site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यका सूचना सामग्रीमा समेत अपांगता भएका व्यक्तिलाई विभेद ! 

काठमाडौं । केही महिनाअघि एक सार्वजनिक कार्यक्रममा मनोसामाजिक अपांगता भएका एकजनाले गुनासो राखे– अस्पतालमा राखिएका सूचना पाटी हामीले फलो गर्न सक्ने खालका छैनन् । डिजिटल सूचना पाटीमा देखाइएका अक्षरहरू धेरै छिटो गतिमा स्क्रोल भइरहेका हुन्छन् । कतिपय सूचना सामग्रीमा भाषा पनि सरल हुँदैन, बुझ्न र पढ्न गाह्रो हुन्छ ।

उनले त अस्पतालमा स्वास्थ्य सेवा लिन जाँदाको कठिनाइबारे मात्रै सरकारी अधिकारीहरूसमक्ष गुनासो पोखेका थिए । तर, स्वास्थ्य सेवाका हरेक क्षेत्रमा यस्ता धेरै समस्या भोग्दै आएका छन्, अपांगता भएका नागरिकले ।

अपांगतामैत्री सूचना सञ्चार सामग्री खोइ ?

Dabur Nepal
NIC Asia

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना सञ्चार केन्द्रले किशोरावस्था र यौन तथा प्रजनन स्वास्थ्यलाई लिएर विभिन्न सूचना सामग्री प्रकाशित गर्दै आएको छ ।  जसमा किशोरावस्था र पोषण, मित्रता र माया, यौन र यौन सम्बन्ध, विवाह, गर्भावस्था तथा गर्भपतन, महिनावारी, किशोरकिशोरी स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकारलगायत महत्त्वपूर्ण विषयमा पर्याप्त जानकारी समेटिएका छन् ।

अधिकांश सामग्री अक्षरमा मात्रै सीमित छन्, जसले गर्दा दृष्टिसम्बन्धी समस्या भएका, मानसिक वा मनोसामाजिक, बौद्धिक अपांगता,अटिज्मसम्बन्धीअपांगता भएका युवाको पहुँचमा ती सूचना सामग्री पुग्न सकेका छैनन् ।

केही सामग्री अडियो, भिडियो, अक्षर र संकेतमा आधारित भए पनि अधिकांश सामग्री अक्षरमा मात्रै आधारित भएको पाइन्छ । अडियोहरू पनि अत्यन्तै छिटो (आवाजको गति धेरै तीव्र) हुँदा बौद्धिक अपांगतामैत्री भएको पाइँदैन । 

अटिज्मसम्बन्धीअपांगता भएका व्यक्तिलाई सिकाइ प्रक्रिया बढीभन्दा बढी चिह्न, चित्र, आकार आदिले बुझाउनुपर्ने हुन्छ । तर, ती सामग्रीमा अक्षर हाबी हुँदा उनीहरूले बुझ्न र त्यसबाट सन्देश लिन सकेको पाइँदैन । त्यसो नहुँदा उनीहरू मैत्री पनि छैनन् । 

सबैखाले सामग्रीमा सांकेतिक भाषा, क्लोज क्याप्सन, स्पष्ट अडियो नहुँदा बहु अपांगता भएका व्यक्तिहरू यस्ता सूचना तथा जानकारीबाट वञ्चित भएका छन् । 

केन्द्रले प्रकाशन गरेका बुकलेटमा प्रयोग भएका चित्रसमेत अपांगतामैत्री नभएको देखिन्छ ।

सुस्त श्रवण भएकी अगिनशिखा आचार्य भन्छिन्, “सुस्त श्रवण भएका व्यक्तिहरूको मुख्य पहुँच क्लोज क्याप्सन हो । केन्द्रले राखेका सबै भिडियो सामग्रीमा त्यो उपलब्ध छैन । दृश्य सामग्रीमा सही रंग कलर कन्ट्रास्टको प्रयोग नहुँदा पढ्न र हेर्न सजिलो भएन । फन्ट पनि युनिकोडमा नहुँदा सहज भएन ।”

यस्तै, भिडियो सामग्रीमा राखिएका महिला र पुरुषको आवाजमा पनि सब टाइटल, बोलिरहेको व्यक्तिको नामलगायत नराख्दा सुस्त श्रवण भएका नागरिकले सन्देश पाउन कठिन हुने उनको अुनभव छ ।

कानुन कार्यान्वयन कहिले ?

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा भनिएको छ– प्रत्येक स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा अपांगतामैत्री हुनुपर्छ ।

यस्तै, अपांगतामैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी निर्देशिका, २०७९ मा पहुँचयुक्त स्वास्थ्य, शिक्षा सूचना सञ्चार सामग्री हुनुपर्ने उल्लेख छ । जसमा भनिएको छ–  अपांगतामैत्री प्रजनन स्वास्थ्य सामग्री तयार गर्नुपर्ने छ । सेवाग्राहीको पहुँच हुने गरी चाहे जति लैजान पाउने गरी उपलब्ध हुनुपर्ने छ ।

जसअनुसार, डिजिटल प्ल्याटफर्ममा तयार पारिएका सूचना तथा सन्देशमूलक सामग्री युनिकोडमा हुनुपर्छ । वेबसाइटमा राखिने जानकारीमूलक सामग्रीहरू पहुँचयुक्त पीडीएफ, ठूलो फन्ट र चित्रात्मक संकेत भएको हुनुपर्छ ।

सोही निर्देशिकाले अपांगतामैत्री जानकारीमूलक नक्सा तथा सूचना बोर्डबारे पनि बोलेको छ । जसमा भनिएको छ– स्वास्थ्य संस्थाको प्रवेशद्वारमा उपचारकक्ष, शौचालय, सहायता कक्ष, फार्मेसी, एक्सरे, प्रयोगशाला आदि रहेको भवन र सो भवनमा जाने बाटोसमेत प्रस्ट देखिने संकेतसहितको नक्सा राखिएको हुनुपर्छ ।

नाम दर्ता, उपचार कक्ष, शौचालय, सहायता कक्ष फार्मेसी, एक्सरे तथा प्रयोगशाला लेखिएको बोर्ड बुझ्ने भाषामा, ठूलो छापामा, सेतो पृष्ठभूमिमा कालो अक्षर वा कालो पृष्ठभूमिमा सेतो अक्षर, चित्रात्मक संकेत र ब्रेल लिपीमा सतहदेखि तीन फिटको उचाइमा राखिनुपर्छ ।

यस्तै, बहुअपांगता भएका नागरिकका निम्ति सरल भाषा र सचित्र वर्णन गरिएका, श्रवण शक्ति गुमाएका व्यक्तिका निम्ति क्याप्सनसहितका र सुस्त श्रवण भएकाहरूका लागि सरल भाषा र अवाजको मात्रा बढी भएका सामग्री हुनुपर्ने निर्देशिकामा उल्लेख छ । 

दृष्टिविहीनका लागि स्पर्श संकेतयुक्त सामग्री, न्यून दृष्टियुक्त नागरिकलाई श्रव्य ढाँचा र ठूलो फन्टमा तथा बौद्धिक अपांगता भएकाहरूका लागि सरल भाषाका थोरै अक्षर भएका, मसिनो अवाजसहितका भिडियो सन्देश र संकेतहरूको प्रयोग हुनुपर्ने उल्लेख छ ।

निर्देशिका लागु भएयता केही मात्रामा कार्यान्वयन गरेको तर अझै सबैखाले अपांगता भएका नागरिकमैत्री सामग्री उत्पादन गर्न नसकिएको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठ बताउँछिन् । 

“हामीले बुकलेट, टेलिभिजन सामग्रीलगायत सामग्रीलाई सकेसम्म अपांगतामैत्री बनाउन प्रयास गर्दै छौँ । तर, अझै सबैलाई छुन सकेको छैन,” उनले बाह्रखरीसित भनिन् ।

अपांगतासम्बन्धी काम गरिरहेका संघ संस्थासँग मिलेर सूचना सामग्रीलाई थप प्रभावकारी बनाउन गृहकार्य गरिरहेको उनले बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro