भारतको राजधानी नयाँ दिल्ली र वरपरको हावा सास फेर्नै नहुने गरी प्रदूषित भएको छ । यो वर्ष नयाँ दिल्ली क्षेत्रको वायु दीपावलीमा पटाका पड्काउनुभन्दा पहिले नै ‘अतिविषाक्त’ भइसकेको थियो । सरकारले बढी वायु प्रदूषण गर्ने केही सवारी साधन चलाउन रोक लगाएको छ ।
पाकिस्तानको पञ्जाब सरकारले त वायु प्रदूषणका कारण लाहोर र मुल्तान क्षेत्रमा ‘स्वास्थ्य सङ्कटकाल’को घोषणा गरेको छ । बजार, कलकारखाना, विद्यालयलगायत जनजीवनसँग सम्बन्धित सबै क्षेत्र केही दिनका लागि बन्द गर्ने घोषणा गरेको छ ।
काठमाडौंको वायु प्रदूषणको स्तर पनि निकै खराब भइसकेको छ । संवेदनशील समूहका लागि यहाँको हावामा सास फेर्नु ‘जोखिमपूर्ण’ हुनाले मूलतः दमका रोगी, बूढापाका र बालबालिकालगायत लामो समय घर बाहिर हिँडडुल वा कामकाज गर्नु नहुने बताइएको छ ।
नेपालमा भने सरकारी तहबाट वायु प्रदूषण नियन्त्रणका लागि कुनै प्रयास गरिएको छैन । कचौरा आकारको काठमाडौं उपत्यकाबाट प्रदूषित हावा बिरलै बाहिर निस्कन्छ । ठूलो हावा हुरी वा वर्षा नहुँदासम्म बढेको वायु प्रदूषण आफैँ कम हुँदैन ।
परन्तु, सरकारले विधि र निषेधका उपायहरू अपनाउने हो भने सायद सास फेर्नसम्म हुनेगरी वायु स्वच्छ बनाउन सकिन्छ । हावालाई विषालु बनाउन तत्त्व विशेषगरी धुवाँ र धुलो नियन्त्रण गर्ने प्रयास गरिएमा पानी नपर्दासम्म वायु प्रदूषण बढ्ने क्रम रोकिन सक्छ ।
खुला ठाउँमा फोहोर र घस्यौटा पोल्दा निस्कने धुवाँ, निर्माण कार्यमा सावधानी नअपनाउँदा उँड्ने धुलो र प्रदूषणको मापदण्ड पूरा नगर्ने सवारी साधनले फाल्ने धुँवाआदि काठमाडौंका मूल प्रदूषक मानिन्छन् । हावालाई थप बिखालु नबनाउने हो भने यिनलाई नियन्त्रण गर्नुपर्छ ।
सडकमा सवारी साधन नियन्त्रण गरे तत्काल वायु प्रदूषण कम हुनसक्छ तर त्यो उपाय व्यवहारमा उति सहज हुँदैन । तर, प्रदूषणको जाँच प्रभावकारीरूपमा गर्ने हो भने पक्कै पनि सवारी साधनबाट हुने प्रदूषण रोक्न सकिन्छ । तत्कालका लागि केही समय आलोपालो पद्धति अपनाए पनि वायु प्रदूषण कम हुनेछ ।
निर्माण कार्यबाट धुलो उँड्न नदिनुका साथै इटाभट्टाबाट पनि धुलो र धुवाको मात्र कम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । वायु मण्डलमा धुवाँ थपिने गरी खुला ठाउँमा फोहोर र घुरान पोल्न रोक्न जनचेतना र निगरानी बढाउनुपर्छ ।
सास फेर्ने हावा नै बिखालु भएपछि जनजीवन स्वस्थ्य हुने त कल्पना पनि गर्न सकिँदैन । यसैले बिखालु हावामा सास फेर्न नपर्ने बनाउन केही प्रयास नगर्ने शासकहरूले जनस्वास्थ्यको चिन्ता गर्नु जनताको उपहास गरेजस्तै हो ।
तीनै तहका सरकारका साथै समुदाय पनि चिन्तित नहुने हो भने बर्सेनि वायु प्रदूषणले ‘छद्म महामारी’को रूप लिइरहनेछ । जनताप्रति उत्तरदायी हुने हो भने सरकारहरूले तत्काल वायु प्रदूषण रोकेर हावा स्वच्छ बनाउन समन्वित प्रयत्न गरून् ।