काठमाडौं । नेपाली चलचित्रको इतिहास पाँच दशक नाघे पनि अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रले ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । बजार र विषयवस्तु दुवैका हिसाबले नेपाली चलचित्रले विदेशी बजारमा आफ्नो बलियो उपस्थिति देखाउन सकेको छैन ।
मौलिक विषयवस्तु र प्रस्तुति आफ्नै विकास गर्न नसक्दा नेपाली चलचित्रले विदेशी बजारमा आफूलाई स्थापित गर्न नसकेको हो । केही सीमित चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगे पनि यो नगन्य मात्रामा छ । यसैलाई उपलब्धि मानेर बस्ने अवस्था नरहेको चलचित्र निर्देशक नरेशकुमार केसी बताउँछन् । उनले निर्देशन गरेको चलचित्र ‘डाइङ क्यान्डल’ले केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपालको प्रतिनिधित्त्व गरेको थियो ।
नवीन सुब्बाको चलचित्र ‘नुमाफुङ’ पनि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली चलचित्रको प्रतिनिधित्त्व गर्ने फिल्म हो । तर, अपेक्षित रूपमा नेपाली चलचित्र विदेशी बजारमा जान नसक्नुको कारण ‘मेकर’ आफैँले खोज्नुपर्ने उनी बताउँछन् ।
“मेरो चलचित्र पनि बाहिर गएको छ । केही अरु साथीहरुका चलचित्र पनि गएका छन् । त्यसैले हाम्रो क्षमता नै पुगेन भन्ने लाग्छ,” निर्देशक सुब्बा भन्छन्, “नेटफ्लिक्सले नेपाली विषयमा लगानी गर्दै छ । तर, नेपाली विषयमा लगानी गर्दा नेपाली ट्यालेन्ट उसले किन लिएन ? यसको अर्थ हामीमा क्षमता रहेनछ भन्ने हो । हामीलाई उसले विश्वास गरेन । कोलम्बिया, थाइल्यान्ड, कम्बोडियाको पनि लिने तर हामीलाई नलिने । हामी जो चलचित्र क्षेत्रमा काम गरिरहेका छौँ, हामीले आफ्नै समीक्षा गर्ने बेला आयो ।”
नेपालबाट निर्देशक दीपक रौनियारको ‘हाइवे’ र ‘सेतो सूर्य’, मीन भामको चलचित्र ‘कालो पोथी’, छिरिङरितार शेर्पाको चलचित्र ‘मुकुण्डो’, विनोद पौडेलको ‘बुलबुल’, सुजित विडारीको ‘ऐना झ्यालको पुतली’ पनि नेपाली सीमा पार गरेर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेका चलचित्र हुन् । यीमध्ये केही चलचित्रले सहभागिता जनाएका फेस्टिभलमा केही विधामा ‘टाइटल’ पनि जितेका थिए ।
‘स्टोरी टेलिङ’ सीमित वर्ग र क्षेत्रका लागि मात्रै हुँदैन । राम्रो चलचित्रको दर्शक विश्वभर हुन्छन् । राम्रो चलचित्र विश्वमा कतै न कतै कसै न कसैको आँखा परिरहेको हुन्छ । चलचित्र निर्माताहरु नाफामुखी हुँदा नेपाली चलचित्र ‘आर्टको फर्म’मा निर्माण हुन नसकेको निर्देशक सुजित विडारी बताउँछन् ।
“नेपालमा प्रोडुसर भन्ने पोस्टलाई फाइनान्सरहरुले ओगटेका छन् । फाइनान्सर भनेको बिजनेस म्यान हो । उसले तत्काल लगानीको प्रतिफल खोज्छ । निर्देशक क्रिएटिभ मान्छे हो, उसले आफ्नो विचार र सिर्जना दिन खोज्छ । बीचमा क्रिएटिभ काम गर्ने प्रोडुसर नहुँदा उसको काम पनि निर्देशकले नै गर्नु परिरहेको छ,” सुजित प्रश्न गर्छन्, “कतिपय अवस्थामा फाइनान्सरको प्रेसरमा स्क्रिप्टलाई नै कमर्सियल बनाउनु परिरहेको हुन्छ । स्क्रिप्ट राइटर र निर्देशक सुरुमै सेल्सम्यान हुन्छ भने कसरी उसले राम्रो चलचित्र बनाउन सक्छ ?”
निर्देशक नरेशकुमार केसी नेपालमा अपेक्षित रूपमा अन्तर्राष्ट्रिय बजारमा जाने फिल्म बन्न नसकेको बताउँछन् । “अहिले पनि विश्वभर इन्टरनेसनल फिल्म फेस्टिभल भइरहेका छन् । विश्वभरका चलचित्रले ती फेस्टिभलमा सहभागिता जनाइरहेका छन् । तर, ती फेस्टिभलमा नेपाली चलचित्र खोई ?,” नरेश प्रश्न गर्छन्, “नेपालमा हलमा रिलिज हुन नपाएर झन्डै वर्ष दिनदेखि चलचित्र होल्ड भएर बसेका छन् । अर्बौँको लगानी चलचित्रमै भइरहेको छ । तर, फेस्टिभलमा पठाउने चलचित्र खोई । नेपालमा नेपाली सिनेमा हलका लागि मात्रै चलचित्र बनाउने हो ?”
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सञ्चालन गर्दै आएका निर्देशक केपी पाठक अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र जान पहिलो सर्त राम्रो चलचित्र भए पनि मार्केटिङ अर्को सर्त भएको बताउँछन् ।
“कहिलेकाँही चलचित्र राम्रो भएर मात्रै पुग्दैन । अन्तर्राष्ट्रिय बजारमा जान मार्केटिङ पनि गर्न सक्नुपर्छ । यसका लागि कि सरकारले समन्वयकारी भूमिका निर्वाह गरिदिनुपर्छ कि मेकर आफैँले पहल गर्नुपर्छ,” केपी भन्छन् “हाम्रोमा सरकारले यस्तो भूमिका खेलेको र यसका लागि सहयोग गरेको जस्तो लाग्दैन । जति पनि अहिलेसम्म अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा गए, ती सबै मेकरकै पहलमा गएका छन् ।”
अक्सर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा गएका नेपाली चलचित्रको लगानी विदेशी प्रोडुसरले गरेको पाइएको छ । मीन भाम, दीपक रौनियार, छिरिङरितार शेर्पालगायतको चलचित्रमा विदेशी निर्माताको पनि लगानी रहेको थियो ।