनि, अन्तर्राष्ट्रियजगत्, विश्व स्वास्थ्य संगठनले धन्यवाद दिएको छ । बेलायतले पनि नेपालले कोभिडमा धेरै नियन्त्रण गरेको हुनाले भिसा दिने निर्णय गरेको छ । यसले पनि कोभिड नियन्त्रणको दिशामा अगाडि बढेको छ, यो महत्वपूर्ण कुरा हो । प्रदेश साक्षर पनि महत्वपूर्ण कुरा हो ।”
फरक विषयमा उनले अहिले संसद्मा रहेका सबै दल प्रजातन्त्रको लागि लडेर आएका साथै प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै भएको उनले बताए ।
“नेपालमा अहिले धेरै कुरा अगाडि बढेका छन् । सबैले जनताको नाम लिन्छन् । जनता यो हो, जनता ऊ हो भन्छन् । प्रजातन्त्रको विकल्प प्रजातन्त्रै हो । जनताले भोटमा देखाइहाल्छन नि ! कसैले प्रजातन्त्रको खिलाफमा कुनै सपना नदेखे हुन्छ । हामी प्रजातन्त्रको लागि लडेका हौँ । संसद्मा रहेका सबै पार्टी प्रजातन्त्रको लागि लडेका हुन्,” उनले भने ।
साक्षर घोषणा समारोहमा उपस्थित राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै दलले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने, संविधानको मर्मअनुसार काम गर्न र देशलाई नै साक्षर बनाउन सबै एकजुट हुनुपर्ने बताए ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बीपी कोइरालाले लिएको समाजवादी लक्ष्यमा शिक्षालाई प्राथमिकतामा राखिएको बताए । ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले नै साक्षरताको लागि आवश्यक ऐन, नियम बनाएर यो अभियान अगाडि बढाएको उनले उल्लेख गरे । प्रदेशलाई साक्षर घोषणा गरी राष्ट्रिय दायित्व पूरा गरेको उनको भनाइ थियो ।
उनले गण्डकी प्रदेशको विस्तृत जानकारी समेत प्रधानमन्त्रीलाई गराउँदै प्रदेशलाई आवश्यक योजना र बजेट व्यवस्थापन गर्न आग्रह गरे ।
गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले इमानदारितापूर्वक संविधानमा उल्लेख गरिएका व्यवस्था लागु गराउन सक्नुपर्ने चुनौती रहेको बताए । “जनताको अपेक्षा, चाहना, दैनिक समस्या हल गर्न सक्छौँ/सक्दैनौँ, यसको समीक्षा गर्नुपर्दछ,” उनले भने ।
गण्डकीका शिक्षा, विज्ञान प्रविधिमन्त्री मेखलाल श्रेष्ठले गण्डकी साक्षर घोषणा भएसँगै राष्ट्रिय लक्ष्यमा थप सहयोग गण्डकीले गर्ने बताए । समृद्धिका सूचकमध्येको एक साक्षरता घोषणा गरी सबै नागरिकलाई जीवनपर्यन्त सिकाइको आधार र मार्गप्रशस्त गर्ने उद्देश्य रहेको उनले बताए ।
गण्डकीको समग्र साक्षरता दर ९६.५७ प्रतिशत छ । गण्डकी सरकारले २०७६/०७७ को नीति तथा कार्यक्रममा नै साक्षर प्रदेश घोषणा गर्ने भनिए पनि हाल आएर प्रदेशलाई साक्षर घोषणा गरिएको हो ।