यो पंक्तिकार २०४७ को संविधान निर्माणसँग जोडिएको थियो, एउटा प्रशासनिक सहयोगीका हिसाबले । त्यो संविधान निर्माण गर्दाका तीता/मीठा स्मरण हुने नै भए । संविधान लेखन बेला अनेक किसिमका जटिलता, तिकडम खेप्नुपर्छ । उक्त संविधान निर्माण हुँदै गर्दाका केही स्मरण यो आलेखमा प्रस्तुत गर्दैछु । ती पुराना स्मरण लेखन शुरु गर्नुभन्दा अघि हाम्रा संविधानका विगत पनि कोट्याउनु उपर्युक्त हुन्छ ।
नेपालको संंवैधानिक विकासका क्रममा सात वटा संविधान बन्यो । भिन्नभिन्न परिस्थितिमा बनेका प्रत्येक संविधान लागू हुँदाको कालखण्डका आ–आफ्नै विशेषता छन् । संविधान भनेको समष्टीमा मुलुकको संस्थागत सुधारको कामसँग तुलना गर्न सकिन्छ । जुनसुकै विषयमा सुधारका काम प्रथमतः समय अनुकूल हुनुपर्ने र दोश्रोमा नेतृत्व प्रभावकारी हुनुपर्ने मान्यता रहन्छ ।
यहाँनिर समय र नेतृत्व दुवै अनुकूल नरहेको अवस्थामा सुधार कार्य अघि बढाउनु निरर्थक हुन्छ, किनभने सुधार कार्यको थालनी भएकै अवस्थामा पनि यसलाई दिगो तुल्याउन प्रभावकारी नेतृत्व जो चाहिन्छ भने यसको ठीकविपरीत समय र नेतृत्व दुवै अनुकूल रहेको अवस्थामा सकारात्मक नतिजा निस्कनेमा शंका रहँदैन । प्रस्तुत सैद्धान्तिक मान्यतालाई देहायका प्रकरणहरूमा नेपालको संवैधानिक विकास क्रमसँग गाँस्दै यहाँ विश्लेषण गर्न खोजिएको छ ।
जहाँनियाँ राणा शासककै नेतृत्वमा कार्यान्वयन गर्न खोजिएको २००४ सालको संविधानलाई समयले मागेको भन्नै मिलेन । त्यसमाथि कमजोर नेतृत्व रहेको तत्कालीन स्थितिमा यो निरर्थक बन्नु नौलो कुरा थिएन । निरंकुश जहाँनिया शासनको अन्त्य गर्दै प्रजातन्त्रको प्रार्दुभाव भएका कारणले गर्दा २००८ सालको नेपालको अन्तरिम शासन विधान समयले मागेको हो । तर तत्कालीन अवस्थामा मुलुकको नेतृत्व कमजोर रहेको कारणले संविधानको रूपमा यसले मूर्त रूप लिनै पाएन ।
पहिलो आमनिर्वाचन, बालिग मताधिकारका आधारमा निर्वाचन गरी सरकार गठन गर्नुपर्ने हुँदा २०१५ सालको संविधानसमयले मागेको हो । उक्त संविधानले सुरुवातका बेला सकारात्मक प्रतिफल प्राप्त भएको पनि हो । तर, राजा र प्रधानमन्त्रीबीच टकराव हुँदा त्यसले पनि दिगो रूप लिन सकेन ।
२०१९ सालको संविधान एकदलीय र नियन्त्रित शासन व्यवस्थाका निम्ति निर्मित थियो । जनताबाट अनुमोदित नभएका कारणबाट समयले मागेको भन्न मिलेन । तर निरंकुश शैलीको नेतृत्वको आडमा केही अवधि टिकेको भने मान्नुपर्छ ।
जहाँसम्म २०४७ सालको संविधानको प्रश्न छ, माथिका परिसूचकलाई आधार मान्दा यसलाई समयले मागेकै हो । एउटा दलविहीन वा एकदलीय जस्तै राजनीतिक प्रणालीबाट बहुदलीय राजनीतिक व्यवस्थामा आएको परिवर्तनलाई मूर्त रूप दिन त्यो समयले मागेको संविधान थियो ।
दलहरूबीच संविधान निर्माण गर्ने विषयमा कुनै विवाद थिएन । एकसूत्रीय अर्जुनदृष्टि थियो, संविधान । तीस वर्षसम्म राजकाजमा हालीमुहाली गरेका र तिनका आसेपासेबाट हुन सक्ने सम्भावित वाधा–व्यवधान त थियो नै । संविधानका निम्ति अनेकस्तमा समन्वयात्मक ढंगले चोचोमोचो मिलाउँदै, फकाउँदै, फुलाउँदै जुन किसिमको रणनीति अख्तियार गरियो, त्यसको सबै पक्षबाट प्रशंसा भएकै थियो । यी सबै सकारात्मक पहलहरूको फलस्वरूप २०४७ सालमा विना कुनै व्यवधान संविधान बनेको थियो ।
कृष्णप्रसाद भट्टराई–विश्वनाथ उपाध्यायको दक्षता
प्रत्यक्ष रूपमा भन्नुपर्दा मुलुकमा संविधान बनाउनुको श्रेय सरकार प्रमुखका रूपमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई जान्छ । उहाँले दक्षतापूर्वक सकारात्मक माहौल सिर्जना गर्नुभएको थियो, त्यसो हुँदा सहज रूपमा संविधान बन्नु स्वाभाविकै हो । इमान्दारीपूर्वक भन्नुपर्दा यो काम प्रधानमन्त्रीबाट प्रशंसनीय ढंगमा भएकै हो । उहाँले खेलेको समन्वयकारी भूमिका, उहाँको शालीन, निष्कलंक र सदाचारी छविका कारण पनि सकारात्मक प्रतिफल प्राप्त भएको हो । यस निम्ति भट्टराईलाई इतिहासले सम्मानित स्थान दिने नै छ ।
यो आलेखमा संविधानसुझाव आयोगका अध्यक्षको हैसियतले विश्वनाथ उपाध्यायबाट निर्वाह भएको नेतृव्यदायी भूमिकाको स्मरण गर्नु हो । संविधान२०४७ निर्माणको क्रममा स्व. उपाध्यायको नेतृत्वदायी भूमिका प्रभावकारी नभइदिएको भए जुन रूपमा जसरी संविधान बन्यो त्यस ढंगमा बन्थ्यो वा बन्दैनथ्यो, शंका उठाउने ठाँउ रहन्थ्यो । यसैको सेरोफेरोमा देखे, जाने सुनेका तथ्य तलका प्रकरणहरूमा स्पष्ट पार्ने प्रयास गरिएको छ ।
दरबारको खेल
संविधान निर्माणको प्रारम्भमै अप्ठेरो परिस्थितिमा भएको थियो । पहिलो पटक आयोग गठन हुँदा दलका प्रतिनिधि त हुने नै भए, त्यसअतिरिक्त दरबारका पनि प्रतिनिधि मनोनयन गरिएको थियो । तिनका विगत काम–कारवाही तथा शैली एवं व्यवहार प्रजातान्त्रिक परिपाटी अनुकूल नभएकै कारणले होला, तिनीहरुसँग सहकार्य सम्भव नहुने (हामीले सुनेको) कारण व्यक्त गरी विश्वनाथले आयोगको अध्यक्षता ग्रहण गर्न नै आप्mनो अनिच्छा व्यक्त गर्नुभयो ।
उहाँको भनाइलाई वास्ता नगरिएपछि काम सुरु गर्नुअघि नै उहाँले राजीनामा पेश गर्नुभयो । उहाँकै चित्त बुझाउन तत्कालीन कार्यकारी प्रमुखले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आयोग पुनर्गठनका लागि गरेको प्रयासस्वरूप नयाँरूपमा संविधानसुझाव आयोग गठन भएको हो । अर्थात् उस्बखत पनि पहिलो गाँसमै ढुंगा नलागेको होइन । तर उपाध्यायको निष्पक्ष र निर्भिक अडानका कारण परिस्थिति सहज बनेको हो ।
२०४७ सालअघि पनि दलहरूको व्यवहार यतिखेरभन्दा भिन्न थिएन । तीस वर्षे पञ्चायती व्यवस्थालाई समूल भत्काएर आएका राजनीतिक दलहरूबीच सानदार विजयको दम्भ थियो । विशेष गरी निमुखा जनताको इच्छा आकांक्षा अकासिँदो ढंगले उछालेर सम्भव या असम्भव सबै किसिमको वाचा गरेर आएका जल्दोबल्दो स्वभावका प्रतिनिधिहरू आयोगमा थिए ।
लामो समयदेखि क्रान्तिकारी विचारधारा बोकेका सदस्य पनि आयोगमै थिए । यसअतिरिक्त न्यायिक तथा प्रशासनिक क्षेत्रमा ख्याति आर्जन गरेका व्यवसायिक व्यक्तित्व पनि थिए । राजनीतिक पृष्ठभूमि नभएका उपाध्यायले तिनलाई समेट्दै नेतृत्व लिनुपरेको थियो ।
आयोगमा कति वाद–विवाद भयो होला ? कतिले कति अडान तेस्र्याए होलान् ? अध्यक्षको गैरराजनीतिक चरित्रलाई लिएर कति घोचपेच भयो होला ? यी लगायत रत्नपार्कमा जुलुसलाई हौस्याउँदै कतिले आन्दोलनको धम्की दिए त धेरैले सम्झेकै होलान् । यसबीचमा देशी–विदेशी कतिपय दबाब आएको पनि सुनिन्थ्यो । स्वयं दरबारले कति दबाब दिएको सुनियो । दरबारबाट दरबार अनुकूल हुने गरी संविधानको मस्यौदा नै तयार गरी पठाएको प्रसंग धेरैको मानसपटलमा ताजै हुनुपर्छ ।
यस्ता सकसबीच संवैधानिक मर्मसँग सम्झौता नगरी, पूर्ण प्रजातान्त्रिक प्रावधानसहित मुलुकको साधन श्रोतको उपयोगमा स्वाभिमानी भएर संवैधानिक अडान उनैले लिएको कारण तत्कालीन अवस्थामा उत्कृष्ट संविधान बन्न सकेको हो । ऋृषि–मन भयो भने संंविधान बन्न कुनै व्यवधान आइपर्ने रहेनछ भन्ने कुरा उनको नेतृत्व क्षमताले प्रमाणित गरेर देखाइदियो ।
हाम्रो सन्दर्भमा सबैजसो राजनीतिक दलका बोली र व्यवहार आ–आफ्नै दलगत वा वैयक्तिक हितलाई सर्वोपरी राखी नाफा/नोक्सानको जोडघटाउमै बढीभन्दा बढी समय खर्चिने स्वभाव हुँदा हुँदै पनि नेतृत्व प्रभावकारी भएको अवस्थामा सबै ओझेल पर्दा रहेछन् भन्ने कुरा पनि उहाँबाट प्रमाणित भएको थियो ।
जनताका अपेक्षा बढाइँदै समूह–समुदायबीच सद्भाव र समझदारी भाँडनु, आन्दोलन, बन्द हडताल जस्ता निषेधात्मक कामलाई बढावा दिनु, नयाँ नयाँ बखेडा तेर्स्याएर गुट–उपगुट सिर्जना गर्न उक्साउनु जस्ता विकृति संविधान निर्माणका बेला पनि देखानपरेको होइन ।
नेतृत्वको प्रभावकारिता आस्था, विश्वास र मार्गदर्शनमा आधारित हुन्छ ।
उपाध्यायले सबैबाट आस्था बटुल्न सफल भएका कारणले उनको निष्पक्ष र सैद्धान्तिक अडानसमक्ष सबै नतमस्तक हुनु परेको होला । कसैसँग पक्ष वा मोलाहिजा नगरी मुलुकको हितलाई सर्वोपरी राख्ने क्षमता र व्यवहारबाट उनले विश्वास आर्जन गर्न सकेका होलान् ।
अनि यसैगरी विषम परिस्थितिमा वा प्राविधिकस्तरमा आफ्नो ज्ञान, सीप र खँदिलो अनुभवको निचोडमा विकल्पहरू प्रस्ताव गरेर मार्गदर्शन गर्न सक्ने क्षमता र दक्षताको कारण आप्mनो स्थानबाट नडगेका होलान् ।
आफ्नै अनुभूतिको प्रसंग
आयोग अध्यक्ष उपाध्यायले संविधान सुझाव आयोगको सचिवमा सूर्यनाथ उपाध्यायलाई चयन गर्नुभयो । सचिवबाट सम्पादन गरिने काममा सचिवको सहयोगी प्रशासकका रूपमा मैले काम गर्ने अवसर पाएँ । उपाध्यायले आयोगको बैठक तथा संविधान लेखनका लागि सम्पूर्ण प्राविधिक पक्षको व्यवथापन एवं अध्यक्षलाई हरकिसिमले सघाउ पुग्ने जुनसुकै काममा दत्तचित्त भएर लाग्न सकियोस् भनेरै होला आन्तरिक व्यवस्थापन ‘हाउसकिपिङ’सँग सम्बन्धित सम्पूर्ण कामको जिम्मेवारी मलाई दिनुभयो ।
संविधान लेखनको प्राविधिक पक्षमा सघाउ पुर्याउन न्यायिक क्षेत्रमा काम गरिरहेका न्यायाधीश एवं कर्मचारीको विशेषज्ञ टोली पनि थियो । टोलीमा संलग्न अधिकांश सदस्यहरू आ–आप्mनो काममा विशेष दख्खल भएकामध्येमा चिनिएका थिए । यिनैमध्ये दुई जनात प्रधानन्यायाधीश भइसकेका छन् भने कतिपय सर्वोच्च अदालतको न्यायाधीश बने ।
मेरो आयोगसँगको संलग्नता आयोग गठनको पहिलो दिनै भएको थियो । आयोगको कार्यसञ्चालनसँग सम्बन्धित सामान्य सेवा तथा आर्थिक प्रशासन र कर्मचारी व्यवस्थापनमा मैले विशेष ध्यान केन्द्र्रित गनुपर्थ्यो । सुरु सुरुमा कार्यालय समयभित्र काम गरिन्थ्यो भने केही समयपछि अतिरिक्त समयमा पनि काम हुन थाल्यो, विशेषगरी साँझको समयमा काम हुन्थ्यो । बेलुकी अबेरसम्म कामगर्दा दाल–भातको व्यवस्था आयोगभित्रै गरिएको हुन्थ्यो ।
आयोगको बैठकमा भएका छलफल रेकर्ड गर्ने व्यवस्था थियो । मेरो आयोसँगको संलग्नता आयोगको कामसँग सम्बन्धित कागजपत्र, मालसामानको थान्कोमान्को, बरबुझारथ, खातापाता आदि अन्तिम दिनमा सम्बन्धित ठाँउमा नबुझाउँदासम्म अटुट रह्यो ।
अन्तिम दिनमा आयोगको बैठकमा छलफल रेकर्ड भएका क्यासेटहरू र संविधानमा दस्तखत गर्ने प्रयोजनका लागि विशेष रूपमा खरिद भएका ‘फाउण्टेनपेन’ पुरातत्व विभागमा बुझाएको अझै पनि सम्झन्छु ।
मेरो तहमा आयोगमा काम गर्ने प्रशासन सेवामा कर्मचारी म एक्लै थिए । लेखाको काममा सघाउ पुर्याउन अधिकृतस्तरका आफ्नो काममा ज्यादै सिपालु र इमानदार वडा लेखापाल कुमारकेशर बिष्टसहित अन्य सहायकस्तरका लगनशील कर्मचारीहरू थिए । संविधानसुझाव आयोग जस्तो गरिमामय संस्थामा काम गर्ने अवसर पाएकामा सूर्यनाथ उपाध्यायप्रति आभार व्यक्त गर्दछु ।
न्यायिक क्षेत्रका नक्षत्र स्वर्गीय विश्वनाथ उपाध्यायसँग मेरो परिचय थिएन । आयोग गठनसँगै सचिव नियुक्त हुनुभएका सूर्यनाथ उपाध्यायले मलाई उपाध्यायको घर ज्ञानेश्वरमा लैजानुभयो । उहाँसँग मेरो त्यो पहिलो साक्षात्कार थियो । पछि त मेरो नामै लिँदै उहाँले सम्बोधन गर्नुभयो, उहाँसँगको कुराकानीबाट आफू रोमान्चित भएको थिए ।
त्यसपछि रहँदाबस्दा उहाँको फुर्सदको समयमा मेरो आप्mनो परिवार तथा र बाबु बाजेका विगतबारे चासो राखी कुरा भइरहन्थ्यो । हाम्रो पुख्र्यौली घर भाटभटेनी हो र उहाँको ज्ञानेश्वरनजिक भएका कारणले स्थानीय पुराना मानिसहरूबारे कहिलकाँही कुरा हुन्थ्यो । उहाँसँग कुराकानीका दौरानमा आयोगको प्रशासनिक कामका विषयमा उहाँले कहिल्यै चासो राख्नुभएन, तर व्यक्तिगत तवरमा भन्नुपर्दा मैले उहाँबाट वात्सल्यपूर्ण व्यवहार पाएको थिए । सुम्पिएको काम प्रशंसनीय ढंगमा गरेवापत भनी मैले उहाँकै सिफारिसमा त्रिशक्तिपट्ट चौथो दर्जाको तक्मा पनि पाएको थिए ।
यस रूपमा सम्पर्क भएको मैले विश्वनाथ उपाध्यायलाई व्यक्ति भन्दा संस्थाको रूपमा पाएको थिए । संविधान निर्माणका क्रममा आयोगका विविध पृष्ठभूमिबाट आएका सबैलाई समेटी बैठक सञ्चालन गर्ने उहाँको शैली अनुकरणीय रहेको थियो ।
हल्लैहल्लाले बिथोल्ने खतरा
सुरु–सुरुमा मस्यौदाका विविध पक्षमा छलफल सुचारु रूपमा चल्दै गयो । केही समयपछि गएर प्रत्येक विषयमा छलफलपश्चात् मसौदालाई एक एक गरी अन्तिम रूप दिने चरणमा अलगै व्यवस्था गरिनुपर्ने महसुस भयो ।
आयोगमा दिउँसो भएका छलफल तर टुंगो नलागिनसकेका कतिपय विषय बेलुकी सहरबजारमा हल्लाखल्ला गरी काँचो अवस्थामै जनसमक्ष पुग्न थाल्यो । यस किसिमको व्यबहारबाट उब्जने प्रतिक्रियाले संविधान मसौदा तयार पार्ने कामनै बिथोलिने आशंका बढ्यो ।
टुंगो लागिसकेका विषय पनि निश्चित अवधिसम्मका लागि गोप्य राख्नुपर्ने महसुस भयो । स्पष्ट रूपमा भन्नुपर्दा त्यसबखत आयोगकै सदस्यमध्ये कसैले अमुक विषयमा आज छलफल भयो, छलफल यस रूपमा अघि बढिरहेको छ । फलानोले फलानोथोक भन्नुभयो, यस्तो भयो भने यस्तो वा उस्तो रूपमा देखापर्नेछ अनि यसबाट यस्तो हुनेछ भनी जनतामाँझमै गएर भाषण गर्न थाले ।
ती सदस्यलाई त्यसो नगरिदिनुस भन्न एकातिर कसैले सकेनन् भने अर्कातिर त्यस्ता अभिव्यक्तिले भ्रम श्रृजना गर्नेका लागि खुराकसिद्ध हुने आशंका पनि बढ्यो । यसैकारणले संविधानमा समावेश गर्न विषयगत रूपमा मसौदा तयार गर्दा टेलिफोन सम्पर्क समेत नहुने ठाउँमा पुग्नुपर्ने अवस्था देखाप¥यो । आयोगका सबै पदाधिकारीहरूलाई दिनरात व्यस्त राख्ने प्रयोजनका लागि उपयुक्त ठाउँको खोजीहुन थाल्यो ।
यसै क्रममा एकदिन सचिव सूर्यनाथले मसँग भन्नुभयो, ‘घुम्न जाऊँ हिँडनुस्।’ कसैलाई थाहा नदिइ त्रिभुवन राजपथमा पर्ने पालुंगको बाटो हुँदै कुलेखानीको मार्खुस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय लग्नुभयो । त्यहाँको स्थलगत अवलोकन गरी उपलव्ध सरसुविधाबारे जानकारी लिइयो र हामी फक्र्यौ । सचिव उपाध्यायलेआयोग अध्यक्ष स्वर्गीय उपाध्यायलाई ‘ब्रिफ’ गर्ने काम भयो ।
यी सबै काम–कुरा सदस्यहरूलाई थाहा नदिइकन गोप्य रूपमै भएको मैले बुझेको थिए । करिब एक सातापछि एक्कासि सचिव उपाध्यायले मलाई बोलाँउदै भन्नुभयो, ‘संविधानको मस्यौदा तयार नहुँदासम्म सबै पदाधिकारी, विशेषज्ञ टोली तथा सहयोगी कर्मचारी सबै उतै खाने, बस्ने मार्खुमै व्यवस्था मिलाउन र आवश्यक चाँजोपाँचोका लागि आजै जानुस् ।’ यतिबेलासम्म पनि हल्लाखल्ला गरिएको थिएन । सबै काम सट्याक सुटुक भएको थियो ।
सचिवको निर्देशनबमोजिम त्यही दिन मार्खु पुगी व्यवस्थापन शुरु भयो । आयोगका सबै पदाधिकारीलाई लेख्न पढन सुबिधा हुने गरी टेबल, मेच, टेवल ल्याम्प तथा सुत्न, बस्न सुविधा हुने गरी पलंग सिरक, डस्ना तथा मालसामान राखनधरनका लागि दराजआदि सहित अलग–अलग कोठाको व्यवस्था भयो । यसैगरी विशेषज्ञ टोली तथा तोकिएका कर्मचारी सबैका लागि आवश्यकीय व्यवस्था पनि मिल्यो ।
पदाधिकारीका लागि विशेषगरी बिहान–बेलुकी टहलिने वा सामान्य खेलकुद गर्ने व्यवस्था पनि मिलाइयो । खेलकुदका उपकरणहरु पनि जोरजम्मा गर्ने योजना बनाइयो । यी सबै काम–कुरा मध्यरातसम्ममा अन्तिम रूप दिइ भोलिपल्ट आयोगमा आपूmले ब्रिफ गर्नुपर्ने सम्पूर्ण व्यहोरा, भौगोलिक अवस्थितिसहित खाने÷बस्ने ठाउँको लेआउट एवं राम्ररी बुभ्mने किसिमले चार्ट तयार पारी सन्तुष्ट भई सुतेँ ।
सैनिक घेराभित्र संविधान ?
भोलिपल्ट सबैसँग बिदा भएपछि त्यहाँ वरिपरी मौजुदा सुरक्षा निकायबारे जानकारी लिँदा नजिकै चनमन व्यारेक रहेको कुरा थाहा भयो । फर्कने क्रममा कसैलाई थाहा नदिइकनै बीच बाटोबाटै व्यारेकमा गएँ । त्यहाँका प्रमुखलाई (जर्नेल हो क्यारे) भेटी आयोगका पदाधिकारीहरू केही दिन मार्खुमा बस्ने खाने गरी आउने सम्भावना रहेको कुरा व्यक्त गरे । त्यसपछि सुरक्षाका दृष्टिकोणले केही कुरा अग्रिम रूपमा जानकारी गराउन आवश्यक देखेमा खबर गर्न अनुरोध गर्दै बढीमा १५ मिनेट व्यारेकमा बिताइ काठमाडौं फर्के ।
बाटोभरी म यसरी ‘ब्रिफ’ गरुला, यस्तो सम्भाव्य प्रश्नको यसरी उत्तर दिउँला, आफ्नो भनाइ अलि बढी स्पष्ट पार्न यस्तो यस्तो सामग्री प्रयोग गरुला आदि इत्यादि तर्कना गर्दै सोझै सचिव उपाध्याय तथा अध्यक्षज्यूसँगै बस्नुभएको कोठामा पुगे । समय करिव १२ बजेको हुँदो हो । ‘के बुझेर आउनु भो त ?’ भनी मुसुमुसु हाँस्दै अध्यक्षज्यूले सोध्नुभयो । म विचार गर्दैथिए, ‘कहाँबाट सुरु गरु?’
उहाँको टेबलमा खुला राखिएको पत्रिकामा बडेमानको शीषकमा छापिएको समाचार देखे, ‘सैनिक घेराभित्र संविधान बन्ने ।’ समाचार पनि पानाभरिकै थियो । आजै बिहान आफू व्यारेकमा गएको अनि आजै यस्तो खबर कसरी छापियो ? मेरो ओठमुख सुक्यो । त्यसपछि अध्यक्षज्यूले भन्नुभयो, ‘अब यी सबैकुरा छाडिदिनुस, सबै बिर्सनुस् ।’ म अध्यक्षज्यूका ती बोली आज पनि सम्झिरहेको छु । मार्खुमा संविधान लेखनका काम तुहियो ।
प्रस्तुत प्रसंग यहाँ उल्लेख गर्नुको उद्देश्य घटनाक्रमको वर्णन गर्नु नभएर उपाध्यायको नेतृत्वको सवल पक्षको चर्चा गर्नुरहेको छ । मार्खुमा संविधान लेखनको कुरा अन्तिम समयसम्म गोप्य थियो । आयोगका सबै पदाधिकारीलाई मार्खुमा लगेर अन्तिम मसौदा तयार पार्छु, मैले भनेपछि सबै पदाधिकारीले मान्छन्, यति भएपछि संविधान लेखनको काम अत्यन्त सहज ढंगले सम्पन्न गर्न बल पुग्छ भन्ने आत्मविश्वास उहाँमा जाग्नु लरतरो कुरा थिएन ।
अध्यक्षको कार्यकक्ष कहिल्यै पनि पदाधिकारी वा अरुसँगको गफको अखडा बनेन । अति नै सामान्य कोठा, राष्ट्रियसभा गृहमा साविकदेखि रहेको पुरानै फर्निचर, पुरानै मेच, पुरानै सोफा तथा टेवल रहेको सभागृहको तल्लो तलाको दायाँपट्टी सडकबाटै देखिने कुना कोठामा उहाँको कार्यकक्ष थियो । बैठक कक्ष पनि तल्लो तलामै अलगै थियो । हत्तपत्त अध्यक्षको कोठामा कोइ छिर्दैनथेँ । अलि एकाग्र भएर महत्वपूर्ण लेखोट तयार पार्दा सानो पेपर होल्डरलाई घुँडामा राखेर लेख्ने उहाँको बानी थियो । उहाँको मसीना अक्षर छापाजस्ता थिए ।
बैठक कक्षमा छलफलका लागि प्रस्तुत गर्न होस् वा छलफलपश्चात निचोड निकाल्ने प्रयोजनका लागि होस् वा संविधानमा समावेश गरिने हरफहरूको मसौदा तयार पार्ने काममा उहाँको बढीसेबढी समय खर्च हुन्थ्यो ।
बिहानदेखि बेलुकीसम्म एउटै आसनमा बसेर लेखोट तयार पार्ने क्षमता उहाँमा थियो । अफिस समय सकिएपछि पनि उहाँ आप्mनो कार्यकक्षबाट नउँठदासम्म हामी बसिरहन्थ्यौँ । घर फर्कने बेलामा दिनभरि लेखोट तयार पारेपछि थकित प्रतित हुने उहाँको मुहार नियालेर हेर्ने जोकोहीलाई लाग्थ्यो, ‘अब यी बुढा तीन चार दिन घरमै थला पर्छन् ।’ हामी आफू यसै विषयमा कुरा पनि गर्थ्यौँ । तर भोलिपल्ट अफिस आउँदा पुरानै चमक, अनुहारमा त्यही आभा त्यही स्फूर्ति देखेर छक्क अनि मनमनै दंग पनि पर्थ्यौँ ।
विश्वनाथ उपाध्याय अध्यक्ष नियुक्त भएपछि संविधान मस्यौदाका काम शुरु हुँदैथियो, तत्कालीन प्रधानमन्त्री भट्टराई स्वयं आयोगमा आउनुभयो । उहाँ अध्यक्ष उपाध्यायको कार्यकक्षमै बस्नुभयो । उहाँका लागि विशेष सेवासत्कार केही भएन । उहाँकै फर्माइस बमोजिम मनपर्ने पानपसलमा पान किन्न पठाइ सत्कार गरिएको सम्झन्छु ।
प्रधानमन्त्रीले पनि बडो अनौपचारिक तवरले कुराकानी गर्नुभयो । प्रधानमन्त्रीसँग तत्कालीन गृहमन्त्री योगप्रसाद उपाध्याय पनि आउनुभएको थियो । दुवैको वनारसदेखिको घनिष्ठ सम्बन्ध रहेछ । उहाँहरू हिन्दीमा हलुका ढंगबाट वात मार्न थाल्नुभयो । कुराकारीको दौरान र कुराकानी पछि प्रधानमन्त्री निकै खुशी देखिनुहुन्थ्यो । सभागृहको सिँढीमा उभिँदै हामी कर्मचारीसमेतलाई सँगै राखेर दक्षिणतर्फ फर्केर तस्बिर खिच्ने काम पनि भएको थियो ।
त्यसपछि संविधानका मस्यौदाबारे छलफल वा तयारीबारे कुनै पनि विषयमा जानकारी दिने, भेट गर्ने वा ब्रिफ गर्ने प्रयोजनका लागि अध्यक्ष उपाध्याय प्रधानमन्त्रीको निवास वा सिंहदरबारमा गएको कहिल्यै सुनेनौँ । प्रधानमन्त्रीबाट पनि वास्तवमा भन्नुपर्दा संविधान निर्माणका क्रममा गरेको सबैभन्दा ठूलो काम भन्नु नै कसैलाई कुनैपनि प्रकारबाट दबाब नदिइकन आयोगको कार्यसम्पादनलाई सहज तुल्याइदिने वातावरण बनाइदिनु भएको हामी बुझ्दथ्यौँ ।
पुनश्चः नेपाल अधिराज्यको सविधान २०४७ तयार हुँदासम्म आयोगको सचिवालयबाट भएको कूल खर्च (मलाई सम्झना भएसम्म) ५५ देखि ६० लाखको बीचमा रहेको यहाँ उल्लेख गरेको छु ।
(लेखक नेपाल सरकारका पूर्वसहसचिव हुन्)