
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ ।
६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो ।
लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कम भएकाले उत्पादन घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमको भनाइ छ । गौतमका अनुसार यस वर्षको हिउँदमा लामो खडेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशतमा झरेको हो ।
हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमको भनाइ छ ।
केन्द्रमा २३/२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडी वितरण हुँदै आएको छ ।
सुख्यायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादनमा असर परेको हो ।
वैशाख लागेपछि घाम चर्को लाग्ने हुँदा हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जाने गौतको विश्वास छ । रासस