पोखरा । बिहीबार नेपालकै पहिलो निजी अस्पताल ‘मणिपाल शिक्षण अस्पताल’ भारतीय कम्पनीले पोखराकै व्यापारिक घरानालाई संस्थागत रूपमा बिक्री गर्ने समाचारहरू सार्वजनिक भए । शुक्रबार खरिद बिक्रीसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ ।
भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको मेडिकल कलेज सन् १९९४ देखि सञ्चालनमा छ । भारतीय समूहले मेडिकल कलेज बिक्री गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ ।
तर, यही अस्पताल भवनको हालसम्म नक्सापास पनि भएको छैन । यस्तै, पोखरा महानगरपालिकालाई तिर्नुपर्ने २१ करोड ७० लाख रुपैयाँ कर पनि नतिरेको खुलेको छ ।
मणिपालले घरनक्सा पास दस्तुर २१ करोड ५७ लाख १२ हजार र वातावरण शुल्क १३ लाख ८ हजार रुपैयाँ तिर्न बाँकी छ ।
५८ औँ महालेखा प्रतिवेदनले उक्त रकम असुल्नुपर्ने देखाएको छ ।
मणिपाल अस्पतालको भवन २०५९ मा निर्माण सम्पन्न भएको थियो । तर, हालसम्म नक्सापास पनि भएको छैन ।
पोखरा महानगरको आर्थिक ऐन २०७६ लागु हुनुभन्दा पहिला ३५ फिटभन्दा अग्लो घरको नक्सा पास दस्तुर प्रति वर्गफिट ६० र थप तलामा प्रति वर्गफिट रु २ का दरले वातावरण शुल्क लिने गरिएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४२ (घ) मा नक्सापास नगरि संरचना बनाएमा तेब्बर दस्तुर लिनुपर्ने व्यवस्था छ ।
सोही ऐनको आधारमा महालेखाले नक्सापास बापत अभिलेखीकरण प्रयोजनका लागि तीन गुणा थप कर निर्धारण गरी कर असुल गर्न महानगरलाई भनेको छ ।
“यो अस्पताल भवन निर्माण मापदण्ड २०७२ लागु हुनु पहिले निर्माण भएकाले आर्थिक ऐनमा उल्लेखित तीन गुणाको दरले शुल्क निर्धारण गर्दा रु २१ करोड ५७ लाख १२ हजार नक्सापास शुल्क तथा १३ लाख ८ हजार वातावरण शुल्क लाग्ने देखिएकाले उक्त रकम असुल गर्नुपर्दछ,” प्रतिवेदनमा भनिएको छ ।
महालेखाले नक्सापासको विषयलाई प्राथमिकता दिँदै कर असुल्न भनेको छ ।
बिक्रीको प्रक्रियामा रहेको अस्पतालको नक्सा अभिलेखीकरण नै नहुँदा नामसारी प्रक्रियामा पनि झमेला हुने महानगरका एक अधिकारीले बताए ।
“नक्सा छैन, भोलि बिक्री वितरण नै हुँदैन । भवन नै गैरकानुनी हुने सम्भावना देखिन्छ । अर्कातर्फ, महालेखाले नक्सापासको विषयलाई लिएर बेरुजु देखाउँदा म आफै अचम्ममा परेको छु । कर नतिर्दा ताकेता गर्ने हो, नक्सापास त उनीहरूले जहिले भएतापनि गर्नैपर्छ, यो विषयमा त अस्पताल सञ्चालक समिति नै जानकार छ नि,” उनले भने ।
यो कलेजको आफ्नै स्वामित्वमा ६० रोपनी जग्गा रहेको छ भने १५० रोपनी भाडामा छ । यो ७५० शय्याको अस्पताल हो ।
भौतिक संरचनाहरूमध्ये १० लाख वर्गफिट बिल्टअप क्षेत्रफलमा भवन मात्र रहेको छ । प्रत्येक वर्ष १०० जना विद्यार्थी कोटा यो अस्पतालले पाइरहेको छ ।