नेपालगन्जमा एकै कोभिड– १९ का बिरामी एकै दिनमा ह्वात्तै थपिएपछिे परीक्षण नै थोरै भएकाले संक्रमितको संख्या कम देखिएको हो कि भन्ने सन्देह बलियो भएको छ । एकै दिनमा एकै ठाउँमा १५ जना संक्रमति भेटिएपछि जनमानसमा अत्यास र उकुसमुकुस बढेको छ । कोरोनाभाइरसको संक्रमणबारे जानकारहरूले दुई महिनाभन्दा अगावै परीक्षणको दायरा बढाउन सरकारलाई सल्लाह दिएका थिए । सरकार भने तिनको मुख थुन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थक ‘अरिंगाल’हरूलाई परिचालनमा व्यस्त थियो । स्थगित हुने अगिल्लो दिनसम्म शिक्षामन्त्रीले माध्यमिक शिक्षा परीक्षा गर्ने अठोट सार्वजनिक गर्दैथिए । स्वास्थ्यमन्त्रीले संसद्मै गैरजिम्मेवार उत्तर दिएका थिए र पर्यटनमन्त्री भ्रमण वर्षको प्रचारप्रसारमा व्यस्त थिए । सरकारका जिम्मेवार व्यक्तिहरू कोरोनाभाइरसको जोखिमलाई नै इन्कार गर्दैथिए ।
विश्व स्वाथ्य संगठनले कोभिड –१९ को संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गरेपछि र नेपाल अतिउच्च जोखिममा रहेको चेतावनी दिएपछि तातेको सरकारले विनातयारी २०७६ सालको चैत ११ बाट देशभर एकैपटक बन्दाबन्दीको घोषणा गर्यो । त्यसपछि पटकपटक गरी बन्दाबन्दीको अवधि बढाएर २०७७ सालको वैशाख २५ सम्म पु¥याइएको छ । प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरूल बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि सरकारको सबै काम सकिएजस्तो ठानेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक शक्ति संघर्षमा व्यस्त रहे । संसारका अरू मुलुकले काम नलाग्ने ठहर गरेको तर कमिसनको लोभमा नेपालमा धेरै किनिएको ¥यापिड डाइग्नोस्टिक टेस्टको संख्यामात्र बढाइयो । बन्दाबन्दीले जनजीवनमा पारेको प्रतिकूल प्रभाव कम गर्न भने सरकारले पटक्कै ध्यान दिएन । यसैले सरकारलाई अहिलेको संक्रमण बन्दाबन्दीको समय बढाउने अवसर लाग्न सक्छ ।
परन्तु, नेपालगन्जमा आइतवार भेटिएका संक्रमितको संख्या र प्रकृतिले भने सरकारको वर्तमान कार्यशैली विफल भएको प्रमाणित गरेको छ । अहिलेसम्म कोभिड –१९ को संक्रमण हालै विदेशबाट आएको व्यक्तिमा वा त्यस्तो व्यक्तिको संसर्गमा भएकाहरूमा मात्र भएको भेटिएको थियो । नेपालगन्जमा संक्रमण समुदायमै फैलिएको देखियो । अहिलेको कार्यशैलीमा सुधार नगर्ने हो भने आउने दिनहरू निकै भयावह हुनसक्ने पनि यसले संकेत गरेको छ । अर्कातिर, थप बन्दाबन्दी जनता र मुलुकको अर्थतन्त्रले थेग्न सक्तैन । यसैले सरकारले तत्काल सरोकारवाला सबैसँग परामर्श गरी बन्दाबन्दीको वैकल्पिक उपाय र व्यवस्थापनको विधि अपनाओस् । कारखानाहरू तत्काल खोलिऊन् तर विद्यालयहरू बन्द नै रहून । एसईईलगायतका परीक्षाका नाममा संक्रमणलाई निम्ता नगरियोस् ! सार्वजनिक यातायात सञ्चालन होस् तर संक्रमणको जोखिम धेरै भएको क्षेत्र प्रभावकारीरूपमा बन्द गरियोस् । संक्रमण रोक्न आवश्यक जनस्वास्थ्यका सबै अभ्यास अपनाइयोस् तर खेतमा, कारखानामा र निर्माण ूथलमा काम नरोकियोस् । विदेशमा अलपत्र नेपालीहरूलाई फर्काइयोस् तर उपयुक्त समयसम्म उनीहरूलाई क्वारेन्टिनमा राखियोस् । संक्रमणको व्यवस्थापन गर्ने ज्ञान, सीप र जाँगर नभएकाले सरकारले पुरानै शैलीमा बन्दाबन्दी थपिरहने जुक्ति अपनायो भने नेपालका लागि आत्मघाती हुने देखिइसकेको छ ।