काठमाडौं । सन्दीप लामिछाने नेपाली युवा क्रिकेटर हुन् । उनीमाथि दुईवर्षअघि अर्थात् २०७९ असोजमा बलात्कारको अभियोग लाग्यो ।
एक युवतीलाई उनले काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको आरोप लाग्यो ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएका बेला उनीमाथि उजुरी पर्यो । त्यही आधारमा उनी काठमाडौं फर्किए । काठमाडौं फर्किँदा कतार एयरवेजको बिजनेस क्लासमा फर्किएका उनी विमानस्थलमा ओर्लिनासाथ प्रहरीले पक्राउ गर्यो ।
पक्राउलगत्तै उनलाई हतकडी लगाइयो । हतकडी लगाएर उनलाई बाहिर निकालियो । उनले त्यसबेला हतकडी नलगाउन अनुनय विनय गरे तर प्रहरीले उनको आवाज सुनेन । हतकडी लगाइएको हात रूमालले छोपिदिन आग्रह गरे, मास्क लगाए अनि प्रहरीसँगै विमानस्थलबाट बाहिरिए ।
त्यसको केही समयपछि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे । नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका लैजाने कार्यमा उनी संलग्न रहेको अभियोगमा पक्राउ गर्न गएको प्रहरी टोलीले ढोका फुटाएर उनको घरभित्र प्रवेश गर्नुपरेको थियो ।
तर उनलाई प्रहरीले हतकडी लगाएन । खाँणकै निजी गाडीमा प्रहरी कार्यालय पुर्याइयो । उनलाई अदालतमा म्याद थपका लागि लैजाँदै गर्दा पनि हतकडी लगाइएन । म्याद थपका लागि २०८० वैशाख ३१ गते जिल्ला अदालत काठमाडौं लैजाँदा सोही प्रकरणमा पक्राउ परेका अन्यलाई हतकडी लगाइयो भने खाँणलाई लगाएन ।
त्यहाँ रहेकी एक महिलाले आक्रोश व्यक्त गर्दैै खाँणलाई पनि हतकडी लगाउन माग गरिन् तर प्रहरीले सुनेन ।
सोही प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई पनि हतकडी लगाइएन । अदालतमा म्याद थप गर्न लैजाँदा उनले कार्यकर्तालाई हात हल्लाई हल्लाई मुस्काइरहेका थिए ।
प्रहरीले त्यस्तै व्यवहार आजसम्म पनि दोहोर्याइरहन्छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ गते अर्थात् ठिक एक महिनाअघि रास्वपा सभापति रवि लामिछाने पक्राउ परे । उनलाई काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउलगत्तै लामिछानेकै अनुरोधबमोजिम प्रहरीले रातिराति पोखरा लग्यो । न त हातमा हतकडी लगायो, न त लामिछानेको चाहनाविपरीत कै काम गर्यो ।
उनलाई म्याद थप गर्न अदालत लैजाँदा पनि पत्रकारसँग कुरा गर्न दियो । हिरासतभित्रै रहेका व्यक्तिले सडकबाटै सरकार ढालिदिने चेतावनी दिए । प्रहरीले विशेष सुरक्षाका साथ अदालतमा उपस्थित गरायो, विशेष व्यवस्थाका साथमै कास्की हिरासतमा राखेको छ ।
लामिछाने पक्राउको केही दिनपछि पटक पटक मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे)लाई अदालतले दोषी ठहर ग¥यो । उनलाई जेल सजाय तोकियो । उनलाई पक्राउ गरेर प्रहरीले हतकडी लगाएरै हिँडायो ।
पछिल्ला दुई तस्बिर सार्वजनिक भएपछि पूर्वप्रशासक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकार र प्रहरीको चर्को आलोचना गरे ।
पूर्व गृहसचिव उमेश मैनालीले लगत्तै सामाजिक सञ्जालमा लेखे– प्रहरीले अपराधीलाई हतकडी लगाउनमा पनि भेदभाव अलि पचेन । अझ उही हैसियतका पूर्वमन्त्री कसैलाई हतकडी लगाउने र कसैलाई नलगाउने गर्दा विधिको शासनको उपहास भएको छ । नेपाल प्रहरीले यस सम्बन्धी नीति बनाओस् ।”
उनै मैनालीले बाह्रखरीसँग कुरा गर्दै नेपाल प्रहरीले कसैलाई हतकडी लगाउने र कसैलाई नलगाउने भन्ने तजबिजी प्रयोग गरेको बताउँदै त्यस्तो गर्न नहुने धारणा राखे ।
“कसलाई लगाउने र नलगाउने भन्ने कहीँ लेखिएको हुँदैन,” मैनालीले भने, “कि त खुँखार अपराधी हुनुपर्यो । जो फुत्किएर भाग्छ भन्ने लागेको हुनुपर्छ त्यस्तोलाई लगाउने स्वाभाविक नै हो । कि सबैलाई लगाउनुपर्यो ।”
उनले आफू गृह मन्त्रालयमा हुँदा पनि प्रहरीलाई यसबारेमा धारणा राख्दा जस्तो जवाफ दिन्थे अहिले पनि त्यस्तै हुने गरेको स्मरण गर्छन् ।
“कहीँ लिखित हुँदैन,” उनले भने,“प्रहरीलाई सोध्यो भने त्यसबेला पनि भाग्छजस्तो लाग्नेलाई लगाउछौँ हजुर भन्थे अहिले पनि त्यही भन्छन् तर आफैँ आत्मसमर्पण गर्न पुगेकलाई पनि लगाएको पाउछौँ ।”
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले अपरेशनमा खटिएको प्रहरीको स्वविकेमा भर पर्ने बताए ।
उनले सबैलाई लगाउनुपर्छ भन्ने नहुने बताउँदै प्रहरीले नै असुरक्षित गरेको अवस्थामा लगाइने बताए ।
‘‘सबैलाई हतकडी नै लगाउनु पर्छ भन्ने हुँदैन । अपरेसनमा खटिएको प्रहरी अधिकारीको स्वविवेकले आरोपीले प्रहरीमाथि नै आक्रमण वा अन्य कुनै गतिविधि गर्ने अवस्था वा प्रहरी नै सुरक्षित महसुस गरेको अवस्थामा लगाउने हो । बालबालिका, वृद्धा र असक्तमाथि हतकडी लगाउदैनौँ,” प्रवक्ता डीआईजी कार्कीले भने ।
हतकडीको नियम अन्य देशमा के छ ?
हतकडी लगाउने विषयमा विश्वभर आ–आफ्नै तौरतरिका अपनाएको पाइन्छ ।
हतकडी लगाउने विषयमा विभिन्न देशका आ–आफ्नै अभ्यास छन् । सामान्यतः पक्राउ परेको व्यक्ति नभागोस् र उसले अरु केही हानि नोक्सानी गर्न नसकोस् भनेर हतकडी लगाउने गरिन्छ ।
संयुक्त राज्य अमेरिका
संयुक्त राज्य अमेरिकाको प्रहरीले पक्राउ गरेका प्रायःजसो सबैलाई हतकडी लगाउँछ । हतकडी लगाउने निर्णय प्रहरीमा भर पर्छ । हतकडी लगाउने नियम अमेरिकाका विभिन्न राज्यमा फरक–फरक छ । पक्राउ परेको व्यक्ति हिंस्रक छ र उसले आफूलाई वा अरुलाई हानि पुर्याउने सम्भावना छ भने प्रहरीले हतकडी लगाउँछ ।
पक्राउ परेको व्यक्ति भाग्न सक्ने अवस्था छ भने पनि प्रहरीले हतकडी प्रयोग गर्छ । पक्राउ परेको व्यक्तिले प्रहरीलाई सहयोग गरेमा प्रहरीले हतकडी नलगाउन पनि सक्छ । अमेरिकी कानून अनुसार हतकडी लगाउनु प्रहरीको अधिकार हो । तर, प्रहरीले हतकडी किन लगाएको भनेर उचित कारण दिनुपर्छ ।
हतकडी लगाइएको व्यक्तिले अदालतमा आफूलाई हतकडी लगाएको विषयमा चुनौती पनि दिन सक्छ । यस्तोमा प्रहरीले हतकडी लगाउनुको उचित कारण दिनुपर्छ ।
बेलायत
बेलायतमा पनि पक्राउ परेको व्यक्ति भाग्न सक्ने, हिंस्रक र जघन्य अपराधको आरोपमा पक्राउ परेको छ भने हतकडी लगाउने गरिन्छ । तर, बेलायतमा हतकडीको प्रयोग गर्दा मानव अधिकारको ख्याल गरिन्छ । हतकडीको प्रयोग प्रहरीको विवेकमा आधारित हुने भए पनि यसका केही सीमा छन् ।
कसैलाई हतकडी लगाएमा प्रहरीले अदालतमा उसलाई हतकडी लगाउनुको उचित कारण पेश गर्नुपर्छ । यस्तो कारण पेश नगरेमा अदालतले प्रहरीलाई कारबाही गर्छ । बेलायतमा हतकडी लगाउँदा हतकडी लगाउने प्रक्रिया र यसको कारण त्यहाँको मानव अधिकार कानुन विपरीत हुनु हुँदैन ।
हतकडी लगाउँदा व्यक्तिलाई शारीरिक र मानसिक यातना हुँनु हुँदैन ।
हतकडी लगाउँदा व्यक्तिको मानव अधिकार उल्लंघन भएको पुष्टि भएमा प्रहरीले कारबाही भोग्नुपर्छ । त्यसैले बेलायतको प्रहरीले मानव अधिकार उल्लंघन नहुनेगरी हतकडी प्रयोग गर्छ ।
भारत
भारतमा, हतकडी लगाउने कि नलगाउने भन्ने कुरा प्रहरीमा निर्भर हुन्छ । पक्राउ परेको व्यक्ति खतरनाक छ वा फरार हुने सम्भावना छ भने हतकडी लगाउने गरिन्छ । भारतमा हतकडी लगाउने नियम भारतीय दण्ड संहिताले तोकेको व्यवस्था अन्तर्गत हुनुपर्छ ।
हतकडी लगाइएको व्यक्ति हिंसात्मक, फरार हुनसक्ने वा प्रहरीसँग प्रतिरोध गर्न सक्नेखालको हुनुपर्छ । भारतको सर्वोच्च अदालतले नै मानव अधिकारको उल्लंघन नहुनेगरी हतकडी लगाउन निर्देशन दिएको छ ।
भारतीय न्यायालयका अनुसार दोषी सावित भएका व्यक्तिलाई मात्र हतकडी लगाउनु उचित हुन्छ । कुनै पनि व्यक्ति दोषी सावित नहुँदासम्म हतकडी लगाउन नहुने भारतीय सर्वोच्च अदालतको ठहर छ । प्रहरीले मानव अधिकार उल्लंघन हुनेगरी हतकडीको प्रयोग गरेको छ भने अदालतमा यस विषयमा गुनासो गर्न पाउने अधिकार छ ।
विश्वभरका प्रजातान्त्रिक अभ्यास भएका देशमा हतकडीको प्रयोग गर्दा हतकडी लगाइने व्यक्तिको मानव अधिकार हनन् नहोस् भनेर ध्यान दिने गरिन्छ । तर, पक्राउ परेको व्यक्ति हिंस्रक छ र भाग्न सक्ने खतरा छ भने प्रहरीले हतकडी लगाउने गरेको पाइन्छ ।
यसका साथै पक्राउ गर्नु अगाडि व्यक्तिले प्रहरीसँग विरोध गरेको छ, मुठभेड गरेको छ भने पनि प्रहरीले सुरक्षाका लागि हतकडी लगाउँछ । कुनै पनि व्यक्तिलाई ‘नियन्त्रण’मा लिन र ‘सुरक्षा’ खतरा नहोस् भन्ने सुनिश्चित गर्न प्रहरीले हतकडी लगाउने गर्छ ।