
जनकपुर । चीनको वुहान प्रान्तमा २०१९ डिसेम्बर अन्तिम साता पहिलोपटक देखिएको कोभिड १९ (कोरोना भाइरस) ले युरोपका विभिन्न मुलुक हुँदै संसारका करिब सबै मुलुकलाई प्रभावमा पारिसकेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर सात लाख ३७ हजार आठ सय ६३ जनाको मृत्यु भइसकेको छ भने दुई करोड २३ लाख ६ हजार ९ सय १७ जना संक्रमित भएका छन् । सुरुमा इटलीमा सबैभन्दा तीव्र रुपमा संक्रमण दर बढेकामा पछि अमेरिका हुँदै भारतसम्म आइपुगेको छ । सुरुको लामो समयसम्म नेपाल कोरोना मुक्त रहन सफल भए पनि पछिल्लो समय संक्रमण दरसँगै मृत्युको दरमा पनि वृद्धि हुन थालेको अवस्था छ ।
कोरोनाको संक्रमण प्रभाव नियन्त्रण गर्ने उद्देश्यले अन्य मुलुकमा धमाधम बन्दाबन्दी घोषणा गर्न थालेपछि गत चैत ११ देखि नेपाल पनि सोही बाटोमा हिँड्ने सरकारले निर्णय लियो । साउन ७ गतेदेखि तत्काल बन्दाबन्दीलाई खुकुलो बनाउने घोषणा गरिएपछि संक्रमणको रफ्तार बढ्न थाल्यो र पुनः ठाउँ ठाउँमा निषेधाज्ञा जारी गर्न थालियो । अहिले मुलुकको राजधानीसमेत करिब सबै प्रदेशका राजधानी र प्रमुख सहरहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
राज्यले घोषणा गरेको बन्दाबन्दीको पालना गर्नुका साथै कोरोनाको संक्रमणबाट बच्न सबैजसो सरकारी तथा गैरसरकारी संघ, संस्थाहरुले ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्ने नीति अवलम्बन गर्न थालेको छ । इन्टरनेट प्रविधिको प्रयोग गरेर कार्यालयको ‘पेपरलेस’ काम घरबाटै गर्न सम्भव भएको हो । यीबाहेक विभिन्न सभा, सम्मेलन र बैठकहरुसमेत अनलाइन गर्न थालिएको छ ।
युवा सम्बद्ध संघ, संगठनहरुले बुधबार मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको तयारीमा जुटेको देखिन्छ । देश, विदेशमा संकटको सामना गर्ने रणनीति र कार्ययोजना बनाउने, कार्यान्वयन गर्ने बहस चलिरहँदा घरभित्रैबाट अन्तर्राष्ट्रिय युवा दिवस मनाउन कसरी सम्भव हुन्छ त ? सम्भव बनाइदिएको छ इन्टरनेटको सहज पहुँच र त्योसँगै विकसित भइरहेको प्रविधिले ।
जुम, गुगल मिटिङ, स्काइप, टिम मिटिङ, ह्वाट्स एप, इमो, भाइबरलगायत विभिन्न सामाजिक सञ्जालले टाढा रहेका सहभागीहरुलाई क्षणभरमै भेला हुन, बैठक गर्न, विचार, विमर्श वा मन्थन गर्न, कुनै खास विषयमा सामूहिक छलफलका माध्यमले निर्णय लिन आदि इत्यादि सबै कार्य सहज र सरल भइदिएको छ । यसै परिवेशमा जारी बन्दाबन्दीको बीच व्यक्ति, संस्था र राज्यले समेत इन्टरनेट प्रविधिको अधिकतम उपयोग गर्न थालेका छन् ।
इतिहासमा सीमित हुँदै भौतिक उपस्थिति
“गत वर्ष युवा दिवस मनाउँदा दुई साता अगावैदेखि आमन्त्रण पत्र लेख्ने, पठाउने, ब्यानर लेख्न अर्डर दिने, पम्पलेट तयार गर्ने र सभाहल बुक गर्नुदेखि खाजालगायत सामानको व्यवस्थामा निकै खट्नुपर्यो,” युवा सञ्जालका धनुषा जिल्ला संयोजक धीरज साह भन्छन्, “यतिबेला त्यो कुनै झन्झट छैन । जे भइरहेको छ, सबै घरमै बसेर डिजिटिल प्रविधिको सहयोगमा भइरहेको छ ।”
गत साता जिल्ला युवा संवाद समूहले ‘संघीयताको विविध पक्ष’ सम्बन्धी तालिम आयोजना गर्यो । सहभागी सबै धनुषा जिल्लाका थिए भने प्रशिक्षक काठमाडौंबाट अधिवक्ता खिमलाल देवकोटा । तीन घण्टा लामो उक्त तालिम निकै सस्तो भयो । जबकि त्यहीँ तालिम भौतिक रुपमा आयोजना गर्दा प्रशिक्षकलाई काठमाडौंबाट जनकपुर आउन र फर्किन हवाई यातायातको व्यवस्था, जनकपुरमा बस्ने, खाने प्रबन्ध, सहभागीहरुका लागि खाजा, खाना र तालिम हल सबै गर्दा निकै महँगो हुन्थ्यो ।
“भौतिक रुपमा आयोजना गर्दा एउटा कार्यक्रममा लाग्ने खर्चले अहिलेको डिजिटल प्रविधिको प्रयोगमा गर्दा दश गुणा बढी काम गर्न सकिने रहेछ,” प्रशिक्षण कार्यक्रमका संयोजक राजेन्द्र सेन्चुरी भन्छन् ।
गत वर्ष पुस्तान्तरमा समानता ल्याउने मुद्दामा देशभरका युवालाई काठमाडौंको तारे होटलमा भेला गरी राष्ट्रिय युवा सम्मेलन आयोजना गरेको साथी नामक संस्थाले आइतबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अर्को कार्यक्रम आयोजना गर्यो ।
लाखौं रुपैयाँ खर्च गरी आयोजना गरिएको गत वर्षको सम्मेलनकै हाराहारी अर्को कार्यक्रम डिजिटल प्रविधिको प्रयोगगरी आयोजना गर्दा खर्चभार निकै कटौती भएको आयोजकमध्येकी यूएनसीडीकी उपाध्यक्ष वन्दना राणा बताउँछिन् ।
डिजिटल पेमेन्टको सीमा बढाउने तयारी
“भौतिक उपस्थितिमा हुने कार्यक्रम र डिजिटल प्रविधिको सहयोगमा सहभागी हुँदा उपलब्धिमा भिन्नता आए पनि हामी डिजिटल दुनियाँमा प्रवेश गरिसक्यौं अब यसैलाई प्रभावकारी बनाउँदै लानुपर्छ भन्ने सिकाइ भएको छ,” उनी भन्छिन् ।
दैनिक कार्यमा पनि डिजिटलकै भर
केही सरकारी दस्तुर तिर्न र बजारमा खरिद बिक्री गर्न ‘क्यासलेस’ प्रविधिको विकास केही समय अगाडि नै भए पनि बन्दाबन्दीमा यसको प्रयोग बढेको छ । विद्युतको महसुल बुझाउन, मोबाइल फोन रिचार्ज गर्न, एक खाताबाट अर्को खातामा पैसा पठाउनदेखि अनलाइन पर्चेजिङसम्मको काम पछिल्लो ६ महिनामा गुणात्मक रुपले विकसित भएको सरोकारवाला बताउँछन् ।
जनकपुर ९ का सन्तोष यादवले विद्युत् कार्यालय पुगेर घण्टौंसम्म लाइन बसेर महसुल तिर्ने झन्झटबाट मुक्त भएको सुनाउँछन् । “लकडाउनले हामीलाई जीवन जिउने नयाँ कला सिकाउँदै छ,” बाह्रखरीसँग उनले भने, “कम समयमा बढी काम गर्न सकिने र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने सीपको सर्वसधारणमा पनि विकास हुँदै छ ।”