काठमाडौं । जाम्बियाकी एक वृद्धा यतिखेर इन्टरनेटमा ‘फेसन’ र ‘स्टाइल’को ‘आइकन’ बनेकी छन् । वृद्धाकी नातिनीले उनका केही तस्बिर इन्स्टाग्राममा राखेपछि उनी इन्टरनेट दुनियाँका निम्ति ‘सेन्सेसन’ बनेकी छन् ।
उनको नाम हो, मार्गरेट चोला । ८० वर्षीया यी हजुरआमालाई यतिखेर इन्टरनेटको दुनियाँले ‘लेजेन्डरी हजुरआमा’ सम्बोधन गरिरहेको छ ।
स्टाइलिस लुगामा उनका फोटो सार्वजनिक भएपछि आफूले लगाएका कपडाका बारेमा उनले भनिन्, “म फरक महसुस गरिरहेको छु । यी लुगामा म आफूलाई नयाँ र जीवन्त महसुस गरिरहेको छु । यस्तो त मैले कहिल्यै महसुस गरेको थिइनँ । यस्तो लाग्दै छ, म सारा दुनियाँ जित्न सक्छु ।”
उनकी नातिनी डायना कउम्बाले आफ्नो इन्स्टाग्राममा सन् २०२३ देखि हरेक १५ दिनमा हजुरआमाका स्टाइलिस तस्बिर हाल्न सुरु गरेकी थिइन् । डायना अमेरिकाको न्युयोर्कमा रहेर स्टाइलिसको काम गर्छिन् ।
डायनालाई हजुरआमाको स्टाइलिस फोटो खिच्ने विचार जाम्बिया गएका बेला आएको थियो । डायना आफ्नो बुवाको मृत्युको दुईवर्षे संस्कार गर्न जाम्बिया गएकी थिइन् । जाम्बिया गएका बेला उनले हजुरआमालाई आफ्नो साथमा रहेको रंगीबिरंगी लुगा लगाउन भनिन् ।
“म त्यतिखेर केही गरिरहेको थिइनँ, अनि मैले पनि हुन्छ भनेँ । तिमीलाई मलाई लुगा लगाउन मन छ भने लौ त किन नगर्ने भनेँ मैले पनि,” हजुरआमा मार्गरेटले भनिन्, “तिमीले पनि म मरेपछि सम्झिन्छौ, कम्तीमा यसरी सम्झनामा आउँछु भन्ने लाग्यो ।”
त्यसपछि हजुरआमाले सिल्भर रङको पाइन्टसुट लगाइन् । हजुरआमाले लगाएको लुगाको फोटो खिचिन् डायनाले ।
खेतको बीचमा । सडकको बीचमा । खेतमा सोफा राखेर त्यसमाथि हजुरआमालाई बसाएर खिचिएका तस्बिर अहिले इन्टरनेटमा ‘भाइरल’ छ ।
फोटो खिचेपछि डायनाले इन्स्टाग्राममा हालिन् । वयोवृद्ध महिलालाई रंगीबिरंगी लुगा लगाइदिएर खिचिएको तस्बिरका बारेमा मान्छेले के भन्लान् भन्ने चिन्ता थियो, डायनाको मनमा ।
“फोटो हालेको १० मिनेटसम्म मैले मोबाइल चलाइनँ । मान्छेले के भन्लान् भनेर मलाई चिन्ता लागेको थियो । तर, १० मिनेटमै एक हजारजनाले लाइक गरे,” डायना हौसिइन्, “त्यसपछि त मान्छेले मलाई हजुरआमाका अरू पनि यस्ता फोटो चाहियो भन्न थाले ।”
विश्वभरका मान्छेले आफ्नो नयाँ ‘लुक’ मन पराएकामा दंग छिन्, मार्गरेट । उनी भन्छिन्, “विश्वभरका मान्छेले मलाई मन पराए भनेर म त दंग छु ।”
हजुरआमाका दर्जनौँ तस्बिर डायनाले इन्स्टाग्राममा राखेकी छन् । उनले रंगीबिरंगी लुगा लगाएको देखिन्छ । आफ्नै फोटो प्रिन्ट भएको कालो टिसर्ट र जिन्स मार्गरेटलाई खुब मन पर्छ । “मैले यसअगाडि कहिल्यै जिन्स लगाएकी थिइनँ । जिन्स लगाएपछि म त खुसीले नाच्छु,” मार्गरेट भन्छिन् ।
डायनाले सन् २०१२ देखि स्टाइलिस्टको काम गर्दै आएकी छन् ।
मार्गरेटलाई आफ्ना तस्बिरले मानिसलाई प्रेरणा मिलेको जस्तो लाग्छ । “समाजले के भन्ला भनेर चिन्ता गर्नु पर्दैन, आफ्नो जीवन आफ्नो तरिकाले बाँच्ने,” उनी भन्छिन्, “विगतमा तपाईंले जे जति गल्ती गर्नुभयो, तिनका लागि आफूलाई माफ गर्नुहोस् । तपाईं आफ्नो विगत बदल्न सक्नु हुन्न, तर तपाईं आफ्नो भविष्य बदल्न सक्नुहुन्छ ।”
करिब १३ वर्षको उमेरमा स्कुल गएकी मार्गरेटलाई उनका हजुबुवाआमाले हुर्काएका हुन् । कमजोर आर्थिक अवस्थाका कारण मार्गरेटले पढ्न पाइनन् । बाल्यकालमै आफूभन्दा दुई गुणा बढी उमेरका पुरुषसँग उनको विवाह भयो ।
त्यति बेला ३० वर्षीय पुरुषसँग विवाह गरेकी मार्गरेटका तीन सन्तान छन् । तीनै सन्तान अत्यधिक मदिरा सेवनको कुलतमा छन् । उनीहरूले विवाह गरेका छैनन् । यी तमाम चिन्ताका बाबजुद आफूले विश्वभर पाएको चर्चाले उनी खुसी छिन् ।
उनी भन्छिन्, “अब म हरेक दिन मलाई संसारभरका मान्छेले हेर्न मन पराउँछन् भन्ने सोचका साथ बिहान उठ्न सक्ने भएको छु ।” बीबीसीबाट